शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्यातकर्ताले बैंकबाट नगद अनुदान पाउने, कुन वस्तुमा कति नगद अनुदान  ?

मङ्गलबार, २९ माघ २०७५, १५ : ४६
मङ्गलबार, २९ माघ २०७५


काठमाडौं–देशमा निर्यात भन्दा आयातको ग्राफ उकालो लागेपछि सरकारले आयात कम गर्ने नीति लिएको छ । सरकारले  जारी गरेको निर्यातमा नगद अनुदान कार्यविधि २०७५ लाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई परिपत्र गरेको छ । 

अब निर्यातकर्ताले निर्यात प्रयोजनका लागि बैंकिङ कारोबार गर्ने बैंकबाटै नगद अनुदान पाउने भएका छन् ।  सो व्यवस्था गर्न बाणिज्य बैंकहरुलाई केन्द्रिय बैंकले निर्देशन दिएको छ । 

 नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गर्दै  वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंकको कार्यालयबाट भएको हो सोही कार्यालयले मात्र नगद अनुदान उपलब्ध गराउन निर्देशन दिएको हो । 

निर्यातमा नगद अनुदान प्रदान गर्दा भने  स्वदेशमै उत्पादन हुने कृषि, वन तथा खानिजन्य  वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पुरा गरेको हुनुपर्नेछ । 

यस्तै उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ३० प्रतिशत र ५० प्रतिशत भएको वस्तुले मात्र निर्यातमा नगद अनुदान पाउँनेछन् ।  मूल्य अभिवृद्धि भन्नाले  निर्यात गरिने वस्तु उत्पादन प्रक्रियामा  उपयोग भएको स्वदेशी वस्तु तथा सेवाको मात्रा हो । 

सो अनुदान पाउनका लागि निर्यातकर्ताले वस्तुको भुक्तानी परिवर्त्य विदेशी मुद्रामा बैंक दाखिला भएको प्रमाण पेश गर्नुपर्नेछ । तर भारत निर्यातको हकमा भने  प्रतितपत्र मार्फत आर्जित भारतीय मुद्रा बैंक दाखिला गरेको प्रमाणपत्र पेश गरेको हुनुपर्नेछ । निर्यात भएको वस्तुको प्रमाणिकरण भने गराउनुपर्नेछ । 

स्वदेशी उतपादनलाई निर्यातमुखी बनाउन र वैदेशिक व्यापारमा देखिएको असन्तुलनलाई कम गर्न निर्यातकर्तालाई अनुदान प्रदान गर्नका लागि निर्यातमा अनुदान गर्ने सम्बन्धी कार्यविधि २०७५ मन्त्रिपरिषदले स्विकृत गरिसकेको छ । यसैको कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र जारी गरेको हो । 

निर्यातकर्ताले अनुदान कसरी माग गर्ने  ?
अनुदान चाहने निर्यातकर्ताले कार्यविधिको अनुसूची ४ अनुसार बैंकमा निवेदन दिनु पर्नेछ ।  निवेदन दिँदा जुन बैंक मार्फत निकासी गर्नको लागि बैकिङ कारोबार गरेको हो सोही बैंकमा दिनुपर्नेछ ।

 यसका लागि निर्यातकर्ताले आयात—निर्यात अनुमतिपत्र (एक्जिम कोड) तथा स्थायी लेखा नम्बर र मूल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपी, व्यापारिक बिल बिजक र भन्सार प्रज्ञापनपत्र, वस्तु निर्यात गरेबापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणपत्र र  निर्यातकर्ताले पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्र पेश  गर्नुपर्नेछ । 

निर्यातकर्तालाई प्रदान गरिने अनुदान रकम राष्ट्र बैंकमा निर्यातमा नगद अनुदान सोधभर्ना नामक एकल खाता रहनेछ र अर्थमन्त्रालयले सो खातामा आवश्यकता अनुसार अग्रिम जम्मा गर्नेछ । 

 कुन वस्तुमा कति प्रतिशत नगद अनुदान  ?
 प्रशोधित चिया, कफी, हस्तकला र काष्ठकलामा  वस्तु, छाला र छालाजन्य उत्पादन, हाते कागज र सोबाट बनेको वस्तु,  प्रशोधित जडिबुटी तथा सारयुक्त तेल, पत्थर र पत्थररहित गरगहना,  अल्लोबाट उत्पादित सामान,  मिनरल वटार, बेसार,  तरकारी, फुल, मह, अलैची अदुवाको निर्यात मूलयमा पाँच प्रतिशत नगद अनुदान प्राप्त हुनेछ । 

यस्तै स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैचार उनीका सामान, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान,  जुटका उत्पादन, सुन÷चाँदीका गरगहना, औषधी, फेल्ट, पोलिष्टर यार्न निर्यातमा ३ प्रतिशत नगद अनुदान पाइनेछ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप