मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

रेफ्रीको भूमिकामा सञ्चयकोष : बैङ्कसँग पैसा राख्दा ब्याजदरमा मोलमोलाई हुँदैन

मङ्गलबार, १५ माघ २०७५, १० : ४९
मङ्गलबार, १५ माघ २०७५

२०४७ सालमा गृह मन्त्रालयको शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका तुलसीप्रसाद गौतम पर्यटन विभागको महानिर्देशक हुँदै योजना आयोगमा सहसचिवसमेत भए । गत वैशाखमा सञ्चयकोषको प्रशासकको बागडोर सम्हाल्न काजमा आइपुगेका उनी संस्थाको मुनाफा आर्जन गर्नुपर्ने, लगानीको सुरक्षा गर्नुपर्ने, लगानीलाई विविधीकरण, सूचना प्रविधिमा सुधार, सञ्चयकर्ता अवास कार्याक्रमलाई अगाडि बढाउनुपर्नेलगायतको प्रतिबद्धता सरकारसँग थियो । ९ माहिनाको आफ्नो अवधिमा ती सबै प्रतिबद्धता लक्ष्यभन्दा बढी प्रगति भएको उनको दाबी छ । हामीले प्रशासक गौतमको कार्यप्रगति, सञ्चयकोषको वर्तमान अवस्था, बैङ्कमा निक्षेप राख्दा ब्याजदरमा हुने मोलमोलाइलगायतका विषयमा कुराकानी गरेका छौँ ।

ऋणमा सञ्चयकर्तालाई पहिलो प्राथमिकता

सञ्चयकर्ताको मासिक योगदानलाई (१० प्रतिशत रोजगारदाता र १० प्रतिशत श्रमिकबाट) व्यवस्थित गर्ने काम हो । सञ्चयकर्ताबाट जम्मा भएको रकम कर्जा सापटी दिन्छौँ । सापटीको हकमा जग्गा रोक्का राख्नुपर्ने, मालपोतको सङ्ग्रह गर्नुपर्ने, इन्जिनियरिङको विषय भएकाले केही समय लाग्छ । यसबाहेकको कर्जा  ८० प्रतिशत विशेष सापटीका रूपमा लगानी गरिरहेका छौँ ।

सञ्चयकर्ताको रकम घर सापटीका रूपमा, विशेष सापटीका रूपमा, शैक्षिक सापटीका रूपमा, सरलचक्रका रूपमा, घरमर्मतका रूपमा सञ्चयकर्तालाई कर्जा दिन्छौँ । यहाँको कर्जा बैङ्कभन्दा सस्तो छ ।

सञ्चयकर्ताबाट बाँकी रहेको पैसा मुलुकको प्राथमिकता प्राप्त क्षेत्रमा  सुरक्षित तवरमा लगानी गरिरहेका छौँ । अहिले ४, ५ वटा जलविद्युतमा  लगानी छ । सञ्चयकोषले चिलिमे जलविद्युतको रकम असुली गरिसकेको छ । चिलिमे समूहले नै प्रवन्ध गरेको रसुवागढी, मध्यभोटेकोशी, साञ्जेन भने २ वर्षभित्रमा पूरा भएर बिजुली निस्कन्छ । 

पहिलो प्राथमिकतामा सञ्चयकर्ताहरू पर्नेछन् । अहिले सञ्चयकोषको २५ प्रतिशत लगानी बैङ्क वित्तीय संस्थामा छ, जसमा सेयर लगानी र निक्षेप लगानी छ । ५८ प्रतिशत सञ्चयकर्तामा लगानी छ । जलविद्युतमा ८ प्रतिशत जति लगानी छ । सीमित मात्रामा उद्योगहरूमा पनि सञ्चयकोषको लगानी छ । 

 वाइडबडीको दोस्रो किस्ता आएको छैन 

सञ्चयकोषको नेपाल एयरलाइन्सको वाइडबडी र न्यारोबडीमा दुवैमा लगानी छ । पहिले भित्रिएको  वाइडबडीमा सबै सञ्चयकोषको लगानी छ । दोस्रोमा नागरिक लगानी कोषको छ । यस्तै वाइडबडीभन्दा अगाडि भित्रिएको न्यारोबडीमा लगानी छ, जसमा १५ वर्षको किस्ता छ । न्यारोबडीले समय समयमा किस्ता तिरेको छ भने वाइडबडीले पहिलो किस्ता तिर्यो, दोस्रो आएको छैन । अहिलेसम्म उडान गर्न नपाएको हुनाले पर्याप्त रकम भएन भन्दै वहाँहरूले सरकारलाई तीन महिनाको तीन किस्ताको रकम तिरिदिन आग्रह गर्नुभएको छ । यही महिनाभर (माघ) सबै किस्ता असुल हुन्छ ।

 

प्रत्येक महिना साढे तीन अर्ब थपिन्छ

असोज मसान्तसम्म सञ्चयकोषमा ३ खर्ब १ अर्ब रूपैयाँ जम्मा भएको छ । प्रत्येक महिना साढे ३ अर्ब रूपैयाँ थपिँदै जाने गरेको छ । 

कर्जा असुली हुन न्यून प्रतिशत मात्र हुन बाँकी छ । सञ्चयकर्ताहरूलाई अलि  सहज बनाइदिएकाले उनीहरूले ब्याजमात्र तिरिदिए भने पनि स्वीकार गर्न सकिने अवस्था छ । सञ्चयकर्तालाई जोखिममा लगानी गरेकै छैनौँ । सञ्चयकर्ता बाहेकका व्यक्तिलाई बैङ्कमार्फत कन्सोर्टियममा लगानी गरेका छौँ । 

सञ्चयकर्तालाई बिमा र आवास सुविधा 

सञ्चयकर्ताको सामाजिक सुरक्षाका लागि ६ लाख सञ्चयकर्तालाई एकमुष्ट बिमा गरिदिएका छौँ । सामान्य रोग लागेमा वार्षिक एक लाख, कडा रोग लागेमा १० लाख रूपैयाँसम्मको बिमा छ । अहिले एक वर्षका लागि बिमा गरेका छौँ र त्यसलाई तीन वर्षको बनाउन खोजेका छौँ । 

यसैगरी सरकारले बजेटको बुँदा नं २२८ मा कर्मचारी सञ्चयकोषबाट कर्मचारी आवास योजना सञ्चालन गरिनेछ । न्यूनतम लागतमा निर्माण गरिने त्यस्ता घरहरू निश्चित मापदण्डका आधारमा लागत मूल्यमा १० प्रतिशत थप गरी सञ्चयकर्तालाई वित्तरण गरिनेछ भनिएको बुँदाको कार्यान्वयनको चरणमा छौँ । 

चितवनमा रहेको ४ बिघा १६ कठ्ठा जमिनमा भवन बनाउन डिजाइन फाइनल भएको छ । सञ्चयकर्ताले किन्ने गरी भवन बनाएर बेच्ने हो । त्यहाँ १ सय ५६ वटा घर बनाउनेछौँ । यसैगरी काठमाडौँमा पनि आवास निर्माणका लागि जमिनको खोजी भइरहेको छ ।  पोखरामा १ सय ३० वटा सञ्चयकर्ता आवास छ । 

काठमाडौँ मलले समयमै पैसा नबुझाएपछि टेकओभर 
लगन खेलको सञ्चयकोष भवन र सुन्धारामा रहेको काठमाडौँ मल भाडामा दिएका थियौँ । भाडा असुल हुन नसकेपछि आफ्नै व्यवस्थापनमा ती भवनहरू लिएका छौँ । नाफाबाट आएको, घरभाडाबाट आएको रकमबाट सञ्चयकर्तालाई ब्याज तिर्छौं । चालु वर्ष सञ्चयकर्तालाई ८.२५ प्रतिशत ब्याज दिन्छौँ । त्योभन्दा बढी नाफा कमायौँ भने नाफाको समानुपातिक वितरण गर्छौं । ऋण असुलीको हकमा समस्या छैन । केही सञ्चयकर्तालाई ऋण असुलका लागि अन्तिममा पर्खनुपर्ने अवस्था पनि आएको छ किनभने जागिर छोड्दा एकमुस्ट पैसा आउँछ । 

बैङ्कको ब्याजदर व्यवस्थित गर्न रेफ्रीको भूमिकामा सञ्चयकोष
भदौ १ देखि लागू हुने गरी मुद्दती निक्षेपको कार्यविधि बनाएका छौँ । सोही विधिमा रहेर मुद्दती निक्षेप दिन्छौँ । किनभने हाम्रो पनि पारदर्शिताको कुरा आउँछ । धेरै ब्याजदरका लागि बैङ्कहरूसँग मोलमोलाइ गर्ने समस्या सञ्चयकोषको हकमा लागू भएको छैन । हिजो यो विषयमा के थियो म जान्दिनँ तर म वैशाखमा कोषमा प्रशासकको भूमिकामा आउँदै गर्दा  १३ प्रतिशत ब्याजदरमा पैसा राख्दिनुपर्यो भन्दै बैङ्कहरू आएका थिए । जेठदेखि  हामीले एउटै रेटमा बैङ्कमा निक्षेप लगानी गरेका छौँ । त्यो भनेको साढे १० प्रतिशत हो ।  अहिले हामी साढे ९ प्रतिशतमा लगानी गरिरहेका छौँ । हामी बैङ्कहरू हामीले बढी ब्याज लिएकाले दबाबमा नपरून् र पूरै सिस्टममै ब्याजदरको समस्या नहोस् भनेर रेफ्रीको काम गरिरहेका छौँ । अब त ब्याजदर बढ्न नदिने पक्षमा छौँ । सञ्चयकोष र नागरिक लगानीकोषले त्यो विषयमा सल्लाह गरका छौँ । सरकार, राष्ट्र बैङ्क र बैकर्ससङ्घसँग सल्लाह गरेर अगाडि बढेका छौँ । जबकि अहिले बजारमा पैसाको माग बढी छ तर पनि साढे नौ प्रतिशतमा रहेर बैङ्कमा पैसा राखेका छौँ । हाल २६ वाणिज्य बैङ्कमा लगानी छ । नेपाल बैङ्क र स्ट्यान्डर्ड चार्टड बैङ्कमा पैसा पर्याप्त भएकाले त्यसमा लगानी गरेका छैनौँ । बैङ्कले १५ प्रतिशतमा लगानी गर्न नसकिरहेको अवस्थामा सञ्चयकोषले साढे ९ प्रतिशतमा लगानी गरिरहेको छ । 

प्रणालीमा सुधार गर्दै
हाम्रो समग्र प्रणाली सुधारको प्रक्रिया अगाडि बढाएका छौँ ।  महालेखा नियन्त्रकको कार्यालय, निजामती किताब कारखाना, वाणिज्य बैङ्क,  नेपाल टेलिकमसँग सम्झौता गरेर अनलाइनबाटै सुविधा दिने प्रयास गरेका छौँ । अब कर्मचारीको पुनर्संरचना हुँदैछ । नयाँ दरबन्दी संरचना एक महिनाभित्र लागू हुन्छ । नयाँ दरबन्दी सिर्जना गर्ने होइन, भएका सङ्ख्यालाई पुनर्संरचना मात्र गर्ने हो । दोस्रो आईटी सिस्टममा जम्प गर्नुपर्ने अवस्था छ । अनलाइनबाटै धेरै  सुविधा दिनुपर्ने छ ।

ऋण लिएर घर बनाएका केही सञ्चयकर्ताबाट ऋण असुल नहुने डर
हरेक विषयमा परिवर्तन आएको छ । लगानीमा, प्रविधिमा परिवर्तन आएको छ । समयको माग अनुसार जनशक्तिलाई कसरी सक्षम बनाउने भन्ने चुनौती छ । सञ्चयकोषको हकमा कतिपय सञ्चयकर्ताले  सापटी लिएर घर बनाउनुभएको छ । यसमा कतिपयले तिर्न नसक्ने हुन कि भन्ने डर पनि छ । तर त्यसका लागि बिमाको व्यवस्था गरिसकेका छौँ । त्यसले पनि जोखिम कभर गर्छ । अब लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु छ । मुलुकको र सरकारको लक्ष्य पूरा गर्न सहायकको भूमिका निभाउनु छ ।  सबैभन्दा बढी वित्तीय स्रोत परिचालन गर्न सक्ने क्षमता भएको संस्था सञ्चयकोष भएकाले यसको जिम्मेवारी महत्त्वपूर्ण छ । सुरक्षा पहिलो त्यसपछि नाफा हाम्रो मूलमन्त्र हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप