शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

के ट्रम्पले इरानलाई सैन्य भिडन्तका लागि उकासिरहेका छन् ?

बिहीबार, १७ माघ २०७५, १० : ४३
बिहीबार, १७ माघ २०७५

टेड रेगेन्सिया, अल जजिरा ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष कूटनीतिज्ञहरू मध्य–पूर्वमा इरानको ‘कु–प्रभाव’को सामना गर्न लागिरहँदा उनका वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकार भने इरानमाथि आक्रमण गर्न सैन्य विकल्प नै खोजिरहेको रिपोर्टहरू आएका छन् । 

इरान विज्ञहरूले अमेरिकाले इरानलाई सैन्य द्वन्द्वतर्फ उकासिरहेको आरोप लगाएका छन् । उनीहरूले इरानसँग युद्ध भएमा उक्त द्वन्द्व तीव्र रूपमा मध्यपूर्वभरी फैलिने चेतावनी दिएका छन् । 

वासिन्टन डीसीमा बस्ने एक सुरक्षा र आणविक नीतिविज्ञ सिना तुस्सीले ट्रम्प प्रशासनको इरान नीति अमेरिकी विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनजस्ता ‘कट्टरपन्थीहरूको हातमा रहेकोजस्तो देखिएको’ बताए । 

यी दुवैले पहिलेदेखि नै इरानको शासन बदल्न सैन्य विकल्प चाल्न हिच्किचाउन नहुने बताउँदै आएका छन् ।  

‘ट्रम्प आफै मध्यपूर्व क्षेत्रमा थप सैन्य द्वन्द्वमा फस्न नचाहे पनि पोम्पेओ र बोल्टनले अमेरिकालाई सैन्य मुठभेडतर्फ ढकेलिरहेको देखिन्छ’, तुस्सीले भने । उनी ‘नेसनल इरानियन अमेरिकन काउन्सिल’सँग आबद्ध अनुसन्धानदाता हुन् । उक्त संस्थाले इरानसँग वार्तामा आधारित कूटनीतिको वकालत गर्ने गर्छ । 

“पोम्पेओ विश्व समुदाय ह्वाइट हाउसको वर्तमान इरान नीतिसँग सहमत नभएर ‘क्षेत्रीय द्वन्द्व’ अवश्वम्भावी हुने बताइरहेका छन्’, तुस्सीले भने । 

मानव अधिकारवादी र शान्ति अभियानकर्मी अधिवक्ता इरानी–अमेरिकी अजदेह साहसाहनीले अमेरिकी राष्ट्रपतिले देशभित्रका आफूले सामना गरिरहेको विवादबाट मतदाताको ध्यान अन्त्यत्र मोड्ने प्रयास स्वारूप इरानसँगको विवाद ‘बढाइरहेको’ बताए । 

“उनीहरूले इरानसँगको युद्धलाई यहाँको सबै मुद्दाबाट ध्यान हटाउने उपायको रूपमा विचार गरिरहेका होलान्,” उनले बताइन्, “त्यसैले, अन्तत, प्रत्यक दिन ट्रम्प प्रशासनले इरानलाई नयाँ नयाँ आरोप लगाइरहेको सुनिन्छ ।”

साहसाहनीले आजको दिनमा अमेरिकी क्रियाकलाप सन् २००३ मा इराकमा आक्रमण हुनुअघि विश्वले देखेको अमेरिकी रणनीतिसँग ‘धेरै मिल्दोजुल्दो’ भएको बताइन् ।  

‘पोम्पेओ र बोल्टनको टिमका मानिसहरू यस उद्देश्यमा स्पष्ट छन्’, उनले अल जजिरासँग भनिन् । 

हालसालैका दिनहरूमा, इरान र उसका क्षेत्रीय मित्रहरूमाथि ‘अधिकतम दबाब’ लगाउने कुराको थप सङ्केतहरू पाइएको छ । 

बिहीबार अमेरिकाले फातेमियोन डिभिजन र जएनवियोन ब्रिगेडविरुद्ध थप नयाँ प्रतिबन्धहरू घोषणा गर्यो । यी दुवै सैन्य दस्ताहरू सिरियामा लडिरहेका छन् र यिनलाई इरानको रिभोलुसनरी गार्डको समर्थन रहेको छ । 

अमेरिकी प्रतिबन्धमा इरानको हवाई कम्पनी महान एयरसँग सम्बन्धन रहेकाहरू पनि परेका छन् । 

उक्त निर्णय सार्वजनिक गर्दा जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) स्टेभन म्नुचिनले उल्लेखित प्रतिबन्ध लगाइएका निकायहरूको प्रयोग गरेर तेहेरानले ‘विश्वभरी आतङ्कवाद र अस्थिरता’ निर्यात गरिरहेको आरोप लगाएका छन् । 

‘गलत समय’मा उठाइएको कदम

अमेरिकी सरकारको दबाबमा अमेरिकी प्रतिबन्ध सूचीमा रहेका महान एयरमाथि जर्मनीले पनि प्रतिबन्ध लगाएको छ । 

एक इरानी मन्त्रीले इरानको राष्ट्रिय ध्वजावाहक ‘इरान एयर’ पनि जर्मनीको प्रतिबन्धको सूचीमा परेको बताएका छन् । 

जनवरीको प्रारम्भमा पोम्पेओले ब्यालेस्टिक मिसाइलजस्तो देखिने अन्तरिक्ष वाहनमा भूउपग्रह पठाउन कार्य नरोक इरानलाई ‘थप आर्थिक र कूटनीतिक रूपमा एक्ल्याइदिने’ धम्की दिएका थिए । 

शुक्रबार इरानले ब्यालेस्टिक मिसाइल कार्यक्रममा थप प्रगति नगरे उमाथि थप प्रतिबन्ध लगाउने फ्रान्सले धम्की दियो । फ्रान्सले भनेको ब्यालेस्टिक कार्यक्रम सन् २०१५ को आणविक सम्झौताको हिस्सा नभएको तेहरानले बताएको छ । 

अमेरिकाले इरानविरोधी सम्मेलनजस्तो एक भेला भर्खरै पोल्यान्डमा आयोजना गर्यो । तेहरानले यसलाई ‘शत्रुतापूर्ण गरिविधि’को संज्ञा दियो । 

अमेरिका र उसका मित्र शक्तिहरूका यी कार्यहरूले गर्दा इरानले ऐतिहासिक आणविक सम्झौता त्याग्ने अवस्था आउने खतरा हुन सक्छ । विज्ञहरूले यो कदम तीव्र रूपमा द्वन्द्वतर्फ अघि बढ्ने चेतावनी दिएका छन् । 

तेहरान सेन्टरको वल्र्ड स्टडिज प्रोग्रामका निर्देशक डियाको हुस्सेनीले यी कदमहरू गलत समयमा आएको र यसले आणविक सम्झौतालाई खतरामा पार्ने बताए । 

हुस्सेनीले युरोपलाई अझ बढी प्रतिबन्धहरू लगाएर तेहरानलाई अन्य विकल्पबारे सोच्न बाध्य पार्नुभन्दा अमेरिकाको दबाबको प्रतिरोध गर्न र आणविक सम्झौतामा ‘प्रतिबद्ध रहन’ सुझाव दिएका छन् ।

हालसम्म इरानले आफू सम्झौतामा रहने बताएको छ । 

इराक युद्ध सुरु हुनुअघि भएका गतिविधि

यदि पोम्पेओ र बोल्टन इरानलाई सन् २०१५ को आणविक सम्झौता त्याग्ने गरी चिढ्याउन सफल भए भने के हुन्छ ? ‘अमेरिकाको नव–रुढीवादी संस्थापनले इराकमा युद्ध गर्दा प्रयोग गरेको सूत्रहरू प्रयोग गरेर इरानको आणविक कार्यक्रम रोक्ने बाहनामा सैन्य हमलाको माग गर्न थाल्नेछन्,’ तुस्सीले भने । 

शुक्रबार विदेश नीतिसम्बन्धी वेबसाइट लोव लगमा प्रकाशित एक लेखले इरानविरुद्धको युद्ध ‘झन् बढी यथार्थनजिक हुँदै गएको’ चेतावनी दिएको छ । 

‘डोनाल्ड ट्रम्पले भोगिरहेका घेरलु समस्या र उनका विदेश नीति हेर्ने टिमलाई ख्याल गर्ने हो भने यस्ता धेरै परिस्थिति उत्पन्न हुन सक्ने देखिन्छन्, जसले अमेरिकालाई इरानसँग युद्ध गर्ने अनेक बाहना दिनसक्छ,” जिम लोव र वेन आर्मब्रुस्टरले उक्त लेखमा लेखेका छन् ।  

इरान पनि यो खतराबारेमा त्यति बेखबर छैन । उसले यी खतराबारे अमेरिका र उसका मित्र शक्तिहरूप्रति कडा जवाफ दिइ पनि रहेको छ । 

डिसेम्बरमा इरानका विदेश मन्त्री जावाद जारिफले अमेरिकाले मध्यपूर्वलाई ‘बारुद्धको भण्डार’मा बदलिदिएको र त्यस क्षेत्रमा रहेका आफ्ना मित्र शक्तिहरूतर्फ कैयौँ हतियारहरू तेस्र्याइरहेको बताए । 

अघिल्लो हप्ता, इरानको हवाई फौजका कमान्डर विग्रेडियर जनरल अजिज नसिरजदेहले उनको देश ‘यहुदी शासनहरूसँग भिडेर उसलाई पृथ्वीबाटै निर्मूल गर्न व्यग्र र पूर्ण तयार भएको’ बताएका थिए । उनले यहुदी शासन भनेर उक्त क्षेत्रमा रहेको अमेरिकाको सबैभन्दा नजिकको मित्रशक्ति इजारयलतर्फ थियो । 

बिहीबार इरानको स्थल फौजले इस्फहान प्रदेशमा रहेको मरुभूमिमा एक ‘विशाल अभ्यास’ सम्पन्न गर्यो । अभ्यासको समापन गर्दै ब्रिगेडियर जनरल किओमार हैदारीले ‘शत्रुहरूलाई इरानमाथि आक्रमण गर्नु अघि दुई पटक सोच्न’ चेतावनी दिए, ‘उनीहरूले एक नयाँ युद्ध सुरु त गर्न सक्लान् तर तिनले त्यसको अन्त्य तिनको हातमा हुने छैन ।’ 

शनिबार इरानको सेनाका प्रमुख, जनरल मोहम्मद बकेरीले आफ्नो सैनिक सिद्धान्तलाई ‘देशको राष्ट्रिय चासो संरक्षण गर्नका लागि रणनीतिक तहमै’ रक्षात्मकबाट आक्रमक शैलीमा रूपान्तरण गर्नेतर्फ सङ्केत गरे । 

ट्रम्पको ‘अस्थिरता’

एक इरानी विश्लेषक र कतार विश्वविद्यालयमा खाडी अध्ययनमा विद्यावारिधि गरिरहेका मेहरान हघिरियनले ट्रम्पको ‘अस्थिर’ स्वभावले ‘जे पनि सम्भव हुनसक्ने’ खतरा रहेको बताए । 

‘मेरो विश्वासमा ट्रम्प आफैले युद्धका लागि बल गरिरहेका छैनन्,’ हघिरियनले भने । उनका अनुसार युद्धलाई समर्थन गर्ने अवस्थामा अहिले अमेरिकी जनमत पनि छैन । 

चुनाव प्रचारदेखि नै ट्रम्पले विदेश भूमिमा अमेरिकाको थप नयाँ सैन्य आक्रमणप्रति अनिच्छा व्यक्त गर्दै आएका छन् । तर उनका शीर्ष सल्लाहकार भने विगतदेखि नै अमेरिकाको स्वार्थमाथि प्रश्न गर्ने देशहरूमाथि हमला गर्नुपर्छ भन्ने गर्थे । 

‘पोम्पेओ र बोल्टन युद्ध गर्नुअघि विश्व समुदायसँग समर्थन जुटाउनुपर्छ भन्ने आम मान्यतामा पनि विश्वास गर्दैनन्’, हघिरियनले भने ।  

‘तर ट्रम्प आएपछि अमेरिकाले के गर्छ भनेर यकिनका साथ भन्न नसकिने अवस्था आएको छ,’ उनले भने । यही कारणले इरानसँग वार्ता पनि हुन सक्छ । ट्रम्पले चर्को गालीगलौजको भाषा पछि उत्तर कोरियासँग कूटनीति अघि बढाएको इतिहास हामीसँगै ताजा छ । 

तथापि इरानी–अमेरिकी विज्ञ तुस्सीले ‘ट्रम्पको हालैका चर्का भाषण’हरूले राम्रो सङ्केत नगरेको बताए । चर्का वक्तव्य दिने र तेहरान र वासिन्टनबीच संवादको नहुने अवस्थामा यसले ‘द्वन्द्वको उच्च खतरा’ निम्त्याउँछ । 

‘विशाल सैन्य द्वन्द्वको झिल्को आउने विभिद दिसाहर पहिलेदेखि विद्यमान छ । यो खाडीको जलक्षेत्रमा हुने विवाद, सिरियाबाट इरानको प्रभाव हटाउने अमेरिकी प्रयास अथवा इरानी सिमानाभित्र अन्तर्राष्ट्रिय समर्थनमा आतङ्क फैलाइरहेको शङ्कामा इरानको प्रतिरोध जुनै रूपमा आउन सक्छ,” तुस्सीले भने । 

केही दिनअघि सिरियाको इरानी ठेगानाहरूमा इजरायलको हवाई हमला भइरहेको खबर आएको थियो । केहीले यो विवाद बढ्दै गएमा अमेरिकामा पनि यसमा तानिने चिन्ता व्यक्त गरेका छन् । 

इरानको सरकारी टीभीमा बोल्दै सोमबार रिभोलुसनरी गार्डका एक कमान्डरले इरानको रणनीति ‘यहुदी शासन’लाई विश्वको नक्साबाट मेटाउनुरहेको बताएका थिए । 

“हामीहरू यो घोषणा गर्छौं कि इजरायलले हामीविरुद्ध युद्ध सुरु गर्ने कुनै कदम उठाएमा, उसले आफ्नो विनासलाई निम्त्याउनेछ र उद्वारा अधीनस्थ क्षेत्र स्वतन्त्र हुनेछ,’ रिभोलुसनरी गार्डका उपप्रमुख ब्रिगेडियर जनरल हुसेन सलामीले भने । 

‘इजरायलीहरूलाई प्यालेस्टाइनमा तिनको लास गाड्नलाई जमिन पनि दिइने छैन,’ उनले भने । 

इरानी–अमेरिकी अधिकारकर्मी साहसाहनीले अमेरिकी संसदका विपक्षी र आम अमेरिकीहरूलाई ट्रम्प प्रशासनले इरानविरुद्ध युद्ध घोषणा गर्न सक्ने खतराप्रति सावधान रहन आह्वान गरेका छन् । 

‘मानिसहरू वर्तमान अमेरिकी सरकारको विदेश नीतिप्रति सशङ्कित छन् । तर सौभाग्यवश मानिसहरू इरानविरुद्ध सुरु हुने कुनै पनि युद्ध प्रयास बुझेर त्यसविरुद्ध जागिरहेका छन् ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप