शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वर पोखरेलले किन पार्टी एकताविपरीत अभिव्यक्ति दिइरहेका छन् ?

आइतबार, २७ माघ २०७५, २० : २९
आइतबार, २७ माघ २०७५

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेल पछिल्लो समय आक्रामक अभिव्यक्ति दिएर चर्चामा छन् । उनले समाजिक सञ्जालमार्फत दिएका  आक्रामक अभिव्यक्तिले नेकपाभित्र आशंका समेत पैदा भएको छ ।   हुनत उनको यो अभिव्यक्ति पहिलो भने होइन, पार्टी एकता हुनुपूर्व र भैसकेपछि पटक–पटक उनका आक्रामक अभिव्यक्ति आएका छन् । उनका अभिव्यक्तिलाई लिएर नेकपाभित्र एकखालको बहस पनि छ । 

पार्टी एकताले पूर्णता नपाउँदै एकता भाँड्ने खालका अभिव्यक्ति सचिवालय तहकै नेताबाट आउन थालेपछि कार्यकर्ताहरुले पनि असन्तुष्टि जनाउन थालेका छन् ।  भेजेजुयला प्रकरण लगायत सरकारका कामकारबाहीलाई लिएर पार्टी अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमा दुरी बढिरहेका वेला सचिवालयका अन्य केहि नेताहरुले दुरी घटाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । तर, नेता पोखरेल एकता भाँड्ने र दुई अध्यक्षबीचमा झन् दूरी बढाउने खालको अभिव्यक्ति दिएको टिकाटिप्पणी नेकपाका अन्य नेताहरुले गर्न थालेका छन् । 

स्रोतका अनुसार नेता पोखरेलको अभिव्यक्तिले खासगरी अध्यक्ष ओली निकट समुह बाहेक पूर्व एमालेका अन्य समूह र पूर्व माओवादीका नेताहरु असन्तुष्ट बनेका छन् । ओली निकट मानिने नेता पोखरेलका बेला–बेला आउने आक्रामक अभिव्यक्तिले नेकपाका नेताहरुबीचमै आशंका उत्पन्न गरेको पूर्व एमाले समुहका एक स्थायी कमिटी सदस्यले बताए । 

हेरौं उनका आक्रमक अभिव्यक्तिहरु

माघ २५ गते राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म र संविधानअनुसार भएका अधिकार प्रत्यायोजनमा इमान्दारिता नदेखाए नचाहँदा नचाहँदै देश फेरि द्धन्द्धमा जानसक्ने बताएका थिए । 

प्रचण्डले शान्ति प्रक्रियामा खुशीयाली मनाउने प्रत्येकले अहिले एकचोटी निधार खुम्च्याएर सोच्नुपर्ने कुरा भएको भन्दै सुशासन, समृद्धिलाई हल्का रुपमा लिदाँ देशलाई गाह्रो पर्न सक्ने बताएका थिए । उनले संविधानलाई आत्मसात गरेर त्यसको मर्मअनुसार ऐन बनाउने र त्यसलाई इमान्दारिताका साथ प्रयोग प्रमुख दायित्व भएको भन्दै उपेक्षित र विभेदमा पारिएकालाई देशको मालिक बनियो भन्ने कुराको अुनुभूति दिने कुरालाई हल्का रुपमा कसैले लिन्छ भने त्यसले दूर्भाग्य निम्त्याउने बताएका थिए । 

त्यहि प्रसंगमा उनले भनेका थिए, ‘विस्तारै–विस्तारै माओवादीहरुलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दूर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन् ठुलो लडाईं हुने खतरा आउँछ ।’ प्रचण्डले दिउँसो दिएको यो अभिव्यक्ति पछि राती फेसबुकमा परिस्थिति र पार्टी एकताको सन्दर्भमा भन्दै लामो स्टाटस् लेख्दै नेता पोखरेलले प्रचण्ड प्रति कटाक्ष गरे । उनले सरकारको बचाउ गर्दै फेसबुकमा लेखेका छन्, ‘धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरी छ ।’

उनले लेखेका छन्, ‘सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिष्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो श्रृंखलाबद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिष्टका नाममा भीड शक्ति हुन सक्तैन । विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति बन्नै सक्तैन । कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन ल्याइनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न् । त्यस्तो हुँदा दूर्भाग्य मात्र हुन्छ ।’ 

त्यस्तै उनले थप लेखेका छन्, ‘अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गम्भीर महत्वका साथ लिँदै छलफल र बहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ । एकताको घोषणा गरिरहँदा सकारात्मक, सार्थक बहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ । आफ्नै देशको कम्युनिष्ट आन्दोलनबाट विकसित भएको, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता हो । यस मामिलामा अल्मलिएर वा यसमा ‘ग्रे एरिया’ राखेर कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्तैन ।’ 

त्यस्तै उनले पार्टी एकतापछि असोजमा दिएको अभिव्यक्तिले त झन् अध्यक्ष प्रचण्डलेनै आपत्ति जनाएको बताइएको थियो । सचिवालय सदस्य वामदेव गौतम काठमाडौँ ७ बाट उपनिर्वाचन लड्ने विषयमा नेकपाका अन्य नेता मौन बसिरहँदा खुलेरै विरोध गर्ने नेता पोखरेलनै थिए । उनले नेता गौतमलाई मात्र कटाक्ष गरेनन्, प्रचण्डलाई समेत जंगली सोच भएको अभिव्यक्ति दिए । उनको त्यो अभिव्यक्तिले पनि त्यहिबेला नेकपामा तरंग ल्याइदिएको थियो । 

स्रोतका अनुसार त्यतिवेला उनले वामदेव र प्रचण्डलाई लक्षित गर्दै लेखेका थिए । ‘हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं, फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजित गर्यौं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं । हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने’ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं’ पोखरेलले लेखेका थिए । 

उनले थप लेखेका छन्, ‘देशमा ’क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरुचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी ‘संघर्ष ’ मा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं । हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झाँगिन पाएन, फल्न फूल्न पाएन ।’

त्यसअघि असारको १९ गते फेसबुकमा स्टाटस् लेख्दै आफुमाथि राजनीति भएको बताएका थिए । उनले लेखेका थिए, ‘मानिसका लागि राजनीति गर्न हिँडेको मलाई मानिसमाथि राजनीति गरेको देख्दा घृणा लागेर आउँछ ।’ 

नेता पोखरेल पार्टी एकतापूर्व पनि एकता भाँड्ने खालका अभिव्यक्ति दिएर चर्चामा आएका थिए । तत्कालीन दुइ पार्टीबीच एकताको घनिभूत छलफल चलिरहँदा पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै हुनुपर्छ भन्ने अभिव्यक्ति दिए । त्यो अभिव्यक्तिले पूर्व माओवादीलाई झस्कायो । त्यतिवेला उनको चर्को आलोचना पनि भयो । एकता हुने दिनसम्म उनले पोजिसन बनाएर पार्टी एकता नहुने बताउँदै आएका थिए । 
पार्टी एकताको नौ महिना पुगिसक्दा तल्लो तहसम्म सांगठनिक एकीकरण भैसकेको छैन । पछिल्लो समय तल्लो तहका संगठनको एकता प्रक्रिया अघि बढिरहेको वेला उनका अभिव्यक्तिले एकता प्रक्रिया प्रभावित हुनसक्छ भन्ने बुझाई नेकपाभित्र छ । 

आखिर किन आक्रामक अभिव्यक्ति दिन्छन् पोखरेल ?

पूर्व एमाले निकट नेकपाको सचिवालयका एक नेता, स्थायी कमिटी र केन्द्रीय कमिटीका अर्का दुई नेताका अनुसार नेता पोखरेलका यी अभिव्यक्ति कुण्ठाका रुपमा बुझ्छन् । उनीहरुका अनुसार त्यसमा तीन कारण छन् । 

कारण १– बारम्बार उनले यस्ता अभिव्यक्ति दिनुको पछाडि एउटा महासचिव नदिनुको कुण्ठा हो । तत्कालीन एमालेको निर्वाचित महासचिव पोखरेल पार्टी एकीकरणपछि सचिवालय सदस्य बनेका बने । उनी एकीकृत पार्टीको महासचिवको दावेदार थिए । तर महासचिवमा नवौं वरियताका विष्णु पौडेलको इन्ट्रीसँगै उनको चाहनामा ब्रेक लाग्यो । हुन यस विषयमा उनले खुलेरै असन्तुष्टि पनि व्यक्त गरेका छन् । 

उनले आफु निकट नेतासँग पनि असन्तुष्टि जनाएका थिए । पार्टी एकतासँगै महासचिव पद गएपछि पोखरेल असन्तुष्ट बनेको स्थायी कमिटीका एक नेता बताउँछन् । उनी भन्छन्, ‘पोखरेलले तत्कालीन एमालेमा दशौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीका रुपमा आफूलाई उभ्याउन खोजेका थिए । तर पार्टी एकीकरणसँगै भावी अध्यक्षको दावेदारका रुपमा प्रचण्ड र माधव नेपाल देखापरे । त्यसपछिको नेतृत्वमा विष्णु पौडेल देखिए । यसमा उनको असन्तुष्टि रहँदै आएको छ ।’

त्यस्तै नेकपाका केन्द्रीय सदस्यका अनुसार पार्टी एकतापछि विष्णु पौडेल जस्तो ‘एस म्यान’ लाई महासचिव बनाउँदा सहज हुने देखेरनै पोखरेललाई किनारा लगाएको बताउँछन् ।  उनी भन्छन्, ‘विष्णु पौडेल जस्तो ‘एस म्यान’ लाई महासचिव बनाउँदा नेताहरुलाई पनि सहज हुने भयो । पोखरेल जस्तो चतुर खेलाडीलाई महासचिव बनाउँदा भविष्यमा अफ्ट्यारोमा पार्न सक्ने दुवै अध्यक्षले बुझे । त्यसकारण पोखरेललाई जानी बुझिकन पावरबाट किनारा लगाए ।’

कारण २– सचिवालयका ती नेताका अनुसार पोखरेल यसपटक अर्थमन्त्री बन्न चाहन्थे । पार्टी अध्यक्ष प्रधानमन्त्री भएपछि महासचिवले रोजेको मन्त्रालय पाउने उनको अनुमान थियो । उनले आफु अर्थमन्त्री भएर डा.युवराज खतिवडालाई अर्थराज्यमन्त्री बनाउन चाहेका थिए । त्यहिअनुसार खतिवडालाई राष्ट्रियसभामा ल्याउन उनैले जोडबल गरेका थिए । अर्थमन्त्रीको जिम्मेवारी पाउने विश्वस्त भएका उनले अर्थमन्त्रालयका कर्मचारी भेला गरेर पछिल्लो अवस्थाबारे व्रिफिङ् गर्न लगाएका थिए । 

प्रधानमन्त्री ओलीले यो कुरा थाहा पाएपछि खतिवडालाई अर्थमन्त्री बनाइदिए । त्यसपछि पोखरेलले आफूले चाहेको भन्दा पनि प्रधानमन्त्रीले खटाएको रक्षा मन्त्रालयमा चित्त बुझाउनुपरेको थियो । पछि संघीय समाजवादी फोरम, नेपाललाई सरकारमा ल्याउने निर्णय भएपछि उपेन्द्र यादवले उपप्रधान दावी गरे । उनलाई उपप्रधान बनाउने भएपछि ओलीलाई दवाव पर्यो र पोखरेलले पनि दावी गरे । पार्टीका अन्य नेताहरुले त्यसमा उनलाई सहयोग गरे उपप्रधानको जिम्मेवारी पाए । 

कारण ३– नेकपामा पूर्व एमाले समुहतर्फका एक केन्द्रीय सदस्यका अनुसार नेता पोखरेल पार्टी एकताको विपक्षमा थिए । नेकपामा पूर्व एमालेको एक समुह माओवादी कट्टर विरोधी थियो । पार्टी एकता भैसकेपछि त्यो समुह अहिले पनि सक्रिय छ । नेकपामा माओवादी विरोधी अभिव्यक्ति दिएर फेरि पोखरेलले आफ्नो पोजिसन बनाउन खोजेका छन् । उनी भन्छन्, ‘एकीकृत पार्टीमा एउटा समुह अझै पनि माओवादी विरोधीनै छ । ईश्वर कमरेडका पछिल्ला अभिव्यक्ति त्यसैको स्वरुप हो । उहाँले असोजमा पनि माओवादी विरोधी अभिव्यक्ति दिनुभएको थियो, उनले भने, ‘दुई पार्टी एकता भएपनि नेकपामा दुई धार देखिनु स्वभाविक पनि हो । त्यसैमा खेल्न खोज्नुभएको छ, ईश्वर कमरेड । नेकपाभित्र पूर्व माओवादी विरोधी अभिव्यक्ति दिएर एकखालको पोजिसन बनाउने खेल उहाँको देखियो । यसअघि आफुले खोजेका पद नपाएपछि पछिल्लो रणनीति उहाँको फेरिएको हो ।’ 

उनका अभिव्यक्तिलाई शंकाको घेराबाट हेरेका छन् ओली, प्रचण्डले !

नेकपामा सरकारका काम कारवाहीलाई लिएर केही नेताहरुबाट विभिन्न खालका टिकाटिप्पणी हुने गरेका छन् । तर, पार्टी एकता विपरित गएर सचिवालय तहका अन्य नेताहरुले यस्ता अभिव्यक्ति भने दिएका छैनन् ।

 सचिवालयका एक नेता भन्छन्, ‘पार्टी एकताको घोषणा भएपनि तल्लो तहसम्मका संगठनको एकीकरण भएको छैन । त्यसमा ढिलाई भएकै हो । एकीकरण ढिला हुँदा कार्यकर्तामा निराशा पैदा भएको छ । तर, अब एकीकरण प्रक्रिया ढिला गर्नुहुँदैन भन्ने महशुस अध्यक्षद्धयलाई पनि भएको छ,’ उनले भने, ‘अब एकीकरण प्रक्रिया अघि बढ्दै छ । यस्तो बेला अध्यक्षद्धय र सचिवालयका केही नेताका अभिव्यक्तिले एकता प्रक्रिया झन् प्रभावित हुने खतरा पनि छ ।’

यसअघि उनले थप भने, ‘अध्यक्षद्धयको अभिव्यक्ति उहाँहरु बसेर मिलाउनुभयो । त्यसबाहेक ईश्वर कमरेडको प्रसंग जुन छ, उहाँले वेला–बेला त्यस्ता विवादित अभिव्यक्ति दिने गर्नुभएको छ । असोजमा आएकोे अभिव्यक्ति र केही दिन अघिको अभिव्यक्ति कुनै एक अध्यक्षप्रति लक्षित देखिन्छ, ती नेताले भने, ‘सचिवालयका अन्य नेताहरुले पार्टी एकता भाँड्ने गरी र अध्यक्षद्धयको लाइन विपरित बोल्नु भएको छैन । खाली सकारात्मक आलोचना भएका छन्, त्यो हुनु पनि पर्छ । तर पछिल्लो उहाँको अभिव्यक्तिबारे अब छलफल हुनुपर्छ, सायद होला ।’ 

त्यस्तै उनको बुझाईमा नेता पोखरेलका पछिल्ला अभिव्यक्ति पूर्व एमाले निकट नेताहरुलेनै रुचाएका छैनन् । उनका अभिव्यक्ति स्वयं प्रधानमन्त्री ओलीले पनि शंकाको घेराबाट हेर्ने गरेका छन् । त्यस्तै प्रचण्डले त असोजमा आएको अभिव्यक्तिदेखि पछिल्लो अभिव्यक्तिलाई नियालिरहनुभएको उनी निकट एक नेताले बताए ।  

ती नेताका अनुसार पार्टी एकता हुनु र भैसकेपछि पटक–पटक आएका उनका आक्रामक अभिव्यक्तिप्रति अध्यक्ष ओलीले पनि कुण्ठाका रुपमा आएको बुझ्छन् ।  उनले भने, ‘उहाँमा पुरानो रोग हो । आफु जता जाँदा र बोल्दा फाइदा हुन्छ, त्यसरी नै चल्नुहुन्छ । पूर्व एमालेको नवौँ महाधिवेशनमा पनि ओली खेमामा जाँदा जित्ने ढुक्क भएपछि त्यतै लाग्नुभो । पछि ओलीको एसम्यान ठान्दै काम गर्नुभो’ ती नेताले भने, ‘तर अध्यक्ष ओलीले पनि उहाँको स्वभाव बुझेको भएर होला, एकीकृत पार्टी बनेपछि आफ्नो टिमबाट सिधै आउट गरिदिए । उहाँलाई रोजेको मन्त्रालय पनि दिएनन्, महासचिव पनि बनाएनन् ।’ 


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप