शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीका पाठ र समृद्धिका सपना

शनिबार, २६ माघ २०७५, १५ : ३७
शनिबार, २६ माघ २०७५
‘सुखी नेपाली समृद्ध नेपाल !’ बडो सुन्दर शब्दविधान हो ।     वर्तमान नेपाल सरकारले यसलाई प्रगतिको आफ्नो लक्ष्य बताएको छ । प्रधानमन्त्री केपी ओली आफ्नो भाषणमा यो शब्दावली पाठ गर्न कहिल्यै छुटाउनुहुन्न । जसरी एकथरी व्राह्मणहरु प्रतिदिन खाना खानुअघि मृगचर्ममाथि पलेँटी कसेर सारस्वरसहित भन्दै आफ्नै तालमा वेद पाठ गर्छन् । वैदिक परम्पराअनुसार यसरी वेदपाठ गर्नु व्रह्मणहरुकोे कर्मकाण्डीय कर्तव्य नै मानिन्छ ।
 
यसै त पाठ गर्ने चलन नेपालमा नयाँ होइन । पाठ गर्न चाहनेहरुका लागि बजारमा विभिन्न स्तोत्रहरु उपलब्ध रहिआएकाछन् । राजधानीका पुस्तक पसलेहरु भन्छन् हामीकहाँ हिजोआज यस्तै स्तोत्रहरु  नै बढी बिक्छन् ।
 
नेपालको इतिहासका पण्डितहरु भन्छन्, राणाशासकहरु पनि प्रतिदिन व्याघ्रासनमा पलेंटी कसेर विभिन्न स्तोत्रहरु पाठ गर्थे । शिकारमा जानुअघि पाठ गर्थे । शिकारबाट फर्केपछि पनि पाठ  गर्थे । राणाप्रवृत्तिका विशेष जानकारहरु भन्छन् शासनमा सुधार चाहनेहरुका छातीमा गोली दाग्नुअघि र पछि पनि शासक राणाहरु व्याघ्रासनमा बसेर पाठ गर्थे ।
 
यसरी पाठ गर्नु हाम्रो शासकीय परम्परा नै रहिआयो ।  विगतका जनआन्दोलनहरुले पनि शाासकीय परम्परामा रहिआएको यो स्तोत्रपाठको संस्कृतिलाई यथावत् कायमै राखेको पाइएको छ । जुन संस्कृतिबाट आज हाम्रा प्रधानमन्त्री महोदय पनि लाभान्वित भइरहनुभएको छ ।
 
पाठ भावना र सम्भावनाको कुरा हो । जो जनहितकारी काम र त्यसको सकारात्मक परिणाममा विश्वास राखेर संयमकासाथ पदीय दायित्व वहनमा निरन्तर क्रियाशील रहन सक्दैनन्, आफू र आफन्तका स्वार्थसाधनमा चिप्लिरहन्छन् त्यस्ता विवश शासक प्रशासकका लागि स्तोत्रपाठ नै आधार हो । यसबाट पापनिवारणको भावना जागृत गर्न सकिन्छ । यसैले पाठ ‘भावना र सम्भावना’को कुरा हो । प्रत्ययवादी कुरा हो । 
 
स्तोत्रपाठहरु विद्यालयको पाठ जस्तो जानकारीमूलक हुनुपर्छ भन्ने छैन । कुनै कथा कविता र घटनाबाट लिइने पाठजस्तो पनि यो होइन । यो पाठकर्ता स्वयम्ले र आधिकारिक श्रोताले समेत पाठको अर्थ अभिप्राय केही नबुझे पनि काम चल्छ । हामीकहाँ पुरेतले गरेका पाठहरु जजमानले बुझ्दैनन् । बुझिन पनि भन्दैनन् । सोध्ने त चलनै छैन । किनभने स्वयम् पाठक पुरेतले पनि यसको अर्थ र अभिप्राय बुझेको छैन भन्ने सम्बन्धित जजमानलाई पनि थाहा छ । यस कोणबाट हेर्दा हाम्रो परम्परा सचेत र समृद्ध मात्र छैन । अति विश्वास र अन्धविश्वास पनि हाम्रो परम्परामा छ । संस्कृतिमा छ । कति आफुलाई वैज्ञानिक र सुसंस्कृत ठान्नेहरुले पनि यो यस्तो परम्परागत संस्कृति र दास भावनाबाट मुक्ति पाएका छैनन् । भैँसीपूजादेखि होलिवाइनसम्मका परिदृश्यहरु त्यसैका दृष्टान्तहरु हुन् । 
 
पाठ गरेपछि ग्रहदशा जान्छ, पाप महापापहरु कट्छन् भन्ने भावनाको सम्भावनात्मक सोच पनि अतिविश्वास र अन्धविश्वासग्रस्त मानिसहरुमा परम्परागत नै हो । यसैले पुरेतका पाठबाट तत्काल कुनै उपलब्धि नदेख्दा पनि मानिसहरु अधीर हुँदैनन् ।
 
धैर्य त अझ नेपाली जनताको पनि परम्परागत प्राप्ति नै हो । चिरन्तन स्वभाव नै हो । यसैले जनताको मत पाएर जनताकै प्रतिनिधित्व गर्न भनी सत्तामा उक्लेकाहरु आफ्ना हितका लागि व्यापक जनहितविरुद्ध कानुन बनाएर वा नबनाएरै पनि जनताका टाउकामा गिर खेल्न निर्धक्क रहन सक्छन् । यो हामी नेपालीहरुले वर्षौंदेखि देखिभोगिआएको यथार्थ हो ।
परम्परागत पाठसंस्कृति र त्यसका भावना सम्भावनाका सन्दर्भमा कुरा गर्दा डा गाविन्द केसीको १६ पटकको अनशन र हालै पारित शिक्षाविधेयक एक अनुपम दृष्टान्त हो । जस्तै कि पारित विधेयकका  सन्दर्भमा सुरुमा कति सांसदहरुले भने, डा केसीका माग शतप्रतिशत सम्बोधन भयो । केही दिनपछि तिनै सांसदले भने डा केसीका माग ९५प्रतिशत सम्बोधन भयो । यसरी अथ्र्याउँदै जाँदा तिनै सांसदले पछि भने, विधेयकमा शब्द जुनसुकै परेका हुन् केसीका भावना समेटिएको छ । 
 
यसरी संसदीय व्याख्यान डा केसीले उठाएको समस्याको तर्कसङ्गत कारण र परिणामको सम्बोधन गर्नेतिर नगएर गोलमटोल प्रस्तुतिको ‘भावना’ मा आएर टुङ्गिएको छ । यो परम्परागत पाठ संस्कतिकै एक नमुना उदाहरण हो । हाम्रा परम्परागत पुरेतहरु आफ्ना अन्नदाता जजमानसँग भावना र संभावनाकै कुरा गर्छन् । जुन दिन वैज्ञानिक एवम् तर्कसङ्गत विश्लेषणको कुरा आउँछ त्यस दिनबाट यो परम्परागत पुरेत्याइँ चल्दैन ।
 
हामी कानले सुख समृद्धिको पाठ सुन्छौं, व्यवहारमा सत्तासीनहरुबाट प्रवाहित अनाचार, अत्याचार र भ्रष्टाचारको बाढी देख्छौं । पुरेतले शान्तिपाठ गरेर दक्षिणा बोक्छ, जजमानको दशा झन् झन् विकराल बन्छ । पुरेत भन्छ, भावना राख राम्रो हुने सम्भावना छ । रोग चापेपछि छिट्टै निको हुन्छ । नभए अर्को एउटा पूजापाठ तर्जुमा गर म फेरि पनि आइदिन्छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप