केन्द्रीय संस्करण

पौराणिक कथा: यसरी भएको थियो महाभारत काव्यको रचना

person explore access_timeमाघ १५, २०७५ chat_bubble_outline1

महर्षि व्यास त्यति बेलाका संसारै देखेबुझेका ठूला विद्वान् थिए । एक छिन नरोकिइकन कवितामा भाषण दिन सक्थे । अनुहार कालो थियो, नदीका बीच बनेको टापुमा जन्मेका थिए । यसैले उनको नाम कृष्ण द्वैपायन थियो । उनका पिता परासर आफ्नो जमानाका नामुद ऋषि थिए ।

महर्षि व्यास महाभारतका भीष्मको समकालीन थिए । त्यस युगका धेरैजसो घटनाकोप्रत्यक्षदर्शी थिए । उनको मन मस्तिष्कमा ती घटनाहरु नाचिरहन्थे । उनले यो सवै इतिहास समेटेर एउटा विशाल काव्य तैयार गर्ने विचार गरे । काव्यकथा तैयार थियो । अव यो लेख्ने कसरी ? त्यति बेला काव्य रचना गर्ने काम भन्दा पनि लेख्ने काम कठिन थियो । कलम मसी कागत सवै जङ्गलबाट जुटाउनुपर्थ्यो ।

लेखनमा कसले सहयोग गर्ला ? साधन पनि जुटेको लेख्न पनि खप्पीस सहयोगी व्यक्ति को होला ? व्यास धेरै दिन घोत्लिए । त्यस्तो क्षमतावान् मानिस सम्झनामा आएन । पितामह व्रह्मालाई कुनै त्यस्तो मानिस थाहा छ कि ? बूढा व्रह्मासँग भेट्न व्यास एक दिन दमौलीबाट व्रह्मपुरी पुगे । “हजूर बाबा, मेरो मनमस्तिष्कमा महाभारतको सम्पूर्ण घटनाकथा छ । एउटा विशाल महाकाव्य तैयार छ मसँग । म विभिन्न छन्दमा काव्यश्लोकहरु बोल्दै जान्छु, त्यो टिपेर तत्काल लेख्न सक्ने एक जना सहयोगी को हुनसक्ला ? सोचेर बताउनुहोस् न ।”

 “तिमीले अति नै ठूलो महाकाव्य पो तैयार गर्न आँटेछौ त ! व्रह्माले दङ्ग पर्दै भने, यति ठूलो साहसी काममा आफूले देखे जानेको कुरा बताएर मद्दत गर्नु मेरो पनि कर्तव्य नै हुन्छ । हैन र ?” व्रह्मा भन्दै गए, “हेर बाबुव्यास, एकदमै छिटो र राम्रो लेख्नसक्ने क्षमतावान् एक जना त गणेश छन् । पार्बतीका छोरा गणेश । उनीसँग निगालाको कलम, स्थानीय बनस्पतिबाट बनेको मसी, भोजपत्र सवै यथेष्ट उपलव्ध छ । गणेश हिजोआज गौरीशंकर हिमालकै मझेरीका स्वर्णघरमा बस्छन् । उनीसित भेटेर अनुरोध गर । तिम्रो काम हुन्छ ।”

 “हस् हजुरबाबा । धन्यवाद ! ”व्रह्मालाई अभिवादन गरेर कृष्ण द्वैपायन व्यास त्यहाँबाट सरासर हिँडेर गणेशका घर पुगे । गण्ोश कलात्मक फलैँचामा बसेर थालमा लड्डू खाइरहेका थिए । व्यासले नमस्कार गर्दै हाँसेर भने, “गणेशजी, लड्डू त अरु पनि मगाउनु पर्ला जस्तो छ है ”!

 “हुन्छ, मगाउँला नि ! ”उठे्र आसन देखाउँदै गणेशले भने, “बसौँ ।”

व्यास पनि फलैँचामा बसे । थालमा लड्डू लिएर घरभित्रबाट सिद्धि बाहिर आइन् । उनको एउटा हातमा पिउने पानीको गिलाँस थियो । हिमाली यात्राको कडा दुःख बेहोरेर महान् ऋषि व्यास आफ्नो घरमै आउनुगणेश र सिद्धिका लागि मामुली कुरा थिएन ।

 एक छिनको भलाकुसारीपछि विनम्र लवजमा व्यासले भने, “श्रद्धेय गणेशजी, म मानवसमाजलाई एउटा महान् काव्यरचना दिन चाहन्छु । काव्य मेरो मस्तिष्कमा तैयार छ । त्यसलाई अक्षरहरुमा लेखेर उतार्ने काम कृपया तपाइँले गरिदिनु हुन्छ कि ? अन्य सामान्य व्यक्तिबाट हुनसक्ने काम यो रहेन । म ठूलो आशा विश्वास लिएर आएको छु । ”

क्षणभर सोचेर गणेशले भने, “हुन्छ म लेखुँला, तर मेरो एउटा शर्त छ । शर्त के भने मैले लेख्न सुरु गरेपछि तपाइँ नरोकिइकन धाराप्रवाह बोल्दै अघि बढ्नुपर्छ । तपाइँ रोकिनुभयो र मेरो कलम रोकियो भनेचाहिँ त्यसै क्षणबाट म लेख्न छोडिदिन्छु । तपाइँ मेरो कलम नरोकिने शर्तमा काव्यका पद्यहरु बोल्दै जान तैयार हुनुहुन्छ ?”

 गणेशजीको शर्त चानचुने थिएन । एक क्षण पनि नरोकिइकन काव्यका श्लोकहरु बनाउँदै र भट्याउँदै अघि बढ्नु एकदमै कठिन काम थियो । व्यासमा आफ्नो क्षमतामाथि विश्वास थियो र नै तुरुन्तै भने, “हुन्छ गणेशजी, हुन्छ । तपाइँको शर्त मलाई स्वीकार छ । म तपाइँको कलम चलेपछि रोकिन दिन्नँ । यहाँनिर मेरो पनि एउटा सानो शर्त छ, त्यो के भने तपाइँ जे जति पद्य लेख्दै जानुहुन्छ ती पद्यको ठीक ठीक अर्थ बुझ्नुहोस्, अनि मात्र लेख्नु होस् । अर्थ नबुझी एक पद्यांश पनि नलेख्नु होस् । हुन्छ ? ”व्यास मुसुक्क हाँसे । गणेश पनि मुस्कुराए । व्यासको बठ्याइँ उनलाई साँच्चिकै रमाइलो र शिष्ट पनि लाग्यो । “हुन्छ महर्षि, म त्यसै गरुँला”, गणेशले खुसी हुँदै भने ।

दिन निश्चित गरियो । लेख्ने साधनसामग्रीको व्यवस्था भयो । व्यास र गणेश प्रतिदिन नित्य कर्म सकेर खानपीन गर्थे । त्यसपछि चोटाको बैठक कोठामा आमने सामने मिलाएर राखेको आसनमा आएर सरक्क बस्थे । व्यास भटाभट बोल्दैजान्थे । गणेश पटापट लेख्दैजान्थे । गणेश राम्रो लेख्थे । छिटो लेख्थे । व्यास बोल्न नभ्याउँदै गणेश लेखिसक्थे । कहिले कहिले व्यासलाई नयाँ श्लोक रचना गरिहाल्न हम्मे पथ्र्यो । त्यो बेला व्यास अलि असजिलो घुमाउरो र अर्थ खुट्टयाउन मेहनत गर्नुपर्ने खालको श्लोक बनाएर बोलिदिन्थे । गणेश त्यस श्लोकको अर्थ खोतल्न एकछिन कलम रोकेर घोत्लन्थे । यही मौका पारेर व्यास मनमनै थुप्रै नयाँ पद्यहरु बनाइसक्थे । यसरी व्यासको अनुभवसम्पन्न वाणीबाट विशाल काव्यग्रन्थ महाभारत बोलियो र गणेशको कलमबाट त्यो सवै लिपिबद्ध भयो ।

अन्तमा व्यासले गणेशलाई धन्यवाद दिँदै भने, गणेशजी तपाइँका हातबाट यत्रो महाभारत महाकाव्य लखिसकियो । यसबीच तपाइँ एक अक्षर पनि बोल्नु भएन, किन ? मुसुक्क हाँस्दै गणेशले भने, यति संयमित हुन नसकिएको भए यति छिट्टै यो ग्रन्थ लेखिसकिने थिएन । एक समयमा कि गफ गर्न सकिन्छ कि काम । म बोलेको भए गफ हुन्थ्यो काम हुन्थेन हैन र ? गणेशका कुरा सुनेर व्यास नतमस्तक भए ।

ग्रन्थ सम्पन्न भएको खुसियालीमा स्वर्णिम मैदानमा एक गोष्ठीको आयोजना गरियो । गोष्ठीमा गणेशका साथै उनका साथी सिद्धि वुद्धि दुवैको उपस्थिति थियो । शुकदेव पनि आइपुगेका थिए । अन्य विशिष्ट ऋषिमुनिहरु पनि जुटेका थिए । व्यासले महाभारत महाकाव्यबाट केही पद्यहरु हावभावसाथ पढेर सुनाए । श्रोता सवैले मुग्ध हुँदै व्यासको प्रशंसा गरे । गणेशले पनि प्रशंसा गरे ।

“गणेशजीको साथसहयोग नपाएको भए यो काव्यग्रन्थ अहिल्यै यसरी तैयार हुन सक्ने नै थिएन । गणेशजीको महान् योगदानप्रति म कृतज्ञता र आभार व्यक्त गर्छु । वहाँप्रति म हार्दिक कृतज्ञता अर्पण गर्छु ।” समापन भाषणमा व्यासले भने ।

ग्रन्थ तैयार भयो । समापन समारोह पनि सकियो । अव यस ग्रन्थलाई समाजमा पुस्तौंपुस्ता सुरक्षित राख्ने कसरी ? व्यासको यो नयाँ चिन्ता थियो । हिजो आजको जस्तो प्रकाशन छापाखाना र वितरणव्यवस्था त्यति बेला थिएन । वेद पनि श्रुतिपरम्परामा जोगिएर आएको थियो । कुनै पनि ज्ञानलाई कण्ठस्थ हुने गरी पढेर सम्झेर जोगाउनु पथ्र्यो । यसै कारण व्यासले भारत महाकाव्य सर्वप्रथम आफ्ना प्रतिभाशाली छोरा शुकदेवलाई पढाएर कण्ठस्थ गराए । त्यसपछि वैशम्पायनलगायत अनेको अनेकौं शिष्यहरुलाई पढाए । समकालीन समाजमा महाभारतको व्यापक प्रचार प्रसार गर्ने काममा सबभन्दा बढी खट्ने वैशम्पायन नै भए । वैशम्पायन एक ख्यातिप्राप्त महर्षि थिए । उनको प्रवचन धेरै लोकप्रिय थियो ।

पाण्डवका पनाति जनमेजयको विशाल यज्ञसभामा उपस्थित जनसमुदायहरुलाई तिनै वैशम्पायनले महाभारत सुनाए । त्यस सभामा नामुद कथावाचक उग्रश्रवा पनि श्रोता थिए । महाभारत सुनेर उग्रश्रवा खुसी मात्र भएनन् अरुलाई सुनाउन उनलाई चौ चौ नै लागेर आयो । यति राम्रो र उपयोगी महाकाव्य त सवैको कानकान र मनमनमा पुर्याउनु पर्छ भन्ने लाग्यो । नैमिष बनका बीच रमाइलो र फराक निमिष चउर थियो । त्यहाँ महर्षि शौनकले आयोजना गर्नु भएको बाह्रवर्षे कथासत्रमा हजारौं हजार ऋषिहरुका बीच महान् कथावाचक उग्रश्रवाले यो महाभारत सुनाए ।

यसरी महाभारत महाकाव्य व्यापक प्रचारमा आयो । यस महा काव्यमा कौरव पाण्डवको जीवनकथा र कुरुक्षेत्रको विश्वयुद्ध वर्णन त छँदैछ। यसमा विभिन्न इतिहास पुराण सामान्यनीति राजनीति कूटनीति अध्यात्मशास्त्र मानवशास्त्र र समाजशास्त्र पनि छ । त्यो पनि सामान्य भाषामा होइन, मनोरम काव्यमय भाषा र प्रस्तुतिमा पस्किएको पढ्न पाइन्छ । विश्वको महानतम उपलव्धिका रुपमा गनिने ग्रन्थ हो महाभारत । हामीले एक पटक महाभारत पढ्नै पर्छ ।

कमेन्ट

  1. March 9, 2019, 7:15 p.m. Dipendrasangroula
    Kura alik chitta bujena sashtra ko kura lekhda ramrari bichar garera je r jashari ullekh xa teshari lekhnus
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...