शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धुम्बाराहीमा जनयुद्ध दिवस मनाएर नेकपाले के सन्देश दिँदैछ ?

‘लिगेसी ट्रान्सफर कि परिवर्तनवादीहरुलाई भुल्याउने हत्कण्डा’
मङ्गलबार, २९ माघ २०७५, १८ : २१
मङ्गलबार, २९ माघ २०७५

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै छ । यद्यपि नेकपाले नाममा केहि परिवर्तन गरी जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृति दिवसको रुपमा मनाउन लागेको हो ।

नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य शीर्ष नेताको उपस्थितिमा  श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । नेताहरुका अनुसार जनयुद्ध सुरु भएको दिन र जनआन्दोलनका सहिदको सम्मानमा नेकपाले पहिलोपटक कार्यक्रम आयोजना गरेको हो ।

महासचिव विष्णु पौडेलले एक सर्कुलर जारी गर्दै देशभर कार्यक्रम गर्न निर्देशन पनि दिएका छन् ।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको १० वर्षे जनयुद्धको स्मरणमा माओवादीहरुले त्यस दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेका छन् ।

तत्कालिन नेकपा (माओवादी) ले सोही दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको सुरुवात गरेको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए ।

२०६३ मंसिर ५ मा तत्कालिन माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता गरी औपचारिक रुपमा सशस्त्र युद्धको अन्त्य भएको घोषणा गरेसँगै माओवादी शान्ति प्रक्रियामा आयो । एक दशक सशस्त्र युद्धमा बिताएको माओवादीले १२ वर्ष शान्ति प्रक्रियामा पनि बिताइसकेको छ ।

विगतमा मुलधारको माओवादी र त्यसबाट फुटेका माओवादीहरुले मात्रै जनयुद्ध दिवस मनाउने गर्थे । जनयुद्धलाई हेर्ने दृष्टिकोण फरक भएको तत्कालिन एमाले पनि यो पटक दिवस मनाउँदै छ ।

पछिल्लो समय सल्टाउन बाँकी रहेका द्वन्द्वकालिन मुद्दाहरुमाथि प्रश्न उठिरहेको बेला एकिकृत पार्टी नेकपाले दिवस मनाउँदै छ । जेठ ३ गते तत्कालिन दुई पार्टीबीच एकता भएपनि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता नआइसकेको अवस्थामा भोली (बुधबार) जनयुद्ध दिवस मनाएर के सन्देश दिन खोज्दैछ ? यसमा नेकपाका नेताहरुको बुझाई के छ ?

योगेश भट्टराई, स्थायी कमिटी सदस्य

तत्कालिन माओवादी केन्द्रको नेतृत्वको दश वर्षे सशस्त्र संघर्षको अवधि रहयो, त्यो अवधिका थुप्रै सकारात्मक कुराहरु छन् । र, केहि कमजोरीहरु पनि छन् । अहिले हामी हिजोका सकारात्मक कुराहरुलाई लिएर अगाडि बढ्दैछौँ । कमजोरीहरुबाट पाठ सिक्ने, शिक्षा लिने र फेरि त्यस्तो नदोहरियोस् भनेर सचेत हुने । अहिलेको संघीयता, लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधानको परिस्थिति निर्माण हुनुमा दशवर्षे सशस्त्र संघषको पनि महत्वपूर्ण भूमिका छ । दश वर्षे सशस्त्र संघर्ष साथै शान्तिपूर्ण संघर्षको समिश्रणबाट यो कुरा सम्भव भएको हो । पार्टी एकता भैसकेपछि ति सबैकुराको लिगेसी नयाँ पार्टीमा स्वतः ट्रान्सफर भएको बुझ्नुपर्यो ।

देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य

नेपालमा समावेशी, समानुपातिक पहँुच र प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रीक गणतन्त्र ल्याउनका निम्ति सबैभन्दा ठुलो भूमिका जनयुद्धको छ । ति एजेण्डाहरु जनयुद्धकै बेला स्थापित भएका हुन् । अहिले ती राज्यका स्थापित एजेण्डा र संविधानमा उल्लेख एजेण्डा बनेका छन् । त्यसकारण राजतन्त्रको अन्त्य र त्यो प्रकृतिको गणतन्त्र ल्याउनको निम्ति जनयुद्धको भूमिका अविस्मरणीय छ ।

जनयुद्धको यो भुमिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर भएको नेकपाले पनि स्वामित्व र अपनत्व ग्रहण गर्दै जनआन्दोलन र जनयुद्धका सहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम भनेर कार्यक्रम आयोजना गरिएको छ, त्यो खुशी र स्वागत योग्य छ । कार्यक्रमको आयोजनाले ती एजेण्डाप्रतिको सम्मान, दुवै पार्टीका विगतका गतिविधिको स्वामित्व ग्रहणीकरणको अर्थका रुपमा हामीले बुझेका छौँ ।

नरेन्द्रजंग पिटर, वाम विश्लेषक

पहिलो कुरा, पार्टी एकता भएको छ । प्राविधिक रुपमा मात्रै होइन, भावनात्मक रुपमा पनि हामी एक छौँ भनेर सन्देश दिन खोजेको हो ।

दास्रो कुरा, नेपालका तत्कालिन सात दलहरु र अन्य अन्तर्राष्ट्रिय शक्तिहरुले शान्ति किनारामा बसेर जनयुद्धलाई स्वीकार गरिसकेको कुरा हो । तर, पछिल्लो समय शान्ति प्रक्रियाका विषयमा पश्चिमा शक्तिहरुले प्रश्नहरु उठाए । अहिले पनि शान्ति सम्झौताका महत्वपूर्ण पाटाहरु समाधान भएका छैनन् ।

सत्यनिरुपण तथा बेपत्ता आयोग बने पनि त्यो पाटो टुंगिएको छैन । यसलाई कसरी सम्बोधन गर्ने लगायतका तमाम प्रश्नहरु उठिरहेका छन् । सत्तामा रहने तर पनि त्यसलाई आत्मसाथ नगरेकोे प्रश्न उठिरहेका पनि छन् । त्यो प्रश्न उठ्नु सकारात्मक पाटो त हो । यसलाई निरन्तर कति लगेर जानसक्छन् यो चुनौति पनि हो । त्यो एउटा नाटक मात्रै हो कि ? देखाउने कुरामात्रै हो कि ? आवेगमा र जनयुद्धमा सहभागि भएका परिवर्तनवादीहरुलाई भुल्याउने मात्रै हो कि ? अथवा यसलाई मन वचन र कर्मले लगेर जान्छन् ? त्यसकारण सरकारमा रहेको नेकपालाई दिवस मनाउनुको साथमा चुनौति पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप