शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरु जुधाइको एक बहाना : प्रेम प्रस्ताव मात्र होइन, माया साटासाट पनि भए

मङ्गलबार, १५ माघ २०७५, १२ : १३
मङ्गलबार, १५ माघ २०७५

मुलघर राजविराज भए पनि काठमाडौँको रानीबारीमा घर बनाएर बसेका अवधेश दास, नजिकैको टोखा पुगेका थिए जीवनमै पहिलो पटक । नुवाकोटे दीपक भन्दै थिए, ‘कविलाशबाट हिंडेर यहाँ आइपुग्न ६ घन्टा लाग्थ्यो ।

त्यसताका उता पहाडतिर लसुन–प्याज लगाउने चलन सुरु भएको थिएन ।’ बिशेषगरी माघे संक्रान्तिमा घ्युसँग खाइने चाकुका लागि प्रख्यात छ टोखा । तर, दीपक आफ्नो अनुभव सुनाउँदै थिए, ‘काठमाडौंबाट फर्कंदा हामी यहाँबाट लसुन–प्याज घर लैजाने गर्थ्यौँ ।’

झोर पार गरेर गुर्जेभञ्जयाङ पुग्दा दक्षिणतिर बाक्लो काठमाडौं बस्ती र पश्चिम उत्तरतिर लामो हिमशृंखला देखियो । एक छिन बहस भयो, ‘त्यो लाङटाङ हो ।’

‘होइन, त्यो गणेश हिमाल हो ।’

‘होइन, त्यो लाङटाङ हो ।’

अन्त्यमा सबै सहमत भइयो, ‘त्यो गणेश हिमालै हो ।’

हामी नुवाकोटको सरहदभित्र छिरिसकेका थियौं । 

पाँच रूपैयाँको रातो नोट बोकेको गणेशको फुच्चे मुर्तिलाई काखमा राखेर गुडिरहेको जीपबाट फुच्चे गणेश र गणेश हिमाल दुवै देखियो । दीपक र मैले पालैपालो केही फोटो खिच्यौं । 

अलि अघि पुग्दा निकै रंगीन लामपुच्छ्रे चरा सडकको एक किनारबाट अर्को किनार उड्दै जंगलमा हरायो । 

घाँटीमा प्रोफेसनल क्यामरा भिरेका अवधेश रुकुम सम्झँदै थिएँ । रुकुममा उनले केही बर्ष बिताएका रहेछन् । उनले त्यसताका थुप्रै  चराको शिकार गरे रे । उनको निशाना अचुक थियो रे । 

‘तपाईंको निशाना अचुक मात्र थिएन, चुक हुँदा पनि अचुकै हुन्थ्यो होला’, मैले मजाकमा भने, ‘मानौं, तपाईंको गुलेलीबाट छुटेको मट्यान्ग्रा चरानजिक मात्र पुग्यो। तपाईंको निशाना चुके पनि चरो उडेर तपाईंले हानेको मट्यान्ग्रामा ठोक्किन आइपुग्यो । र, उसको इहलीला समाप्त भयो ।’

नेपाल पर्यटन बोर्डका सदस्य अवधेशसहित सबै हाँसे । 

‘मलाई चरा मार्ने सोख कहिल्यै भए। मसँग करुणा कति थियो ? थाहा छैन तर म सायद काँतर थिएँ । त्यसैले शिकारी हुन सकिनँ । सम्भवत चाहिनँ पनि’, उनको घाँटीको क्यामरा छुँदै मैले थपें, ‘तर, मैले तपाईंमा रुपान्तरण देखें । कुनै बेलाको चरा शिकारी अहिले टाढाटाढासम्मको चराको ‘चाल’ खिच्ने क्यामरा बोकेर हिँडिरेहको छ । क्यामराले त गोली चलाउँदैन नि ! क्यामराले त चरा मार्दैन नि !’
‘रुकुम रोल्पाबाट क्रान्ति थालेको माओवादी काठमाडौँ आएपछि शान्तिमा बदलिएजस्तै पो भएछ, तपाईंको पनि’, यो चाहिँ मैले भनिनँ ।
...
नेपाल पर्यटन बोर्ड सदस्य दीपक महतले केही दिनअघि फेसबुक इनबक्समा एउटा फ्रेन्डसीप एनिभर्सरी सन्देश पठाए । फेसबुक स्वयमले तयार गरिदिएको हाम्रो फेसबुके मित्रताको चार बर्षे क्लिप थियो त्यो।
एक अर्कालाई इनबक्समै बधाई दियौं ।

केही दिनपछि उनैले फोन गरे, ‘चौथो फ्रेन्डसीप एनिभर्सरी मनाउने होइन ?’ मेरो सहमतिपछि उनले भने, ‘तर, त्यसको लागि काठमाडौंबाहिर जानुपर्छ ।’

‘एक दिने कि एक राते ?’, मैले जान्न चाहें ।

‘राते नै हो’, उनले भने, ‘कविलाश, मेरो गाउँ ।’

‘सन्दर्भ अरु पनि केही जोडिएको छ हो ?’, म प्रस्ट हुन खोजें ।

‘खासमा गोरु जुधाउने कार्यक्रम हो । यहाँबाट संक्रान्तिको बिहान हिंड्ने । दिउँसो गोरुजुधाई हेर्ने । बेलुका त्यहीँ बस्ने । भोलिपल्ट फर्कने’, उनले खुलस्त पारे ।

माघे संक्रान्तिको बिहान काठमाडौंबाट सुरु यात्रामा हामी- दीपक, अवधेश र मसँगै पत्रकारहरु श्याम रिमाल, राजन कुईंकेल, शारदा थापा, जनार्दन अर्याल र ताइवानबाट केमेस्ट्रीमा पिएचडी गरेर भर्खरै फर्केका प्रधुम्न महत पनि थिए।
...
छहरेबाट अघि बढेपछि थाहा भयो, हामी जाँदै गरेको कविलाश त बाटोको एउटा भागमात्रै रहेछ, पञ्चकन्या गाउँपालिकास्थित घलेगाउँमुन्तिरको पीपलडाँडा पो हाम्रा लागि ‘चुच्चे ढुँगो उही टुँगो’ रहेछ ।
‘ऊ त्यो चाहिँ हाम्रो घर’, गुडिरहेकै जीपबाट पारिडाँडाका अनेक घरबीच एउटा घरतिर औला तेर्साउँदै दीपकले भने । उनले देखाएको घर त पक्कै एउटै थियो तर थुप्रै घरमध्ये उनको घर कुन थियो ? मैले चाहिँ ठम्याउनै सकिनँ तर भनिदिएँ, ‘ए त्यो!’   

आफ्नो जन्मघर देखाउँदा उनको आँखामा देखिएको तृप्ति विशेष थियो ।   

बाटोछेऊ नफुलेका लालीगुराँस र उत्तीसका बोटहरु थिए । एउटाले सुनायो तिनको कथा, ‘बेसिजनमा नफुलेकी लालीगुराँसलाई तथानाम भन्दै बिहे गर्न अस्वीकार गरेको उत्तीसले सिजनमा फुलेकी लालीगुराँस देखेपछि पश्चापाप गर्दै फकाउन खोज्यो । तर, लालीगुराँसले लोप्पा खुवाइदिई ।’

‘ठीक गरेछ गुँरासले’, अर्का सहयात्रीले भने ।      

‘बाइरोडको बाटोमा ट्याक्सी गुडाउँदै धुलो उडाउँदै’ भने झैं कविलाशको कच्ची सडकमा जीप गुडदै थियो । दोबाटो आयो, यता कि उताको अलमलले हामीलाई केही छिन त्यहीँ अड्यायो ।
दुवै जीपका सबै यात्री बाहिर निस्के । पारी डाँडालाई ब्याकराउन्ड बनाएर कोही सेल्फी खिच्न थाले त कोही लघुशंका गर्न । एकाधचाहिँ चुरोटको सर्को तान्न ।
फुत्त एउटा मान्छे आइपुग्यो । 

‘पिपलडाँडा जाने बाटो कुन हो ?’ उसलाई सोधियो । तर, ढल्के टोपी लाएको अधवैशेले स्पस्ट उत्तर दिएन । ऊ कहिले माथिल्लो त कहिले तल्लो बाटो भन्दै थियो ।   

पछि, उसले जीपमा चढेर बाटो देखाउँदै कार्यक्रमस्थल पु-याई दिने बतायो । ऊ चढेको जीपलाई पछ्याउँदै हामी तल्लो बाटो लाग्यौं ।

ढल्के टोपीवाला अधवैशेको पारा देखेर अवधेशले एउटा कथा सुनाए । कथा यसप्रकार थियो: 

एउटा बटुवा पहिलो पटक कुनै अमुक गाउँ जाँदै थियो । उसलाई गन्तव्य थाहा थियो तर बाटोको लम्बाईको अन्दाज थिएन । ऊ चौतारोमा थकाई मार्दै थियो । त्यत्तिकैमा एकजना स्थानीय त्यहाँ आइपुग्यो । उसले स्थानीयलाई सोध्यो, ‘अमुक गाउँ पुग्न कति समय लाग्छ ?’ स्थानीयले कुनै उत्तर दिएन । पटकपटक सोध्दा पनि उत्तर आएन । 

बटुवा अघि बढ्यो । एक छिनमा फेरि चौतारो आयो । स्थानीय पनि त्यहीँ आइपुग्यो । बटुवाको उही पुरानो प्रश्नमा उसले फेरि पनि कुनै उत्तर दिएन । बटुवा चौतारो छोडेर अलिकति अगाडि बढदै गर्दा आफैसँग तर आवाजमा बोल्यो, ‘अझ कति समय लाग्ने हो ?’

आश्चर्य ! पटकपटकको प्रश्नमा मौन स्थानीय एक्कासी बोल्यो, ‘अब दुई घन्टा लाग्छ ।’

‘अघि पटक पटक मैले सोध्दा किन नबोलेको ?’, बटुवाले सोध्यो । 

‘कति समय लाग्छ भनेर उत्तर दिन तपाईंको चाल हेर्नु परेन ?’, नपत्याउँदो पाराले स्थानीयले उत्तर दियो ।

हा हा हा । जे गर्नु चालले ग-यो । कच्ची सडकमा जीपको चक्काको चाल पनि त्यति मिलिरहेको थिएन । तर, मधेशी मुलका अवधेशको नेपाली लवज, नुवाकोटका खस-आर्य दीपकको भन्दा कम प्रस्ट थिएन । 
अवधेशले अर्को कथा सुरु गरे । 

एक पटक एउटा चालवाला मुखिया आफ्ना हुक्के, बैठके आदिलाई अगाडिपछाडि लगाएर गाउँभन्दा अलि पर शयर गरेर फर्कंदै थियो । परतिरबाट धुवाँको मुस्लो देखियो । हुक्केले धुवाँबारे मुखियालाई जानकारी गराउँदै भन्यो, ‘हजुर ! त्यहाँ त आगो लाग्यो जस्तो छ।’

‘हुन दे’, मुखियाले जुँगामा ताउ लाउँदै भन्यो ।

उनीहरु धुवाँ आएतिर नै गइरहेका थिए । किनकी, त्यता उनीहरुको गाउँ थियो ।

एक छिनमा फेरि हुक्के बोल्यो, ‘हजुर ! हाम्रै गाउँमा आगलागी भएजस्तो छ ।’

‘हुन दे’, फेरि मुखियाले जुँगामा ताउ लाउँदै भन्यो ।

उनीहरु गाउँ पुगे । हुक्के फेरि बोल्यो, ‘हजुर ! आगलागी त हजुरको घर छेउमै भएजस्तो  छ ।’

‘हुन दे’, मुखियाले मस्तले उस्तै उत्तर दियो ।

‘हजुर ! आगलागी त हजुरकै घरमा लागेको रहेछ’, हुक्केले आत्तिएर भन्यो। 

तैपनि मुखिया दौडिएन । उसमा कुनै बित्याँसको अत्याँस थिएन । हुक्केले आश्चर्य मान्दै बिन्ती टक्र्यायो, ‘हजुर ! छिटो जाउँ न । आगो निभाउनु प-यो ।’

मुखिया अझै उस्तै थियो । भन्दै थियो, ‘हुन दे । जल्न दे । घर जलेर के भो ? अर्को बनाउँला । तर, बिस्तारै हिडौं । नत्र चाल बिग्रन्छ ।’

चालवाला कथा सकिएपछि जीपमा हामीभन्दा हाम्रो हाँसो बढी भयो । 

रमाइलो के भने, नातिदेखि हजुरबुवा पुस्ताका गाउँलेहरुको रहरलाग्दो चालले त्यहाँका बनपाखा चलाएमान देखिन्थ्यो । कोही माथिबाट ओर्लिरहेका थिए । कोही तलबाट उक्लिरहेका थिए । कोही दायाँ बायाँबाट तेर्सिरहेका थिए ।     

हामी गोरु जुधाईस्थल पिपलडाँडा पुग्यौं । गोरुहरु जुध्नलाई चाल मिलाउँदै थिए । तर, गोरु मालिकहरु गोरुको चालमा भन्दा नतिजामा निर्णायकको जालबारे चिन्ता गर्न थालिसकेका थिए ।

पहिलो नम्बरमा दुई गोरु मैदानमा उतारियो । तर, उनीहरुले जुधाईको खासै चाल मिलाएनन् । ३५ मिनेटसम्म उनीहरु मित लगाए जसरी टाउको जोडेर मात्र बसिरहे । जुध्न नमान्ने गोरुलाई आखिरमा जुधाएरै छाडियो । खै, केको चालले हो, प्रतियोगितामा तिनै गोरुले प्रथम पुरस्कार पाए रे । 

अरु केही गोरुहरु पनि आपसमा भिडे । हुटिङ एकातिर चलिरहेकै थियो। अर्कोतिर स्पिकरबाट नेपाली रिमिक्स लोकदोहोरी घन्किरहेकै थियो । बेलाबेला भाषणभुषण पनि छँदै थिए। 

गोरु जुधाई त खासमा बहाना मात्र थियो । त्यही बहानामा गाउँलेहरु त्यहाँ जम्मा भएका थिए । जुधाईको होहल्लाबीच कोही बिहेबारीको कुरा गर्दै थिए । कोही जग्गाको त कोही गोरु, भैसी, बाख्रा र कखुरा बेचबिखनको मोलमोलाई समेत गर्दै थिए । कोही घरगृहस्थीका अनेक दुखसुख साट्दै थिए । कतिले त सायद प्रेम प्रस्तावमात्र होइन, माया साटासाट पनि सुरु गरिसकेका थिए, आखिर जात्रा लागेको न थियो त्यहाँ । 

कतिपयको मुखबाट ह्वासह्वासस्सी रक्सी गन्हाउन थालिसकेको थियो।

गोरु जुधाई स्थलबाट सबभन्दा नजिकको एउटा रमणीय घरआँगनमा बसेर ती सब अवलोकन गर्दै थिएँ म । १२ कक्षा पढेकी पराजुली थरकी त्यो घरकी बुहारीले सुरुमा मलाई मोही दिइन् । त्यसपछि उसिनेको तरुल । त्यसपछि मुलाको अचार । र, चिसो भयो भन्दै दुध चिया पनि ।

मैले मात्र हैन, काठमाडौँबाट गएका हाम्रा सबै सहयात्रीले त्यो सौभाग्य पाए । त्यो घरको ‘अतिथी देवो भव’ले मग्न मैले केही पटक मुखैले र सयौँ पटक मनले ती बुहारी र त्यो परिवारलाई धन्यवाद भनें । 

गोरु जुधाईको त्यो माहौल र होहल्लाबीच हामीले पछिल्लो समय चर्चित ‘मी टु’ अभियानबारे चर्चा गर्यौं। 

सहयात्री एक पत्रकारले भने, ‘नेपालमा आशयकरणी भनेर उहिल्यै मुलकी ऐनमा त्यसको अवधारणा आइसकेको छ ।’

‘त्यसो भए ‘मी टु’ र मुलुकी ऐन शीर्षकमा आर्टिकल लेख्नोस् । त्यसले राम्रै चर्चा पाउला’, मैले टुच्च दिएँ।

उता गोरु जुधाई स्थलबाट डाँडै हल्लने गरी माइकबाट फुकिंदै थियो, ‘गोरुको काम जुध्ने हो । मान्छेको काम मिल्ने हो ।’

आँगनबाट पिढीँमा सरेर मोही पिइरहेकाहरुलाई मैले त्यो उद्घोष असंगत लागेको सुनाएँ । भनें, ‘गोरुहरुको काम कहाँ जुध्नु हो ? उनीहरुको काम त जोत्नु पो हो ।’

प्रतिवाद गर्दै अर्कोले भन्यो, ‘त्यो पनि होइन । त्यो त मानिसले उसलाई लगाएको काममात्र हो ।’

‘त्यो पनि होइन, खासमा गोरु त इको सिस्टमको एउटा भाग हो । अरु सब वाहियात’, तेस्रो न्यायाधिश बन्न खोज्यो ।

तर, मलाई वाहियात नलागेको कुरा अर्कै थियो, ‘गोरुहरु जुध्छन् तर कम्तीमा मान्छेजस्ता भ्रस्ट हुँदैनन् । गोरुले मान्छे जुधाउँदैनन् । मान्छेले गोरु जुधाउँछन् र गोरुका नाममा आफै पनि । खासमा हामी पो हौं गोरु ।’

खै के चाल हो यो !?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सिलवाल
अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

लेखकबाट थप