केन्द्रीय संस्करण

अनुपम दृष्टान्त

person explore access_timeमाघ १५, २०७५ chat_bubble_outline0
Photo Source: http://cdn.findmessages.com/

कौरव पाण्डवका बराजु ययाति धेरै पुराना क्षत्रिय राजा थिए ।  त्यस जमानाका नामुद योद्धामा उनको नाम आउँथ्यो । । उनले युद्ध मैदानमा कहिल्यै पिठ देखाएनन् । जहाँ पनि जहिले पनि जिते, कहिल्यै हारेनन् । उनको वुद्धि र वीरताको जताततै चर्चा हुन्थ्यो । शत्रुहरु उनको नाम सुन्दा झसङ्ग हुन्थे र जिभ्रो काढ्थे ।

यस्ता वीर पराक्रमी ययाति उमेर नपुग्दै अचानक बूढा भए । उनको रातो पोटिलो अनुहार चाउरीले कच्याककुचुक देखियो । कपाल फुलेर सेताम्मे भयो । आँखामा पानी भरियो । हिँड्दा खुट्टा थर्थर काँप्न थाले । लाउँ लाउँ र खाउँ खाउँको जवान उमेरमै यसरी बुढो हुनुपर्दा ययाति अति नै दुःखित भए । उनलाई युवा रहेर अझै रङ्ग रउस गर्ने रहर थियो ।

त्यसताका चाहना तीव्र भएपछि मानिसहरु आपसमा उमेर साटासाट गर्न पनि सक्थे । ययातिलाई आफ्ना छोरासँग अलि वर्षका लागि उमेर साट्न मन लाग्यो । उनका पाँच छोरा थिए । एक से एक जवान र सुन्दर । छोराहरुको त्यो जवानी र सौन्दर्य सम्झेर मक्ख पर्दै ययातिले सोचे, यीमध्ये एउटा छोराको जवानीसित मेरो जवानी साट्न पाएँ भने केही वर्ष रङ्ग रउस गर्न र रहर मेटाउन पाउँछु । मैले भनेपछि छोराहरुले जवानी सापट किन नदेलान् र ? अवश्य दिन्छन् ।

ययाति आफ्ना छोराहरुमाथि विश्वास गर्थे । समय मिलाएर एक दिन जेठो छोरालाई बैठकमा बोलाए । सजिसजाउ राजकीय बैठकमा जेठा छोरा यदु र ययाति बाहेक अरु कोही थिएन । छोरासित यस्तो कुरा कसरी भनूँ ? नीच तहको स्वार्थलम्पट पो भन्छ कि ? बावुले त छोरालाई दिने पो हो त, लिने होइन नि । छोरो अभ्यागत हो । बोलाएर आएको हो । छोराप्रति बावुको दायित्व हुन्छ । हुर्काउने र जीवनयुद्धमा सक्षम बनाउने दायित्व हुन्छ । छोराको सक्षमता आफूले लिएर आफ्नो असक्षमता छोरालाई भिराउनु तर्कसङ्गतचाहिँ होइन । तर पनि भन्छु । ययातिले अठोट गरे । लाज सङ्कोच सवै पन्छाएर सम्हालिँदै नम्र लवजमा ययातिले भने,“ बावु, म अचानक बूढा भएँ । जवान रहेर गर्ने कामको रहरै पुगेन । तिमी अलि वर्षका लागि मेरो बुढ्याइँ लिएर तिम्रो जवान उमेर र रुप मलाई सापट देऊ न है ? म सकेसम्म चाँडै नै फिर्ता गर्छु ।”

 “ अरु जे भन्नुभए पनि मान्छु बाबा,आफ्नो जवानीसित तपाइको बुढ्याइँ साट्ने कुराचाहिँ  म मान्दिनँ । यसो गर्दा मलाई सबैले खिसी ट्यूरी गर्छन् । कुरा काट्छन् । तपाइँ मलाईभन्दा भाइहरुलाई माया पनि बढी नै गर्नुहुन्छ । यो काम पनि भाइहरुसित भन्नुहोस् न ।” जेठा छोरा यदुले भने ।

 जेठाबाट काम बनेन । अव माहिलाले मान्छ कि ? अर्को दिन ययातिले माहिला छोरालाई बोलाएर कुरा राखे । माहिलाले आतङ्कित हँुदै भन्यो,“ के भन्नुभएको बुवा, यस्तो कुरा ? बावुको बुढ्याइँ लिएर आफ्नो जवानी दिने मूर्ख को हुन्छ यस दुनियाँमा ? बुढ्याइँले अनुहार  बिगार्छ  । तागत सुकाउँछ । बुद्धि पनि कमजोर पार्छ । अरुलाई भरिलो पार्न आफूलाई थोत्रो बनाउने आदर्श नै गलत हो । मबाट यस्तो आशा नगर्नुहोस् ।”

माहिलोले पनि नटेरेर उठेपछि ययातिले साहिँलालाई बोलाएर भने,“ बावु, म तिमीलाई कति माया गर्छु त्यो मैले तिमीलाई भनिरहनु पर्दैन । अहिले सन्जोगवस म बुढो भएको छु । मलाई तरुण रहेर संसारको उपभोग गर्ने रहर घटेको छैन । रहर पुयाउन अलि वर्षका लागि मेरो बुढ्याइँ लिएर तिम्रो तारुण्य मलाई सापट देऊ । म फिर्ता गर्छु । हँुदैन नभन ।”

“ बाबा, तपाइँलाई यत्रो वर्ष भोग विलास गरेर पनि मन भरिएन । मेरो त सुरुको उमेर छ । मलाई हात्ती घोडा चढ्ने दगुराउने र साहसिक यात्रा गर्ने सोख छ । मलाई भाषण गर्न र गीत गाउन मन पर्छ । मिठो मिठो खानाको पनि सौखिन छु म । तपाइँको बुढ्याइँ लिएर आफ्नो जवानी तपाइँलाई दिएँ भने मेरो सवै सोख चौपट हुन्छ । दुःख नमान्नुहोस् म तपाइँको आज्ञापालन गर्न सक्दिनँ ।” यति भन्दै साहिँला पनि उठेर हिँड्यो ।

ययातिले काहिँला छोरालाई बोलाएर भने,“ तिमी त मेरो कुरा मान्छौ कि ? रङ्ग रउस गर्ने रहर नमेटिंदै अचानक बूढो भएँ । अलि वर्ष जवान हुन मन छ । अलि वर्षपछि तिम्रो जवानी तिमीलाई नै फिर्ता दिइहाल्छु । मेरो बुढ्याइँ लिएर कृपया मलाई तिम्रो जवानी सापटीदऊ न है ?”

“ बाबाको आज्ञा मन्नु त पर्ने हो । यस्तो आज्ञा कसरी मान्ने ? उडेको चरो खसाल्ने जोस जाँगरको यस्तो दनदनाउँदो जवान मान्छे म । मैले तपाइँको बुढ्याइँ लिनु भनेको अर्काको आड भरोसामा बाँच्न तैयार हुनु हो । पाइला पाइलामा अर्काको सहयोग लिएर बाँच्न पर्नु त मर्नु बराबर हो नि, हैन र बाबा ? त्यस्तो जिन्दगी म कसरी वरण गर्न सक्छु ? भो, मलाई तपाइँको प्रसन्नता र वरदान चाहिएन ।  म बुढ्याइँसँग जवानी साट्दिनँ ।”

चार चार छोराले नमानिसके । अव पाँचौँले पनि नमान्न सक्छ । त्यसपछि कुनै उपाय छैन । ययाति निराश भए । एकछिनपछि लाग्यो तै पनि मानि पो हाल्छ कि ? सवैलाई भनेँ यसलाई किन नभन्ने ? भन्छु, ययातिले कान्छो छोरा पुरुलाई बोलाए । आँखामा आँसु भरिएर आयो । घाँटी क्याप्प भयो । मुटूमा गाँठो पर्लाजस्तो भयो । बल्लतल्ल बोल्दै भने, “कान्छा छोरा पुरु, तिम्रा दाइहरुले त मानेनन् तिमी मान्छौ कि ? तिमीमाथि मेरो अन्तिम आशा टिकेको छ । बावु कान्छा,मेरो यो बुढ्याइँ लिएर अलि वर्षका लागि मलाई तिम्रो जवानी देऊ न है ?”

अचानक बुढा भएका बावुका अनुनयविनयपूर्ण कुरा सुन्दा पुरुको मन पग्ल्यो । उनले तुरुन्तै भने,“ हुन्छ बाबा म तपाइँलाई मेरो जवानी दिन तैयार छु । यो बुढ्याइँ र राज्यसन्चालनको झन्झट मलाई सुम्पेर स्वच्छन्द हुनुहोस् र रङ्ग रउस गर्नुहोस् ।”

ययातिका आँखाबाट हर्षका आँसुको भल बग्यो । आँसु पुछ््न हात उचाल्न के लागेका थिए पुरुको जवानी उनमा स¥यो । भर्खरैका जवान पुरु चाउरे बूढामा परिणत भए । यो देखेर ययाति एक्कै छिन त स्तम्भित भए । मैले अमानवीय अपराध त गरिन ? ययातिको अन्तष्करण झननन्न भयो ।

  पुनर्युवा यायातिमा मानवीय विवेकको यो झन्भनाहट धेरै बेर अडिएन । जवानीको जोस जाग्यो । मनमा भोग विलासका तरङ्गहरु उठे । आसनबाट उठ्दै छोरातिर हेरेर भने, “धन्यवाद छोरा, तिमीले मेरो आज्ञापालन ग¥यौ । यसको राम्रो प्रतिफल पाउनेछौ । धैर्य गर । राज्यका काममा त्रुटि हुन नदेऊ । म अहिले विलासयात्रामा जान्छु ।”

राजकीय तैयारी तैयार थियो । देवयानी र शर्मिष्ठालाई लिएर ययाति भोगविलासयात्रामा निस्के । त्यसताक महादेश भन्ने चलन थिएन । तीन लोक चौध भुवनका खास खास पर्यटनस्थान, विभिन्न मुलुकका राजधानी, बन बगैँचा,  नदी सरोवर समुद्रतट यहाँ त्यहाँ र जहाँसुकै पुग्ने, विहार गर्ने योजना थियो । राम्रा महँगा र सुविधाका वाहन,साधनहरु लिएर स्वर्गलोकदेखि पाताल लोकसम्मका  विभिन्न ठाउँमा पुगे । विभिन्न प्राकृतिक दृश्यहरु, नाच नाटक, सभा सम्मेलन, मेला, कतै केही नछुटाएर हेर्दै आनन्द उपभोग गर्दै हिँडे । ठाउँ ठाउँका स्वादिष्ट परिकारहरु खाँदै हिँडे । फलरस लतारसहरु पिउँदै हिँडे । क्षण बितेजस्तै गरी अनेकौंँ दिन महिना र वर्षहरु बितेको थाहै भएन । पाइला पाइलामा नयाँ नयाँ तिर्सनाहरु भेटिए । तृप्ति कतै भेटिएन । थरी थरीका मोजमज्जा र रङ्गरउसमा डुब्दा पनि ययातिको रहर कहिल्यै मेटिएन । नन्दन उद्यानमा पट्ठी पट्ठी अप्सराहरुसँगको विहारयात्रामा रहँदा एक दिन अचानक ययातिले आफ्नो दरबार झलक्क  सम्झे । ओहो ! म त छोराको जवानी सापट लिएर हिँडेको बुढो हूँ नि त !!  साटासाटको त्यो क्षण पनि त्यतिखेरै झ्वास्स सम्झनामा आयो । कठैबरा पुरु ! मैले भिराएको बुढ्याइँ बोकेर त्यत्रो राजकाज समेत चलाइबसेको छ । मैले अझै पनि यसरी नै बरालिएर हिँड्नु भयङ्कर अन्याय हो । अमानवीयता नै हो यो । छोरालाई बुढ्याइँ बोकाएर आफू जवान बन्दै विलासयात्रामा हिँडेको म ययाति मानवधर्मका आँखामा कस्तो देखिँदो हूँ ? कति कुरुप देखिँदो हूँ ? धत् !!! स्वार्थलम्पट तुच्छ मनुवा !!! ययातिमा कता कताबाट विवेक उदायो । मनमनै तत्काल अठोट गरे अव म यहीँ यसै क्षण यो यात्रा रोक्छु ।

ययाति अचानक दरबार आइपुगे । छोरा पुरुलाई,भेटेर भने, “क्षमा गर है बावु, यतिका वर्ष बितेछन् मलाई त होसै भएन । अव तिम्रो जवानी तिमीलाई अहिल्यै यसै क्षण फिर्ता दिएँ, लिय । यो राजकाजको अधिकार पनि यसै क्षणबाट औपचारिक रुपमै तिमीलाई दिएँ । न्याय र विवेकका आँखा निरन्तर चनाखा राखेर राज्य व्यवस्था चलाऊ । तिमी पितृभक्तिको अनुपम दृष्टान्त त बन्यौ बन्यौ । म पनि स्वार्थलम्पटताको एउटा अनुपम दृष्टान्त बनेँ । संसारमा अव अर्को ययाति न जन्मोस् । म अव यसै क्षणबाट वानप्रस्थ भएँ । बाँकी जीवन तपस्वीहरुको सत्सङ्मा लगाउँछु । जीवनमा सदा सवजयी बन बावु”, ।

 अहिले स्तव्ध बन्ने पालो पुरुको थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...