मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मेरो पहिलो प्रधानमन्त्रीको कार्यकाल झिलिमिलीमै बित्यो: प्रचण्ड

मङ्गलबार, २९ माघ २०७५, १७ : ४७
मङ्गलबार, २९ माघ २०७५

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु पहिलो पटक सरकारमा गएका बेला कुनै चमत्कार गर्न नसकेको बताएका छन् ।  मङ्गलबार काठमाडौमा सरल सहयात्रीद्वारा लिखित शिखरको ढुङ्गा नामक पुस्तक सार्वजनिककरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

‘पहिलो चोटी सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकिन, गर्ने कुरा पनि थिएन । यथार्थतामा त वस्तुगत र आत्मगत स्थितिको मिलनअनुसार विवेकले निर्णय लिने कुराहरु हुन् । अनुभव नै नभएको क्षेत्रमा उत्पात गर्ने कुरा सम्भव थिएन’ अध्यक्ष प्रचण्डको भनाई थियो । 

उनले आफ्नो पहिलो पटकको नौ महिने प्रधानमन्त्री बन्दाको कार्यकाल झिलिमिलिमै वितेको पनि बताए । उनले भने, ‘मैले भन्ने गरेको छु मेरो पहिलोपटकको प्रधानमन्त्रीको काल झिलिमिलीमै गयो । झिलिमिली  हुँदाहुदै नौ महिना वित्यो छोडेर हिँड्नुपर्यो ।’ 

तर प्रचण्डले आफ्नो दोस्रो कार्यकाल भने केही परिस्कृत भएको सुनाए ।  ‘दोस्रो पटकको नौ दश महिनाचाहीँ मेरा लागि झिलिमिली भएन । अलि सचेत, योजनाबद्ध, राष्ट्रको भएको परिवर्तनलाई संस्थागत गर्नका लागि महत्वपूर्ण अवधिका रुपमा रह्यो’ प्रचण्डको आफ्नै मुल्याङकन थियो । 

सम्बोधनका क्रममा प्रचण्डले समाजवादी क्रान्तिका लागि आर्थिक सम्बृद्धि आवश्यक रहेको भन्दै नेपालले विश्वलाई समाजवादको नयाँ मोडल देखाउन सक्नुपर्ने बताए । उनले अबको दशक समाजवादको आधार निर्माण गर्ने र फेरि अर्को शिखर चुम्ने भन्दै ३ करोड नेपाली रहेको नेपाल ३ अर्ब मानिसका लागि केन्द्र बन्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप