मिथिलामा आर्थिक क्रान्तिका उपाय
नेपालमा पर्यटन क्षेत्र कहिले पनि नसकिने अनि कसैसगै पनि प्रतिस्पर्धा गर्नुनपर्ने क्षेत्र हो । आजको विश्व बनावटी पर्यटन बजारमा हामी स्वनिर्मित सम्पदा र विविधताले भरिएको पर्यटन क्षेत्रले धनी छौं । हामीमाझ विभिन्न ऐतिहासिक, सांस्कृतिक, सामाजिक सद्भाव तथा धार्मिक सम्पदाको खानि नै रहेको छ । यसलाई विश्व बजारमा सुसूचित गर्न सकेका छैनौँ । तर हाम्रा विविधतालाई प्रदर्शन गर्ने मौकाको खोज गरी उक्त अवसरको अधिकतम प्रयोग गरिनुपर्ने हाम्रो आवश्यकता हो ।
यसै विविधता बीच मिथिला ऐतिहासिक, सांस्कृतिक, सामाजिक सद्भाव तथा धार्मिक सम्पदा पनि एक हो । यसको पनि स्वस्थ्य व्यापार हुनुपर्दछ । यसले राष्ट्रिय ढुकुटीमा कतिको धन ल्याउन सफल हुने छन्, त्यो भने अध्ययन, अनुसन्धान र बहसको विषय हुनसक्छ । यसले सिङ्गो विश्वमा र भनौँ तत्काल सार्क क्षेत्रमा नै राष्ट्रियता झल्काउन सफल हुने छ । मिथिला क्षेत्रको पर्यटनलाई प्रवद्र्धन गरेर उक्त क्षेत्रका आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान गर्न सकिने छ र साथै नेपालको अन्तर्राष्ट्रिय गरिमा तथा थप पहिचान र मानमा थप वृद्धि गर्न सकिन्छ मिथिला क्षेत्रको एतिहासिक, सांस्कृतिक, समाजिक तथा धार्मिक धरोहर सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गरेर बृहत मिथिला पर्यटन प्याकेज तयार गरेर अगाडि बढनुपर्ने आजको आवश्यकता पनि रहेको छ ।
त्यस्तै, कतिपय धरोहर र सम्पदाहरूको विस्तृत अनुसन्धान तथा उत्खन्न गरी अभिलेखन गर्नुपर्नेमा पनि महत्वपूर्ण कार्य मिथिला पर्यटन प्रवद्र्धनका लागि आवश्यक रहेको छ । यसै कार्यले एउटा प्राकृतिक तर यथार्थ पर्यटन प्याकेज राष्ट्रिय स्तरबाटै बन्न सफल हुने छ । यसै क्रममा मिथिला क्षेत्रका स्थानीय बासिन्दा तथा विज्ञहरूमाझ मिथिला पर्यटनका स्थलहरू तथा महत्वपूर्ण संस्कृति तथा सम्पदाहरूको बारेमा समेत सर्वेक्षण गरी प्रमुख १५, २० वटा मिथिला पर्यटन स्थलहरूको पहिचान गरेर सर्वेक्षणको परिणामका आधारमा सूचीकृत गरिएका मिथिलाका प्रमुख पर्यटन स्थलहरू पुगी स्थलगत अनुसन्धान तथा अभिलेखन गरेर मिथिला पर्यटनको एकीकृत प्याकेज तयार गर्न सकिनेछ । मिथिला पर्यटनको एकीकृत प्याकेज मार्फत देशभित्रको आन्तरिक तथा विदेशी पर्यटकहरूको अर्को एउटा थप उर्वर पर्यटन स्थलको रूपमा विकास गर्न सकिन्छ र यो सम्भव पनि छ ।
सम्भावनाहरू
हामीबीच जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर, धनुषाधामको शिवधनुष र वाइल्ड लाइफ तथा ताल, जलेश्वरको जलेश्वरनाथ, वीरगन्जको घरिअर्वा पोखरी, बाराको गढीमाई मन्दिर र सिमरौनगढ, सर्लाहीको नाढी ताल र जङ्गबहादुर राणाले बिताएका स्थान, सुनसरीको बराहक्षेत्र, सुनसरीकै जल्पापुरमा रहेको मदिना मस्जिद, सुनसरी–सप्तरीको संयुक्त कोशीतट, सुनसरीकै कोशीटप्पु, सप्तरीको छिन्नमस्ता, कङ्कालनी र शम्भुनाथ, राजदेवी मन्दिर, सिराहाको सलहेसधामलगायतका क्षेत्रहरू, मोरङको विराट क्षेत्र आदि छन् । यिनलाई हामीले मिथिला पर्यटन क्षेत्रमा समावेश गर्न सक्छौँ । यसको केन्द्रविन्दु जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर हुने छ । किनभने प्राचीनकालका सम्पदाका रूपमा जानकी मन्रिदरलाई मानिएको छ भने सतिसावित्री माता सीताको जन्म थलो पनि जनकपुर नै हो । नेपाल, भारत र श्रीलङ्ककालाई समेत जनकपुरले नै सेतुझैँ जोडेको छ । मर्यदापुरुषोत्तम रामको ससुराली पनि जनकपुरधाम नै हो । यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने र यस अद्भूत तथा ऐतिहासिक मन्दिर, विवाह मण्डप, जनक मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर आदिको व्यवस्थापन, सरसफाइमा सुधार, दलितहरूको गौरव तथा विभूति सलहेस तथा दीनाभद्रीलाई राष्ट्रिय विभूति वा लोकनायकका रूपमा घोषणा गर्न सकिन्छ । यी कार्यहरूले सम्पूर्ण देशमा अनेकतामा एकता थप्ने कार्य बढाउने छ भने राष्ट्रियताको भावना पनि अभिपृत गराइने छ । दलित वर्गका एतिहासिक धरोहर सलहेसको जन्मभूभि क्षेत्रलाई सलहेस जन्मथलो विकास समिति गठन तथा सलहेस फूलबारी वा खासगरी हरेक नयाँ वर्ष वैशाख १ गतेको दिन लागने सलहेस मेलालाई बृहत पर्यटन स्थलका रूपमा विकास र सुदृढीकरण गर्न सकिन्छ । त्यसो त केही समयअघि नेपाल भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा समेत उल्लेख गरेबमोजिम ऋषिमन अवधारणाको मूल स्रोत बनाएका राजर्षि जनकको भूमिलाई प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । जनकपुरधामका ऐतिहासिक ७० वटा पोखरीहरूको सरसफाइ, संरक्षण, सिँगार्ने र डुङ्गा बाहनका रूपमा प्रवद्र्धन गर्न सकिन्छ । त्यस्तै तत्कालीन भगवान रामले तोडेका ऐतिहासिक धनुषलाई अहिले पनि धनुषाधाममा हेर्न सकिन्छ । यसको प्रवद्र्धन गर्नुपर्ने आवश्यक देखिन्छ ।
यस्तै मिथिला संस्कृति झल्किने गरी जनकपुर नजिकको एउटा गाउँलाई मिथिला गाउँ (होम स्टेसहित) को रूपमा समेत विकास गर्न सकिन्छ । त्यस्तै नेपालको एक मात्र रेल सेवालाई पनि पर्यटनको केन्द्रबिन्दु बनाउन सकिन्छ । रेलको पुराना पाटपुर्जालाई सङ्ग्रह गरी एउटा विशाल सङ्ग्रहालयका रूपमा समेत विकास गर्न सकिन्छ । साथै रेल यात्राको गन्तव्यको रूपमा व्यवस्थापन गर्न सकिन्छ । त्यस्तै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको सपहीस्थित जन्मस्थल, उनले अध्ययन गरेको विद्यालय, उनले बाल्यकाल बिताएको निवास स्थान र उनले बाल्यकाल र किशोरावस्थामा प्रयोग गरेका महत्वपूर्ण सामग्रीको समेत सङ्ग्रह गरी त्यसलाई सङ्ग्रहालयका रूपमा विकास गर्न सकिन्छ । पर्यटकहरूलाई आकर्षित गर्न सिँगारिएको मिथिलामा सफा तथा व्यवस्थित बैल गाडा तथा भँैसी सवारीलाई समेत विकास गर्न सकिन्छ । साँझको समयलाई आकर्षित बनाउन महागङ्गा आरती, जानकी राम आरतीलगायतका कार्यक्रमलाई निरन्तरता दिन सकिन्छ । मैथिली सांस्कृतिक साँझ कार्यक्रम व्यवस्थित तथा नियमित स्थानीय सांस्कृतिक समूहहरू जस्तै मिनाप आदिको अगुवाइमा मिथिला साँझको प्रवद्र्धन गर्न सकिन्छ ।
सरकारी नीति तथा कार्यक्रममा समावेशीकरण
नेपालको पर्यटनक्षेत्र मध्यमाञ्चल क्षेत्र केन्द्रित रहेको छ । सुदूरपश्चिम वा अन्य भागलाई ‘नेग्लेकट’ गरिएको छ । तर यथार्थमा मध्यमाञ्चलका काठमाडाँैका उपत्यकासहित विभिन्न जिल्ला, जस्तै; नुवाकोट, धादिङ, चितवन, गोरखा जिल्लाबाहेक अन्य कुनै पनि जिल्लामा रहेको सम्भावित पर्यटन केन्द्रलाई पर्यटन नीतिले सम्बोधन गर्न सकेको छैन । तर, पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना रहेको मिथिला क्षेत्रको पर्यटनलाई सम्बोधन, प्रवद्र्धन र व्यवस्थापनमा सरकार मात्र होइन, सहयोगी निकाय खासगरी युनेस्को, जीआईजेडको हालसम्म कुनै भूमिका खेलेको छैन । यद्यपि, मिथिला सभ्यता, ग्रीक सभ्यताभन्दा पुरानो हो । ग्रीक सम्भयतालाई विश्वकै सबैभन्दा पुरानो सभ्यताका रूपमा विश्वव्यापी रूपमा प्रचार गरिएको छ । यस्तो, सभ्यता, संस्कृति, ऐतिहासिक, सामाजिक र धार्मिक रूपममा अत्यन्त धनी रहको नेपालको मिथिला क्षेत्रलाई सरकार र सहयोगी निकायको तर्फबाट सम्बोधन नगर्नु समग्र राष्ट्रकै समृद्धिमा बाधक रहको देखिन्छ । त्यस्तै, विश्व सम्पदाको सूचीमा हालसम्म कुल १० वटा स्थलहरू रहे पनि त्यस १० वटा स्थलमा पनि मिथिला क्षेत्रका कुनै पनि सम्पदा परेको पाइदैन । त्यसो त मिथिला क्षेत्रमा विश्वसम्पदा सूचीमा सूचीकृत हुन सक्ने कुनै सम्पदा नै छैन भन्ने होइन । जानकी मन्दिर र सलहेस फुलबारी यस्ता दुई स्थल र सम्पदाहरू छन् जो विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने क्षेत्र र देशलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन साथै गौरवान्वित गराउन सक्ने क्षमता बोकेका सम्पदाहरू हुन ।
त्यस्तै नेपाल सरकारको पर्यटन रणनीति भिजन २०२० ले पुर्वी तराईको सुनसरी र मध्य तराईको चितवन जिल्लाहरूलाई पर्यटनको इपिसेन्टर (हब) को रूपमा विकास गर्ने उल्लेख गरेको छ । यद्यपि दुवै हबमध्ये कुनै पनि हवले मिथिला पर्यटनलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने तथा व्यवस्थित गर्न सक्ने सम्भावना देखिँदैन । त्यसैले मिथिला पर्यटनको अपार सम्भावनालाई मध्यनजर गरी जनकपुरधामलाई मिथिला पर्यटनको इपिसेन्टरको स्थापना तथा सुदृढीकरण गर्नुपर्ने देखिएको छ ।
मिथिला पर्यटन प्रवद्र्धन अभियान
देशमा रहेको विभिन्न पर्यटनमूलक सङ्घसंस्थाले समेत यस क्षेत्रको विकासका लागि पहल गरेको पाइँदैन तर पछिल्लो समयमा भोर नामक एक अभियानी एवं अनुसन्धान मूलक परोपकारी संस्थाले यस क्षेत्रलाई पर्र्यटकीय सहजीकरण र नेतृत्व गरेको पाइएको छ । नेपालको संस्कृति तथा सम्पदा संरक्षण तथा प्रवद्र्धन अभियान अन्तर्गत मिथिला पर्यटनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउन र प्रवद्र्धन गराउन बृहत संवाद र पहल थालेको पाइएको छ । यसै क्रममा मिथिलाप्रतिको चासो, सद्भाव राख्ने काठमाडौंमा विभिन्न पेसामा आबद्ध व्यक्तिहरूको सहभागितामा मिथिला पर्यटन विषयक संवाद र पहल कार्यक्रमहरू पनि हुन थालिएको छ । मिथिला क्षेत्रमा स्थायी बसोबास गरिरहेका तथा हाल काठमाडौँमा विभिन्न पेसामा आबद्ध र बसोबास गरिरहेका व्यक्तित्वहरूले समेत आआफ्नै स्तरबाट भए पनि यस क्षेत्रको विकासका लागि पहल थालेएका छन् । उक्त पहलहरूमा मिथिला पर्यटनका सम्भावना, चुनौती तथा उपायहरूमाथि आआफ्नो सिर्जनात्मक विचारहरू समेत प्रस्तुत हुन थालेको छ । यसलाई व्यवस्थित बनाउन निजी स्तरबाटै मथिला पर्यटन प्रवद्र्धनको अवधारणा पत्र तयार पार्ने र मिथिला पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसमेत तय गर्न थालिएको छ ।
अतः निजी तवरबाट मात्र होइन सिङ्गो राष्ट्रिय स्तरबाटै यस क्षेत्रलाई व्यवस्थित बनाउन नीति बनाइनुपर्दछ र यो कार्य सिङ्गो देश तथा देशवासीको हितमा रहेको छ । मिथिला क्षेत्र मात्र राजनीतिक अखडा बनाइनु हुँदैन । यसको नाममा भोटबैङ्कको खेती गरिनु हुँदैन । उक्त क्षेत्रका सम्पूर्ण जनताको हितमा मिथिला क्षेत्रलाई व्यवस्थित बनाइनु पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास