केन्द्रीय संस्करण

कविता : ऐनाभित्रको मान्छे

person explore access_timeमाघ २६, २०७५ chat_bubble_outline0

चन्डिका भट्टराई

अनायासै मेरा आँखा, अर्का जोडी आँखासँग ठोक्किएँ,
म एकछिन रोकिएँ
अनि हेरे टक्क अडेर
नियाले धेरै बेर छक्क परेर
आश्चर्य 
ऐनाभित्रको मान्छे मजस्तै देखिन्छ
उही रूप
उही रङ्ग
अनि उस्तै हाउभाउ 
म हल्लिँदा ऊ पनि हल्लिन्छ 
म बस्दा ऊ पनि बस्छ ।

अनुहार पनि मेरैजस्तो
त्यो ऐनाभित्रको मान्छेको
होइन, त्यो मेरो अनुहार कसरी हुनसक्छ ?
मलाई त सबैले ‘तिमी कति हसिली’ छौ भन्छन्,
तर त्यो ऐनाभित्रको अनुहार त हाँस्नै बिर्सिए जस्तो देखिन्छ ।
कद सँगै बढेको पद
अनि पदसँगै बढेको जिम्मेवारी
जिम्मेवारी निभाउँदा निभाउँदै
वर्षाैंदेखि नहाँसेको जस्तो अनुहार
सायद हाँस्न बिर्सिसक्यो 
त्यो ऐनाभित्रको मान्छेले

आँखा पनि मेरै जस्ता 
त्यो ऐनाभित्रको मान्छेको
अहँ ! ती कसरी हुनसक्छन् मेरा आँखा ?
हरेक रात मेरा स्वामीले अँगालोमा बेर्दै भन्नुहुन्छ मलाई
तिम्रा आँखा साह्रै चम्किला र चञ्चल छन्,
अन्धकारमा पनि चम्कन्छन्,
झिमझिम गर्दै कति बोल्छन् तिम्रा आँखा
तर ती ऐनाभित्रका आँखा त शिथिल र शान्त छन्
सबैका सपना आफ्ना बनाउँदा बनाउँदै
सपना देख्नै बिर्सिएका जस्ता आँखा
हरेक पल अरूका लागि झिम्किँदा झिम्किँदै
झिम्किन नै गाह्रो भएका जस्ता आँखा
सायद झिम्किनै नपरे हुन्थ्यो जस्तो लाग्छ 
ती आँखालाई ।


अहो ! हेर्दा म जस्तै देखिन्छ 
त्यो ऐनाभित्रको मान्छे
तर त्यो म कसरी हुनसक्छु ?
मेरो घरमा पाहुना लाग्न आउने सबैले मलाई भन्छन्,
यिनी कहिल्यै थाक्दिनन् 
घर परिवारको काममा सधैँ व्यस्त
फुर्सदसँग कोसौँ टाढा,
दिनहुँको कामकाजमा निकै अभ्यस्त
तर कति थकित र निहत्था देखिन्छ
त्यो ऐनाभित्रको मान्छे ।

आफूलाई भन्दा बढी आफन्तलाई
माया गर्दागर्दै थाकेको मान्छे
आफ्ना रहरहरुको बलि चढाई 
आफ्नाका लागि बाँचेको मान्छे
आफूलाई बिर्सिएर आफ्नै जीवनसँग हारेको मान्छे ।


हो मेरै जस्ता आँखा
मेरै जस्तो अनुहार
तर म होइन, त्यो ऐनाभित्रको मान्छे 
म होइन, त्यो ऐनाभित्रको मान्छे ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ