समृद्ध कर्णालीका प्रमुख पाँच आधार
नवराज कार्की
सभ्यताको जननी तथा सामाजिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक विविधताको धनी कर्णालीले पूर्वमध्यकालीन ग्रेटर नेपालको करिब दुई तिहाई भू–भागमा खस साम्राज्यको रूपमा आफ्नो राज्य सत्ता सञ्चालन जुम्लाको सिंजाबाट गर्दथ्यो । त्यस बखत कर्णाली आर्थिक, सामाजिक र सामरिक हिसाबले शक्तिशाली राज्य थियो ।
खस साम्राज्यको विखण्डन र बाइसे राज्यमाथि गोर्खा राज्यको एकीकरणपश्चात केन्द्रबाट निरन्तर पछाडि परिएको कर्णाली प्रदेश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका ७ वटा प्रदेशमध्ये आर्थिक सामाजिक विकासका सूचकाङ्कका हिसाबले सबैभन्दा पुच्छरमा रहेको छ ।
सबै प्रदेशभन्दा ठूलो भूगोल रहेको कर्णालीको जनसङ्ख्या भने सबैभन्दा कम छ । राष्ट्र बैङ्कले विभिन्न तथ्याङ्कका आधारमा गत जेठमा तयार पारेको नेपालको आर्थिक, सामाजिक, जनसाङ्ख्यिक तथा वित्तीय प्रदेशगत प्रोफाइलअनुसार अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरूमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । मुलुकको औसत मानव विकास सूचकाङ्क ०.४९० छ भने कर्णालीको ०.४२७ छ । गरिबीको राष्ट्रिय औसत २८.६ प्रतिशत छ भने कर्णालीको सबैभन्दा बढी ५१.२ प्रतिशत रहेको छ । देशको कूल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको अंश सबैभन्दा कम अर्थात् ४.१ प्रतिशत हिस्सा छ । मुलुकको औसत प्रतिव्यक्ति आय १००८ अमेरिकी डलर हुँदा कर्णालीको ६७७ अमेरिकी डलर छ । त्यसैगरी साक्षारता दर, भौतिक पूर्वाधारको विकास, सामाजिक विकास, आधारभूत स्थिति, सेवा क्षेत्र, उद्योगको सङ्ख्या, कृषि उत्पादन, राजस्व सङ्कलन र सरकारी खर्चमा पनि कर्णाली निकै कमजोर देखिएको छ । विकासका सबै सूचकहरू ज्यादै कमजोर रहेको कर्णाली प्रदेशको सामाजिक न्यायसहितको आर्थिक सामाजिक विकास, समृद्धि र रूपान्तरणका लागि निम्न प्रमुख पाँच विषयलाई प्राथमिकता र ध्यान दिन आवश्यक छ ।
१. सक्षम नेतृत्व र जनशक्ति :
कुनै पनि समाज वा राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको रिफ्लेक्सन त्यहाँको सामाजिक चेतना र उत्पादित जनशक्तिको स्तरीयता हो । तर पनि सक्षम र समर्पित जनशक्ति वा नागरिक नै समाज र राष्ट्रको विकास, समृद्धि र रूपान्तरणको नेतृत्वकर्ता र सम्वाहक हुन् । कर्णाली पिछडिएको र अति कम विकसित प्रदेश हो । विकासका हरेक सूचकहरू निम्न स्तरमा छन् । दक्ष, विशेषज्ञ र स्तरीय जनशक्तिको अभाव छ । न्यायपूर्ण विकास र समृद्धिको प्यासमा छट्पटाइरहेको कर्णाली सक्षम, सबल र समर्पित नेतृत्वको पर्खाइमा छ ।
कर्णालीमा दक्ष र शैक्षिक जनशक्तिको अभाव पनि छ । सबैभन्दा कम शिक्षित जनशक्ति भएको प्रदेश हो कार्णली । यहाँको दक्ष, शैक्षिक र प्राविधिक जनशक्ति न्यून छ । राज्यको प्रशासनिक र सुरक्षा निकायको उपल्लो तहमा यहाँको जनशक्तिको उपस्थिति अत्यन्तै न्यून छ । उद्यमी र व्यवसायिक जनशक्तिको अवस्था पनि कमजोर छ ।
२. भौतिक पूर्वाधार तथा सामाजिक सेवाको विकास र विस्तारः
भौतिक पूर्वाधार विकासको कमीले नैसर्गिक अधिकार अन्तर्गतका सेवा सुविधाबाट पनि कर्णली वञ्चित छ । पूर्वाधारको विकासको हिसाबले सबै प्रदेश भन्दा पछाडि रहेको कर्णाली भौगोलिक बनावटको रूपमा पनि विकट छ । यहाँ विकास निर्माणको प्रकृया सामान्य भन्दा कठिन छ । अधिकांश कर्णाली जनजीविकाको लागि आधारभूत सेवा सुविधाबाट बञ्चित छ । केन्द्र सरकारको नीति तथा कार्यक्रम वा बजेटको प्राथमिकता भन्दा निकै टाढा रहेको कर्णालीको विकासको लागि ठूलो लगानी, अध्ययन र अनुसन्धान आवश्यक छ । सडकबाटो र जलविद्युतका केही परियोजना बाहेक अन्य क्षेत्रका सम्भावित परियोजनाको अध्ययन नै हुन सकिरहेको छैन । काम सुरु गरिएका सडक परियोजनाहरूमा वार्षिक रूपमा न्यून बजेट छुट्याइन्छ । त्यसको निर्माण कार्य सुस्त र गुणस्तरहीन छ । विकासको लाइफलाइनको रूपमा रहेको सडक बाटोले अझैसम्म हुम्ला जिल्लालाई जोड्न सकेको छैन । डोल्पालाई सडकसँग जोड्न भर्खर ट्रयाक मात्र खोल्ने काम सम्पन्न भएको छ । सडक बाटोले जोडेका जिल्लाहरूको सडकको अवस्था पनि अत्यन्तै दयनीय छ । कर्णाली राजमार्ग मृत्युमार्गको रूपमा चिनिन्छ । गाडी यात्रामा सुर्खेतबाट दैलेख–कालीकोट–जुम्ला हुँदै मुगुसम्म पुग्न सयौं अति सम्भावनायुक्त मृत्युलाई छिचोल्नुपर्ने हुन्छ । विस्तार भइरहेका साँघुरा, कच्ची र जोखिमपूर्ण मूल सडकबाहेक प्राथमिकताका साथ स्थानीय र ग्रामीण सडक पनि विस्तार हुन सकिरहेका छैनन् । ग्रामीण भेगमा भौगोलिक अवस्था र वातावरणीय प्रभाव मूल्याङ्कनको मसिनो अध्ययनबिना निर्माण गर्न लागिएका सडकहरूले वातावरण, बस्ती र खेतीयोग्य जमिनलाई क्षति पुर्याइरहेको छ । विकास सँगसँगै त्यसले निम्त्याउने विनाशलाई पनि ध्यान दिनु आवश्यक छ ।
कर्णालीका प्रमुख सडक आयोजनाका रूपमा अगाडि बढाइएका कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग र कर्णालीमा पर्ने मध्यपहाडि राजमार्गको निर्माण र विस्तार कार्य दु्रत्तर गतिमा गरिनुपर्छ । कर्णाली प्रदेश सरकारले अगाडि सारेका पञ्चकोशी राजमार्ग र दाङ–सुर्खेत–दिपायल जोड्ने सडक आयोजनाका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्था गरिनुपर्छ ।
एकतर्फी चीनसँग मात्रै सिमाना जोडिएको कर्णाली प्रदेशको चिनियाँ नाकासँग जोडिएका गमगढी–नाक्चेलाग्ना, सिमकोट– हिल्सा, दुनै–धोमोरिम्ला सडक खण्डहरूको निर्माण कार्य छिटो सम्पन्न गर्दै तिनवटै नाका खुलाउन आवश्यक पहल गरिनुपर्छ । ठूला सडक परियोजना र चिनियाँ नाकासँग जोडिएका सडक खण्डको निर्माण प्रदेश र सङ्घीय सरकार र स्थानीय तथा ग्रामीण सडकहको निर्माण स्थानीय सरकारले विकासको पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
हवाई यातायात पनि प्राथमिकतामा पर्ने भएकाले कर्णालीका विमानस्थलहरूको स्तरोन्नति, क्षमता वृद्धि गर्नुपर्ने देखिन्छ । भरपर्दो आधुनिक मौसम मापन यन्त्रसहितका व्यवस्थित र पक्की टावर निर्माण गरिनुपर्छ । कर्णालीको अनियमित, अव्यवस्थित उड्डयन प्रणालीलाई व्यवस्थित गर्न सरकारले निजी विमान कम्पनी र वायुसेवा निगमलाई नियमित गरी यात्रुहरूको लागि सुरक्षित उडान, सर्वसुलभ भाडादर र व्यवस्थित टिकट वितरण प्रणाली बनाइनु पर्दछ । प्रदेशलाई अन्तर्राष्ट्रिय हवाइ यातायातसँग जोड्न सुर्खेतमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइनु पर्दछ ।
सबैभन्दा बढी विद्युत उत्पादन क्षमता भएको कर्णालीका जनताहरू विद्युतको उपयोगको हिसाबले सबैभन्दा पछाडि छन् । ज्यादै न्यून मात्रामा विद्युत उत्पादन भइरहेको कर्णालीमा विद्युत प्रसारण लाइन पनि विस्तार हुन सकिरहेको छैन । विद्युत उत्पादनका लागि सबै आवश्यक पहलकमदीहरू चाल्दै उत्पादित विद्युतको सहज वितरण र विद्युत आयातको लागि स्थानीय र प्रदेश स्तरको ग्रीडको विकास गर्दै राष्ट्रिय विद्युत ट्रान्समिसन लाइनलाई कर्णालीका सबै जिल्लामा विस्तार गरिनु पर्दछ ।
विज्ञान र प्रविधिको दुनियामा कर्णालीका अधिकांश जनता सूचना, सञ्चार र प्रविधिको प्रयोग र पहुँचभन्दा बाहिर छन् । जसले गर्दा कर्णालीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय भौतिक तथा सामाजिक विकास र परिवर्तनको प्रभाव विस्तार, सर्वव्यापी प्रतिस्पर्धा, ज्ञान र चेतनाको विकास हुन सकिरहेको छैन ।
कर्णालीमा सञ्चार र सूचनाको प्रमुख माध्यमको रूपमा रहेको रेडियो र टेलिफोन सेवाको पनि सबै भू–भाग र बस्तीहरूमा विस्तार हुन सकिरहेको छैन । अन्य आम सञ्चारका माध्यमहरू, टेलिभिजन, इन्टरनेट र टेलिफोनको सुविधा सदरमुकाम र बजार क्षेत्रमा सीमित छ । जसलाई सबै ग्रामीण भेगमा विस्तार गरिनुपर्दछ । कर्णालीका सबै भूभाग तथा बस्तीहरूमा प्रभावकारी र सहज सूचना र समाचारका लागि ब्रोड ब्यान्ड इन्टरनेटको पहुँच पु¥याउन अप्टिकल फाइबरको सञ्जाललाई विस्तार गरिनु पर्दछ ।
अर्कोतिर प्राकृतिक बिपत्तिका हिसाबले असुरक्षित र जोखिमपूर्ण छन् । हिजो फिरन्ते युगमा एक दुई जनाले त्यतिखेरको केही अनुकूलताले स्थापित गरिएका बस्ती अहिले जनसङ्ख्याको वृद्धि, भौगोलिक विकटता र प्राकृतिक प्रकोपको असुरक्षाले गर्दा आफै पनि अन्यन्त्र सार्नुपर्ने देखिन्छ ।
कर्णलीका ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका र अन्य विशेषता भएका बस्तीहरूलाई संरक्षण गर्दै नमुना बस्तीहरूको रूपमा विकास गरिनु पर्दछ । हिमाली भेगमा पर्ने जुम्लाको सिंजा उपत्यकालाई ऐतिहासिक र संस्कृतिक नमुना सहर बनाउनका लागि अगाडि बढाइनु पर्दछ । मध्यपहाडी लोकमार्गमा पर्ने कर्णालीका प्रस्तावित दुई नयाँ सहर रुकुमको चौरझारी र दैलेखको राकमलाई व्यवस्थित र सुन्दर सहरको रूपमा विकास गर्न इन्जिनियरिङ पक्षलाई ध्यान दिँदै सहरी पूर्वाधारको विकास गरिनु पर्दछ ।
कृषि उत्पादनमा निर्भर रहेको कर्णालीमा सिंचाइ सुविधाको अभावले गर्दा कृषि उत्पादन न्यून मात्रामा छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरू खडेरी परेको समय खाद्यान्न सङ्कट झेलिरहेछन् । कृषियोग्य जमिनमा हावापानी अनुसार प्रशस्त मात्रामा अन्नबाली, फलफूल तथा तरकारी उत्पादनका लागि बगिरहेको पानीको सदुपयोग गर्न लिफ्ट सिंचाइ, साना, मझौला तथा ठूला र बहुउद्देश्यी सिंचाइ आयोजना सञ्चालन गर्न सकिन्छ । सिंचाइविना कृषि उत्पादन असम्भव छ ।
गाउँबाट टाढा रहेका मुहानहरूको पानी बस्ती तथा गाउँमा नल्याइदा कर्णालीका थुप्रै गाउँका जनता नजिकै बगिरहेको खोला तथा नदीको दूषित तथा फोहोर पानी खान बाध्य छन् । दूषित खानेपानीले गर्दा कर्णालीमा झाडापखाला, आउँ, हैजा लगायतका रोगहरूले बर्सेनि मानिसहरूको मृत्यु भइरहेको हुन्छ । हरेक नागरिकको शुद्ध खानेपानी सेवा उपलब्धताको लागि कर्णालीमा खानेपानीको विकास हुनु जरुरी छ ।
जनताका लागि शिक्षा र स्वास्थ्य सेवा आधारभूत आवश्यकता हो । तर कर्णालीमा स्वास्थ्य र शिक्षाको अवस्था कहाली लाग्दो छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र औपचारिकतामा सीमित देखिन्छ । प्रायः नाम मात्रका स्वास्थ्य चौकी र जिल्ला अस्पताल छन् । जहाँ बिरामीलाई सान्त्वनाको लागि आषधी उपचार गर्ने प्रयास गरिन्छ । न त्यहाँ आवश्यकता अनुसार स्वास्थ्य उपकरण, औषधी र भौतिक पूर्वाधार छ । न त्यहाँ नै डाक्टरहरू हुन्छन् । हजारौं मानिस स्वास्थ्य सेवाबाट वञ्चित छन् । बर्सेनि सयौँ मानिसहरूको उपचारको अभावले मृत्यु भइरहेको हुन्छ । सरकारले अघि सारेको योजना प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न पन्ध्र शय्याको अस्पताल सञ्चालनमा आए कर्णालीका जनताले स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्दैन थियो ।
सरकारले विद्यालय शिक्षाको गुणस्तरलाई वृहत सुधार गरी कर्णालीको विशेषता र विशिष्टता अनुकुलको प्राविधिक तथा उच्च शैक्षिक संरचना तयार गर्दै शिक्षालाई सर्वसुलभ, गुणस्तरीय, व्यावहारिक, उत्पादनमूलक र अनुसन्धानमूलक बनाइँदै पूर्ण निःशुल्क बनाउने दिशामा केन्द्रित हुनु पर्दछ ।
३. प्राकृतिक साधन स्रोतको पहिचान र उपयोग
कर्णाली प्रदेशमा अथाह प्राकृतिक स्रोतसाधन सञ्चित छ । भौगोलिक रूपमा विकट भए पनि भौतिक पूर्वाधारको विकास र सामाजिक सेवाको उपलब्धतापछि प्राकृतिक दृश्य अवलोकन, हावापानी र अर्गानिक उत्पादनको हिसाबले कर्णाली भूस्वर्ग नै हो । कर्णालीमा उच्च हिमाली भेगबाट तराईतिर बाह्रै महिना बगिरहने नदी तथा खोलाहरू छन् । जसबाट करिब ३६,००० मेगावाट जलविद्युत उत्पादन क्षमताको सम्भावना रहेको छ । जसको प्राविधिक रूपमा अध्ययन, अनुसन्धान र सर्वेक्षण गर्न आवश्यक छ । आयोजनाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निजी तथा सरकारी निकायसँग लगानी जुटाउने तथा लगानी गर्न आकर्षित गर्न र सम्भावित नयाँ आयोजनाहरूको अध्ययन तथा सर्वेक्षण गर्न प्रदेश र सङ्घीय सरकारले विशेष पहल गर्नुपदर्छ ।
जडीबुटी : प्राकृतिक रूपमा जडीबुटीको भण्डार रहेको कर्णालीमा थुप्रै प्रकारका बहुमूल्य तथा दुर्लभ जडीबुटी पाइन्छन् । साढे सात सयभन्दा बढी प्रजातिका जडीबुटी कर्णालीमा रहेको अनुमान छ । कर्णालीका दस जिल्लामा वार्षिक करिब सवा करोड के.जी. जडीबुटी संकलनको क्षमता भएको अनुमान छ । भौगोलिक र वातावरणीय विषमताअनुसार कर्णालीका विभिन्न ठाउँमा विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । कर्णालीमा पाइने महत्त्वपूर्ण जडीबुटीहरू, यार्सागुम्बा, जटामसी, कटुकी, चिराइतो, सतुवा, पदमचाल, सेतकचिनी, सिलाजित, कुरिलो, तितापाती, टिमुर, तेजपत, सुगन्धवाल, भुत्ले, भुइँकस्तरी, सुनाखरी, गदाल्नो, हर्रो, अत्तिस, गुर्जो, काँकडसिलो, वनलसुन, घोडपत्र, डालेचुक, गोकुलधुप, गुछीच्याउ, टुकीफूल, सुनापाती, दालचिनी, बोझो, पाखनवेद, मजिटो, विषजरा आदि ।
कर्णालीको बर्सेनि अरबौं मूल्य पर्ने लाखौं केजी जडीबुटी अवैधरूपमा संकलन, निकासी र पैठारी हुने गर्दछ । तर कर्णाली प्रदेश वन निर्देशनालयको तथ्याङ्कअनुसार २०७१–७३ सम्म जम्मा साढे २१ लाख केजी जडीबुटी सङ्कलन भएको छ । जडीबुटीको व्यवस्थित सङ्कलन र निर्यात नहुँदा एकतिर जडीबुटीको दोहन भइरहेको छ भने अर्कोतिर करोडौँ राजस्व छली भइरहेको छ ।
पर्याटन ः कर्णाली सबै प्रकारका पर्यटकहरूको पुग्नै पर्ने गन्तव्य बन्न सक्छ । मुगुको रारा ताल, चङ्खेली हिमाल, मुर्माटप, जिमा तातोपानी, मणीदह, डोल्पाको शे–फोक्सुण्डो ताल, जुम्लाको काञ्जिरोवा, पातारासी हिमाल, तातोपानी, सिंजा, उपत्यका, कालीकोटको पातल झरना, दैलेखको ज्वालामुखी, सुर्खेतको बुलबुले ताल, रुकुमको स्यार्पताल, सिस्ने हिमाल, जाजरकोटको ठाकुरजिदह, सल्यानको कुपिण्डे दह, हुम्लाको लिमी उपत्यका, डोल्पा, मुगु र हुम्लाको उच्च हिमाली भेगमा रहेका विशाल समथर पाटनहरू र भेरी र कर्णाली नदी आदि । त्यस्तै धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरू, मुगुमा रहेको विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, खेस्म माई मन्दिर, थार्प मस्टो, रारा महादेव, लुई मस्टो मन्दिर, हुम्लामा रहेको सबै भन्दा पुरानो हल्जी गुम्बा, रालिङ गुम्बा, डोल्पामा रहेको त्रिपुरा सुन्दरी र शे गुम्बा, जुम्लाको चन्दन्नाथ मन्दिर, विराट दरबार, पाण्डुगुफा, कनकासुन्दरी, दैलेखको दुल्लु दरबार, पञ्चकोशी, बाइस देवल, सबैभन्दा पुरानो नेपाली शिलालेख, सुर्खेतको काँक्रे विहार, देउती बजै, जाजरकोटको दरबार, रुकुमको डिग्रे भगवती, कालिका र वराह मन्दिर, सल्यानको खैरावाङ, छत्रेश्वरी आदि । कर्णालीका यी पर्यटकीय गन्तव्यहरू, अन्य भू–भाग र अवस्थाहरू विभिन्न उद्देश्य बोकेका आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक हुन ।
५. सांस्कृतिक रूपान्तरण
वर्तमान विज्ञान र प्रविधिको विकास र सामाजिक रूपान्तरणको प्रभावले हेल्न नसकेको र जब्बर धार्मिक अन्धविश्वासमा फसेको कर्णालीको अधिकांश समाजको चेतना, बुझाई र दृष्टिकोण परिवर्तन हुन अपरिहार्य छ । विभिन्न जातिहरूको स्तरिकृत समाज जहाँ बाहुनले आफूलाई उच्च जातको ठान्ने, ठकुरीले आफूलाई सबैको शासक ठान्ने, दलितलाई सबैले तल्लो जातको ठान्ने, दलित–दलितबीच पनि ठूलो र सानो जातको ठान्ने जस्ता जातीय विभेद र छुवाछूत अहिलेसम्म कायम छन् । स्थानीय देवीदेवतालाई मान्ने संस्कार अन्तर्गत कुनै पनि समस्या आइपर्दा धामीझाँक्रीको विश्वास र भर गर्ने र धामीझाँक्रीको भरमा थुप्रै बिरामीहरूले ज्यान गुमाउनुपरेको छ । छाउपडी प्रथाले कैयौँ दिदी बहिनी घरभन्दा बाहिर बस्दा बिरामी र बलात्कृत हुनुपरेको छ ।
दस वर्षे जनयुद्धको अवधिमा व्यापक रूपमा सांस्कृतिक रूपान्तरण गर्न खोजियो तर मानसिक रूपमा सबै जनताहरू रूपान्तरिक हुन सकेनन् । विकसित आधुनिक समाज, विज्ञान र प्रविधिको प्रभाव र जनचेतनाको माध्यमबाट सरकारले यहाँको सामािजक सांस्कृतिक रूपान्तरण गर्न आवश्यक छ ।
अर्कोतर्फ यहाँका हरेक विकास निर्माणका योजना, कर्मचारी क्षेत्र, उद्योगी व्यवसायी, निर्माण व्यवसायी, ब्यापारी, सामाजिक सङ्घसंस्था, सुरक्षा निकाय, राजनीतिक नेतृत्व र कार्यकर्ता र हरेक सामाजिक क्षेत्रमा चरम भ्रष्टाचार, दलालीकरण, आफन्तवाद र राजनीतिको घृणित शैलीले आक्रान्त पारेको छ । सुशानयुक्त, भयसहित, न्यायपूर्ण र क्रान्तिकारी चेतपूर्ण समाजविना विकास र समृद्धि असम्भव छ । समाजको हितविपरीत संस्कृतिक पक्ष र व्यक्तिका चरित्र, आचरण र व्यवहारलाई सुधार र परिवर्तन गरी कर्णालीको सामाजिक, आर्थिक विकासको गतिलाई प्रभावकारी र सहज बनाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो