बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमन्त्री बास्कोटाले गाउँको लामा दाईलाई सम्झिदै भने– ‘बाँदरले घाउ कोट्याएजस्तो  नकोट्याउ भो सिद्धियो’

बिहीबार, २४ माघ २०७५, १८ : ५६
बिहीबार, २४ माघ २०७५

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले द्धन्द्धकालीन मुद्धाका घाउहरु कोट्याएर फाइदा नहुने बताएका छन् । बिहिबारको नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासामा जवाफ दिँदै नेपालले द्धन्द्धकालीन घटनालाई मौलिक ढंगबाट समाधान गर्ने उल्लेख गरे । 

सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले राजीनामा गरेको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले कानुनी प्रक्रियाअनुसार पूर्ति हुने बताए । उनले भने– ‘कसैले राजीनामा दिए तर कानुनी प्रक्रियाअनुसार पूर्ति हुन्छ । काम बाँकी भएकोले नै आयोगको अस्तित्व  छ । संस्था रहेसम्म व्यक्तिहरु आउँछन् जान्छन् ।’

मन्त्री बास्कोटाले अन्तर्राष्ट्रिय समुदायले द्धन्द्धकालीन मुद्धालाई लिएर अनावश्यक चासो लिएको संकेत गर्दै उक्त मुद्धालाई नेपालले आफ्नै मौलिकता टुङ्ग्याउने बताए ।

उनले भने–‘अन्तर्राष्ट्रिय समुदायको चासो छ । नेपाली जनताको नै चासो त्योभन्दा धेरै छ । नेपालमा द्धन्द्ध हुँदा कोही पनि अन्तर्राष्ट्रिय समुदाय घाइते भएनन् होला सायद । मर्ने को हामी । मार्ने को हामी । टुहुरा टुहुरा हुने को हामी । दर्दनाक अवस्था कसको हाम्रो । विधुवा हुने को हामी । विदुर हुने को हामी । घरबास उठिबास लाग्ने कसको हाम्रो । सारा क्षति बेहोर्नुपर्ने को हामी । उहाँहरुको विदेशी सहयोगमा बनेका कतिपय संरचनामा पनि क्षति पुग्यो होला । चासोको निम्ति धन्यवाद । तर यो विषयलाई हामी हाम्रो मौलिकतामै हाम्रो विशेषतामा नै टुङ्ग्याउछौँ ।’

उनले हिजो द्धन्द्धमा रहेकाहरु नै आज द्धन्द्ध व्यवस्थापनको फ्रन्टलाइनमा रहेको भन्दै बाहिरको टोलीले सबै काम गर्न नसक्ने बताए । उनले विदेशीहरुले कहिलेकाही सहजताको निम्ति एकदम आक्रमण बेला छेक्न आएजस्तो गरेर सहजता मात्र गर्न सक्ने बताउँदै आफ्नो गाउँमा हुने झगडाको कथा सुनाए ।  

मन्त्री बास्कोटाले भने– ‘हाम्रो गाउँमा एकजना लामा हुनुहुन्थ्यो । दुईतिर खुकुरी झिकेर । उ बेला त्यस्तै हो । त्यहाँ बीचमा गाउको एकजना भद्र भलाद्मी पुग्थ्यो जसलाई सबैले मान्थे । भीडन्त हुन हुन लागेजस्तो भएपछि ठ्याक्क कसैले ल दुई पाइला अगाडि बढ् त भनेपछि पछाडी सरेर लम्की झम्की गरेर फर्किन्थे । त्यस्तो बेला थियो कुनैबेला । तर अहिले हामी लम्की झम्कीमा छैनौँ । गला मिलाएर बकैदासितको द्धन्द्ध कहिले समाधान गर्ने भनेर हिँडेका छौँ ।’

उनले हिजो द्धन्द्धमा रहेका पक्षहरु अहिले मिलेर हिडिरहेको भन्दै विगतको घाउ नकोट्याउन सुझाव दिएका छन् । उनले भने– ‘हिजो द्धन्द्धमा रहेकाहरु अहिले गलामा गला मिलाएर हिडिरहनुभएको छ । प्रचण्ड जी पनि त्यसैगरी हिड्नुभाछ । प्रधानमन्त्री पनि त्यसरी हिड्नुभाछ । प्रमुख प्रतिपक्षी दलको नेता पनि त्यसैगरी हिड्नुभाछ । कसलाई थाहा छैन र एकले अर्काको टाउकाको मूल्य तोकेको ? के गर्या के गर्या, पक्राउ पूर्जी जारी गर्या । यी त विगतका कुरा हुन् त्यसलाई कति कोट्याइरहने भनेको ? बाँदरले घाउ कोट्याएजस्तो  नकोट्याउ भो सिद्धियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप