बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रगतका लागि सेना प्रहरीकै भर !

बुधबार, २३ माघ २०७५, १० : २९
बुधबार, २३ माघ २०७५

दुल्लु – दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । 

सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–३ की बिमला कार्कीलाई सुर्खेत अस्पताल सिफारिश गरियो । प्रसूतिका लागि अस्पताल पुगेकी कार्कीलाई ‘ए’ नेगेटिभ रगत आवश्यक प¥यो । 

उक्त रगत जिल्लामा उपलब्ध नभएपछि उनलाई सुर्खेत सिफारिश गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले बताए । 

कार्की मात्र होइन, अस्पतालमा प्रसूति हुन पुगेकी नारायण नगरपालिका–१ की २१ वर्षीया नबीना केसीले अस्पतालले दिएको मितिअनुसार व्यथा लागेपनि बच्चा जन्माउन सकिनन् । 

दैलेख अस्पतालले शल्यक्रिया गर्ने सबै तयारी पूरा ग¥यो तर उनलाई आवश्यक ‘बी’ नेगेटिभ रगत उपलब्ध भएन । रगत अभावपछि अस्पतालले उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत सिफारिश ग¥यो । 

यस्तै नौमुले गाउँपालिका–४ की २५ वर्षीया मनकला रामजाली प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेमा प्रसूति हुन आइपुगिन् । त्यहाँ प्रसूति हुन नसकेपछि प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेले दैलेख अस्पताल सिफारिश ग¥यो । 

उनको सामान्य रुपमा बच्चा जन्मिन नसकेपछि शल्यक्रिया गर्नुपर्ने भयो । रगतका लागि नेपाली सेनाको इन्द्रदल गुल्मलाई खबर गरियो । त्यहाँ पनि रगत उपलब्ध नभएपछि अस्पतालमा कार्यरत डा. अनिल खरेलले आफैँले रगत दिएर उनको ज्यान बचाए । 

जिल्लामा ब्लडबैंक नहुँदा अस्पतालमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन् । चिकित्सक भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीकहाँ रगतका लागि धाउने गर्छन् । 

ड्युटीमा खटिएका सैनिक र प्रहरीलाई हतारहतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन् । “स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रगत जुटाउन घण्टौँ लाग्छ,” डा खरेलले भने । 

अस्पतालको मागअनुसार सेना र प्रहरी जवानले यसरी आपतकालीन रुपमा रक्तदान गर्दै आएको वषौँ  वितिसक्यो । “बिरामीलाई रगत चाहिएमा सेना र प्रहरीलाई गुहाछौँ,” उनले भने ।वषौँदेखि सेना र प्रहरीले नै ब्लडबैंकको रुपमा काम गर्दै आएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्री अस्पतालको मागअनुसार प्रहरी जवानले रक्तदान गर्दै आएको बताउँछन् । 

अस्पतालमा कार्यरत स्वास्थ्कर्मी, सेना र प्रहरीबाहेक अन्य पेशा÷व्यवसायीले प्रायःजसो रक्तदान गरेको पाइँदैन । अस्पतालमा विशेषगरी सुत्केरी र चोटपटकका बिरामीलाई बढी रगत आवश्यक पर्छ । “बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्छ,” जिल्ला अस्पतालका डा. पन्तले भने । 

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अस्पतालमा रगतको समस्या समाधान गर्नुका साथै अस्पताललाई सुविधासम्पन्न ५० श्ययामा विकास गर्न नगरसभाबाट पारित गरेर कर्णाली प्रदेश सरकारलाई पठाएको बताए । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले अस्पतालमा सुविधा थप गर्नका लागि नारायण नगरपालिका र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको बताए । 

सङ्कलित रगत पनि सुर्खेतमै 

जिल्लामा बेलाबेला रक्तदान कार्यक्रम आयोजना गरिन्छ । यहाँका सामाजिक सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखलगायत युवाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

 विसं २०७२ जेठमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख र दैलेखी युथले संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

 त्यतिबेला ४० जनाले रक्तदान गरेका थिए । रगत सुरक्षितसाथ राख्न नसक्दा सङ्कलित रगत सुर्खेत पठाउनुपरेको हो । समयसमयमा गरिने रक्तदान कार्यक्रममा सङ्कलित रगत पनि सुरक्षित राख्न नसकिँदा सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको डा. पन्त बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप