केन्द्रीय संस्करण

‘आज कस्ता–कस्ता व्यक्तिहरूलाई सहिद स्वीकार्न बाध्य छौँ’

person explore access_timeमाघ १६, २०७५ chat_bubble_outline0


काठमाडौंँ । सामान्यतया सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितका निम्ति बलिदान दिने महान व्यक्ति भनेर बुझिन्छ । नेपालमा प्रत्येक वर्ष यस्ता ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्ने गरिन्छ । अधिनायकवादी शासन व्यवस्थाको विरुद्धमा नेपाली जनताले आवाज उठाउन थालेको निकै वर्ष भएको छ । तर सहिदहरूप्रति सम्मान गर्ने परम्पराको थालनी प्रजातन्त्रको उदयपछि मात्रै भएको हो ।

राणा शासनको विरुद्धमा लखन थापा मगरले गोरखाबाट सशस्त्र विद्रोहको थालनी गरेको इतिहास पढ्न पाइन्छ ।  भनिन्छ– त्यस विद्रोहमा लखन थापा मगरलाई जयसिंह चुमी मगर, अछामी मगर, सन्त ज्ञान दिलदास र कालु लम्सालले साथ दिएका थिए । तर लखन थापा पहिलो सहिद भन्नेमा विवाद कायम नै छ ।

राणा शासनको विरोधमा लागेकै कारण धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई फासी चढाइयो । जसलाई चार सहिदका नामले चिनिन्छ ।

तर, पछिल्ला वर्षहरुमा धेरै सहिद थपिएका छन् । यसरी जथाभावी सहिद थप्दा सहिद शब्दकै अवमुल्यन भएको जानकारहरु बताउँछन् । प्रस्तुत छ–सहिद दिवस, सहिदको परिभाषा र सहिद थप्ने होडवाजीकाबारेमा इतिहासकार राजेश गौतमसँग रातोपाटीका लागि सुनिता न्यौपानेले गरेको कुराकानी :

सहिद शब्दलाई कसरी पुनर्भाषित गर्न सकिन्छ ?
–अहिलेको पस्थितिमा सहिदहरूको परिभाषामा अवमूल्यन भइरहेको हो कि जस्तो लाग्छ । किनभने हिजोको अवस्थामा हामीले कस्ता व्यक्तिलाई सहिदका रूपमा स्वीकारेर अगाडि बढेर आयौँ र आज कस्ता व्यक्तिहरूलाई सहिद स्वीकार्न बाध्य छौँ । त्यो स्थितिले गर्दा मलाई लाग्छ, सहिद शब्दको अवमूल्यन भइरहेको छ ।

कस्तो व्यक्तिलाई सहिद भन्न उपयुक्त हुन्छ त ? 
हिजोको इतिहासलाई हेर्ने हो भने सहिद भनेको देश, संस्कृति र अस्तित्वका लागि लड्ने व्यक्तिहरू र त्यसका लागि बलिदान दिने व्यक्तिहरूलाई सहिद भनेर स्वीकार्ने परिस्थिति थियो । नेपालमा मात्र होइन, नेपालभन्दा बाहिरका अन्य देशहरूमा यस्तै किसिमको विचारहरूलाई नै आधार बनाएर सहिद मान्ने र सम्मान गर्ने चलन छ । नेपालमा त्यो स्थिति सिर्जना नै भएन । 

सहिद शब्दको अवमूल्यन किन भयो होला ?
देश र देशको अस्तित्वप्रति प्रतिबद्ध र इमानदार व्यक्तिलाई हामीले सहिदका रूपमा हिजो स्वीकार्याैं । अन्य राष्ट्रले पनि त्यही रूपमा स्वीकारेका छन् । त्यस अर्थमा अहिलेको परिस्थितिमा त्यस्ता  किसिमका व्यक्तिको अलवा साधारणतया एउटा राजनीतिक दलका लागि लडेर वीरत्व प्राप्त गर्नेहरू र जुनसुकै मुद्दामा लड्ने व्यक्तिलाई हामीले सहिदका रूपमा स्वीकार्ने स्थिति सिर्जना भयो । त्यसले सहिद शब्द र हिजोका सहिदको पनि अवमूल्यन हुँदै गयो । 

अग्रगामी र परिवर्तनकारी घटनामा बलिदान प्राप्त गरेका वीर वीरङ्नाहरूको योगदानलाई कसरी स्थापित र सम्मान गरिनुपर्छ ?
त्यसमा राष्ट्र कटिबद्ध भएर लाग्नुपर्छ  । राष्ट्रले आफ्नो एउटा दृष्टिकोण बनाउनुपर्छ । राष्ट्र नै सहिदहरूको परिभाषातिर अगाडि नबढेर सहिद शब्दहरूको अवमूल्यन गर्नेतिर लाग्यो भने सहिदहरूको सम्मान हुन सक्दैन । त्यसैले राष्ट्र नै कटिबद्ध भएर इमानदारीपूर्वक राष्ट्रप्रति समर्पित हुने, देशप्रति समर्पित हुने, देशको संस्कृतिप्रति समर्पित हुने व्यक्तिहरूलाई नै सहिद मान्नुपर्छ । यो दृष्टिकोण बनाएर अगाडि बढ्यो भने राष्ट्रले पनि सहिदहरूको मूल्याङ्कन गरेको मानिन्छ । नेपालमा विगत केही समयदेखि सत्तामा आएका राजनीतिक दलहरूले जुन किसिमले सहिद भन्दै सम्मान गर्ने प्रवृत्ति विकास गरेका छन्, त्यसलाई सहिदहरूप्रति सम्मान भयो भन्न सकिँदैन । 

पुराना सहिद र नयाँ सहिदमा फरक के छ ?
हिजोका सहिदहरूमा विचार थियो । ती विचारहरू राष्ट्रका लागि एक भएको हुन्थ्यो । धर्मभक्तको बेग्लैै सिद्धान्त थियो । शुक्रराजको बेग्लै सिद्धान्त थियो । सबैको बेग्लै विचार थियो । उनीहरू विभिन्न राजनीतिक विचारबाट प्रेरित थिए । दशरथ चन्द सामाजिक मुभमेन्टबाट प्रभावित थिए, भारतका क्रान्तिकारीबाट । टङ्कप्रसाद बेग्लैमा थिए । दशरथ चन्द बेलायतको संसदीय पद्धतिबाट प्रभावित थिए । तर पनि राष्ट्र र जनताको अधिकारका लागि आफ्नो विचारहरूलाई एकीकृत गरेर एउटै रूपमा उनीहरू अगाडि बढे । यसअर्थमा उनीहरू सही रूपमा राष्ट्रप्रति इमानदार पनि भए । अहिले विभिन्न किसिम र पार्टीका व्यक्तिहरू पनि सहिद भएका छन्, कर्मचारी पनि सहिद भएका छन् । ट्याक्सी ड्राइभर पनि सहिद भएका छन् । यस्तो  प्रवृत्तिले सहिदको सही मूल्याङ्कन गर्दैन । त्यसकारण हिजोका सहिद र आजका सहिदबीच तुलना गर्न सकिन्छ जस्तो लाग्दैन ।

तपाईंको भनाइमा पछिल्लो समय होलसेलमा सहिद घोषणा गर्न थालियो, जुन प्रवृत्तिल ठीक छैन भन्ने हो ?
जस्तै माओवादी आन्दोलनका क्रममा कैयौँ व्यक्तिहरू मरे । उनीहरूको भनाइमा सहादत प्राप्त गरे । तर ती व्यक्तिहरूले राजनीतिक विचारका लागि मात्र सङ्घर्ष गरेका हुन् ? सत्ता र राष्ट्रका लागि उनीहरूले लडेका पक्कै पनि होइनन् । हो, उनीहरूलाई राजनीतिक पार्टीले सहिदका रूपमा स्वीकार्छ । राजनीतिक दलको कार्यकर्ता सेनानीका रूपमा उनीहरूलाई स्वीकार्न सकिन्छ । तर सम्पूर्ण रूपमा उनीहरूलाई सहिद भनेर सम्मान गर्ने स्थिति हुन्न । पार्टीले सम्मान गर्न सक्छ तर राष्ट्रका रूपमा उनीहरूलाई सम्मान गर्नुपर्छ भन्ने दृष्टिकोेण गलत हो । 

सरकारले सहिदहरूलाई कसरी सम्बोधन गरिदिए हुन्थ्यो भन्ने लाग्छ ? 

हिजोको समयमा सम्मान नपाएको पनि होइन । राष्ट्रले पनि सम्मान गरेको हो । सबैले सम्मान गरेकै हो । सहिदप्रति जुन दृष्टिकोण अवमूल्यन हुँदै आयो । त्यो अवमूल्यनका कारणले गर्दा सहिदहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै आयो  आजको युवा पुस्तामा । म एउटा अनुभव बताउँछु ‘८, ९ वर्ष अगाडि म भूगोलपार्कको बाटो हिँडिरहेको थिएँ । एउटा केटाले गङ्गालालको शालिक देखाएर ‘कस्तो हेन्डसम रहेछ !’ भन्यो ।

उसले सहिदप्रतिको दृष्टिकोण अभिव्यक्त गरेन । त्यसैले त्यो किसिमको स्थितिबाट आजका युवा पुस्तालाई सहिदहरूको दृष्टिकोणबारे राज्यले प्रष्ट गरिदिनुपर्छ । सहिदहरूप्रति राष्ट्रले अपनाउने नीति पनि प्रष्ट हुनुपर्छ । नीति प्रष्ट नभएका कारणले जो पनि १० लाख रूपैयाँका लागि सहिद भएका छन् । जनतामा पनि सहिद भयो भने १० लाख रूपैयाँ पाउन सकिन्छ भन्ने प्रवृत्ति विकास भएको छ । सहिद हुन त कठिन छ । सहिद भनेको ज्यादै ठूलो र अम्मर शब्द हो । पवित्र शब्द हो भन्ने भावना हामीमा हुँदै भएन । १० लाख पाइन्छ सहिद घोषणा गर्नुपर्छ भन्यो, कुनै पनि घटनामा मरेका व्यक्तिलाई सडकमा सुतायो । यो किसिमको प्रवृत्तिबाट सरकार र राष्ट्र पछाडि हट्नुपर्छ । 

प्रत्येक वर्ष सहिद दिवस मनाएर सहिदको स्मरण गर्ने गरिन्छ । यसले वास्तविक सहिदको सम्मान हुन सक्छ ?

सहिदहरूप्रति सम्मान गर्ने कुरा खाली वर्षको एक दिन सम्मान गरेर हुने होइन । सम्मान त उनीहरूको भावना, उनीहरूको पवित्रता, उनीहरूले के कुराका लागि सङ्घर्ष गरेका हुन् र जनताका लागि के कुराको अपेक्षा गरेका थिए, त्यो कुरालाई हामीले अवलम्बन गर्न सकेका छौँ कि छैनौँ भन्ने कुरा  सोच्नुपर्छ । सरकारले पनि त्यो कुरा सोचेर अगाडि बढ्नुपर्छ । सहिदको एउटा दृष्टिकोण छ, सरकारको र राजनीतिक दलको बेग्लै दृष्टिकोण छ ।

सहिदहरूले एउटा  सपना देखेका थिए, त्यो सपनामा हिँड्ने एउटा दृष्टिकोण पनि छैन । आफ्नै किसिमले हिँडेको छ । त्यो किसिमले सहिदको सम्मान हुन्छ जस्तो लाग्दैन । एउटा  घटना बताउँछु, राष्ट्रले सहिदलाई सही सम्मान गर्न सकेको छैन भन्ने । पशुपति गणेस्थानमा एकजना महिला हुनुहुन्छ, उहाँ जहिले पनि मागेर बस्नुहुन्छ । उहाँ भनेको १८ सालमा सहिदकी श्रीमती हुन् । उनीहरूप्रति खै त सम्मान ? किनभने सहिदप्रति मात्र सम्मान गरेर पुग्दैन । कमसेकम सहिदका परिवारलाई पनि हामीले इज्जत गर्न सक्नुपर्याे । ठूलाबडा मान्छेको सम्मान हुने, साना व्यक्तिको नहुने ? त्यो किसिमको प्रवृत्तिबाट पनि सरकार पछाडि हट्नुपर्छ । उनीहरूको परिवारलाई पनि सम्मान गर्नुपर्छ ।  सरकारले सहिदको नाममा पैसा बाँड्ने होइन । कमसेकम सरकारले ती सबै कुनै एउटा ठाउँमा सहर बसाउने, त्यहाँ सबै किसिमको सुविधा उपलब्ध गराउने, सहिदका परिवारलाई व्यवस्थित गर्ने, उनीहरूको परिवारलाई उचित शिक्षा दिने, दृष्टिकोण अपनाउनुपर्छ । तर यो एमालेको सहिद, यो काँग्रेसको सहिद भनेर लाख लाख रूपैयाँ बाँड्ने काम मात्र भयो । यसरी सहिदको मूल्याङ्कन र सम्मान हुँदैन । बरु यसले त सहिदहरूको अवमूल्यन मात्र हुन्छ । 

सहिद सजिलो रूपबाट हुने व्यक्ति होइन । सहिद हुन धेरै ठूलो त्यागको आवश्यकता पर्छ । इतिहासलाई, हिजोको कुरालाई, हिजोको घटनालाई आजको परिप्रेक्षमा हेरेर मूल्याङ्कन गर्याैं भने गलत हुन्छ । त्यसैले इतिहासका कुराहरूलाई हिजोको परिस्थितिमा आधार बनाएर मूल्याङ्कन गरिनुपर्छ । त्यो भयो भने मात्र सही हुन्छ । हिजोको परिस्थितिको घटनालाई आजको परिप्रेक्ष्यको घटनाको आधारमा मूल्याङ्कन गर्याे भने गलत हुन्छौँ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...