मापसे गर्नेको लाइसेन्समा प्वाल, ज्यान मार्नेलाई छुट !
काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख थिए, तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ ।
२०६८ को दसैंअघि काठमाडौँ र त्यस मातहतमा कार्यरत प्रहरी अधिकृतहरूको बैठकले चाडपर्वमा मदिरा सेवन गरेर सवारी चलाउनेको सङ्ख्या धेरै हुने भएकाले सुरक्षाको कारण ‘ओभर ड्रिङ्क’ चालकलाई होल्डमा राख्ने, थोरै खानेलाई आफन्तको जिम्मा लगाउने निर्णय गरेको थियो ।
‘दसैं अवधिभर गरिएको हाम्रो त्यो कार्यक्रम निकै प्रभावकारी भयो’, त्यतिबेला काठमाडौँमा कार्यरत प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदी सम्झन्छन्, ‘अघिल्लो वर्षको दसैंको तुलनामा त्यो वर्ष सवारी साधन दुर्घटना भएर मृत्यु हुनेको सङ्ख्या ५० प्रतिशतले कमी भयो, अनि हामीले उक्त कार्यक्रम ट्राफिक महाशाखालाई हस्तान्तरण गरेका थियौँ ।’
प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशराज राई ट्राफिक महाशाखाको प्रमुख थिए । उनले यातायात व्यवस्था विभागसँगको सहकार्यमा २०६८ मङ्सिर १७ गतेदेखि मादक पदार्थ खाएर सवारी चलाउन नपाइने अभियान लागू गरेका हुन् ।
ट्राफिक प्रहरीले २०६९ मङ्सिर २२ देखि मादक पदार्थ खाएर सवारी चलाउने चालकको सवारीचालक अनुमतीपत्रमा प्वाल पार्ने अभियान निकै कडाइपूर्वक सञ्चालन गरिरहेको छ ।
तर फितलो कानुनको कारण पाँच पटक प्वाल पारेर निलम्बन गरिएको लाइसेन्स हरायो भनेर प्रतिलिपि लिँदा प्वाल हट्ने हुनाले ‘प्वाल अभियान’ त्यति प्रभावकारी हुन सकेको छैन।
ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनेको लाइसेन्समा प्वाल पार्ने गरे पनि ज्यानमारा चालकको लाइसेन्स भने त्यत्तिकै छाड्ने गरेको छ । सवारी दुर्घटना गराएर कसैको ज्यान गएमा कानुनअनुसार हुने दण्ड जरिवाना त हुन्छ तर लाइसेन्सको हकमा भने प्रचलित कानुमा केही उल्लेख नहुँदा ‘मापसेलाई प्वाल, ज्यान मार्नेलाई किन छुट ?’ भन्ने प्रश्न उठेको छ ।
पछिल्लो पाँच आर्थिक वर्षको दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा मादक पदार्थ सेवनबाट भन्दा चालकको लापरवाहीले हुने दुर्घटनाको ग्राफ धेरै नै माथि छ ।
तर लापरवाहीपूर्ण तरिकाले सवारी साधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्ने ऐन तथा नियमावली बन्न सकेको छैन । ट्राफिक व्यवस्थापनमा लामो समय काम गरेका एक प्रहरी अधिकृत भन्छन्, ‘लापरवाहीपूर्ण तरिकाले दुर्घटना गराउने चालकको अनुमतीपत्र पनि प्वाल पार्ने नियमावली बनेमा दुर्घटनाको ग्राफ पक्कै घट्ने थियो ।’
चालु आर्थिक वर्ष र पछिल्लो पाँच आर्थिक वर्षमा भएको दुर्घटना र त्यसको कारण (मापसे तथा चालकको लापरवाही) सहितको तथ्याङ्क यस्तो छ:
|
|
|
|
|
दुर्घटनाको कारण |
|
आव |
जम्मा दुर्घटना |
मृत्यु |
गम्भीर घाइते |
साधारण घाइते |
चालकको लापरवाही |
मापसे |
०७०/७१ |
१३,५२९ |
१,७८७ |
३,५१६ |
७,८७७ |
६,००५ |
२०० |
०७१/७२ |
१४,८३७ |
२,००४ |
४,०५४ |
८,१२७ |
६,६०९ |
२२७ |
०७२/७३ |
१६,५०२ |
२,००६ |
४,१८२ |
८,२१३ |
७,४३२ |
३२१ |
०७३/७४ |
१६,५१५ |
२,३८४ |
४,२५० |
८,२९० |
७,४८७ |
२८८ |
०७४/७५ |
१८,०३४ |
२,५४१ |
४,१४४ |
८,२४७ |
८,४६१ |
३११ |
०७५/७६* |
१०,६८० |
१,४१३ |
२,१५३ |
५,२१२ |
४,८१२ |
२२४ |
* पुस मसान्तसम्म
माथिको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा मात्रै चालकको लापरवाहीका कारण ४ हजार ८ सय १२ वटा सवारी साधन दुर्घटना भएको छ । तर, यसै अवधिमा मादक पदार्थ सेवन गरेका कारण २ सय २४ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।
आर्थिक वर्ष २०७४/७५ मा चालकको लापरवाहीका कारण ८ हजारभन्दा बढी सवारी साधन दुर्घटनामा परेका थिए । सोही अवधिमा मापसेका कारण ३ सय ११ सवारी दुर्घटना भएको प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा चालकको लापरवाही र मापसेका कारण भएको दुर्घटनामा परेर २ हजार ५ सय ४१ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न चालक, जसको लापरवाहीले ज्यान गएको हुन्छ, चालकले कानुनी कारवाही त भोग्लान् तर जरिवाना तथा कैद सजायसँगै उनीहरूको चालक अनुमतीपत्र निलम्बन, प्वाल पार्ने अथवा खारेजीको व्यवस्था नहुँदा चालकले त्यस्तो गल्ती फेरि गर्नसक्ने जानकारहरू बताउँछन् ।
पाँच लाखभन्दा बढी लाइसेन्समा ‘प्वाल’
ट्राफिक प्रहरीले २०६९ मङ्सिर २२ गतेबाट मादक पदार्थ सेवन गरेर सवारी साधन हाँकेका चालकको चालक अनुमतीपत्रमा प्वाल पार्न थालेको थियो ।
चालु आर्थिक वर्षसहित पछिल्लो पाँच वर्षमा उपत्यका बाहिर मात्र ३ लाख ६२ हजारभन्दा बढी लाइसेन्स प्वाल पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्वाल पार्ने अभियान सुरु भएपछि काठमाडौं उपत्यकामा मात्र १ लाख ७९ हजार ६ सय ६ थान लाइसेन्समा प्वाल बनाइएको छ ।
पाँचौँ पटक प्वाल पारेपछि ६ महिना लाइसेन्स निलम्बन गर्ने नीतिअनुसार उपत्यमामा २०६९ मङ्सिर यता ४ सय २४ थान लाइसेन्स निलम्बन गरिएको छ ।
‘पाँचौँ पटक प्वाल पारेपछि हामी ६ महिनाका लागि सवारी चालक अनुमतीपत्र निलम्बन गर्न यातायात व्यवस्था कार्यालयमा पठाउँछौँ’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्त भन्छन्, ‘६ महिनापछि चालकले पुनः निवेदन दिएर आफ्नो लाइसेन्स एक्टिभ गर्नुपर्छ ।’
पछिल्लो पाँच आर्थिक वर्ष र चालु आर्थिक वर्षमा मादक पदार्थ सेवनमा गरिएको प्रहरी कारवाहीको तथ्याङ्क यस्तो छ:
आव |
नेपालभरको कारवाही |
काठमाडौं उपत्यकामा गरिएको कारवाही |
०७०/७१ |
६१,५६४ |
५१,७८८ |
०७१/७२ |
५२,६९३ |
३५,७१० |
०७२/७३ |
४१,७२० |
२८,२०५ |
०७३/७४ |
३८,२९७ |
२३,६६९ |
०७४/७५ |
४२,८७३ |
२७,२४५ |
०७५/७६* |
२५,३०४ |
१५,३४३ |
* पुस मसान्तसम्म
ट्राफिक प्रहरीले २०६९ असोज १५ बाट सार्वजनिक सवारी साधन (बस, ट्याक्सी तथा टेम्पो) चालकले मादक पदार्थ सेवन गरेर चलाएमा सार्वजनिक अपराध मुद्दामा कारवाही गर्ने गरेको थियो । तर गत भदौ १ गतेबाट नयाँ अपराध संहिता लागु भएपछी सार्वजनिक मुद्दा चलाउन छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नयाँ अपराध संहिताअनुसार सार्वजनिक मुद्दामा कारवाही गर्नका लागि मान्छे पक्राउ गर्न र हिरासतमा राख्नुभन्दा पहिले नै कारणसहित अदालतको आदेश लिनुपर्छ ।
मापसेसम्बन्धी कानुनमा के छ ?
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १४२ अनुसार ‘मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गरेर सवारी चलाउन नहुने’ भन्ने कानुनी व्यवस्था रहेको छ । ट्राफिक प्रहरीले सोही ऐनमा टेकेर मापसे कारवाही गर्दै आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा १६४ अनुसार फिल्डमा खटिने इन्स्पेक्टर वा प्रहरी सहायक निरीक्षक (असई) सम्मको अधिकारीले पाँच सयदेखि १५ सय जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।
कसुर गर्दाको बखत निजलाई सजाय गर्न घटनास्थलमा असई दर्जासम्मको अधिकृत नभएमा घटनास्थलमा रहेका प्रहरी जवानले पनि जरिवाना पुर्जी दिन सक्नेछन् ।
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार चालकले समयमा जारिवाना नतिरेमा अधिकार प्राप्त अधिकारीले एक महिनासम्म लाइसेन्स निलम्बन र खारेज गर्न सक्नेछन् ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मापसे नगरेका सवारी चालकले ज्यान मार्ने मनसायले दुर्घटना गराएमा निजलाई जन्मकैद हुन्छ ।
‘ज्यान मर्न सक्छ भन्ने पूर्व जानकारी हुँदाहुँदै सचेतना नपनाई लापरबाहीपूर्वक चलाएर कसैको ज्यान गएमा कसुरको मात्रा अनुसार तीनदेखि दस वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ’ सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ मा भनिएको छ, ‘कसैको ज्यान मर्न सक्छ भन्ने नदेखिएको अवस्थामा दुर्घटना हुन गएमा सवारीभित्र वा बाहिर जहाँसुकै बसेको मानिसको मृत्यु भएमा चालकलाई एक वर्ष कैद र दुई हजार जरिवाना हुन्छ ।’
सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाएको खण्डमा थप जरिवाना हुने कुरा उल्लेख गरे पनि सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ ले ज्यान मार्ने व्यक्तिको लाइसेन्स ‘प्वाल पार्ने’ व्यवस्था गरेको छैन ।
मापसे जाँचको इम्प्याक्ट: दुर्घटना घट्यो, परिवार खुसी !
ट्राफिक प्रहरीले मापसे जाँच गरेर चालकको लाइसेन्स प्वाल पार्ने अभियान सुरु गरेपछि त्यसको प्रभाव निकै सकारात्मक देखिएको छ ।
कमजोर कानुनको बीच यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले मापसे गरेर सवारी साधन चलाउन निषेध गरेसँगै दुर्घटना घटेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।
‘अन्तर्राष्ट्रिय रूपमा समेत हाम्रो मापसे अभियानको चर्चा भएको छ’, प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदी भन्छन्, ‘यो अभियानले घर–परिवार र विशेषगरी महिलाहरू बढी खुसी भएको पाइएको छ।’
सडक दुर्घटना कम गराउने उद्देश्यसहित थालिएको मापसे अभियान ऐनमा भएको अस्पष्टताका कारण भने अझै अलमलमा छ ।
पाँच पटक प्वाल पारिएपछि हुने निलम्बन वा खारेजीपछि पनि चालकहरूले प्रक्रिया पूरा गरेर सजिलै नयाँ लाइसेन्स बनाउन सक्ने हुनाले ‘प्वाल अभियान’ प्रभावकारी हुन सकेको छैन । प्रक्रिया पूरा गरेर नयाँ लिएपछि फेरि पाँच पटक प्वाल पारेपछि मात्र निलम्बन हुने हुनाले यो प्रक्रिया जति पटक दोहोर्याउँदा पनि खासै केही नहुने भएको छ ।
लाइसेन्स बनाइदिने निकाय, यातायात व्यवस्था कार्यालयमा लाइसेन्समा प्वाल पारिएको प्रत्येक रेकर्ड रहने व्यवस्था मिलाइने हो भने र प्रतिलिपि लिँदा पनि जतिवटा प्वाल परेको हो, त्यति नै प्वाल पारेर दिने कानुनी व्यवस्था गरियो भने मात्र सजाँयको यो तरिका प्रभावकारी हुनेछ ।
सडक दुर्घटना गराउने चालकको लाइसेन्स भने, प्वाल नपारिने तर अदालतमा पठाइने प्रहरी प्रवक्ता सुवेदीले बताए । उनले भने, ‘सडक दुर्घटना गराउने चालकको चालक अनुमतिपत्र प्वाल पार्ने कानुनी व्यवस्था छैन् तर सम्मानित अदालतले मुद्दा सुनुवाइको क्रममा खारेज गर्न सक्छ ।’
ज्यानमाराको लाइसेन्स अदालतले खारेज गरेमा नयाँ प्रक्रिया पूरा गरेर त्यस्ता ज्यानमारा चालकहरूले फेरि नयाँ लाइसेन्स लिन भने पाउँछन् ।
ब्रेथलाइजरले कसरी जाँच गर्छ ?
२०६८ मङ्सिरबाट ट्राफिक प्रहरीले ब्रेथलाइजरको प्रयोग गरेर चालकले मादक पदार्थ सेवन गरेको–नगरेको बारे जाँच गर्न थालेको थियो । काठमाडौं उपत्यकामा मात्र अहिले ५७ थान ब्रेथलाइजर प्रयोगमा छन् ।
उपत्यकामा थप ३९ थान ब्रेथलाइजर खरिदका लागि टेन्डर आह्वान गरिएको महानगरीय ट्राफिक प्रहरी प्रमुख (एसएसपी) वसन्त पन्तले जानकारी दिए ।
ब्रेथलाइजर मापसे गरेको कसरी पत्ता लगाउँछ भन्नेबारे महानगरीय ट्राफिक महाशाखामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) राम बाबु रानाको भनाइ उनकै शब्दमा:
रामबाबु राना, (डीएसपी): ब्रेथलाइजरमा अल्कोहल एनालाइजिङ डिटेक्टर हुन्छ । त्यसले अल्कोहल पिए–नपिएको ब्रेथ (स्वास) बाट थाहा पाउने हुनाले ब्रेथ एनालाइजर भन्दै पछि ब्रेथलाइजर भन्न थालिएको हो ।
ब्रेथलाइजरले ‘रम रेजिन’ नामको आइसक्रिम, ज्याक ड्यानियल चकलेट, रम क्यान्डी खाएमा पनि अल्कोहल देखाउँछ । कतिपय मानिसहरू चकलेट खाएको कसरी मापसे देखायो भनेर झगडा नै गर्छन् तर त्यस्ता चकलेटहरूमा अल्कोहल हुन्छ ।
हामी ब्रेथलाइजरको प्रयोग गरेर ‘यस’ अथवा ‘नो’ तरिकाले क्विक टेस्ट गर्छौं । कसैले मादक पदार्थ सेवन गरेको भए मेसिनमा ‘अल्कोहल डिटेक्ट’ देखाउँछ ।
अर्कोचाहिँ फुकेपछि कत्ति मात्रामा खाएको भनेर क्वान्टिटीअनुसार प्रतिशत देखाउँछ । चालकले निहुँ खोजेमा डिटेल चेक गरेर प्रतिशत सहित प्रिन्ट निकाल्छौँ ।
ब्रेथलाइजरले मापसे देखाएपछि मेडिकल जाँच गर्न चाहने चालकलाई मेडिकल पनि गराउँछौं । तर ब्रेथलाइजर मेसिनले मापसे देखाएपछि मेडिकल जाँच गर्दा अहिलेसम्म नेगेटिभ देखिएको छैन ।
नोटः सबै तस्विरहरु गुगलबाट खोजेर राखिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
-
फिल्म उद्योगका मानिस चिन्न निर्माण क्षेत्रमा आउनुपर्ने रहेछ : नायिका ढुंगाना
-
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित