केन्द्रीय संस्करण

मित्रताको दृष्टान्त– १ः द्रोण र पान्चाल नरेश द्रुपद

person explore access_timeमाघ २९, २०७५ chat_bubble_outline0
encrypted-tbn0.gstatic.com

भरद्वाज ऋषिका छोरा द्रोण र पान्चाल नरेश पृषत्का छोरा यज्ञसेन द्रुपद एउटै गुरुकुलमा पढ्थे । यी दुईका बीच प्रगाढ मित्रता थियो । सँगै पढ्थे । सँगै अभ्यास गर्थे । सँगै खान्थे । सँगै विश्राम गर्थे । फुर्सत्मा मन खोलेर कुरा गर्थे । कुरै कुरामा एक पटक राजकुमार द्रुपदले भने,“ मित्र द्रोण, म पान्चाल देशको राजा भएपछि सिंहासनको सुखभोग तिमीसँग पनि बाँड्छु । आधा राज्य म तिमीलाई नै दिन्छु । यो मेरो प्रतिज्ञा हो ।”

समय बित्दैगयो । पढाइ सकेर राजकुमार द्रुपद आफ्नो देश पान्चाल फर्के । द्रोणको कृपीसँग विवाह भयो । अश्वत्थामा जन्मे । यी दिनहरु द्रोणको परिवारमा दुःख दरिद्रताका दिन थिए । गोठमा एउटा दुहुने गाइसम्म थिएन । बालक अश्वत्थामा दूध दूध भन्थे, रुन्थे । सँगै छिमेकी ऋषिकुमारहरु अश्वत्थामालाई देखाई देखाई दूध पिउँथे । एक पटक कतिसम्म भयो भने छिमेकी ऋषिकुमारहरुले पानीमा पिठो रियालेर अश्वत्थामालाई दिए । सेतो देखेपछि अश्वत्थामाले दूध ठाने । “यी मैले पनि दूध पाएँ ” भन्दै हाँस्दै नाच्दै पानी पिउन थाले । यो देखेर द्रोण र कृपीलाई साह्रै दुःख लाग्यो । एउटी दुहुने गाई पाउँछु कि भनेर द्रोण चारचौरास घुमे । कतै पाएनन् ।

त्यसैताक युद्धर्षि परशुरामले सर्वस्व दान गर्दैछन् भन्ने सुने । द्रोण घरबाट हान्निँदै कोसौं टाढाको महेन्द्र पर्बत पुगे । परशुरामले उनी पुग्नुअघि नै सर्वस्वदान गरिसकेका थिए । द्रोणलाई दुःखी देखेर दुःखित हुँदै परशुरामले भने, “वत्स द्रोण, तपाईं अलि ढिला आइपुग्नुभयो । मसँग अब यो शरीर र शस्त्रास्त्रविद्या मात्र बाँकी छ । तपाईंलाई म के दिऊँ ? के लिनुहुन्छ ?”

“गुरु, मलाई तपाईंसँग भएको शस्त्रास्त्र विद्या दिनुहोस् । त्यो नै मेरो लागि ठूलो उपलव्धि हुने छ,” द्रोणले भने ।

“हुन्छ । यो मेरो लागि पनि सौभाग्यको कुरा हो । ल  प्रंयोगशालामा आउनुहोस् । शिक्षण सिकाइ सुरु गरिहालौँ” परशुरामले खुसी हँुदै भने ।

द्रोणलाई सिक्न समय लागेन । थोरै दिनमै शस्त्रास्त्र विद्यामा पारङ्गत भए ।

ठीक यसैताक उत्तर पान्चालमा यज्ञसेन द्रुपद राजा भएको खवर आयो । द्रोणले द्रुपदसँग गुरुकुलमा भएका कुरा झलक्क सम्झे । मनमा आशाको नयाँ सूर्य उदायो । पत्नी कृपी र छोरा अश्वत्थामालाई लिएर द्रोण रातारात पान्चाल पुगे । खुसीले गद्गद् हँुदै राजा द्रुपदलाई भेटे । मुसुक्क हाँस्दै भने, “मित्र द्रुपद, चिन्नु भयो ? म तपाईँको सतीथ्र्य मित्र द्रोण । यी मेरी श्रीमती कृपी । यी मेरा छोरा अश्वत्थामा । म तपाईंसँगको प्रगाढ मित्रता र तपाईंले त्यतिबेला दिनुभएको वचन सम्झेर सपरिवार आएको छु । हामी अहिले निक्कै असजिलोमा छौँ । परिवार पालिन पनि धौ धौ भएर अत्यास लागेको अवस्था छ ।”

द्रोणका कुरा सुनेर द्रुपद राँक्किए । उनको अनुहार गुराँसजस्तै रातो भयो । द्रोणको अनुहारमा क्वाक्र्वार्ती हेर्दै भने, “म सिंहासनमा विराजमान राजा, तिमी दरिद्र बाहुन । म कसरी तिम्रो मित्र ? मित्रता त पद प्रतिष्ठा ज्ञान धन शक्ति सबै कुरा बराबर भएकाहरुबीच मात्र हुन्छ । तिमी त सामान्य ज्ञान र शिष्टता पनि नभएको लाटोबुङ्गो रहेछौ, बुझ्यौ ? बालापनमा गुरुकुलमा सँगै बस्दा मैले के भनेँ के भनिनँ, त्यो अहिले सम्झेर हुन्छ ? भैगो, आएछौ, आजको रात बस । टन्न दाल भात तरकारी खाऊ । भोलि बिहानै आफ्नो बाटो लाग ।”

द्रुपदको यो बोली व्यवहार द्रोणलाई सहिनसक्नुको अपमान लाग्यो । रन्थनिँदै त्यहाँबाट उठे र बेलुकै हस्तिनापुरतिर लागे । हस्तिनापुरका राजगुरु कृप उनका साला थिए । मनमनै सोचे, ससुरालीमा धेरै दिन त बस्न हँुदैन, बस्दिनँ । अलिदिन गुपचुप बसेर भविष्यको योजना बनाउँछु । हस्तिनापुरमै पनि केही काम मिल्छ कि ? यतिसम्म अपमानित भएँ । अव पनि यस्तै अकिन्चन भएर बाँच्नुको त अर्थै रहेन ।

हस्तिनापुर पुगेपछि एक दिन छोरालाई लिएर द्रोण टहलिन निस्केका थिए । मैदानमा राजकुमारहरु जुटेर डण्डीबियो खेलिरहेका देखे । नजिकै चौतारीको डिलमा बसेर रमाइलो हेर्न थाले । खेल्दाखेल्दै डण्डी उछिटिएर नजिकैको सुक्खा इनारमा खस्यो । झिक्न खोज्दा राजकुमार युधिष्ठरको औँठी पनि त्यहीँ खस्यो । राजकुमारहरुले अनेकौं प्रयत्न गरे । निकाल्न सकेनन् ।

मुसुमुसु हाँस्दै हेरिरहेका द्रोण र अश्वत्थामालाई राजकुमार युधिष्ठिरले देखे । को हुन् यी काला अनुहारका हँसिला मान्छे ? यिनले केही मद्दत गर्न सक्छन् कि ? नजिकै गएर अभिवादन गर्दै भने, “अपरिचित महोदय, म राजकुमार युधिष्ठर, मैदानमा खेल्ने यी सवै मेरा भाइहरु । सुक्खा इनारमा हाम्रो डण्डी खस्यो । इनार निक्कै गहिरो छ । हामीले निकाल्न सकेनौं । मद्दत गर्न सक्नुहुन्छ कि ?”

“हेरुँ,” द्रोणले मुसुमुसु हाँस्दै भने,“ मैले तिम्रो डण्डी औठी सबै निकालिदिएँ भने मलाई भोज खुवाउँछौ ?”

“किन नखुवाउनु ? भव्य भोज खुवाउँछौं,” युधिष्ठिरले भने ।

   द्रोण उठेर इनारको डिलमा गए । अश्वत्थामा पनि सँगै गए । सवैका अगाडि द्रोणले अनौठो शस्त्रकौशल प्रयोग गरे । सजिलैसित डण्डी र औंठी निस्क्यो ।“ वाह ! कस्तो सिप ?!” राजकुमारहरु आश्चर्यचकित भए । युधिष्ठिरले दगुर्दै गएर पितामह भीष्मलाई सवै विवरण सुनाए र भने,“ पितामह, ती अचम्मका मानिस अहिले पनि चौतारामा बसिरहनुभएको छ ।”

“हँ ! हो र ?!” भीष्मले मनमनै निश्चित गरे यी अवश्य पनि भारद्वाजपुत्र द्रोण हुनु पर्छ । तुरुन्तै उठेर युधिष्ठिरसँगै भीष्म पनि चौतरीमा पुगे । द्रोणलाई विशेष आदरसाथ घरमा लिएर आए । आतिथ्य सम्मानपछि भीष्मले भने, “महोदय द्रोण, तपाईंसँग यसरी भेट्न पाउनु हाम्रो लागि ठूलो भाग्योदयको सूचक हो । हामीमाथि कृपा गर्नुहोस् । तपाईं यस साम्राज्यको सम्मानित आचार्य बनेर हस्तिनापुरमा बसिदिनुहोस् । हाम्रा राजकुमारहरुलाई शस्त्रास्त्रको शिक्षण प्रशिक्षण दिनुहोस् । यस साम्राज्यलाई आफ्नैसरह ठान्नुभए हुन्छ । हामी तपाईंलाई सम्मान दिन्छौं ।”

“हुन्छ,तपाईंको प्रस्ताव मलाई स्वीकार  छ,” द्रोणले भने ।

द्रोण अव आचार्य द्रोण भए । कौरव पाण्डव राजकुमारहरुलाई शस्त्रास्त्र सिकाउन थाले । अर्जुनको लगनशीलता र हस्तलाघव बेजोडको थियो । आचार्य द्रोण छोरा अश्वत्थामापछि शिष्य अर्जुनलाई विशेष स्नेह गर्थे ।

शिक्षा क्रमशः पूरा हुँदै गयो । अन्तिम परीक्षा पनि सकियो । “हामी गुरुदक्षिणा के टक््रयाऊँ ?” राजकुमारहरुले आचार्य द्रोणसित सोधे । द्रोणले अनायास भने, “पान्चाल नरेश द्रुपदलाई पाता कसेर ल्याऊ र मलाई अर्पण गर ! यही हो मेरो सर्वोत्तम गुरुदक्षिणा ।”

“हुन्छ गुरुदेव !” दुर्योधनले भने, “हामी द्रुपदलाई बिरालाले मुसा खेलाएजस्तै गरी खेलाउँदै तपाईंको अगाडि ल्याइदिन्छौं  । यसै त म एक्लै गए पनि सेनासहित द्रुपदलाई पाता कसेर ल्याउन सक्छु । शोभाका लागि मसित मेरा भाइहरु जान्छन् । मित्र कर्ण पनि जान्छन् ।”

   टोली प्रस्थान गरेको केही दिनमै कौरव पान्चालका बीच घमासान युद्ध भयो । यज्ञशेन द्रुपदको युद्धकौशलका अगाडि दुर्योधन कणर््ालगायत कुनै पनि कौरव योद्धा टिक्न सकेन । भागेर ज्यान जोगाए ।

“एक पटक हामी कोसिस गर्छौं आचार्य, हामी पाँच भाइ जान्छौं,” अर्जुनले विनम्रताकाथ अभिवादन गर्दै भने । “द्रुपद कम्तीका योद्धा छैनन् है” भन्दै द्रोण मुस्कुराए ।

यस पटक युद्धमा पान्चाल नरेश द्रुपद विजयी बन्न सकेनन् । अर्जुनको ज्ञान र युद्धकौशलका अगाडि द्रुपदको जोड चलेन । अर्जुनले द्रुपदलाई युद्धभूमिमै समातेर पाता कसे । रथमा राखे । द्रोणचार्यका अगाडि ल्याएर पेस गर्दै भने, “लिनुस् आचार्य, गुरु दक्षिणा टक््रयाएका छौँ ।”

द्रुपदलाई यो अवस्थामा देखेर आचार्य द्रोणलाई हाँसो उठ्यो । संयमित भए, हाँसेनन् । आँखामा आँखा जुधाएर हेर्दै भने, “पूर्वराजा द्रुपद, नडराउनुहोस् । म तपाईंलाई मार्दिनँ । बालापनमा तपाईं र मेराबीच गहिरो मित्रता थियो । सँगै पढ्यौँ, सिक्यौं, खेल्यौं, खायौं, बस्यौं । पछि तपाईं राजा हुनुभयो । ऐश्वर्यको मात लाग्यो । उन्मत्त हुनुभयो । मसँगको मित्रता बिर्सनुभयो । वचनवद्धता बिर्सनुभयो । जमेर मेरो अपमान पनि गर्नुभयो । त्यसै अपमानका कारण मैले तपाईंबाट राज्य खोस्नु परेको हो । अहिले तपाईं पराजित हुनुहुन्छ र मेरो बन्घनमा हुनुहुन्छ ।”

“म अझै पनि तपाईंसित मित्रता चाहन्छु । अहिले तपाईं अकिन्चन, म सत्तासीन । हामी बराबरी स्तरमा छैनौं । मित्रता त बराबरीका बीचमा मात्र हुन्छ क्यार । हैन ? यसै भएर म तपाईंलाई पान्चाल राज्य आधा फिर्ता दिन्छु, हुन्छ ?”

यज्ञशेन द्रुपदको आँखा झुक्यो । पसिनै पसिना भए । केही बोलेनन् । आचार्य द्रोणलाई लाग्यो, यति भएपछि अब अपमानको बदला लिन पुग्यो । यसभन्दा बढी केही गर्दिनँ ।

आचार्य द्रोण आसनबाट उठे । सरासर गएर द्रुपदको बन्धन खोले । उठाएर अङ्कमाल गरे । उचित सम्मानसाथ बिदा गरे ।

द्रुपद भने बाटोभरि र आफ्नो राज्यमा पुगिसकेपछि पनि शान्त हुन सकेनन् । उनको मन मस्तिष्कमा प्रतिशोधको नयाँ आगो सल्क्यो । सल्किँदै गयो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ