सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जेलबाट म्यासेज पठाएर तयार पुस्तकले जित्यो अष्ट्रेलियाको सबैभन्दा ठूलो साहित्यिक पुरस्कार

शुक्रबार, १८ माघ २०७५, १९ : ११
शुक्रबार, १८ माघ २०७५

बीबीसी– डुंगामा चढेर अष्ट्रेलिया शरण खोज्न जाँदा पक्राउ परेर वर्षौदेखि बन्दी एक शरणार्थीले सो देशको सबैभन्दा ठूलो राशीको साहित्यिक पुरस्कार जितेका छन् ।  बेहरुज बूचानी इरानी कुर्द हुन् । पेसाले पत्रकार । अष्ट्रेलियाले मानुस टापूको हिरासत केन्द्रमा बन्दी बनाएर राख्दा त्यहाँको अवस्थाबारे उनले ह्वाटस्एपबाट लेखेर एक साथीलाई पठाउँथें । सो सामाग्रीहरुलाई संकलन गरेर ‘नो फ्रण्ड बट द माउण्टेन’ पुस्तक नै बन्यो । 

सोही पुस्तकले अहिले आएर सन् २०१९ को साहित्यतर्फको भिक्टोरियन प्राइज जितेको छ । यो पुरस्कारको राशी १ लाख अष्ट्रेलियन डलर रहेको छ । यो अष्ट्रेलियाको सबैभन्दा बढी पुरस्कार राशी भएको साहित्यिक पुरस्कार हो ।

हुनत उनले पुस्तक लेखेको विवादास्पद हिरासत केन्द्र सन् २०१७ को अन्त्यबाट बन्द भइसकेको छ तर बूचानी अहिले पनि पपुवा न्यू गिनीको मानुस टापूमा अल्झिरहेका छन् । उनी र अन्य सयौंलाई सोही टापूको वैकल्पिक आवासमा सारिएको छ । 

उनलाई अष्ट्रेलियामा प्रवेश अनुमति छैन । डुङा चढेर अष्ट्रेलिया प्रवेश गर्न खोज्नेहरुविरुद्ध अष्ट्रेलियाले कडा नीति अगिंकार गरेको छ । पक्राउ परेका व्यक्तिहरु साँच्चैको शरणार्थी रहेछन् भने पनि भविष्यमा समेत अष्ट्रेलिया नपाउने गरि फर्काइन्छ । 

अष्ट्रेलियाले समुन्द्र हुँदैं आउन सक्ने ठूलो संख्याको आप्रवासीहरुलाई निरुत्साहित गर्नको लागि यो कदम आवश्यक भएको बताउँदैं आएको छ । साहित्य तर्फको भिक्टोरिया प्राइज पुरस्कार सँगसँगै ‘नो फ्रेण्ड बट द माउन्टेन’ले भिक्टोरिन प्राइमर साहित्य पुरस्कारको गैर आख्यानतर्फको पुरस्कार पनि जितेको छ । यसको राशि अष्ट्रेलियन डलर २५,००० रहेको छ ।  बाँकी विजेताहरु मेलबर्नमा उत्सव मनाइरहदाँ मानुस टापूबाट बीबीसीसँग कुरा गर्दै बूचानीले पुरस्कारले आफूलाई ‘निक्कै अनौठो अनुभुति गराएको’ लेखेका छन् । 

‘एक हिसाबमा म निक्कै खुसी छु, किनकि हामीले यो अवस्थाप्रति ध्यान तान्न सकेका छौं र धेरै मानिसहरु यो अवस्थामा सचेत भएका छन् र यो एक हिसाबले यो निक्कै ठूलो कुरो हो... तर अर्कोतर्फ मलाई खुसी हुने अधिकार छैन लागिरहेको छ किनकि धेरै साथीहरुले यहाँ दुःख पाइरहेका छन् । हामीहरुको लागि पहिलो कुरा भनेको यो टापूबाट स्वतन्त्रता पाउनु र यहाँबाट अन्त कतै जीवन सुरु गर्ने व्यवस्था हुनु हो ।’

हाल बन्द भएको हिरासत केन्द्रमा बन्दी हुँदा बूचानीले ह्वाटस्एममार्फत अनुवादक ओमिद तोफिघियानलाई फारसी भाषामा पठाइएको म्यासेजहरुलाई समेटेर पुस्तक तयार पारिएको थियो ।  ‘ह्वाट्सएप मेरो कार्यालयजस्तै थियो,’ उनले बताए, ‘कागजमा नलेख्नुको कारण प्रत्यक हप्ता अथवा महिना गार्डहरु हाम्रो कोठामा आक्रमणको शैलीमा प्रवेश गर्थे र खोजतलास गर्थे । मलाई आफूले लेखेको कुरा गुमाउनुपर्ला भन्ने पिर थियो । त्यसैले मलाई लेखेर पठाइहाल्नु राम्रो थियो ।’

दक्षिण पूर्वी एसियाबाट डुङ्गामा आउँदा पक्राउ परेका बूचानी अष्ट्रेलियाको विवादास्पद हिरासत केन्द्र प्रणालीभित्रबाटै आवाज उठाउने सबैभन्दा चर्चित आवाज हुन् ।  उनी नियमित रुपमा ब्रिटिस पत्रिका गार्डियनमा लेख्छन्, मानुसको जीवन बारेमा तारन्तार ट्वीट गर्छन् र अष्ट्रेलियाको कडा नियमको प्रतिरक्षा गर्नेहरुसँग विभिन्न समयमा वहस गरिरहेका हुन्छन् । उनले हिरासतबाटै ‘चउका, प्लिज टेल अस द टाइम’ नामको एक वृत्तचित्र बनाए । यसको लागि पनि उनले फोनको नै प्रयोग गरेका थिए । 

अघिल्लो वर्ष, अमेरिकाले मानुस टापू र नाउरुबाट केही शरणार्थीहरुलाई पुनरबास गरायो । १०० भन्दा बढी शरणार्थीहरुलाई त्यसयता पुनरवास गराइसकिएको छ  । तर बूचानी भने केही महिनाअघि अमेरिकी अधिकारीलाई दिइएको एक अन्तवार्ता पछि अमेरिकाको सम्पर्कको पर्खिरहेका छन् । 

उनलाई पपुवा न्यू गिनिले शरणार्थी हैसियत दिएको छ । तर अन्य शहरणार्थीजस्तै उनी त्यहाँ बस्न चाँहदैनन् ।  उनका अनुसार उनले पत्रकारिता गर्दा इरानी प्रशासनसँग विवाद भएपछि उनले आफ्नो देश छाड्नु परेको थियो । उनले भनेका छन्, ‘जेलमा हाल्लान भनेर मैले इरान छोडें तर जब म अष्ट्रेलिया पुगेँ त्यहाँ त मलाई वर्षौंसम्म जेल हालिदिए ।’ 

साहित्यको लागि भिक्टोरियन प्राइजमा कुनै कृतिको मनोनयन हुन लेखक अष्ट्रेलियाको नागरिक अथवा त्यहाँको स्थायीवासी हुनुपर्छ । तथापि उक्त साहित्य पुरस्कारको व्यवस्थापन गर्ने ‘द विलर सेन्टर’ले यसका जजहरुको सिफारिसलाई स्वीकारेर बूचानीको पुस्तकलाई अपवाद मान्यो ।

अष्ट्रेलियाका शरणार्थी नीतिहरुको विश्व प्रेसमा व्यापक समेटिएको छ र संयुक्त राष्ट्र र विश्वका मानवअधिकार समुहहरुबाट आलोचना हुने गरेको छ । प्रतियोगिताका जजहरुले बूचानीको पुस्तकलाई ‘सामान्य कथ्यबाट टाढा रहेको कला र आलोचनात्मक सिद्धान्तको विलक्षण कृति’ भनेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप