सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रसुवागढी नाका जोड्ने सडक स्तराेन्नती गरिने

शनिबार, १९ माघ २०७५, ०८ : ४५
शनिबार, १९ माघ २०७५

काठमाडाैं - रसुवा - रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ । चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ ।

यो काम सकिएपछि वैशाख तेस्रो साताबाट स्तरोन्नति सुरु गरिने योजना प्रमुख सुबोधकुमार देवकोटाले बताए । ‘यो सडक चीन सरकारको सहयोगमा चिनियाँ टोलीले नै स्तरोन्नति गर्नेछ’, उनले भने, ‘हामीले यसमा समन्वय मात्रै गर्र्छौं ।’ यो सडक खण्डको दूरी १६ किलोमिटर छ । सडक साँघुरो तथा जटिल भएकाले स्तरोन्नतिको काम गर्न लागिएको हो । जटिल भौगोलिक संरचना भएकाले यो सडक स्तरोन्नति गर्न चीनले तीन वर्षको समय मागेको छ । चीनले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सडक विभागले स्वीकृत गरिसकेको छ ।

सोही सडकको मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नति भने सुस्त भएको छ । गएको पुसबाट स्तरोन्नतिको काम सुरु भएको भए पनि कामले गति लिन सकेको छैन । यो सडकको सात महिनाअघि ट्र्याक खोलिएको थियो । ‘सडकमा ठूलाठूला ढुङ्गा खसेका कारण ब्लास्टिङ गरिरहेका छौं’, देवकोटाले भने, ‘धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्दा ढिलाइ भएको छ ।’ सडक स्तरोन्नतिको काम जारी रहेकाले कहिलेसम्ममा सडक सञ्चालन हुन्छ भन्न नसकिने उनको भनाइ छ । गल्छीदेखि रसुवागढीसम्म तीन चरणमा काम हुँदै छ । याे समाचार नागरिक दैनिकमा हिमनाथ देवकाेटाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप