शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक ‘हाइप्रोफाइल’ बाल यौनदुराचारी : जसले प्रहरीलाई नै चकित बनाए

१० महिना बित्दा पनि मुद्दा किनारा लाग्नै कठिन
सोमबार, २८ माघ २०७५, १२ : ५१
सोमबार, २८ माघ २०७५

जिल्ला कारागार काभ्रेमा सेतै कपाल फुलेका एकजना विदेशी नागरिक बन्दी जीवन बिताइरहेका छन् । २ सय २७ जना कैदीबन्दी रहेको जिल्ला कारागारमा एकमात्र विदेशी नागरिक हुन्, क्यानडाका पिटर जोन ड्यालग्लिस ।

२०७५ वैशाख २३ गते जिल्ला अदालत काभ्रेको आदेशअनुसार पिटर पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि लागेको आरोप हो, बाल यौन दुराचार ।

उमेरले उनी ६१ वर्ष पुगिसकेका छन् । तर यिनै ‘बृद्ध’ लाई दुई जना बालकलाई यौन दुराचार गरिरहेकै अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले  रङ्गेहात आफ्नै ओछ्यानबाट पक्राउ गरेको थियो ।

पिटर पक्राउ पर्नुभन्दा केही दिन अघिमात्रै सिआइबीलाई एउटा सूचना आउँछ – एकजना ‘कुइरे’ले काभ्रेमा आफ्नै सुविधासम्पन्न घर बनाएर बाल यौन दुराचार गरिरहेको छ ।

सूचना दिने व्यक्ति पीडित बालककै साथी थिए । पीडित बालकले ती साथीलाई आफूमाथि भएको यौन अपराधको फेहरिस्त सुनाएका थिए ।

त्यसपछि चनाखो बनेको सिआइबी टोलीले लामो अनुसन्धान र ‘रेकी’ गर्दै बालकसहित पिटरलाई रङ्गेहात पक्राउ गर्न सफल भयो । र, कठघरामा उभ्यायो ।

यो पनि

बाल यौन दुराचारीको क्रिडास्थल बन्दै नेपाल, २७ महिनामा समातिए ११ विदेशी नागरिक

‘हाइ प्रोफाइल’ बाल यौन दुराचारी

गोप्य सूचनाको आधारमा पिटरबारे अनुसन्धान गरेको प्रहरी उनको वास्तविकता थाहा पाएपछि चकित बनेको थियो । पक्राउ गर्नुभन्दा केही दिन अगाडि जब प्रहरीले उनीबारे जानकारी बटुल्न थाल्यो, पिटर ती बालकले भनेजस्तो ‘चानचुने कुइरे’ नभएर भिभिआइपी निस्किए ।

पहिले त सिआइबी टोली नै कन्फ्युजनमा पर्यो कि यस्तो व्यक्तिले कसरी यस्तो हर्कत गर्न सक्ला ? तर जब पीडित बालकहरुले नै पिटर ‘यस्तो यस्तो गर्ने गर्छ’ भनेर प्रहरीलाई बताए, प्रहरी बाध्य भएर पिटरलाई पक्राउ गर्न पुग्यो ।

पिटर ३ वटा मानार्थ विद्यावारिधि प्राप्त गरेका व्यक्ति थिए । उनी संयुक्त राष्ट्र संघ (युएन) मा काम गरिसकेका विशिष्ट व्यक्ति थिए । उनी युएन अन्तर्गतको युएन ह्याबिटाटको अफगानिस्तान हेर्ने कन्ट्री रिप्रिजेन्टेटिभ भइसकेका व्यक्ति थिए । उनी सन् २०१० देखि २०१४ सम्म त्यहाँ कार्यरत थिए ।

यतिमा मात्रै सीमित छैन उनको हाइप्रोफाइल विगत । उनी सन् २००२ मा नेपालमै सिनिएर एडभाइजरका रुपमा आइएलओमा काम गरेका थिए । त्यसलगत्तै उनी युएन कै बाल श्रम विरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार पनि भए । त्यसैगरी उनले विश्व स्वास्थ्य संगठनमा सिनिएर अर्बन एड्भाइजरका रुपमा लाइबेरियामा काम गरिसकेका थिए ।

पिटरले विश्व खाद्य कार्यक्रममा पनि वरिष्ठ अधिकारी भएर काम गरिसकेका थिए । उनी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था स्ट्रिट किड्स इन्टरनेशनलको संस्थापकसमेत हुन् भने पिटरले नेपालमा हिमालयन कम्युनिटी फाउन्डेसन नामक गैरसरकारी संस्था चलाइरहेका छन् ।

पिटरले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्थाबाट गरीब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको पाइएको छ । र, पिटर आफैले बालकहरु छानेर केही बालकलाई पढाइदिने, विदेश घुमाइदिने, ठूलो भएपछि जागिर लगाईदिने जस्ता विभिन्न प्रलोभनसमेत दिने गरेका थिए ।

आवरणमा उनको परिचय एक समाजसेवीको थियो । तर भित्री उद्देश्य भने बाल यौन दुराचार गर्नु थियो । उनले आफूबाट छनोट गरिएका बालकलाई यौन शोषण गर्ने गरेको र फेरि–फेरि नयाँ–नयाँ बालकसँग यौन दुराचार गर्ने गरेको सिआइबीको दाबी छ । 

क्यानडाका प्रधानमन्त्रीका साथी हुन् पिटर

बाल यौन दुराचारको अभियोगमा पक्राउ परी बन्दी जीवन बिताइरहेका पिटर जोन ड्यालग्लिस हालका क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडेउको घनिष्ठ मित्रसमेत हुन् । त्यसकारण पनि यी व्यक्तिको मुद्दा जटिल थियो ।

पिटर पक्राउ परेपछि क्यानडा हाई कमिशनबाट टोली नेपाल आयो

सिआइबी टोलीले पिटरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि यसबारे विश्वव्यापीरुपमा चर्चा सुरु भयो । पिटर पक्राउका सम्बन्धमा क्यानडा सरकारले नै चासो देखायो भने क्यानडाको हाई कमिशनको टोली घटनाबारे बुझ्न नेपाल आयो । सिआइबी, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग आदिसँग सोधपुछ गरेर टोली फर्किएको थियो ।

यसरी पक्राउ गरेको थियो सिआइबीले पिटरलाई

पिटरले प्रहरी र सरकारको ध्यान नपुगोस् भनेर काठमाडौँभन्दा धेरै टाढा काभ्रेको मन्डन देउपुरमा आफ्नै घर बनाएर निर्धक्कसँग यौन दुराचार गरिरहेका थिए । उनले सोही क्षेत्र वरिपरीका बालकलाई शैक्षिक सामग्री तथा खेलकुदका सामान दिने र कतिपय अवस्थामा पैसासमेत दिएर बाल यौन दुराचार गर्ने गरेका थिए ।

काभ्रे १०१ ‘क’ कोड भएका एक पीडित बालकले आफ्नो साथीलाई आफूमाथि भएको बाल यौन दुराचारबारे बताएका थिए । आफूलाई पिटरले के–के गर्छन् र त्यसवापत के–के दिए वा दिन्छन् भन्नेबारे उनले आफ्नो साथीलाई बताएका थिए । जब पीडित बालकको साथीले यसबारे आफ्नो अभिभावकलाई बताए, अभिभावकले तत्कालै यसबारे प्रहरीलाई जानकारी दियो ।

बाल यौन दुराचारबारे सिआइबीलाई जानकारी त आयो, तर सिआइबीसँग न कुनै प्रमाण थियो, न त तथ्य नै थियो । त्यसपछि सिआइबी टोली ‘अन्डरकभर’ रुपमा ‘ग्राउण्ड जिरो’ मै पुगेर पिटरबारे अनुसन्धान सुरु गर्यो । सिआइबी टोलीले पीडित बालक, पीडित बालकका साथी सबैसँग कुराकानी गर्यो र उचित समय पर्खेर बस्यो ।

सिआइबीका अनुसन्धान अधिकृतका अनुसार उनीहरुले लगातार २१ दिन पिटरबारे निगरानी राखेका थिए ।

२०७४ साल चैत्र २४ गते राती पिटर २ जना बालकलाई लिएर उसको ‘फार्म हाउस’ मा पुगे । सिआइबीको टोलीले पिटरको घरभन्दा माथि रहेको जङ्गलबाट पिटरमाथि निगरानी राखिरहेको थियो । यो जानकारी फिल्डमा रहेका सिआइबीको टोलीले केन्द्रमा खबर गर्यो । खबर पाएलगत्तै सिआइबीको केन्द्रीय टोली काभ्रेको मण्डन देउपुर १ कात्तिके भन्ने स्थानमा पुग्यो ।

पानीमा रुझ्दै अप्रेशन

जुन दिन पिटरमाथि सिआइबीले एक्सन लियो, त्यस दिन रातभर पानी परेको थियो । तर रेकीमा रहेको सिआइबी टोली र केन्द्रबाट गएको टोली तत्कालै पिटरको घरमा पुग्न सकेन । किनभने पिटरको घरमा पुग्न पहिले गार्ड रुम पार गरेर जानुपथ्र्यो ।

पिटरले आफूलाई सुरक्षित बनाउन सबै उपाय अपनाएका थिए । जबरजस्ती गरेर पस्न खोजे हल्ला हुने र त्यसले प्रमाण नष्ट हुने डर थियो सिआइबीलाई ।

अन्ततः बिहान ४ बजे मात्रै सिआइबीको टोली पिटरको बेडरुमसम्म पुग्न सक्यो र पिटरलाई पक्राउ गर्दै दुई बालकको उद्धार गर्यो ।

सुविधासम्पन्न घर बनाएका थिए पिटरले

बाल यौन दुराचारीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पिटरले काभ्रेको सदरमुकामबाट ३० किलोमिटर टाढा मन्डप देउपुरमा पर्ने कात्तिके भन्ने स्थानमा करिब ३ करोडको लगानीमा सुविधासम्पन्न वातानुकुलित घर बनाएका थिए । आफू बस्नका लागि घर मात्रै बनाएका थिएनन् उनले, गार्ड रुमसमेत बनाएका थिए भने घरमा पुग्नका लागि ढुङ्गाको आकर्षक सिँढीसमेत बनाएका थिए ।

विदेशी नागरिकले नेपालमा आफ्नै नाममा जग्गा किनेर घर बनाउन नमिल्ने भएपछि पिटरले ठेँचो स्थायी घर भएका चिरिकाजी महर्जनको नाममा १० रोपनी जग्गा किनेर त्यहाँ आफ्नो लागि घर बनाएका थिए । चिरिकाजी नेपाल प्रहरीका रिटायर्ड माली थिए । चिरिकाजीले पहिले पिटरको बसोबासस्थानमा पनि मालीको काम गरेका थिए । त्यसकारण चिरिकाजी र पिटरको चिनजान पुरानै रहेको थियो ।

गाउँकै बीचमा यस्तो घर बनाउँदा धेरैलाई शंका हुने भएकाले जङ्गलको ठीक तल उनले आफ्नो लागि आकर्षक घर बनाएका थिए । बाटोको छेउमै भने उनले सामान्य प्रकृतिको गार्ड रुम बनाएर राखेका थिए ।

उनले घरको वरिपरी आकर्षक गार्डेनसमेत बनाएका थिए भने त्यहाँ फलफुलको रुख, हरियो दुबो आदि रोपेका थिए ।

घरमा सबैतिरबाट घाम आउनेगरी सिसाको पारदर्शी झ्याल राखेका थिए भने घरको छतमा तातो पानीका लागि सोलार प्यानलसमेत बनाएका छन् ।

घरको भित्रपट्टी सबैतिर काठको पार्केटिङ गरिएको छ भने एउटा कोठामा अट्याच बाथरुमको व्यवस्था गरेका छन् । घरमा इन्टरनल हिटिङ सिस्टमका लागि फायर प्लेसको व्यवस्था गरेका छन् भने आकर्षक किचन, फ्रिज, टिभी, म्युजिक सिस्टम आदिको व्यवस्था गरेका छन् । पिटरले बनाएको उक्त घर हेर्दा कुनै विदेशी भूमिको झझल्को आउँछ र विदेश नै पुगेजस्तो लाग्छ ।

काभ्रेको मन्डप देउपुरमा पिटरको यसअघि कुनै सम्बन्ध थिएन । उनले पहिले काम गरेको स्थान ललितपुरको ठेँचो लगायतका स्थान थियो । यद्यपि पिटर काठमाडौँबाट नजिक तर सुरक्षित गन्तव्य खोज्न चाहन्थे । जसको कारण उनी काभ्रेको मण्डन देउपुर पुगेर जग्गा जमिन खरिद गरी नेपाल आएको बेला बस्ने र बाल यौन दुराचार गर्ने गर्दथे ।

डिभोर्सी थिए पिटर

पिटर पछिल्लो समय महिलाप्रति भन्दा पनि बालकसँग यौन क्रियाकलापमा रुची राख्थे । उनको यही हर्कतको कारण उनको श्रीमतीले पिटरलाई डिभोर्स दिएकी थिइन् । यद्यपि पिटरको तर्फबाट एक २३ वर्षकी छोरी छिन् जो कहिले क्यानडा त कहिले हल्याण्डमा बस्ने गर्छिन् ।

हाइप्रोफाइल भएकै कारण मुद्दाको टुङ्गो लागेन

सामान्यतः बाल यौन दुराचारको मुद्दा ६ महिनाभित्रै टुङ्गिन्छ । अदालतलाई केही बुझ्नुपर्ने भएमा केही समय लाग्न सक्छ । तर काभ्रे जिल्ला अदालतमा चलिरहेको पिटरको मुद्दा भने १० महिना पूरा हुँदा पनि टुङ्गिएको छैन । पीडितको बयान, पीडित परिवारको बयान, डाक्टरको मेडिकल रिपोर्ट आदि सबै तथ्यहरु भएपनि जिल्ला अदालत काभ्रेले पिटरको मुद्दालाई निरन्तर सुनुवाईमा मात्रै राख्ने गरेको छ । यसअघि मेडिकल रिपोर्ट दिने डाक्टरलाई झिकाउन दुई पटक आदेश दिएको भएपनि डाक्टर अदालतमा उपस्थित नभएपछि यो मुद्दा सरिरहेको छ । र, माघ २९ गते अर्थात् फेब्रुअरी १२ लाई सुनुवाईको मिति सारिएको छ । निरन्तर सुनुवाईको मुद्दा ३ देखि ६ महिनाभित्र टुङ्ग्याउनु पर्ने भएपनि अदालतमै आएर डाक्टरले बयान नदिएको कारण यो मुद्दाको किनारा लाग्न सकेको छैन ।


 

पेडोफिलिया ‘सेक्सुअल ओरियन्टेसन’ हो – क्रिमिनल साइकोलोजिस्ट
बालबालिकाहरुप्रति हुने यौन आकर्षणलाई ‘सेक्सुअल ओरियन्टेसन’ मान्ने विचार अत्यन्त विवादित भए पनि मनोविज्ञहरुले गरेका धेरै अध्ययनहरुले यही निष्कर्ष निकालेका छन् । योभन्दा फरक विचार राख्ने केही मनोविज्ञहरुले यस विचारले पेडोफाइललाई जीवनभरी सुधार्न सकिँदैन भन्ने अर्थ लाग्ने बताएका भए पनि उनीहरु आफैले भने यस विरुद्ध बलियो प्रमाण जुटाउन सकेका छैनन् । रेडिट नेटवर्किङ वेवसाइटमा लेख्दै एक मनोविज्ञले पेडोफाइल ‘सेक्सुअल ओरियन्टेसन’ भए पनि व्यक्तिको उपचार सम्भव भएको बताएका छन् । पेडोफिलियाको कारण अहिलेसम्म पत्ता लागेको छैन । परिवारको एक सदस्यमा पेडोफिलिया छ भने सोही परिवारका सदस्यमा पनि पेडोफिलिया हुने सम्भावना पाइएको छ । तथापि यसको पछाडि जिन वा परिवारको वातावरणको के को हात हुन्छ भन्ने कुराको स्पष्ट प्रमाण भेटिएको छैन ।  विगतमा केही मनोविज्ञहरुले पुरुष यौन हार्मोन अथवा दिमागमा रहने केमिकल ‘सेरोटोनिन’ को गडबडीले व्यक्तिमा पेडोफिलिया विकास गर्छ भनेर सोच्दै आएका थिए । तर पछिल्ला अध्ययनले यस सम्बन्धमा कुनै प्रमाण देखाएको छैन ।  पेडोफाइल आफै सानो हुदाँ यौन शोषण भोगेको अवस्थामा उसमा पेडोफिलिया विकास हुन्छ भन्ने केही प्रमाण भेटिएको भए पनि यसको पनि ठोस रुपमा पुष्टि हुन सकेको छैन । बेलायतमा गरिएका अध्ययनमा पेडोफाइलहरुको उपचार सम्भव देखिएको छ । पेडोफिलियाबाट पीडित भएका व्यक्तिहरुको उपचार गरेर उनीहरुलाई सामान्य यौनिक आकर्षणमा फकाइएका धेरै उदाहरणहरु त्यहाँ पाइएको छ । पेडोफिलिया भएको स्वीकार्ने र एकअर्कालाई सहयोग गर्न इन्टरनेटमा सहयोग समूह बनाएकाहरुको भनाईमा बालबालिका प्रति आकर्षण भए पनि धेरै जसो पेडोफाइलहरुले आफ्नो आकाक्षालाई बालबालिकाहरुको शोषणमा प्रयोग गरिहाल्दैनन् । उनीहरुका अनुसार पेडोफाइलहरुको ठूलो संख्या आफ्नो उत्कण्ठाले बालबालिकाहरुमाथि पर्ने असरलाई बुझेर त्यो भावना नियन्त्रण गर्ने र सामान्य अवस्थामा फर्कने उच्च उत्कण्ठाका साथ उपचारको खोजीमा हुन्छन् । उनीहरुले पेडोफिलियाभन्दा साथ अपराधी भन्ने समाजमा बलियो मानसिकता हुँदा त्यसले पेडोफाइललाई उपचार खोज्न निस्कन डर हुने बताएका छन् । तर उपचार भएर सामान्य यौनिक आकर्षण हासिल गराउन सफल भएका व्यक्तिहरुमा पनि जीवनभरी बालबालिकाहरुप्रति आकर्षण हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप