केन्द्रीय संस्करण
कथा

हुँडार र दयालु मान्छे

person explore access_timeमाघ २३, २०७५ chat_bubble_outline0
प्रतीकात्मक तस्बिरः http://www.hdnicewallpapers.com

घटना धेरै पुरानो हो। चीनको चुङ्सान पहाडमा एउटा भयङ्कर बदमास हुँडार थियो। गाउँलेहरुलाई सधैँजसो दुःख दिइरहन्थ्यो। एक पटक धेरै सिकारी मिलेर त्यस बदमास हुँडारलाई लखटे। हुँडार बित्तातोडसित दगुर्दै भागिरहेको थियो। बाटोमा अचानक एक जना दयालु मान्छे भेटिए। छट्टू हुँडारले नम्र हुँदै त्यस मान्छेसित भन्यो, “हेर्नुस् न हजुर। मैले कसैको केही बिराएको छैन र पनि एक हुल सकिारीहरु मेरो पिछा गर्दैछन्। कृपया मेरो ज्यान जोगाइदिनुहोस् !”

कुरा सुनेर दयालु मान्छेलाई दया जाग्यो। हतार हतार त्यस हुँडारलाई एउटा बोरामा बन्द गर्यो र झाडीतिर लुकाइदियो।

 हुँडार खोज्दै सिकारीहरु त्यहाँ आइपुगे। दयालु माछेसित सोधे, “तपाइँले भाग्दै यतातिर आएको एउटा हुँडारलाई देख्नुभयो कि ? कुन बाटो गयो होला हँ ?”

“खै मैले त यतातिर हुँडार आएको देखिनँ। बाटोहरु धेरै छन्। अन्तै कतै गयो होला !” दयालु मान्छेले भन्यो।

दयालु मान्छेका कुरा पत्याएर सिकारीहरु अन्तै कतै लागे।

सिकारीहरु अव त टाढै पुगिसकेहोलान् भन्ने भएपछि  दयालु मान्छेले बोरा खोलेर हुँडारलाई बाहिर निकालिदियो।

हुँडार खुरुक्क आफ्नो बाटो लागेन। उसले त्यस दयालु मान्छेसित भन्यो, “म अहिले अति नै भोकाएको छु। तुरुन्तै केही खान पाइन भने मर्छुहोला। तिमी साँच्चिकै दयालु मान्छे हौ भने थचक्क यहाँ बस। म तिमीलाई खान्छु !”

“ओहो ! के अचम्म !? म तिम्रो ज्यान बचाइदिने, तिमीचाहिँ मलाई नै खान खोज्ने ? यो त भएन बा !” दयालु मान्छेले भन्यो। यो सुनेर हुँडार रिसायो। एक पटक हिँ हिँ गरेर दाह्रा देखायो र झम्टने सुर कस्यो। ठीक त्यसै बेला एक जना दाह्री पाकेका बुढा मान्छे टुप्लुक्क त्यहाँ आइपुगे।

“हेर्नुस् न न हजुरबा, मैले सिकारीहरुबाट यसको ज्यान जोगाइदिएँ। यो अहिले मलाई नै मार्ने र खाने जमर्को गर्दैछ। के यो गर्नु न्याय हो त ?” दयालु मान्छेले बुढा मान्छेसित सोध्यो।

हुँडारले भन्यो, “हेर्नुस् हजुरबा, यसको कुरा झुट्टा हो। यसले मलाई सास थुनेर मार्ने मनसायले बोरामा बन्द गरेर राखेको थियो। मार्न खोज्नेलाई मारेर खानु कसरी अन्याय हुन्छ ? लौ भन्नुहोस् त ?”

बुढा मान्छेले मुन्टो हल्लाए। अनुहार गम्भीर बनाउँदै भने, “तिमीहरु दुवै आफ्आफ्नो तर्क दिइरहेका छौ। म कुरैकुरामा कसरी विश्वास गरुँ ? बरु तिमीहरु दुवैले यसअघिको घटना जस्ताकोतस्तै दोहोर्याएर मलाई देखाओ। त्यसपछि न्याय के हो म तिमीहरुलाई बताइदिन्छु र आफ्नो बाटोलाग्छु, हुन्न ?”

हुँडारले बुढा मान्छेका कुरा मान्यो र खुरुक्क बोराभित्र पस्यो। दयालु मान्छेले डोरी लियो र बोराको मुख राम्ररी बाँधिदियो।

“ल अव तिमी तरबार उठाएर यस हुँडारलाई च्वाट्टै छिनालिदेऊ। यति गरेपछि यो मुद्दा यहीँ छिनिन्छ !” बुढा मान्छेले दयालु मान्छेतिर हेर्दै भने।

दयालु मान्छे अनकनायो। यसैबीच बोराभित्र चटपटाउन खोज्दै हुँडार तिखो आवाजमा गुर्रायो। बुढा मान्छेले भने, “यो हिँस्रक र बेइमान जन्तुलाई तरिका पु¥याएर सिध्याइदिन तिमी किन अनकनाउँछौ ? तिम्रो यो दयालुता ठीक ठाउँमा परेको छैन। दयालु हुनुको अर्थ यस्ता खतरनाक जन्तुलाई बचाउनु र आफु त्यसको आहारा बन्नु होइन। तिमी यसलाई अहिल्यै यहीँ च्वाट्ट छिनाल्दैनौ भने म त भन्छु तिमीजस्तो ब्ुद्घु मान्छे संसारमा खोजेर पनि भेटिने छैन बुझ्यौ ?!”

बुढा मान्छेका कुराले दयालु मान्छेको घट्टमा घाम लाग्यो। दयालु मान्छेले तरबार उठायो। बुढा मान्छेसित चाहिँदो मद्दत लियो र त्यस हुँडारलाई बोराबाट उम्कन नपाउँदै त्यहीँ छप्काएर सिध्याइदियो।

प्रस्तुतिः— एस.आर.एन.

(चीनको प्राचीन नीतिकथाबाट)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...