शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तानातान छ तर बैंकमा पैसा छैन; त्यसैले ब्याजदर बढी छ’

‘कृषि विकास बैंकको ब्याजदर बढ्ने सूचक आगामी दिनमा देख्न पाउनुहुन्न’
मङ्गलबार, २९ माघ २०७५, १२ : ०१
मङ्गलबार, २९ माघ २०७५

बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रै नाफा गरेको प्रतिवेदन पेश गरिरहेका छन् । बजारमा चरम लगानी योग्य रकमको अभाव झेलेका बैंकहरुले विविध समस्याका बीच पनि नाफामा भने उल्लेख्य बृद्धि गर्ने गरेको उनीहरुको विगतका त्रैमासले पनि पुष्टि गर्छ । जुनसुकै हालतमा पनि नाफा कमाउने बैंकहरुको प्रवृत्तिलाई कतिपयले व्यापारिक मानसिकता भन्ने गरेका छन् । यता बैंकहरुले प्रवाह गर्ने ऋणको ब्याजदर महङ्गो भएको भन्दै उद्योगीहरुले आन्दोलनको चेतावनीसमेत दिएका छन् । राम्रै नाफा कमाएको प्रतिवेदन पेश गरेको कृषि विकास बैंकको आधार मूल्य महंगो देखिएको छ जसले कर्जाको ब्याजदर बढी नै हुनेछ ।

कृषि विकास बैंकको नाफा,  ब्याजदर बढी हुनुका कारण, बैंकको पोर्टफोलियो लगायतका विषयमा केन्द्रीत रहेर रातोपाटीका लागि एलिजा उप्रेतीले बैंकका सिइओ अनिल कुमार उपाध्यायसँग सोधेकी छन् :

कृषि विकास बैंकले चालु वर्षको दोस्रो त्रैमासमा राम्रै नाफा गरेको छ, अधिकांश सूचक राम्रो कसरी बनाउनुभयो ?

कृषि विकास बैंकको ५२ वर्षको इतिहास छ । यो पुरानो संस्था हो । विगतदेखिको लगानी गरेका आधारमा, वित्तिय व्यवस्थापन गरेको आधारलगायत समग्र परिसूचकलाई विश्लेषण गर्दै कहाँ सुधार गर्नुपर्नेछ, कुन—कुन क्षेत्रमा सुधार गर्नुपर्नेछ भनेर बैंक अघि बढेको हो । यसैलाई आधार मानेर क्रमशः  सुधार गर्दै गइरहेका छौँ । यसमा आश्चर्य मान्नुपर्ने कुनै अवसथा छैन । नाफा स्वभाविक थियो ।

सबै सूचक राम्रो हुनुमा व्यवस्थापन राम्रो भएको कारण देखाउनुभयो, यति हुँदा हुँदै पनि खराब कर्जा घटाउनुपर्ने ठाउँमा झन् बढेको छ, यसमा चै व्यवस्थापन  कहाँ चुक्यो ?

अहिले बैंकहरुले नयाँ तरिकाबाट (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड) प्रतिवेदन बनाउनुपर्छ यसले पनि खराब कर्जा बढेको देखिएको छ । अर्को बीचमा व्यवस्थापनको ‘ल्याकिङ’ भयो । सिइओ नै  थिएनन् । यसले पनि व्यवस्था सुदृढ हुन सकेन । खराब कर्जा बढी देखिनुमा सानो खालको कर्जामा मात्र समस्या हो तर यो पनि माघ महिनामा सुधारिँदै गएको छ ।  ठूलो कर्जा फसेको छैन । कतिपय किसानले उखुको भुक्तानी नपाएको अवस्था र तरलता अवस्थाका कारण पनि बैंकिङ व्यवसायमा लेनदेन तथा आर्थिक कृयाकलाप चलिरहने हुनाले असर गरेको हो । कृषि विकास बैंकका धेरै कर्मचरी अवकासमा जाँदै हुनुहुन्छ । फागुनमा करिब १९० जना अवकासमा जाँदैछन् । यो बीचमा डेढ सय अवकासमा गइसकका छन् । चालु आर्थिक वर्षमा पाँच सय जति अवकासमा जानेछन् । बैंक यसको परिपुर्ती गर्ने शिलशिलामा छ । चालु आवमा खराब कर्जा घटाएर २ प्रतिशतमा झार्ने लक्ष्य छ ।

यसमा सरकारको स्वामित्व पनि छ तर बेसरेट नै बढी भएकाले ऋण लिन चाहनेहरुका लागि ब्याजदर महङ्गो पर्ने भयो नि ?

हाम्रो कार्य सञ्जाल, काम गर्ने पद्धति र बनावट अलि खर्चिलो छ । कर्जा विस्तार गर्नुपर्छ भन्ने अवस्थाबाट चलेको बैंक पछिल्लो समयमा आएर आफ्नो स्रोत आफैले व्यवस्थापन गर्दै गइरहेको छ ।  पुर्नसंरचना हुने क्रममा पूर्ण बैकिङ कारोबारमा जानुपर्छ भन्यौ । यो सिस्टमलाई नै परिवर्तन गर्ने चेन्ज म्यानेजमेन्टको अभ्यासले नै लागत उच्च बनाएको छ  । अहिलेको कोर बैंकिङ ट्रेनिङ, सम्पत्ति व्यवस्थापन, सञ्चालन लागत उच्च छ । सबैलाई एउटा सिस्टमबाट अर्को सिस्टममा ल्याउँदा सञ्चालन लागत उच्च हुन गयो । गाउँमा बढी शाखा सञ्जाल भएको । हिजो केही पनि नभएको बेला बैंक त्यस्ता दुर्गम ठाउँमा पुगेको थियो  । त्यसमा हाम्रो ट्रान्सफर कस्ट नै हाइ थियो । शहरको पैसा गाउँमा लगेर दिनुपथ्र्यो । अहिलेको रिसोर्स जति छन् अधिकांश गाउँमा छन् । जनशक्तिलाई तालिम दिनुपर्यो, सिस्टम अपग्रेड गुर्नुपर्यो जसले दोहोरो लागत पर्न गयो । तर अब बिस्तारै ब्याजदर घट्नेक्रममा छ । कर्मचरी खर्च घट्दै गइरहेको छ । अहिले रुपान्तरणको चरणमा भएकाले मिसम्याच मात्र भएको हो । आगामी दिनमा यस्तो तथ्याङ्क देखिदैन ।

ब्याजदरको विषयलाई लिएर उद्योगीहरु आन्दोलित हुने चेतावनी दिइरहेका छन्, ब्याजदरको किचलो कहिलेसम्म हो ?

ब्याजदर बैंकले भन्दा पनि बजारले निर्धारण गर्छ । पैसा छैन, तानातान हुन्छ त्यसले गर्दा बढी लागत पर्छ । यसमा माग र आपुर्तिले निर्धारण गर्छ । अरु तर्कले काम गर्दैन । ब्याजदर धेरै बढ्न थाल्यो भनेर बैंकहरुले भद्र सहमतिको प्रयास त गरिरहेकै छन् नी । यदाकदा केही भयो भने संघले नियन्त्रण गरे व्यवस्थापनको पहल थाल्नेछ । बजार प्रतिस्पर्धी छ, व्यवसाय अगाडी बढाउनुपर्नेछ । सेयर होल्डरको लगानी प्रतिफल दिनैपर्छ । हिजोभन्दा कम दियो भने बजारमा आफु कमजोर भइन्छ । यी सबै कुरा खुला बजारले निर्धारण गर्छ । यसलाई अस्वभाविकभन्दा पनि यहि भित्र व्यवस्थापन गर्ने  हो ।

तपाईंहरुको  पोर्टफोलियोको अवस्था कस्तो छ ?

अहिले हाम्रो झण्डै ३० प्रतिशत लगानी कृषिमा छ ।  सबैभन्दा ठूलो साइज कृषिकै छ । एक खर्ब ११ अर्बको फोर्टफोलियोमा ३० प्रतिशत कृषिकै हुनु भनेको निकै राम्रो हो । कृषिको विकास सँगसँगै वाणिज्य कारोबारलाई सँगसँगै लैजाने बैंक हो । त्यसबाहेक उर्जामा लगानी गरेका छौँ । अहिले ९ वटा कन्सोर्टियम पार्टनरसँग मिलेर लगानी गरेका छौँ । पर्यटनमा र  खुद्रा व्यापारमा पनि लगानी छ ।

सरकारले भनेको सहुलियत ब्याजदरमा यो बैंकबाट ऋण पाइरहेका छन् ?

तपाईं क्षेत्र–क्षेत्रमा गएर सोध्न सक्नुहुन्छ । कृषि व्यवसायीक कर्जा ९२ करोड जति छ । सहुलियत कर्जा त्यसै गरी गइरहेको छ । माघ सात गतेबाट सहुलियतपूर्ण कर्जा शुरु गरेका हौ । प्रदेशभित्र प्रतिनिधिलाई (एक–एक जनालाई) ऋण दिएर शुरु गरेका हौ । सहुलियत कर्जा लिन केन्द्रमै आउनुपर्दैन । प्रदेशले नै सहजीकरण गर्छ । होमस्टे, सुन्तला खेती, तरकारी, बाख्रापालन लगायतका लागि भन्दै ऋण माग्न आइरहेका छन् ।  

कृषिमा गरेको लगानी उठाउन समस्या हुने भन्दै बैंकहरु कृषिमा लगानी गर्न खासै रुची देखाउँदैनन् तर तपाईंहरुले त सबैभन्दा बढी कृषिमै लगानी गर्नुभएको छ । लगानी उठाउन कतिको सम्भव छ ?

यो किसानको खेतीवालीमा भर पर्छ । उत्पादन र बिक्री वित्तरण प्रक्रियामा सहजताको साथै सामुदायिक बजारको विकास भएर त्यसलाई व्यवस्थित गर्ने काम भएको भए अझै व्यावसायिक र बैंकहरुले लगानी गर्न सहज हुने थियो ।  हामी कस्तो किसान हो भनेर स्क्रिनिङ गर्छौँ । हामी पाँच वटा किसानले ऋण लिन खोजे भने उनीहरुको परियोजना हेर्न गाउँ जान्छौँ । यसले पनि लागत बढेको छ । किसानको संख्या बढी छ त्यसैले हाम्रो सञ्चालन खर्च नै बढी छ । उनीहरुको आम्दानी परियोजनालाई बेलाबेलामा अनुगमन गर्नुपर्यो । उखुको भुक्तानी भएन उसले कहीँबाट ल्याउन सक्तैन । त्यस्तै अवस्था दुध र गाईवस्तुको पनि होला  । हामीले जसरी गरेका छौँ त्यसमा तलमाथि पर्नु भनेको प्रविधिको कारणले पनि हुन्छ । यसमा हाम्रो एक्सपर्टिज कृषिमा भएकाले कुशलतापूर्वक काम गरेका छौँ । कर्जा विश्लेषण गर्ने पद्धति छ जसअनुसार फिल्डमा गएर नहेरी ऋण दिँदैनौ । 

यदी कुनै किसानले आफुले सोचेजस्तो कृषिबाट प्रतिफल पाउन सकेन र कर्जा तिर्न नसक्ने अवस्थामा पुग्यो भने के हुन्छ ?

यसमा त राज्य पनि छ । हामीले एकपटक केही समय दिने अवस्था रहन्छ । असुली नगर्ने भन्ने नीति छैन । कारबाही हामी गर्छौँ ।  किसानलाई ऋण दिनु अगाडी नै यी विषयमा स्पष्ट पारिन्छ । कानुनी विधि छ । किसान आफै पनि कृषि विकास बैंकको कानुनमा अभ्यस्त छन् । किसान एउटा बालीमा मात्र निर्भर हुँदैन साना—साना अरु व्यवसाय पनि गरेको हुन्छ । खाली २÷४ महिना तलमाथि हो । ऋण त जसरी पनि असुली गर्छौँ ।

यो वर्ष बैंकको लागि कस्तो रहला ?

हिजोका दिनमा एक्लै हिँडेको बैंक हो कृषि विकास बैक र आज पनि । अरु अधिकांश बैंक मर्जर–एक्विजिसनले जोडिएर आउनु भएको छ । हाम्रो हिडाइँ आफ्नै गतिमा छ । डिजिटलाइजेसन र प्रविधि सबै ठाउँ पुर्याउँदैछौ । अझै १५ वटा कार्यालयलाई प्रविधि मैत्री बनाउँदै छौँ । यो चरण सकिएपछि अनि हाम्रो पोर्टफोलियोमा बढी फोकस हुन्थ्यौँ । कृषि विकास बैकको तालिम केन्द्र छ, क्षेत्रिय कार्यालय छ । यो सबै तालिम र क्षेत्रीय कार्यालयले लागत बढाएको छ । तर यसले जनशक्तिलाई तालिम दिने ठाउँ पनि बनेको छ, किसानलाई तालिम दिने ठाउँ पनि बनेको छ । योजना नै यही ढंगबाट छ । आउँदा दिनमा हिजोभन्दा राम्रो हुनेछ ।

पछिल्लो समयको बैंकिङ अवस्थालाई कसरी लिनुहुन्छ ?

बैंकहरु मर्जर÷एक्विजिसनमा गएर पुँजी थपियो । यो हुने बित्तिकै बजारबाट आउने पैसा हामीसँग सिमित छ । उत्पादन बढेर आर्थिक क्रियाकलाप देशभित्र भएको भए पैसा सर्कुलेट हुन्थ्यो । एकातिर साइज संकुचनमा छौँ भने अर्कोतर्फ आयातले नै नेपाली पैसा पलायन भएको छ । हाम्रो उत्पादनभन्दा अरु क्षेत्रको आयातमा बढी पैसा गइरहेको छ । तेस्रो सरकारले विकास खर्च गर्न सकेको छैन । यो पैसा खर्च भएको भए बजारमा पुँजी चल्थ्यो । बजार यसैले निर्धारण गथ्र्यो । बैंकहरुले ब्रान्च नेटवर्क  ठूलो भएपछि विजनेस धान्न आक्रामक रुपमा लगानी गर्नुभयो । आजको दिनमा प्रक्षेपणमा २० प्रतिशतभित्र हुनुपर्ने हो । शुरुमै २५ प्रतिशतले बृद्धि भयो । त्यही नै सीमाभन्दा बाहिर गए । हामी त्यहीँबाट मिसम्याच भयौँ । सर्वसाधारणको पैसाभन्दा संस्थागत पैसामा हाम्रो जोड भयो । लागत बढी भएको संस्थागत पैसामा  आफ्नो खर्च जोड्दा बजार यसैपनि महंगो हुने भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप