शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु कारागारमा ‘नाइके आतंक’

हप्ता असुली र कुटपीटः संजय टकलालाई निजी फोन !
शुक्रबार, २५ माघ २०७५, १३ : १५
शुक्रबार, २५ माघ २०७५

काठमाडौं– ललितपुरस्थित नख्खु कारागारमा नाईके श्रीचन राय यादवले ‘आतंक’ मच्चाएका छन् ।

अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका यादवले नख्खु कारागारमा आतंक मच्चाएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

माघ ११ गते मन्त्रालयमा दर्ता भएको उजुरीपत्रअनुसार नाइके यादवले अन्य दुईजना बन्दीहरु सुरजकुमार गुप्ता र सन्तोष गुरुङसँगको मिलेमतोमा रकम असुली तथा कुटपिट आतंक मच्चाएका छन् ।

विगतमा श्रीचन यादव तत्कालीन नेकपा (माओवादी) मातृका यादव समुहको केन्द्रीय सदस्यसमेत रहिसकेका व्यक्ति हुन् । उनले दैनिक उपभोग्य बस्तुमासमेत बजार मुल्यभन्दा चारगुणा बढी मूल्य लिई बिक्री गर्ने गरेको गृह मन्त्रालयमा परेको उजुरी पत्रमा उल्लेख छ ।

‘कारागार कार्यालयले नुहाउन र लुगा धुन उपलब्ध गराएको पानीको लागि समेत श्रीचनले प्रतिब्यक्ति एक हजार रुपैयाँ असुल्दै आएका छन्’ उजुरीपत्रमा भनिएको छ, ‘आन्तरिक प्रशासनमा रहेर कार्य गर्न इच्छुक नाइके वा सह-नाइके नियुक्ति सिफारिस गर्न प्रक्तिव्यक्ति २ देखि ३ लाख  रुपैयाँसम्म असुल्ने र रकम दिन नमाने यातना दिएर जेल स्थानान्तरण गर्दै आएका छन् ।’ श्रीचनको समुहले नख्खु कारागारभित्र आतंक मच्चाउन खुलेआम छुट पाउनुको कारण चाहिँ उनको जेलर (उप–सचिव) जीवन दुलालसँगको मिलोमतो हो भन्ने आरोप लागेको छ ।

तर जेलर दुलालले त्यो आरोप अस्वीकार गरेका छन् । दुलाल भन्छन्, ‘नख्खु कारागारको तीनवटा ब्लकमा ११ सय कैदीबन्दी रहेका छन् । कारागारभित्र हामी हरेक दिन अनुगमन गर्छौं, कुटपिट भएको कुरा एक न एक दिन थाहा भइहाल्छ ।’ उनी थप्छन्, ‘श्रीचनको समुहले पैसा असुल गरेको भए कसले किन दिए ? त्यो हामी बुझ्छौं ।’

‘जेलभित्र आर्थिक कारोबार नगर्नु’ भनेर प्रशासनले ठाउँ–ठाउँमा सूचना नै टाँस गरेको पनि जेलर दुलालले दावी गरेका छन् ।

त्यसो त श्रीचन यादवको समुहले कारागारभित्र खाना होटल सञ्चालन गरी सरकारले दिएका सिधा आफैं लिने र कैदी बन्दीहरुबाट प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ असुल्ने गरेको बताइएको छ ।

जेलभित्र नाइकेले आतंक मच्चाएको उजुरीको छानविनबारे प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्दा गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) रामकृष्ण सुवेदी सम्पर्कमा आउन चाहेनन् ।

संजय टकलालाई निजी फोन

नख्खु कारागार प्रशासनले पूर्व सांसद संजय टकलालाई जेलभित्र निजी रुपमा टेलिफोन सुविधा उपलब्ध गराएको बुझिएको छ ।

कर्तव्य ज्यान, बमविष्फोट तथा अपहरण मुद्दामा सजाय भुक्तान गरिरहेका टकलालाई निजी रुपमा प्रयोग गर्न एकथान फोन उपलब्ध गराएर जेल प्रशासनले अन्य कैदीबन्दीमाथि ‘विभेद’ मात्र हैन, नियम कानूनकै पनि धज्जी उडाएको आरोप नख्खुका कैदीबन्दीहरुले लगाएका छन् ।

कारागार प्रशासनले कैदीबन्दीका आफन्त तथा कानुन ब्यवसायीहरुसँग सम्पर्क गर्नका लागि उपलब्ध गराएको टेलिफोनसमेत पहुँचको भरमा मात्र प्रयोग गर्न दिने र श्रीचनको समुहले बढी पैसा असुल्ने गरेको भन्दै कैदीबन्दीहरुले श्रीचनको समुहलाई कारावाही गर्न र जेल सरुवा गर्न माग गरेका छन् ।

नियमविपरीत टकलालाई निजी फोन दिएको तथा बन्दीहरुले फोन उपयोग गर्न नपाएको आरोप पनि जेलर दुलालले अस्वीकार गरेका छन् । ‘संजय टकलालाई छुट्टै फोन दिएको छैन, उनीहरुले आफ्नै निजी फोन पनि चलाउन पाउँदैनन्’, दुलाल भन्छन् ‘तीनवटा ब्लकमा १२ ओटा लाइन छ, ब्यक्तिगत रुपमा कसैले फोन प्रयोग गर्न पाउँदैन ।’

नख्खु कारागारभित्रको बेथितिबारे अनभिज्ञता प्रकट गर्दै कारागार ब्यवस्थापन विभागका प्रमुख (सह–सचिव) हरिप्रसाद मैनालीले भने, ‘त्यस्तो गुनासो विभागमा आएको छैन, आयो भने हेरौंला ।’

स्मरण रहोस्, विभिन्न जेलका जेलरहरुले पहुँचवाला कैदीबन्दीसँगको मिलेमतोमा आर्थिक धन्दा चलाउने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो । गृह मन्त्रालय मातहत रहने जेलरहरु राजनीतिक दलको ढोका चहार्दै एक जेलबाट अर्को जेलको प्रमुखको रुपमा सरुवा हुने गरेका छन् । शाखा अधिकृतदेखि उप–सचिवसम्म एकपटक जेलर भएपनि उनीहरु अन्यत्र सरुवा नै हुन नचाहने गृह–प्रशासनको पुरानै समस्या रहेको कर्मचारीहरु बताउँछन् ।

(गृह मन्त्रालयमा दर्ता भएको उजुरीपत्रको कपी हामीसँग सुरक्षित छ, कैदीबन्दीको सुरक्षालाई ध्यानमा राख्दै उक्त पत्र सार्वजनिक नगरिएको हो । –रातोपाटी)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप