शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एन्सर’ नभएको रोग हो क्यान्सर ? विशेषज्ञहरु भन्छन्ः हैन, निको हुन्छ क्यान्सर पनि !

सोमबार, २१ माघ २०७५, १२ : १३
सोमबार, २१ माघ २०७५

एक जमाना थियो, क्यान्सर भन्नेबित्तिकै सबै थर्कमान हुन्थे । कुनै रोगीमा क्यान्सर भएको देखियो भने परिवारमा रुवावासी चल्थ्यो, चिकित्सक स्वयं पनि निराश र हतोत्साही बन्न पुग्थे । किनभने, क्यान्सर भनेको निको नहुने रोग थियो । भनाइ नै चलेको थियो, ‘एन्सर’ नै नभएको रोगको नाम हो क्यान्सर ।

सुखद कुरा के छ भने, कुनैबेला उत्तर नै नभएको अर्थात् उपचार नै नहुने भनी मानिएको क्यान्सरको पनि उपचार हुन्छ । धन्यवाद भन्नै पर्छ विज्ञान र प्रविधिमा भएको चमत्कारलाई, जसले कुनै जमानामा भयानक, खतरनाक र उपचार नै हुन नसक्ने भनी कहलिएको क्यान्सर जस्तो डरलाग्दो रोगको पनि उपचार सम्भव बनाइदियो ।

यसको अर्थ यो कदापि होइन – क्यान्सर पूर्ण रुपमा निको हुन्छ, यसलाई सखाप नै बनाउन सकिन्छ । विशेषज्ञहरुको भनाइमा प्राथमिक अवस्थातिरको अर्थात् पहिलो र दोस्रो चरणसम्मको क्यान्सरको उपचार हुन्छ, त्यो चरणमा क्यान्सर रोगीलाई निको बनाउन सकिन्छ । त्यसपछिका चरणहरु अर्थात् तेस्रो र चौथो चरणमा प्रवेश गरिसकेको क्यान्सरलाई चाहिँ निको पार्न गाह्रो हुन्छ ।

सबैभन्दा दुःखद कुरा पनि यहीँ नै छ । क्यान्सर त्यस्तो छली रोग हो, जसले आक्रमण गरेको कुरा हत्तपत्त थाहा नै हुँदैन । जब थाहा हुन्छ, पत्ता लाग्छ, त्यतिबेलासम्म समय घर्किसकेको हुन्छ । अधिकांश अवस्थामा त्यो रोग पहिलो र दोस्रो चरण पार गरेर तेस्रो र चौथो चरणमा पुगिसकेको अर्थात् क्यान्सरले असाध्यै च्यापिसकेको अवस्थामा मात्र यो रोगको बारेमा हुन्छ । 

गरिब देशको पीडा

दुःखीको घरमा मात्र तेरो बास हुने भए

हे ईश्वर, दया राखी मलाई अझ दुःख दे ।

बालकृष्ण सम, मुकुन्द इन्दिरा नाटक

क्यान्सर रोग पनि त्यस्तै भएको छ, धनीहरुको तुलनामा गरिबलाई नै बढी पिरोल्ने ।

खासमा भन्ने हो भने, नेपाल जस्तो गरिब, पछौटे र विकासोन्मुख देशहरुमा स्वास्थ्यसम्बन्धी जनचेतना, सुविधाहरु अति कम छ । बिहानबेलुकी मुख जोर्नै धौ धौ पर्ने जनताहरु बसोबास गर्ने गरिब देशहरुमा नियमित स्वास्थ्य परीक्षण गर्ने गराउने भन्ने कुरा सपनामा पनि चिताउन नसकिने कुरा हो । त्यसमाथि थप, सरकारी वेवास्ता वा प्राथमिकतामा नपर्ने, नपारिने स्थिति, त्यस्ता रोगहरु पत्ता लगाउने दक्ष जनशक्ति, सुविधा एवं ठाउँहरुको अनुपलब्धता अर्को ठूलो समस्या र चुनौती बन्न पुग्छ । यी र यस्ता थुपै्र कारणहरुले गर्दा क्यान्सर रोगले ग्रसित व्यक्तिहरु बेलैमा उपचारार्थ अस्पताल पुग्न पाउँदैनन्, सक्तैनन् । जब उनीहरु अस्पताल पुग्छन्, रोगले उपचार गर्न कठीन हुने वा उपचार नै नहुने चरणमा प्रवेश गरिसकेको हुन्छ ।

त्यसो त क्यान्सर रोगले गरिब, धनी भन्दैन; बुढा, जवान, बालक चिन्दैन । अर्थात् यो रोग युवा, बुढा, धनी गरिब, पुरुष, महिला, बच्चा सबैलाई बरोबरी लाग्न सक्छ । दुःखद कुरा के पनि हो भने, यो रोगको उपचार महंगो हुन्छ । यो रोगले च्यापेपछि परिवारमाथि भयानक आर्थिक भार थोपरिन्छ । सामान्य हैसियत र आर्थिक अवस्था भएकाले यो रोगको उपचार गर्न सक्दैन । सरकारले दिने एकाध लाखको झिनो आर्थिक सहायता हात्तीको मुखमा जिरा सरह मात्रै हुन्छ ।

क्यान्सर आफैमा विश्वव्यापी रुपमा सबैभन्दा बढी मृत्यु गराउने रोग हो । त्यसमाथि थप, गरिब देशका जनताहरुलाई क्यान्सरको उपचार सुविधा प्राप्त छैन, प्राप्त भएकै सुविधा पनि उनीहरुको आर्थिक हैसियत र पहुँचभन्दा बाहिरको विषयवस्तु बन्न पुग्छ । त्यसैले क्यान्सरका कारण सबैभन्दा बढी मृत्यु पनि गरिब देशकै जनताको हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, क्यान्सरका कारण हुने मृत्युमध्ये ७० प्रतिशत घटना निम्न तथा मध्य आम्दानी भएका देशहरुमा हुनेगर्छ । संगठनको सन् २०१७ को तथ्यांकअनुसार त्यस्ता निम्न आम्दानी भएका देशहरुमा ३० प्रतिशतभन्दा कम मात्रै क्यान्सरको उपचार सुविधा उपलब्ध छ । त्यसको ठीक विपरीत उच्च आम्दानी भएका देशरुमा चाहिँ क्यान्सर उपचारको सुविधा ९० प्रतिशत भन्दा बढी छ ।

के हो क्यान्सर?

क्यान्सर रोगहरुको त्यो ठूलो समूह हो, जसमा शरीरको भाग विशेषमा कोषहरुको अस्वभाविक बृद्धि हुन्छ । त्यो बृद्धिले कोषको आफ्नो क्षेत्र नाघेर फैलिँदै जान्छ र छेउको कोषहरु तथा अंगहरुमा आक्रमण गर्दै फैलिन थाल्छ । शरीरको कुनै पनि भागमा क्यान्सर लाग्न सक्छ ।

खासमा, शरीरका सामान्य कोषहरु असामान्य बृद्धि हुँदै जाँदा क्यान्सरको कोषमा परिणत हुने गर्छ । विभिन्न चरणका क्रिया पार गर्दै त्यो कोष क्यान्सरको प्रारम्भिक घाउबाट रुपान्तरण हुँदै त्यो खतरनाक हमलाकारी ट्यूमरमा बदलिन्छ ।

सामान्य कोष क्यान्सरको घाउ बनेर अन्ततः खतरनाक ट्यूमर बन्ने यो प्रक्रिया रोगीको वंशानुगत पक्षहरु र तीनथरिका बाह्य पक्षहरुबीचको सम्मिश्रणको नतिजा हो । ती तीनथरि बाह्य पक्षहरुमा निम्नकुराहरु पर्दछन्ः

१) भौतिकः परावैजनी र आयोनाइज विकिरण

२) रासायनिकः सूर्तीजन्य पदार्थहरु, खाद्य पदार्थको प्रदुषण (aflatoxin)  र पेयपदार्थको प्रदुषण (arsenic)

३) जैविकः भाइरस, व्याक्टेरिया वा प्यारासाइटहरुको कारण हुने संक्रमण

क्यान्सर विश्वव्यापी रुपमा मृत्यु गराउने रोगहरुमध्येमा दोस्रो पर्दछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, सन् २०१८ मा १ करोड ८१ लाख क्यान्सरका नयाँ रोगीहरु देखापरे भने क्यान्सरकै कारण ९६ लाख मानिसहरु मरे । विश्वभरिमा प्रत्येक ६ जनाको मृत्युमध्ये १ जना क्यान्सरका कारण मर्ने गर्छ ।

आधा जसो क्यान्सर निको हुन सक्छ

३० देखि ५० प्रतिशतसम्म क्यान्सरहरु पन्छाउन सकिने खालका हुन्छन् । भन्ने नै हो भने, विश्वव्यापी रुपमै क्यान्सरको सबैभन्दा प्रमुख कारण सूर्तीजन्य पदार्थहरुको सेवन हुने गर्छ, जसलाई पन्छाउन वा रोक्न नसकिने होइन । विश्व बैंकको तथ्याङकअनुसार, संसारभरि नै क्यान्सरको कारण हुने मृत्युमा २२ प्रतिशत कारण त सूर्तीजन्य पदार्थको सेवनबाट हुने विभिन्न क्यान्सर हुने गर्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सन् २०१३ मा अमेरिकामा मात्रै सूर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर लागेर १,७४,१०० जना मानिसहरु मरेका थिए । विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वभरिमा ९६ लाख मानिसहरु क्यान्सरका कारण मरेका थिए ।

प्रमुख ५ क्यान्सर र मर्नेको संख्या

क्यान्सर

मर्नेको संख्या

फोक्सो

१७,६०००

ठूलोआन्द्रा/मलद्वार (कोलोन)

८,६२,०००

आमाशय

७,८३,०००

कलेजो

७,८२,०००

स्तन

६,२७,०००

सूर्तीजन्य पदार्थको विक्री, वितरण र उपभोगलाई रोक्ने हो भने थुपै मानिसहरुलाई क्यान्सरबाट बचाउन सकिन्छ । त्यसैगरी, रक्सीको सेवन घटाउने, स्वस्थ जीवन शैली अपनाउने, शरीरको तौल घटाउने, नियमित रुपमा व्यायामहरु गर्ने तथा संक्रमणबाट वा संक्रमण गराउने स्थितिबाट बच्न सक्ने हो भने क्यान्सरको सम्भावना निकै कम भएर जान्छ । त्यसबाहेक, असुरक्षित यौन सम्पर्कबाट हुने संक्रमण (HPV-infection), वायु प्रदुषण, घरभित्र चुलोचौका तथा अन्य कारण हुने धुँवाहरुबाट बच्ने हो भने पनि क्यान्सरको सम्भावना कम हुन्छ ।

त्यसैगरी, क्यान्सर गराउन सक्ने संक्रमणहरुबाट बच्ने र तिनको बेलैमा उपचार गर्ने हो भने पनि क्यान्सरलाई पन्छाउन वा घटाउन सकिन्छ । खासगरी, कलेजोको रोग तथा महिलाहरुको पाठेघरको मुखमा लाग्ने रोगहरुलाई बेलैमा पहिचान गरेर उपचार गराउन र पूर्ण रुपमा निको पार्न पनि सकिन्छ ।

खासगरी, संसारभरिका क्यान्सर रोगहरुमध्ये पाँच भागको एक भाग क्यान्सर जटील खालका इन्फेक्सनका कारण हुने गर्छ । उदाहरणका लागि ह्युमन पापिलोमाभाइरस (human papillomavirus (HPV)) का कारण पाठेघरको मुखको क्यान्सर हुन्छ भने हेपाटाइटिस बी भाइरस (hepatitis B virus (HBV)) ले कलेजोको क्यान्सर गराउँदछ । त्यस्तै यौन सम्पर्कका कारण सर्ने संक्रमण (HPV-infection) ले पनि यौनाङ्गमा क्यान्सर गराउँदछ । यी समस्याहरुको प्रभावकारी उपचार उपलब्ध छ । बेलैमा त्यस्ता संक्रमणहरुको उपचार गर्ने हो भने त्यसका कारण हुने क्यान्सर रोग लाग्न पाउँदैन । अझ एचपीभी र एचबीभी भाइरसका विरुद्धको खोप लगाउने हो भने विकसित मुलुकहरुमा क्यान्सरका कारण हुने मृत्युमा २० प्रतिशत कमी ल्याउन सकिन्छ । त्यसैगरी, त्यस्ता खोप कार्यक्रमले विश्वव्यापी रुपमा चाहिँ ११ लाख मानिसहरुलाई क्यान्सरबाट बचाउन सकिन्छ ।

अन्तिम चरणको क्यान्सरलाई निको पार्न नसकिए पनि त्यसबाट रोगीलाई हुने अत्यधिक कष्ट पीडालाई सही ढंगको हेरचाह स्याहारसुसार तथा औषधीको मद्दतले सहज बनाउन सकिन्छ ।

क्यान्सरको उपचार

अहिलेसम्म १०० प्रकारका क्यान्सर पत्ता लागिसकेको छ । भिन्न एनाटोमिक र मोलिक्युलर उपप्रकारहरुमा विभाजित गरिएका प्रत्येक क्यान्सरको उपचारविधि विशेष र फरक फरक हुने गर्छ ।

विश्वव्यापी रुपमा क्यान्सरका कारण हुने अपाङ्गता, कष्ट पीडा र मृत्युलाई प्रभावकारी रुपले घटाउन उपचारका विभिन्न चरणहरु हुने गर्छन् । त्यसमा रोगको पहिचान, रोगी र रोगका चरणहरुलाई छान्ने, उपचार गर्ने र आवश्यकताअनुसार विशेष खालका स्याहारसुसार (औषधीउपचार, हेरचाह, काउन्सिलिङ आदि) पर्दछन् ।

उपचारको उपायहरुमा चाहिँ शल्यक्रिया, औषधिहरु र आवश्यकताअनुसार रेडियोथेरापी आदि पर्दछन् ।

माथि उल्लेख भइसकेको छ, क्यान्सरको पहिलो र दोस्रो चरणसम्म प्रभावकारी उपचार हुन र गर्न सकिन्छ भने त्यसपछिका चरणहरुमा भने क्यान्सरको उपचार कठीन बन्दै जान्छ । यस चरणमा चाहिँ रोगको उपचारसँगसँगै रोगीको पीडा कम गर्ने, रोगीको जीवनलाई यथासक्य सहज बनाइदिने, रोगसँग जुघ्न परिवारलाई मानिसक र व्यवहारिक रुपमा तयार बनाउने लगायतका उपचार विधि (Palliative care) पर्दछ । 

सबैभन्दा बढी लाग्ने क्यान्सर

अहिलेसम्म १०० भन्दा बढी क्यान्सरका प्रकारहरु पत्ता लागिसकेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, सन् २०१८ मा विश्वव्यापी रुपमा सबैभन्दा बढी क्यान्सरका कारण मृत्यु गराउने क्यान्सरको प्रमुख ५ प्रकारमा पुरुष र महिलाहरुमा फरक फरक छ । फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा/मलद्वार, आमाशय र कलेजोको क्यान्सर पुरुषमा लाग्ने क्यान्सरका प्रमुख रुपहरु हुने भने महिलाहरुमा चाहिँ स्तन, ठूलो आन्द्रा/मलद्वार, फोक्सो, पाठेघरको मुख र थायरोइडको क्यान्सर मुख्य रुपमा लाग्ने क्यान्सरहरु हुन् ।

त्यसो त विकासोन्मुख देशहरुमा मृत्युको मुखमा महिलाहरुलाई धकेल्ने सबैभन्दा प्रमुख क्यान्सर चाहिँ पाठेघरको मुखको क्यान्सर रहेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा क्यान्सरबारे आधिकारिक सरकारी तथ्यांक अहिलेसम्म रहेको पाइँदैन । तर विश्व स्वास्थ्य संगठनको ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’को रिपोर्ट अनुसार, सन् २०१८ मा नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर ३८३६ वटा र सर्भिकल क्यान्सर २९४२ जनामा देखापरेको थियो भने सोही रोगका कारण क्रमशः ३६६५ र १९२८ जना मरेका थिए । 

सोही रिपोर्ट अनुसार, सन् २०१८ मा नेपालमा क्यान्सरका २६१८४ नयाँ रोगीहरु देखापरेका थिए भने १९४१३ जना मरेका थिए । त्यो संख्यामा आगामी ५ वर्षभित्रमा बढोत्तरी भएर ४३८१६ पुग्ने आँकलन गरिएको छ ।

प्रस्तुत चार्टमा सन् २०१८ मा नेपालमा देखापरेको नयाँ क्यान्सर रोगीहरु तथा प्रमुख क्यान्सर रोगहरुको स्थिति थाहा पाउन सकिन्छ ।

क्यान्सरसम्बन्धी केही तथ्यहरु
क्यान्सर विश्वव्यापी रुपमा ठूलो आर्थिक भार पर्ने खालको रोग बनेको छ र यो बढ्दो छ । सन् २०१० को तथ्यांकअनुसार, विश्वव्यापी रुपमा त्यसले पारेको आर्थिक भार ११.६ खरब अमेरिकी डलर रहेको थियो ।
उपचारको अप्राप्यता, अन्तिम चरणमा मात्रै रोगको पहिचान हुने कुरा गरिब तथा विकासोन्मुख देशहरुमा क्यान्सरको सन्दर्भमा मुख्य समस्या रहँदै आएको छ । सन् २०१७ मा कम आयशक्ति भएका देशहरुमध्ये २६ प्रतिशतमा मात्रै सार्वजनिक रुपमा क्यान्सरसम्बन्धी प्याथोलोजी सेवा उपलब्ध रहेको तथ्यांकले देखाएको थियो ।
क्यान्सरका कारण हुने मृत्युमध्ये १ तिहाई खानपीन तथा व्यवहारसँग सम्बन्धित ५ वटा कुराहरु जिम्मेवार रहन्छन् । ती पाँच कुराहरुमा, शरीरको मोटोपना, फलफूल तथा सागसब्जी कम खानु, शारीरिक गतिविधिहरु कम हुनु, सूर्तीजन्य पदार्थको सेवन र रक्सीलगायत मादक पदार्थहरुको सेवन पर्दछ ।
प्रतिवर्ष २० लाख मानिसहरुमा छालाको क्यान्सर देखापर्छ । यो क्यान्सरलाई पनि आवश्यक सावधानीहरु अपनाएर पन्छाउन सकिन्छ । खासगरी, छालालाई अति वेसी घामको सम्पर्कमा नआउने तथा विकसित देशहरुमा छालाको कालोपन बढाउने मेशिनको प्रयोगमा कमी ल्याउने हो भने यो रोगको संख्या धेरै कम हुनेथियो ।
जोसुकै अनि जुनसुकै उमेरका व्यक्तिलाई क्यान्सर रोग लाग्न सक्छ । तर उमेर बढ्दै जाँदा यो रोग लाग्ने खतरा पनि बढ्दै जान्छ । विशेष गरेर मध्यउमेरका व्यक्तिहरुमा यो रोग बढी देखापर्छ । क्यान्सर रोग पहिचान गरिएका रोगीहरुमध्ये करिब ७७ प्रतिशत मानिसहरु ५५ वर्ष उमेर समूहका हुने गरेका छन् । बढ्दो उमेर सँगसँगै मृतकोषहरुको व्यवस्थापन र नयाँ कोष बन्ने प्रणालीमा सुस्तता आउने कारणले पनि यस्तो हुने विश्वास गरिन्छ ।
अमेरिका जस्तो विकसित देशमा पनि मृत्युका सबैभन्दा सामान्य कारणमा क्यान्सर पर्दछ । त्यहाँ रोगका कारण हुने प्रत्येक ४ मृत्युमध्ये एकको मृत्युको कारण क्यान्सर नै हुने गर्छ । अमेरिकामा रोगका कारण मर्नेमा सबैभन्दा प्रमुख मुटु रोग पर्दछ ।
सन् २०१५ मा विश्वभरिका १६ प्रतिशत मानिसहरु क्यान्सरका कारण मरेका थिए । उक्त साल ८८ लाख मानिसहरुको मृत्यु क्यान्सरको कारण भएको थियो । त्यो संख्या भनेको प्रत्येक ६ जनाको मृत्युमा १ जना बराबर हुन्छ ।
मुख्य सार्वजनिक समस्याको रुपमा देखापर्ने गरेको स्तन, पाठेघरको मुख र ठूलोआन्द्रा/मलद्वार (colorectal) क्यान्सरहरुलाई बेलैमा पहिचान गर्ने र उपचार गर्ने हो भने पूर्ण रुपमा निको पार्न सकिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप