शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाल यौन दुराचारीको क्रिडास्थल बन्दै नेपाल,

२७ महिनामा समातिए ११ विदेशी नागरिक

समाजसेवाको आडमा यौन दुराचार
आइतबार, २७ माघ २०७५, १३ : ३६
आइतबार, २७ माघ २०७५

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले माघ ५ गते बिहान ३ बजे रविभवनस्थित एक घरबाट ३ जना नेपाली नाबालकसहित ४ जना नेपाली, एकजना भारतीय र एक जना विदेशी नागरिकलाई पक्राउ गर्यो । पक्राउ पर्ने विदेशी नागरिक थिए ५० वर्षीय इयान रोबर्ट कोल । कोललाई बाल यौन दुराचारको अभियोगमा सिआइबी टोलीले पक्राउ गरेको थियो । सिआइबीले उनको सम्बन्धमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
 
सिआइबी टोलीले माघ ५ गते बिहान कोललाई पक्राउ गरेसँगै बाल यौन दुराचारको अभियोगमा पक्राउ पर्ने विदेशी नागरिकको सङ्ख्या २७ महिनाको अवधिमा ११ जना पुगेको छ । 

यस्तो छ सिआइबीको २७ महिने ‘अप्रेसन’को फेहरिस्त  
 
नाम : केन्नेथ जोसेफ कम्बस्
मिति : २०७३ भदौ २४ गते
स्थान : होटल याम्बु, ठमेल
वर्ष : ४८
अभियोग : बाल यौन दुराचार
देश : अमेरिका

२४ भदौ, २०७३ मा सिआइबीको टोली एकाएक ठमेलस्थित होटल याम्बुमा पुग्छ । सादा पोसाकमा होटल पुगेका प्रहरी टोलीमाथि पहिले त होटल सञ्चालकले नै केरकार गर्छन् । पछि सिआइबीको टोली भन्ने थाहा पाएपछि होटल व्यवस्थापनले प्रहरीलाई सहयोग गर्छ र प्रहरी केन्नेथको कोठामा पुग्छ । 

सिआइबी टोलीले केन्नेथलाई अन्य ४ जना नाबालकसहित पक्राउ गर्छ । नेपाली नाबालकमाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले केन्नेथलाई पक्राउ गर्छ । पक्राउ पर्दा केन्नेथ नेपाली नाबालकसहित नग्न अवस्थामा पक्राउ परेका थिए । 

सन् २०१४ को सेप्टेम्बरपछि ६ पटक नेपाल आएका थिए केन्नेथ । उनी आफूलाई एप डेभलपरकारुपमा चिनाउने गर्थे र त्यही कामको सिलसिलामा नेपाल आउजाउ गरिरहेको बताउँथे । 

तर केन्नेथले नाबालकमाथि यौन दुराचार गरेको उजुरी सिआइबीमा आइपुग्यो । त्यसपछि चनाखो बनेको सिआइबी टोलीले उनलाई नाबालाकहरुसँग अप्राकृतिक मैथुन गरिरहेकै अवस्थामा पक्राउ गर्यो । 

त्यसो त केन्नेथ त्यसअघि पनि यही आरोपमा अमेरिकामा पटक–पटक पक्राउ पर्दै आएका थिए । अमेरिकी प्रहरीको निगरानीमा रहेका केन्नेथलाई नेपालमा भने अपराध गर्न सहज थियो । त्यसकारण उनी पटक–पटक नेपालमा आएर यौन अपराध गर्ने गरेका थिए । 

सिआइबी टोलीले केन्नेथलाई पक्राउ गर्दा उनीसँगै ४ जना नेपाली नाबालकलाई पनि उद्धार गरेको थियो । पछि उनीविरुद्ध उजुरी गर्ने नाबालकको सङ्ख्या १० जना पुग्यो । 

सिआइबीको अनुसन्धानपछि सरकारी वकिलले केन्नेथमाथि २०७३ असोज १४ गते जिल्ला अदालत काठमाडौंमा बाल यौन दुराचारको अभियोगमा मुद्दा दायर गर्यो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि केन्नेथलाई थुनामै राख्न आदेश दियो ।

पछि २०७४ वैशाख १० गते उक्त मुद्दामा फैसला हुँदै केन्नेथ दोषी ठहरिन्छन् । केन्नेथलाई ९ वर्षको कैद सजाय सुनाइन्छ भने पीडित बालकमध्ये १६३ र १६५ कोडका बालकलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश हुन्छ । केन्नेथ यतिबेला सुन्धारा कारागारमा बन्दी जीवन बिताइरहेका छन् । 

केन्नेथले यसरी फसाउँथे जालमा
केन्नेथ अधिकांश समय काठमाडौंमै घुमघाम गरेर बिताउने गर्थे । घुम्ने क्रममा सडक बालबालिका वा अभिभावकको रेखदेख नभएको बालक देखेमा उनी ती बालकप्रति नजिक हुन्थे । उनी ती बालकलाई खानेकुरा तथा खेलौनाहरु दिने गर्थे । त्यसपछि उनी ती बालकको परिवारको बारेमा जानकारी लिन्थे । दिनभरी जता गएपनि अभिभावकले खोजी नगर्ने बालकलाई उनी होटलमा ल्याउँथे र उनीहरुमाथि यौन दुराचार सुरु गर्थे । 

सिआइबीका एक अनुसन्धान अधिकृतका अनुसार केन्नेथ केही बालकका अभिभावकलाई प्रभावमा पार्न पनि सफल भएका थिए । उनी बालकलाई विद्यालय तथा खेलकुद सामग्री किनिदिने र अभिभावकलाई समेत केही पैसा दिने गर्दथे । कतिपय बालकका अभिभावकलाई राम्रो शिक्षाका लागि विदेश पठाइदिनेसम्म भन्न भ्याएका थिए । 

बुद्ध पुतुवार थिए सहयोगी
केन्नेथको अपराधकर्ममा सहयोग गर्ने नेपाली चाहीँ बुद्ध पुतुवार थिए । काभ्रे स्थायी घर भएका पुतुवारले बालकहरुलाई प्रलोभनमा पारी केन्नेथसम्म पुराइदिने काम गर्दथे । पहिले पुतुवार विभिन्न स्थानमा दलित तथा गरीब बस्तीहरुमा पुग्ने गर्दथे, बालकलाई प्रलोभन पार्दै केही रकम पनि दिन्थे र नजिक हुन्थे । पुतुवार ती बालकको तस्वीर केन्नेथलाई पठाउँथे । अनि केन्नेथले छानेको बालकलाई स्वयम्भुस्थित आफ्नो कोठामै ल्याउँथे र केन्नेथलाई दिन्थे । 

काभ्रेको गरीब परिवारमा जन्मिएका पुतुवारको आर्थिक हैसियत हेर्दा उनले केन्नेथलाई मात्रै नभएर अन्य विदेशी बाल यौन दुराचारीका लागि पनि काम गरेको हुनसक्ने प्रहरी बताउँछ । विदेशी बाल यौन दुराचारीलाई सहयोग गरेको र बालक उपलब्ध गराएको तथा दुराचारको मतियार भएको प्रमाणित गर्दै जिल्ला अदालत काठमाडौंले वुद्ध पुतुवारलाई समेत ४ वर्षको कैद सजाय सुनाएको छ । 

नाम : अल्बर्ट फ्रेड किलिन्के
मिति : २०७४ असार १५ गते
स्थान : ज्याठास्थित एक होटल
वर्ष : ६३
अभियोग : बाल यौन दुराचार
देश : जर्मनी

जोसेफ केन्नेथपछि सिआइबीले पक्राउ गरेका अर्का व्यक्ति हुन् जर्मनीका ६३ वर्षीय अल्बर्ट फ्रेड किलिन्के । बाल यौन दुराचारकै अभियोगमा पक्राउ परेका किलिन्के बिगत २५ वर्षदेखि नेपालमा लगातार आइरहेका थिए । तर विगत १५ वर्षदेखि भने किलिन्के पटक–पटक नेपालमा आउने र २–३ महिना नेपालमै बस्नेसमेत गरिरहेका थिए ।

अल्बर्टले सडक बालक तथा अन्य बालकलाई खानेकुरा तथा पैसा र खेलौनाको लोभ देखाउँथे अनि उनीहरुलाई आफ्नो कोठामा ल्याउँथे । त्यसपछि उनीहरुसँग यौन दुराचार गर्ने गरेका थिए । सिआइबी टोलीले उनलाई होटलबाट पक्राउ गर्दा अर्धनग्न अवस्थामै पक्राउ गरेको थियो र त्यतिबेला एक १४ वर्षीय बालकलाई समेत उद्धार गरेको थियो । 

नाम : मर्कस् केन्डलर
मिति : २०७४ भदौ २२ गते
स्थान : ठैंटीको एक होटल
अभियोग : बाल यौन दुराचार तथा मानव बेचबिखन
वर्ष : ४५
देश : अष्ट्रिया

अष्ट्रियाका ४५ वर्षीय मर्कस केन्डलर २०७४ भदौ २२ गते ठमेलस्थित एक होटलबाट पक्राउ परे । बान यौन दुराचारको अभियोगको प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सिआइबी)को टोलीले उनलाई पक्राउ गरेको थियो । ३ बालकलाई बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गर्न जाँदा उनी अर्का एक बालकलाई यौन दुराचार गरिरहेकै अवस्थामा पक्राउ परे । 

मर्कस् केन्डलर पनि बाल यौन दुराचारकै लागि पटक–पटक नेपाल आएका थिए । उनले धादिङको गोगनपानीमा आफूलाई समाजसेवीका रुपमा प्रस्तुत गरेका थिए । स्थानीय बासिन्दा, विद्यालय तथा गरीब परिवारका बालकहरुलाई अध्ययन सामग्री, खेलकुद सामग्री आदि दिन्थे उनी । त्यसबाहेक गाउँलाई नै सम्पन्न बनाउन लागि पर्ने सपना पनि बाँडेका थिए उनले ।

गोगनपानीका बासिन्दाहरु पनि विदेशीले सहयोग गर्ने भयो भनेर मख्ख थिए । उनी गोगनपानीकै गाउँमा पनि एउटा कोठा भाडामा लिएर एक नाबालकसँगै बस्थे । 

पछि काठमाडौंमा पनि ती नाबालाकलाई ल्याएर अप्राकृतिक मैथुन तथा यौन दुराचार गरेका थिए ।

तर जब सिआइबीको जानकारीमा मर्कस् बाल यौन दुराचारी भएको जानकारी आयो, त्यसलगत्तै सिआइबीले उनीमाथि निगरानी बढायो र रङ्गेहात उनलाई पक्राउ गर्यो । 
त्यसपछि उनलाई २०७५ साल असोज ४ गते जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि थुनामा पठायो । पछि २०७५ मंसिर ११ गते काठमाडौँ जिल्ला अदालतले मर्कस्लाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र प्रत्येक पीडितलाई एक–एक लाख क्षतिपूर्ति भराउने फैसला सुनायो । मर्कस् अहिले जेलजीवन बिताइरहेका छन् । 

नाम : हेनेरिक्स एड्रियनस
मिति : २०७४ कात्तिक २४ गते
स्थान : कोटेश्वरको एक होटल
अभियोग : बाल यौन दुराचार
वर्ष : ७५
देश : नेदरल्याण्ड

प्रहरीको २०७४ साल कात्तिक २४ गते कोटेश्वरको एक गेष्ट हाउसबाट ७५ वर्षीय बृद्ध विदेशी नागरिकलाई पक्राउ गर्यो । उमेरले बृद्धावस्थामा पुगिसकेका उनलाई प्रहरीको सिआइबी टोलीले बाल यौन दुराचारको आरोपमा हेनेरिकसलाई पक्राउ गरेको थियो । 

नेदरल्याण्डका बाल यौन दुराचारी हेनेरिकसको टार्गेटमा पनि सडक बालबालिका तथा अभिभावकको प्रत्यक्ष रेखदेख नभएका बालकहरु पर्थे । हेनेरिकस ती बालकलाई भेटेपछि उनको बारेमा बुझ्थे र खानेकुरा तथा पैसाको लोभ देखाएर बालकलाई आफ्नो कोठासम्म ल्याउने गर्थे । त्यसपछि ती बालकलाई उनी सकेसम्म फकाएर बाल यौन दुराचारमा संलग्न गराउँथे । कुनै बालकले नमानेमा उनी जबरजस्तीसमेत गर्थे । 

एक बालकलाई फकाएर कोठामा पुराई बाल यौन दुराचार गरेपछि ती बालकका अभिभावकले प्रहरीमा उजुरी गरेको थियो । त्यही उजुरीका आधारमा सिआइबीले सुक्ष्म निगरानी राखिरहेकै अवस्थामा अर्को बालकलाई लिएर उनी आफ्नो गेष्ट हाउसमा आइपुगे । त्यसपछि सिआइबी टोलीले उनलाई पीडित एक बालकसहित रङ्गेहात पक्राउ गर्न सफल भयो । 

पछि २०७४ साल मंसिर २४ गते जिल्ला अदालत काठमाडौंको निर्णयबाट पुर्पक्षका लागि थुनामा छन् । 

नाम : योगेन भन्ने ह्यान्स जर्जेन गुस्तव
मिति : २०७४ पुष २९ गते
स्थान : भोटेबहालस्थित निजको कोठा
अभियोग : बाल यौन दुराचार
वर्ष : ६३
देश : जर्मनी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सिआइबी टोलीले २०७४ पुष २९ गते भोटेबहालको एक डेराबाट एक विदेशी नागरिकसहित २ जना बालकलाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका विदेशी नागरिक थिए ६३ वर्षीय जर्मन नगरिक योगेन भन्ने ह्यान्स जर्जेन गुस्तव । सिआइबीले ती विदेशी नागरिकलाई बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो । 

योगेन भोटेबहालमा एक समाजसेवीका रुपमा रहेका थिए । उनी अनाथ तथा गरीब बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने तथा खाना खुवाउने समाजसेवीका रुपमा थिए । त्यहाँका सरकारी विद्यालय तथा केही निजी विद्यालयका विद्यार्थीलाई पनि खाजा खुवाउने गर्थे ।

समाजसेवाको आवरणमा देखिएका ती व्यक्ति वास्तवमा बाल यौन दुराचारी थिए । उनी पहिले गरीब तथा अनाथ बालकलाई आफ्नो प्रभावमा पार्थे । सहयोग गर्ने बहाना बनाएर एक दुई दिनसँगै लिएर घुम्थे । अनि खाना तथा खाजा खुवाउने, खेलकुद सामग्री तथा कपडा किनिदिने गर्थे । अन्ततः आफ्नो डेरामा लगेर बालकलाई यौन दुराचार गर्ने गर्थे । 

पहिले पनि दुई जना बालकलाई यौन दुराचार गरेको जानकारी प्रहरीमा आएपछि प्रहरीले योगेनमाथि निगरानी बढाएको थियो । प्रहरीको निगरानीमा परेका योगेनले दुई बालकलाई लिएर आफ्नो डेरामा गएपछि सिआइबी टोलीले योगेनलाई फलो गर्यो । र, दुई जना बालकलाई यौन दुराचार गरिरहेकै अवस्थामा योगेनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । काठमाडौं जिल्ला अदालतको २०७४ माघ २३ गतेको निर्णयले योगेनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी जगनाथदेवल कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

नाम : पिटर जोन ड्यालग्लिस
मिति : २०७४ चैत्र २४ गते
स्थान : मण्डन देउपुर, काभ्रे
अभियोग : बाल यौन दुराचार
वर्ष : ६०
देश : क्यानडा

एक जना अति विशिष्ट विदेशी नागरिकलाई पक्राउ गर्न सिआइबीको टोलीलाई ज्यादै कठिन पर्यो । 

युएनको विशिष्ट पदमा कार्य गरिसकेका व्यक्ति बाल यौन दुराचारमा संलग्न होलान् भनेर यकिन गर्न पनि प्रहरीलाई ज्यादै कठिन पर्यो । तर जब सिआइबीमा एक अभिभावकले आफ्नो नाबालकमाथि बाल यौन दुराचार भएको गुनासो गरे, तर सिआइबी टोलीले पिटरमाथि निगरानी बढाउन थाल्यो । 

सन् २००२ देखि पटकपटक नेपाल आएका उनी वास्तवमा बाल यौन दुराचारकै लागि नेपाल आउने गरेका रहेछन् । सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको सिनिएर एडभाइजरकारुपमा उनी नेपाल आएका थिए । त्यतिबेला दुई वर्ष नेपालमा बसेका पिटर त्यसपछि पनि नेपाल आउने र जाने गरिरहन्थे । 

त्यहीबीचमा पिटर युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा अफगानिस्तानमा ५ वर्ष काम गरे । त्यतिबेला पनि उनको ‘नेपाल प्रेम’ रोकिएन । 

सन् २००२ देखि नै उनले नेपालमा बाल यौन दुराचार गरेको प्रहरीको निस्कर्ष छ । त्यतिबेलादेखि नै पिटरले गरीब बालबालिकालाई पढाइदिने, आर्थिक सहयोग गर्ने र बदलामा बाल यौन दुराचार गर्ने गरेको प्रहरीको भनाई छ । पिटरले सन् २००२ देखि करिब ५० जना बालबालिकालाई आर्थिक तथा शैक्षिक सहयोग गरेको र उनीहरुमध्ये अधिकांशलाई पिटरले यौन दुराचार गरेको आरोप छ । 

सन् २००९ बाट भने नेपालमा नै पिटरले जग्गा जमिन किनेर ‘फार्म हाउस’ खोल्ने निर्णय गरे । 

पहिलोपटक आइएलओमा काम गर्दा चिनेका व्यक्ति थिए ठेंचोका चिरिकाजी महर्जन । महर्जन खासमा माली थिए र उनी सोझा व्यक्ति थिए । पिटरले तिनै महर्जनलाई विश्वासमा लिएर उनको नाममा शहरी क्षेत्रभन्दा धेरै टाढा काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किने । त्यही जग्गामा उनले ‘फार्म हाउस’ खोले । र, त्यही फार्म हाउसलाई उनले आफ्नो यौन दुराचारको अखडा बनाए । 

३ वटा मानार्थ पिएचडी तथा कैयन् सम्मान पाएका व्यक्ति पिटर हालका क्यानेडियन प्रधानमन्त्रीसँग पनि नजिक भएको प्रहरी बताउँछ । यस्तो व्यक्तिलाई पक्राउ गर्नका लागि करिब ३ दिन सिआइबी टोलीले ‘रेकी’ गरेको थियो । अन्ततः दुई जना पीडित बालकसँगै सुतिरहेको अवस्थामा सिआइबी टोलीले पिटरलाई आफ्नै फार्म हाउसबाट २०७४ चैत्र २४ गते बिहान ५ बजे रङ्गेहात पक्राउ गर्यो । यतिबेला पिटर काभ्रे जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।

नाम : पिट हेन भान 
मिति : २०७५ जेठ ३१ गते
स्थान : सातघुम्ती, ठमेल
अभियोग : बाल यौन दुराचार
वर्ष : ६६
देश : नेदरल्याण्ड

२०७५ साल जेठ ३१ गते सिआइबीको टोलीले सातघुम्ती ठमेलको एक होटलबाट नेदरल्याण्डका एक नागरिकलाई पक्राउ गर्यो । ६६ वर्षीय पिट हेन भानलाई पक्राउ गर्दा प्रहरीले बाल यौन दुराचारीको ओपमा पक्राउ गरेको थियो । 

पेशाले बाल चिकित्सक अर्थात् डाक्टर रहेका पिट हेन भान त्यसअघि बिगत ७ वर्षदेखि लगातार नेपाल आइरहेका थिए । उनको एकमात्रै उद्देश्य नेपाली बालकलाई यौन दुराचार गर्नु थियो ।

पिट हेनको बारेमा सूचना आएलगत्तै सिआबीले उनीमाथि निगरानी बढाएको थियो । एक पीडित बालकको अभिभावकले सिआइबीमा उजुरी गरेलगत्तै प्रहरीले पिटको पिछा सुरु गरेको थियो । 

सिआइबीले पिछा गरिरहेकै अवस्थामा पिट एक बालकलाई लिएर आफ्नो होटलमा पुगे । त्यसपछि सिआइबी टोलीले बालकलाई उद्धार गर्दै पिटलाई पक्रियो । सरकारी वकिलसँगको बयानमा ती पीडित बालकले आफूलाई पिटले ४ वर्षदेखि यौन दुराचार गरिरहेको बयान दिए । 

त्यसपछि काठमाडौं जिल्ला अदालतले २०७५ असार २७ गते पिटलाई पुर्पक्षका लागि थुनामा पठायो । पछि जिल्ला अदालतले २०७५ मंसिर १७ गते पिटलाई दोषी सावित गर्दै ८ वर्ष कैदको फैसला सुनायो । उनी यतिबेला जगनाथदेवल कारागारमा कैदी जीवन बिताइरहेका छन् । 


नाम : क्रिस्टोफी गुलिएक्स र डेनिस माथेउ
मिति : २०७५ साउन ६ गते
स्थान : गौशाला, काठमाडौं । 
अभियोग : बाल यौन दुराचार
वर्ष : ४२ र ३८ वर्ष
देश : फ्रान्स


सिआइबी टोलीले नै गत साउन ६ गते गौशालाबाट दुई जना फ्रान्सेली नागरिकलाई पक्राउ गर्यो । पक्राउ पर्नेहरु थिए ४२ वर्षीय क्रिस्टोफी गुलिएक्स र ३८ वर्षीय डेनिस माथेउ । 

क्रिस्टोफी सन् २०१७ को सेप्टेम्बरमा पर्यटन भिसामा नेपाल आएका थिए । त्यसको एक महिनापछि उनले आफ्नो अर्का साथी डेनिस माथेउलाई पनि नेपाल बोलाए । उनीहरुले काठमाडौंबाट अलि पर प्रहरीको नजर कम पर्ने स्थान कागेश्वरी मनहरामा डेरा लिएर बस्न थाले । उनीहरुले त्यही डेरालाई नै बाल यौन दुराचारको केन्द्र बनाए । 

काठमाडौं लगायत अन्य स्थानमा भेटिएका अनाथ बालक वा अभिभावकको प्रत्यक्ष निगरानीमा नरहेका बालकलाई उनीहरु आफ्नो निशाना बनाउँथे । अन्य दुराचारकिो जस्तै उनीहरुको ‘फर्मुला’ पनि शैक्षिक तथा आर्थिक सहयोग नै रहन्थ्यो । कतिपय बालकलाई खेलकुद सामग्री किनेर दिने पनि गर्दथे उनीहरु । कतिपय बालकका अभिभावकलाई प्रलोभनमा पारेरसमेत उनीहरुले बाल योन दुराचार तथा अप्राकृतिक मैथुन गर्ने गर्दथे । 

उनीहरुको निशानामा परेका केही बालकले आफूलाई गरिएको दुराचारबारे अभिभावकलाई बताए । र, अभिभावकले प्रहरीमा खबर गरेपछि उनीहरुलाई गौशाला चोकबाटै सिआइबी टोलीले पक्राउ गरेको थियो । 

यी दुई नागरिकविरुद्ध ८ जना पीडित बालकले सरकारी वकिलसमक्ष बयान दिएका छन् । आफूहरुमाथि गरिएको यौन दुराचार र अप्राकृतिक मैथुनका सम्बन्धमा बयान दिइसकेका छन् । हाल यी दुई फ्रान्सेली नागरिक पुर्पक्षका लागि थुनामा छन् ।

नाम : इयान रोबर्ट कोल
मिति : २०७५ माघ ५ गते
स्थान : रविभवन, कालीमाटी । 
अभियोग : बाल यौन दुराचार
वर्ष : ५० वर्ष
देश : बेलायत

नाम : अजय पोद्धार
मिति : २०७५ माघ ५ गते
स्थान : रविभवन, कालीमाटी । 
अभियोग : बाल यौन दुराचार (मतियार)
वर्ष : २३ वर्ष
देश : भारत

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पछिल्लोपटक पक्राउ गरेको व्यक्ति हो, बेलायतका इयान रोबर्ट कोल । ५० वर्षीय बेलायती नागरिक कोललाई सिआइबी टोलीले माघ ५ गते बिहान (राती) ३ बजे रविभवनको एक अपार्टमेण्टबाट पक्राउ गर्यो । उनीसँगै ३ नेपाली बालक, १ वयस्क नेपाली र अर्का एक भारतीय नागरिकलाई पनि पक्राउ गर्यो । उनीमाथि लगाइएको आरोप पनि बाल यौन दुराचार नै थियो ।

कोल यसअघि पनि पटक–पटक नेपाल आएका थिए र नेपालमा बाल यौन दुराचार गर्ने गरेका थिए । सन् २०१६ मा नेपाल आएर बाल यौन दुराचार गरी फर्किएपछि उनलाई बेलायतकै प्हरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । त्यतिबेला बेलायत प्रहरीले सिआइबीसँग मिलेर घटनामा बारेमा अनुसन्धान गरेको थियो । त्यतिबेला कोलको डिजिटल डिभाइसमा नेपाली बालकहरुको नग्न तस्वीर तथा भिडियोहरु फेला परेको थियो । 

त्यसपछि सिआइबीको निगरानीमा रहेका कोल नेपाल आएको जानकारी पाएलगत्तै प्रहरीले कोलको पिछा गरेको थियो । 

यही बीचमा कोल धादिङको एक गाउँमा गएर बालकसँगै बसेका थिए । त्यहाँबाट केही बालकलाई लिएर उनी र उनका साथी ७५ वर्षीय डेरेक स्कट पोखरामा गएर दुई रात सगै बसे । त्यसपछि उनीहरु बालकलाई धादिङमै छाडेर काठमाडौं फर्किए । 

पुष २६ गते काठमाडौं फर्किएका उनीहरुले माघ ३ गते ती बालकहरुलाई फेरि काठमाडौं बोलाए । तर त्यतिबेलासम्म उनका साथी डेरिक भने बेलायत पुगिसकेका थिए । 

माघ ४ गते कोल बालकसँगै भाडामा लिइएको फ्ल्याटमा पुगेको जानकारी आएपछि सिआइबी टोलीले रेकी गर्यो र बिहान ३ बजे उनलाई बालकसँगै नग्न सुतिरहेको अवस्थामा पक्राउ गर्यो । 

कोलसँगै बालक उपलब्ध गराउने धादिङकै रोक्का थरका एकजना नेपाली पक्राउ परे । त्यसबाहेक भारत घर भएका अजय पोद्धारलाई पनि सिआइबीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरिरहेको छ ।

नेपालमा कोल पक्राउ परेसँगै नेपालमै भएको बाल यौन दुराचारको आरोपमा बेलायतमै डेरिक स्कट पनि पक्राउ परेका छन् ।  

यी घटनाहरुले के देखाउँछ भने नेपालमा बाल यौन दुराचारको घटनामा बृद्धि भइरहेको छ । नेपालमा बाल यौन दुराचार सहज भएको र बाल यौन दुराचारबारे अभिभावकमा कम सचेतना भएको कारणले पनि विदेशीहरुले नेपाललाई सहज केन्द्र ठान्ने गरेका छन् । जसका कारण पछिल्ला दिनमा नेपालमा बाल यौन दुराचारको घटनामा वृद्धि हुनुका साथै विदेशी नागरिकहरु पक्राउ पर्ने क्रम बढ्न थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप