शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मदनकृष्णको भाषणले जब प्रधानमन्त्री ओली र प्रचण्डको ध्यान तान्यो...

बुधबार, १६ माघ २०७५, २० : ३२
बुधबार, १६ माघ २०७५

काठमाडौँ– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्यकलाकार मनकृष्ण श्रेष्ठले भाषण गरे । जुन भाषणले कार्यक्रममको अन्त्यसम्म तरंग ल्याइदियो । कलाकार श्रेष्ठले जता हेर्दा पनि भ्रष्टाचारको पहाड देखिने गरेको बताएका थिए । जताततै भ्रष्टाचारै भ्रष्टाचार देख्छु कतै पनि विकासको  काम भएको देखिँदैन भन्दै चिन्ता व्यक्त गरे । साथै उनले भ्रष्टाचार हुने निकायको दृष्टान्त सुनाए । 

उनले भने, ‘सरसरती हेर्दा सबैभन्दा बढी भ्रष्टाचार त राजनीतिमा हुँदोरैछ । अनि प्रशासनिक निकायमा हुँदोरहेछ । यतिमात्र होइन जताततै भ्रष्टाचार छ ।  स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार छ । शिक्षा क्षेत्रमा भ्रष्टाचार छ । हुँदाहुँदा कलाक्षेत्रमा पनि भ्रष्टचार देखिन थालेको छ । हत्तेरी सुन्दानी घिन लाग्छ । भ्रष्टाचार गर्नेलाई कारबाही पनि भएको छैन । भए पनि १० ,१२ हजारको भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।’  

यसो भन्दै गर्दा उनले सोही प्रसंग धुर्मुस सुन्तलीसँग जोडे । धुर्मुस सुन्तलीले धेरै मानिसको विश्वास जितेर अग्लो उचाई बनाइसकेको भन्दै काम गर्दा एक–एक पैसाको सही हिसाब किताब गर्न सुझाव दिएका थिए । उनी यति धन्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम स्थल प्रवेश गर्दै थिए । 

उनले प्रधानमन्त्री ओलीलाई नमस्कार गर्दै के स्वागत गरेका थिए, कार्यक्रममा प्रधानमन्त्री पुगेलगत्तै राष्ट्रिय गान सुरु भयो । राष्ट्रिय गान सकिएलगत्तै फेरि भाषण गरेका श्रेठले नेपालीहरु घर बाहिर पनि ‘हाम्रो छ, हामीले बनाउनुपर्छ, जोगाउनुपर्छ’ भन्ने भावना विकास  गर्न नसकेकाले पनि उन्नती हुन नसकेको उनले बताए । 

श्रेष्ठले सबैभन्दा भ्रष्टाचार राजनीतिमा हुने बताएपछि त्यो भनाईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान तान्यो । त्यसलगत्तै प्रचण्डले मदनकृष्णहरुले खबरदारी गर्नुपर्ने प्रतिउत्तर दिए । उनले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको समेत बताए । साथै प्रचण्डले अरुले भनेपछि नराम्रो लान्े गरेको भएपनि मदनकृष्णको कुरा मिठो लागेको भन्दै उल्टै प्रसंशा गर्न भ्याए ।  प्रचण्डले ठट्टा गर्दै भने, ‘यो राजनीतिमा लाग्नुभन्दा बरु हामी कलाकारितातिर लाग्नु पर्नेरहेछ ।’ तर उनले थप भने, ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाई हेर्नुहोला, १० वर्षभित्र राजनीति सफा हुन्छ ।’ 

साथै मदनकृष्णको कुराले प्रधानमन्त्री ओलीको समेत ध्यान तान्यो । प्रधानमन्त्री ओलीले पनि मदनकृषणको भाषणलाई खण्डन गर्दै भने, ‘मभन्दा अगाडि मदनकृष्ण (श्रेष्ठ) जीले भाषण गर्दा खुब ताली लाग्यो भनेको सुनेँ । पक्कै पनि भ्रष्टाचारविरुद्ध बोल्नुभयो होला । बोल्नैपर्छ । हामी दुवैजना भ्रष्टाचारविरुद्ध छौं । म सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध बोल्ने मात्र होइन, भ्रष्टाचारलाई ठेगान लाउने समेत काम गर्छु । भ्रष्टाचार हुन दिँइदैन । भ्रष्टाचारीमाथि धमाधाम कारबाही भइरहेको छ ।’

उनले थपे ‘यसरी कारबाही हुँदा भ्रष्टाचार भएछ भने हुन्छ । तर, हामी भेटायो कि समातेर ठेगान लगाउँछौं । अझै कारवाहीको सिलसिला चल्छ । भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने हो । मैले भनेको छु, म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहन्न् । भ्रष्टको अनुहार हेर्दिनँ । कस्तो अनुहार छ, मतलब छैन, कुन पार्टीको हो थाहा छैन ।

मदनकृष्णजी ढुक्क हुनुस् । मदनकृष्णजीको भाषणमाथि थप्छु । उहाँले स्वच्छ हुन आग्रह गर्नुभो । एकदम राम्रो कुरा हो । तर स्वच्छ मात्र भएर पुग्दैन । एउटा मूर्ति स्वच्छ भएर बस्छ । भ्रष्टाचार गर्दैन । के त्यतिले पुग्यो त ? स्वच्छ मात्र होइन, सक्रिय पनि हुनुपर्यो ।’ प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री दाहालले यसो भनिरहँदा बरिष्ठ कलाकार श्रेष्ठ मुसुमसु हाँसिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप