केन्द्रीय संस्करण
प्रेम संवाद

अविवाहित रामहरि ‘अंकल’ सम्बोधनले हैरान, कोमल वलीलाई भ्यालेन्टाइन खोज्ने फुर्सद छैन

person explore access_timeमाघ २९, २०७५ chat_bubble_outline0

हरेकको जीवनमा प्रेमको भूमिका फरक फरक हुन्छ । प्रेम र बिहे फरक विषय हुन् । यो भ्यालेन्टाइनमा हामीले राजनीतिमा क्रियाशील दुई जना अविवाहित व्यक्तित्वहरुसँग प्रश्नहरुमा उहाँहरुको विचार जान्ने कोशिश गरेका छौं । नेपाली काङ्ग्रेसको पूर्व सासंद एवम् केन्द्रीय सदस्य रामहरि खतिवडा र नेकपाकी नेतृ एवम् राष्ट्रियसभा सदस्य कोमल वलीसँग रातोपाटीकी सुनिता न्यौपानेले गरेको सो कुराकानीको उतार प्रस्तुत छ  ।

तपाईंको विचारमा प्रेम के हो ?

रामहरि खतिवडा – पुरुष र स्त्रीको सम्बन्धलाई मात्र प्रेम मानिदैन । माया गर्ने मान्छे नै एक अर्काका प्रेमी र प्रेमिका हुन् । पुरुष र स्त्रीको सम्बन्धलाई विवाहित र अविवाहितको नाताले मात्रै मलाई प्रेम सोध्नुभएको हो भने, अविवाहित भएको कारण धेरै नजिक कोहीसँग भएर पार्टनरसीपको सम्बन्ध भएन । तर, जुन क्षेत्रमा पनि माया गर्ने मान्छे हुन्छन् । त्यसैले प्रेम भनेको एक आपसको मनको मिलाप हो ।

पहिले हाम्रो हजुरबुवा हजुरआमाको पालामा उहाँहरु एक अर्कासँग राम्ररी बोल्नुहँुदैनथ्यो । लाज मान्नुहुन्थ्यो । हजुरआमा घुम्टो ओढेर हिँड्नुहुन्थ्यो । अहिले हात समाएर अङ्गालो हालेर हिँड्ने प्रवृत्तिको विकास भएको छ । समय अनुसार सबै कुरा परिवर्तित हुन्छन् । प्रेम गर्ने तरिका पनि परिवर्तित हुँदै आएको छ ।

कोमल वली –सम्मान, जीवन, समर्पण, त्याग, अपनत्व प्रेम हो । प्रेम र जीवन एक अर्काका पर्यायवाची हुन् । यसैमा संसार अडेको छ । मानिसहरुले गर्ने पे्रम एउटै भएपनि अनुभूतिहरु फरक फरक हुन्छन् । सांसारिक परिपाटीको एउटा अभिन्न नभई नहुने पाटो, जीवन चलाउन, जीवनमा उत्साह भर्नको लागि ठूलो भिटामिनको काम गर्ने चिज प्रेम हो ।

कसैसँग प्रेम भयो कि भएन ?

रामहरि खतिवडा – प्रेमी र प्रेमिका बन्ने हिसाबमा मेरो घनिष्ठता कोहीसँग पनि भएन ।

कोमल वलि – मेरोे छुट्टै अनुभव छ । हामी कलेजमा भर्खर पढ्न लागेका थियौँ । हाम्रो समूह एकदम ठूलो थियो । हाम्रो जस्तो टिम अरु भएन होला दाङमा । म एकजना केटालाई मन पराउँथे । हामी होली खेलिरहेका थियौँ । हालीको समयमा आफूलाई मन परेको मानिसलाई अबिर लगाइदिने चलन छ । साँझ साथीहरुबीच एक अर्कालाई अबिर लगाइदिने क्रममा मेरो एमदम नजिकको केटी साथीलाई मैले मन पराएको केटाले ‘आई लभ य’ु भन्यो । म झसङ्ग भए । त्यो केटासँग म बोल्दै बोलिनँ । वास्तवमा त्यो दिन मेरो लागि नबिर्सिने दिन भयो । त्यो साथीले पनि मलाई मनपराएको भए मेरो जिन्दगीले अर्कै दिशा लिन्थ्यो कि ? म घर परिवारमै सीमित हुन्थे कि ? जेहोस्, सुन्दर समय म आफ्नो जीवनको लागि बिताएकी छु ।

प्रेमप्रति उदासीन त हुनुहुन्न नि ?

रामहरि खतिवडा – कहिलेकहिले प्रेम गर्ने मानिस अल्मलिदो रहेछ । बिहानदेखि बेलुकासम्म काममै हिँड्नुपर्ने मान्छे म । बिहान पनि सबेरै मान्छे आइपुगेका हुन्छन्, उनीहरुसँग गफ गर्नुपर्याे । मैले किसुनजीसँग पनि सङ्गत गरे । उहाँले भन्नुहुन्थ्यो ‘बाबु, पन्ध्र सालअघि नै विवाह गर्नुपर्ने रहेछ । म सभामुख हुँदा मलाई मन पराउने मानिस पनि धेरै थिए । सभामुख भएर राजाले जेल हाले । त्यसपछि फर्केर आउँदा उमेर गइहाल्यो । त्यसपछि यो गरौँ, त्यो गरौँ भन्दाभन्दै समय गयो ।’ मैले पहिले विवाह गरेको भए अहिले वालवच्चा भइहाल्थ्यो । विवाह नगरी बसियो, चुनाव भयो । हार्ने र जित्ने भइरह्यो । विवाहप्रति ध्यान गएन । आमा बुवा पनि विवाह गर्न फोर्स गर्नुहुन्छ । भाइका छोराछोरी पनि भइसके । म विवाहको लागि क्यान्डिडेट हुँ ।

म आजीवन नै अविवाहित नै रहुँला भनेर अहिलेसम्म सोचेको छैन । तर, समस्या कहाँनिर भयो भने, तपाई जस्तो अलि कलिलो उमेरकाले देख्यो भने अङ्कल भन्छन् । अलि उमेर भएकालाई देख्यो भने तपाईको नानी स्कुल गयो कि गएन भन्न थाल्छन् । त्यसैले म अलि अप्ठ्यारो अवस्थामा छु ।

तपाईंको बुझाइमा प्रेम आत्मिक हो कि शारीरिक ?

रामहरि खतिवडा –शारीरिक रुपमा धेरै ज्ञान छैन । जोसँग भावना, विचार र जीवनशैली मिल्छ त्यस्तो सम्बन्ध प्रेमको एउटा अद्वितीय सम्बन्ध हो ।

कोमल वली – प्रेमको सन्दर्भमा आत्मिक र शारीरिकभन्दा पनि हार्दिक प्रेमको कुरा गर्न मन लाग्छ । प्रेम भन्नेबित्तिकै एक अर्कामा अभिव्यक्त हुनैपर्छ । शारीरिक प्रेम मानिसको आवश्यकताअनुसार मान्छेले उपयोग गर्न सक्ने भयो । मेरो विचारमा हार्दिक प्रेमभित्र आत्मिय प्रेम पर्दछ ।

विवाहको बारेमा धारणा के छ ?

रामहरि खतिवडा –म आजीवन नै अविवाहित नै रहुँला भनेर अहिलेसम्म सोचेको छैन । तर, समस्या कहाँनिर भयो भने, तपाई जस्तो अलि कलिलो उमेरकाले देख्यो भने अङ्कल भन्छन् । अलि उमेर भएकालाई देख्यो भने तपाईको नानी स्कुल गयो कि गएन भन्न थाल्छन् । त्यसैले म अलि अप्ठ्यारो अवस्थामा छु । तैपनि, उमेर, भावना, सम्बन्ध मिल्ने मान्छे भयो भने विवाह गर्न तयार छु ।

कोमल वली – म विवाहप्रति सकारात्मक धारणा राख्ने मानिस हुँ । किनभने मानिसले विवाह गर्न छाडेर म जस्तै भए भने समाज वैराग्यतामा परिणत हुन सक्छ । सृष्टि सञ्चालन गर्नको लागि, संसार चलाउनको लागि, संसारलाई निरन्तरता दिनको लागि विवाह आवश्यक छ ।

जिन्दगीमा कोही भ्यालेन्टाइन आए कि आएनन् ?

रामहरि खतिवडा– आजसम्म फूल नै लिएर आएका छैनन् । तर, यो पटक कोही आए भने हेर्नुपर्ला । भ्यालेन्टाइन डे को दिनमा कोही पनि फूल लिएर आएका छैनन् ।

कोमल वली –हामी स्कुल कलेज पढ्दा भ्यालेन्टाइनको जमाना नै थिएन । त्यो चलन भएको भए पनि मलाई कसैले गुलाफ दिदैनथे होला । किनभने म स्कुल, कलेजमा एक्स्टा« एक्टिभिटिमा अगाडि थिए । दोहोरी गीत गाउने, नाँच्ने, वक्तृत्वकला, हाजिरीजवाफमा भाग लिने गर्दथे । त्यो कारणले कुनै केटाले पनि मलाई प्रेम प्रस्ताव राखेनन् । किनभने केटाहरु जहिले पनि लजाउने, घरेलु टाइपको, केटीलाई मेरो कब्जामा राख्न सक्छु भन्ने खालको, यसले मेरो घर धान्छे, मैले भनेको मान्छे भन्ने खालको केटीलाई मन पराउँछन् । त्यस्तो केटीलाई विवाह गर्न खोज्छन् । जो अलिकति अगाडि आउँछ, त्यस्तो केटीलाई प्रेमको मामलामा केटाहरु महत्त्व दिँदैनन् ।

प्रेम समाजसापेक्ष कुरा हो । हामी सामाजिक चेतनामा अलि पछाडि पर्यौं । हाम्रो जात, वर्गलाई अहिलेसम्म पनि समाजले स्वीकार्न सकेको छैन । मेरो विचारमा यसमा परिवर्तन हुनुपर्छ ।

अब भ्यालेन्टाइन खोज्ने समय भएन ?

रामहरि खतिवडा– भयो नि ! मेरो उमेर हेर्नुहोेस्, तालु खुइलिस्क्यो । अब बेला हँुदैन त ?

कोमल वली – भ्यालेन्टाइन खोज्ने रुची पनि छैन र समय पनि छैन । दिमागमा कुरा नै आउँदैन ।  अरुको प्रेमबारे, कसैको जीवन कथाबारे पहिले म धेरै पढ्थें । आजभोलि त्यस्तो कुरामा रुची नै छैन ।

कोही फूल लिएर आइदिए हुन्थ्यो भन्ने लाग्दैन ?

रामहरि खतिवडा – लाग्छ । तर, कोही आए भने एकपटक सोचेर स्वीकार गर्छु ।

कस्तो महिलालाई स्वीकार गर्नुहुन्छ ?

रामहरि खतिवडा –मेरो भावना मिल्ने, राजनीतिमा सहकर्मी हुने, राजनीति गर्नु नै पर्छ भन्ने होइन । राजनीतलाई एउटा बाटोमा लिएर जाने, राजनीति बुझ्ने मान्छे भए हुन्छ ।

प्रेम समाज सापेक्ष हुन्छ ?

रामहरि खतिवडा–यसलाई कतिसम्म बाहिर लिएर जाने भन्ने कुरा हो । प्रेम भनेको समाजमा मिल्ने कुरा हो । मिलाएर जानेकुरा हो । चौबीस घण्टा अंकमाल गरेर बस्ने मात्र प्रेम होइन । भावनात्मक रुपमा एक हुुनु नै सबैभन्दा ठूलो प्रेम हो ।

कोमल वली – प्रेम समाजसापेक्ष कुरा हो । हामी सामाजिक चेतनामा अलि पछाडि पर्यौं । हाम्रो जात, वर्गलाई अहिलेसम्म पनि समाजले स्वीकार्न सकेको छैन । मेरो विचारमा यसमा परिवर्तन हुनुपर्छ । यसलाई परिवर्तन गर्ने भनेको एउटै मात्र तत्त्व महत्त्पूर्ण छ, त्यो हो शिक्षा ।  चेतनामा परिवर्तन ल्याउन सकिन्छ । प्रेम त समाज सापेक्ष नै कुरा हो । हामीले यसलाई बुझाउन सकिरहेका छैनाँै ।

भ्यालेन्टाइन डे लाई कुन रुपमा हेर्नुहुन्छ ?

रामहरि खतिवडा – कतिपय कुरामा हामीले हाम्रा संस्कार सँस्कृति पनि सिक्दै छाँै । तथापि एउटा मन मिल्ने मानिससँग भावना साटासाट गर्नको लागि अरु दिन फुर्सद नभए पनि त्यो दिन एक आपसमा बसेर छलफल गर्न, समय बिताउने कुरा राम्रै हो । एक हप्ता अगाडि नै युवायुवतीहरु धुम्रपान, मद्यपान गर्ने, होटेलमा २ ÷३ दिनसम्म बस्ने विकृति फैलाउने कुराको विरोधी हुँ । तर वर्षमा एकदिन मन मिल्ने पार्टनरलाई समय दिने कुरा नराम्रो होइन ।

कोमल वली–हाम्रो संस्कार सँस्कृति पनि त्यस्तो होइन । भ्यालेन्टाइन मनाउनुपर्छ जस्तो लाग्दैन । मनाउनेलाई रोक्नुपर्छ जस्तो पनि लाग्दैन । मनाउनुहुन्छ भने बुझेर मनाउनुस् । किन भ्यालेन्टाइन भनिएको थियो ? पढ्नुस्, पहिले अनि मनाउनुस । सुसस्कृत तरिकाले मनाउनुस् । धेरै रकमको गुलाफ नेपालमा भित्रिदै छ । नेपालीहरुले गुलाफ किनेर नै कति रकम विदेशीने भयो । हामीले कम खर्च कसरी गर्ने ? आर्थिक रुपले कसरी सबल बन्ने ? सोच्नुपर्छ । 

पहिले मनाउनु हँुदैन भन्ने पक्षमा थिए । विश्वव्यापीकरणमा हामी घुलमिल भइसकेपछि हामी अछुतो रहन सक्दैनौँ भन्ने लाग्यो । प्रेम प्रस्ताव गर्ने कुरालाई हामी रोक्न सक्दैनौँ । मुना र मदनलाई हेर्नुहोस  । प्रेम गर्ने तरिका नै फरक छ । त्यसकारण हामी भ्यालेन्टाइन डे भन्दा मुनामदन डे मनाउदा कति राम्रो हुन्छ । युवाहरुले भ्यालेन्टाइन डे भन्दा मुनामदन डे मनाए हुन्थ्यो भन्ने लाग्छ । सबैले मुनामदन पढेका पनि छन् । मेरो प्रेमी भएको भए मैले भ्यालेन्टाइन मनाउनुपर्छ भन्दिनथें । हामी पूर्वीय संस्कार र सँस्कृतिमा हुर्केका मानिस हौँ । हामीले प्रेम व्यक्त गर्नको लागि गुलाफको फूल नै चाहिन्छ जस्तो लाग्दैन ।

हाम्रोमा केटा र केटी हेर्ने विहे गर्ने चलन थियो । लामो ५०÷ ६० वर्षसम्म हाम्रा वावु आमा सँगै बसिरहनु हुन्छ । हाम्रोमा डिभोर्स रेट नै छैन । नेपाली समाज नै होला सबैभन्दा कम डिभोर्स रेट भएको समाज । आज डार्लिङ्ग भन्ने भोलि डिभोर्स गर्ने समाज हाम्रो होइन ।

तपाईंले अहिले सम्म भ्यालेन्टाइन मनाउनु भएको छ ?

राहरि खतिवडा– छैन । कसैसँग टाइम पास गरेर मैले मनाएको छैन ।

कोमल वली – मनाएको छैन ।

प्रेम स्वतन्त्रताको अर्काे नाम पनि भन्छन्, प्रेममा उच्छृङ्खलता पनि मिसिएको हुन्छ भन्छन् । यसबारे के छ धारणा तपाईंको ?

रामहरि खतिवडा– स्वतन्त्रता मात्र नभई, उच्छृखलता मात्रै पनि होइन । यसलाई स्वतन्त्र रुपमा उपयोग गर्न सक्यौँ भने यसले राम्रो म्यासेज दिन सक्छ । प्रेममा एक अर्काअलाई अपमान गर्यौं भने त्यसले विकृति पनि ल्याउन सक्छ । यसलाई साँस्कृतिक रुपमा लिएर जानुपर्छ । कतिपय विकृतिहरुलाई हटाउन पनि यसले पहल गर्नुपर्छ ।

आफ्नो करियर निर्माण नगर्दासम्म प्रेम नै नगर्नुस् । अझ छोरीहरु ब्वाइफ्रेण्डबाट अप्रत्यक्ष रुपमा नकारात्मक तरिकाले प्रभावित भइरहनु भएको हुन्छ । किनभने ब्वाइफ्रेण्डले तपाईंलाई नियन्त्रणमा राखिरहेको हुन्छ ।

कोमल वली – दुबै हो । विदेशमा एउटा खालको प्रेम नेपालमा उच्छृङ्खल लाग्न सक्छ । हामीले नमस्कार गरेजस्तै उनीहरु भेट्दा चुम्बन गर्ने गर्छन् । तर हामीले त्यस्तो गर्न सक्दैनौँ । हाम्रोमा त्यो गर्याे भने उच्छृङ्खल हुन्छ । हाम्रोमा जुठो खाने भनेको तामाको थालीमा मह घोलेर एकातिरको पुरुषले खाने अर्काेतिरको महिलाले खाने भनेर छुट्याइन्थ्यो । म जीन्दगीभर तिमीलाई छाड्दिन भनेर खाइन्थ्यो । त्यसकारण देश गुनाको भेष भन्ने गरिन्छ ।

प्रेम स्वतन्त्र रुपले आफूले महसुस गर्ने कुरा पनि हो । आफूलाई ग्रहण गर्दा जसरी सुखानुभूति हुन्छ, त्यसरी लिने कुरा हो । ठाउँ विशेष मिलेर आफ्नो समाज संस्कारलाई हेरेर सम्हाालिने कुरा पनि हो । त्यसकारण उच्छृङ्खलता पनि छ स्वतन्त्रताको सुन्दरता पनि छ ।

प्रेम र यौनलाई कसरी हेर्नुहुन्छ ?

रामहरि खतिवडा – प्रेम र यौन फरक कुरा हो । प्रेम नभएका मानिससँग यौन हुन सक्छ ।  धेरै मनिसले धेरैसँग यौन सम्बन्ध राखेका हुन पनि सक्छन् । पे्रमी र प्रेमीका बीच हुनु सबैभन्दा राम्रो हो ।

कोमल वली – दुबै फरक हुन् । घर बनाइसकेपछि घरलाई चिल्लो बनाउने काम प्लाष्टरले गरेजस्तै प्रेमलाई सुन्दर बनाउने काम यौनले गर्छ होला । कसरी ग्रहण गर्ने भन्ने कुरा प्रेमी–प्रेमिकामा भरपर्ने कुरा हो ।

भ्यालेन्टाइन डेको अवसरमा युवायुवतीलाई के सन्देश दिन चाहनुहुन्छ ?

रामहरि खतिवडा –मन मिल्ने साथीसँग बसेर राम्रा कुराहरु आदानप्रदान गर्न सकिन्छ । विकृतिको रुपमा यसलाई लिनु हुँदैन ।

कोमल वली – आफ्नो करियर निर्माण नगर्दासम्म प्रेम नै नगर्नुस् । अझ छोरीहरु ब्वाइफ्रेण्डबाट अप्रत्यक्ष रुपमा नकारात्मक तरिकाले प्रभावित भइरहनु भएको हुन्छ । किनभने ब्वाइफ्रेण्डले तपाईंलाई नियन्त्रणमा राखिरहेको हुन्छ । तिमी कहाँ छौ ? तिम्रो फोन किन लागिरहेको छैन ?भन्ने गर्छ । फेसबुकको पासपोर्ट माग्छ । नदिएपछि तपाईमाथि विश्वास गर्दैन । छोरीहरुले आफ्नो करियर नबनाई ब्वाईफ्रेण्ड बनाउँदै नबनाउनुस् । भ्यालेन्टाइन मनाउदै नमनाउनुस् । अन्यथा तपाईको जीन्दगी अर्काको सेवा गर्दा बित्छ । हाम्रो समाजमा कसैसँग माया हुँदैमा विवाह गर्नुपर्छ भन्ने सोच छ । विवाह नगरेमा चरित्रहीन भन्ने केटीलाई नै हो । तर, तपाईले ब्वाईफ्रेण्ड बनाउनु भनेको तपाईको करियरमा अगाडि फलामको घारो ल्याउनु हो । हिँड्ने पाईलामा नै धेरै ब्रेक लाग्न सक्छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ