कुष्ठरोग उपचार विधि नै झन्झटिलो, लुकेर बस्छन् राेगी
काठमाडौँ । आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोग सामान्य रोग हो, समयमा औषधि गरेपछि निको हुन्छ’, भन्ने सन्देशसहित नेपालमा पनि यो दिवस मनाइन्छ ।
कुष्ठरोग के हो ?
कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रे किटाणुका कारण हुने सङ्क्रामक रोग हो । यो रोगले मुख्य रूपमा छाला र स्नायुका टुप्पाहरू (विशेषगरी हात औँला) मा आक्रमण गर्छ । त्यसबाहेक, यसले नाकका भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा पनि सङ्क्रमण गर्छ । यो रोगकको किटाणुले सङ्क्रमण गरेपछि र हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता त्योसँग परास्त भएपछि छालामा नचिलाउने दागहरू देखा पर्छन् ।
छुँदा, चिमोट्दा थाहा नहुने, आगोले पोल्दासमेत पोलेको महसुस नहुने जस्ता कुष्ठरोगका लक्षण हुन् । यो रोग लागेपछि नसाहरू दुख्ने, हातखुट्टा झमझम गर्ने, कानको लोतीहरू बाक्लो हुने समस्या पनि देखिन्छ । यो रोगको पहिचान गर्न कान र दाग भएको ठाउँबाट पानी झिकेर किटाणु ब्याक्टेरियम लिप्रेको परीक्षण गरिन्छ । तर चिकित्सकको भनाइ अनुसार सबै रोगीमा यो किटाणु देखिन्छ नै भन्ने हुँदैन ।
कुष्ठरोग लागे पनि जसको शरीरमा कम किटाणु छ उसको शरीरमा किटाणु नदेखिने सम्भावना पनि हुन्छ । शरीरमा धेरै किटाणुको सङ्क्रमण धेरै फैलिइसकेको छ भने मात्र कुष्ठरोग गराउने किटाणु देख्न सकिन्छ ।
कुष्ठरोगको सुरुमा शरीरमा दागहरू आउँछन् । त्यस्ता दागहरू चिलाउँदैनन् र दुख्दैनन् पनि । फलतः जसले कुनै पनि समस्या पारेको छैन भने किन जाने अस्पताल भन्ने सोचाइका कारण त्यस्ता समस्या भएका बिरामी अस्पताल जाँदैन । धेरै जस्तो अवस्थामा यो रोग लागेको ५ वर्ष, १० वर्ष कटेपछि मात्रै अर्थात् रोगले गम्भीर रूप धारण गरेपछि र शारीरिक रूपमा समस्या हुन थालेपछि मात्रै बिरामीहरू अस्पताल जाने गर्छन् ।
सम्भवतः मानव जातिको लिपिबद्ध इतिहासमा सबैभन्दा पुराना रोगहरूमध्ये कुष्ठरोग पनि एक हो । यो रोगबारे ईशापूर्व ६०० तिर नै पनि उल्लेख गरिएको पाइन्छ ।
कसरी सर्छ ?
कुष्ठरोग यसरी नै सर्छ भन्ने अहिलेसम्म कुनै पनि अनुसन्धानले स्पष्ट धारणा राख्न सकेको छैन । धेरै चिकित्सकहरूले रोगीको नाक तथा मुखबाट निस्किएका सिँगान, र्यालको माध्यमबाट यो रोग सर्छ भन्ने विश्वास गरिन्छ । विशेष गरी, सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ । त्यसैगरी, सङ्क्रमणले अति बढी गाँजेका रेगीको फाटेको छालाबाट निस्केको पानीको सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ । खतरनाक कुरा के छ भने यो रोग लगाउने किटाणु माइक्रो ब्याक्टेरियम लेप्री कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ ।
कुष्ठरोगले शरीरमा पार्ने असर
कुष्ठरोगको समयमा उपचार भएन भने अन्य रोगले जसरी नै शरीरको विभिन्न अङ्गमा समस्या पार्न सक्छ । कुष्ठरोग लागेको मान्छेलाई रोगको कारणले पनि रियाक्सन हुन सक्छ भने औषधिले पनि रियाक्सन हुन सक्छ ।
रियाक्सनलाई टाइप वान र टाइप टु गरेर दुई भागमा वर्गीकरण गरिएको छ । रियाक्सनले नसा सुन्निने, नसा दुख्ने, नसा झमझम गर्ने र बिस्तारै शरीरलाई अङ्गभङ्ग गराउन सक्ने अवस्थासम्म हुन्छ । समयमा उपचार नभएको खण्डमा हातका औँला बाङ्गो हुने हुन्छ । यो नसामा रियाक्सन भएर नसाले काम नगरेपछि हातका औँलाहरू बाङ्गो हुने हो ।
कुष्ठरोगका किटाणु शरीरमा लामो समयसम्म रहँदा हातको औँलाहरू झर्ने, दृष्टिविहीन हुने, किड्नीसम्मलाई असर गर्न सक्ने कृष्ठरोग नियन्त्रण तथा अपाङ्ग व्यवस्थापन शाखाका कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. रवीन्द्र बाँस्कोटा बताउँछन् ।
कुष्ठरोगले पार्ने असरहरूलाई मोटामोटी निम्नानुसार उल्लेख गर्न सकिन्छः
- अङ्गभङ्ग हुनु
- कपाल झर्नु (विशेष गरेर आँखीभौँ र परेलाका)
- मांसपेशीहरू कमजोर हुनु
- हात र खुट्टाका नसाहरू सधैँका लागि विग्रनु
- हात र खुट्टा चलाउन नसक्नु
- नाक बन्द हुनु, रगत बग्नु र नाक नै झर्नु
- आँखा र आँखाको नानीमा सङ्क्रमण हुनु
- आँखाका नसाहरू बिग्रनु र अन्धोसमेत बन्नु
- पुरुषहरूको यौन क्षमता नष्ट हुनु
- महिलाहरूमा बाँझोपन हुनु
- मिर्गौला नै पनि काम नलाग्ने बन्नु
दुई किसिमको उपचार
त्यसो त यो रोग अरू सङ्क्रामक रोगकको तुलनामा कम खतरनाक पनि मानिन्छ किनभने यो रोग अरू रोगजस्तै तुरुन्त सरिहाल्ने खालको चाहिँ हुँदैन । फेरि यसको उपचार पनि तुलनात्मक रुम सजिलो हुन्छ । विभिन्न थरीका एन्टिबायोजिकहरूको संयुक्त मात्रा दिएर यो रोगको उपचार गरिन्छ । कुनै परिवारका सदस्यमा कुष्ठरोग भेटिएको छ भने दोस्रो व्यक्तिलाई रोग सर्न नदिनका लागि लेप्रोसी पोस्ट एक्सपोजर प्रोफेलेक्सिस (एलपेप) अन्तर्गत एक मात्रा औषधि खुवाए रोग सर्ने सम्भावना ६० प्रतिशतसम्म कम हुन्छ भनेर चिकित्सा विज्ञानले मान्छ ।
यो रोग कम किटाणु भएको प्यासी ब्यासेलरी (पीबी) र बढी किटाणु भएको मल्टी ब्यासिलरी (एमबी) गरी दुई प्रकारको हुन्छ । नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगीहरू धेरै रहेका छन् । पीबी छालामा ‘हाइपोपिग्मेन्टेसन’ वा बढी दागका कारण चिनिन्छ ।
ती ठाउँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो हुन्छ । एमबीको तीव्रता ठिकैको हुनुका साथै यसमा छालामा दाग पीबीजस्तै देखिन्छ । तर त्यो धेरै बढी सङ्ख्यामा र अनियमित हुन्छ । रोग दुई किसिमको भए जस्तै उपचार पनि दुई किसिमकै हुन्छ । पीबी कुष्ठरोगको उपचार ६ महिनासम्म गर्नुपर्ने हुन्छ भने एमबीको उपचार पीबीकोभन्दा दोब्बर १२ महिनासम्म उपचार गर्नुपर्ने हुन्छ । उपचार पछि कुष्ठरोग पूर्ण रूपमा निको पार्न सकिन्छ ।
कुष्ठरोगको सबै प्रकारको उपचार सरकारले निःशुल्क गर्दै आइरहेको छ । नेपाल सरकारको सबै स्वास्थ्य संस्थाबाट कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ । उपचारपछि यातायात खर्चबापत बिरामीलाई एक हजार प्रदान गर्ने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गतको कुष्ठ रोग नियन्त्रण तथा अपाङ्ग शाखाले जनाएको छ । जुनसुकै कुष्ठरोग उपचारपछि किटाणु पूर्णरूपमा नष्ट पार्न सकिन्छ । तर अङ्गभङ्ग नै भएको अवस्थामा भने औषधिभन्दा पनि अप्रेसन नै गर्नुपर्ने र शरीरलाई पहिलाको अवस्थामा ल्याउन नसके पनि केही मात्रामा सामान्य रूपमा फर्काउन सकिने डा. रवीन्द्र बाँस्कोटाले बताए ।
कुष्ठरोग सर्ने रोग हो । तर यो रोगसँग लड्न सक्ने क्षमता भएको व्यक्तिलाई सर्ने सम्भावना एकदमै कम अर्थात १ प्रतिशत हुन्छ । अर्थात् अन्य सरुवा रोगको तुलनामा निकै कम सर्ने रोग हो । कुष्ठरोग कुरा गर्दा, हात मिलाउँदा, सँगै बस्दा आजको भोलि नै सर्ने रोग भने होइन । शरीरमा रोगसँग लड्ने क्षमता बलियो छ भने कुष्ठरोग सर्ने सम्भावना एकदमै कम हुन्छ । कुष्ठरोग सर्ने प्रमुख माध्ययम भनेको श्वासप्रश्वास हो ।
निवारण घोषणाको ८ वर्ष, रोगी बढ्दै
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कुष्ठरोग निवारण भएको देश भनी घोषणा गरेको सन् २०१९ लागेसँगै आठ वर्ष पूरा भएर नौ वर्ष भयो । विश्व स्वास्थ्य सङ्गठनले २०६६ माघ ५ अर्थात् अङ्ग्रेजी वर्ष सन् २०१० को जनवरीमा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको नियम अनुसार प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगी भएको अवस्थामा निवारण घोषणा गर्न सकिन्छ । निवारणको वर्ष नेपालमा प्रति १० हजारमा ०.७७ अर्थात एकभन्दा कम रोगीको सङ्ख्या थियो र निवारण घोषणा गरियो । बिरामीको सङ्ख्याको कुरा गर्ने हो भने सो समयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थिए ।
निवारणको घोषणा गर्नु भनेको त्यो देशमा कुनै खास रोग सार्वजनिक स्वास्थ्य समस्याको रूपमा नरहनु हो भन्ने पनि हो । अर्थात् त्यो रोगले ग्रसित रोगीको सङ्ख्या चाहिँ हुनु तर त्यही रोग चाहिँ राष्ट्रिय रूपमा समस्याका रूपमा नरहेको भन्ने अर्थ निवारणको घोषणाले राख्छ ।
विश्व स्वास्थ्य सङ्गठनको ताजा तथ्याङ्कअनुसार नेपालको स्थिति अझै पनि निवारणको नै हो देशव्यापी रूपमा हेर्दा तर अझै पनि नेपालका १८ वटा जिल्लाहरूमा चाहिँ निवारणको मापदण्डभन्दा बेसी नै अर्थात् प्रति १० हजार व्यक्ति १ भन्दा माथि नै कुष्ठरोगीहरू रहेका वा फेला पर्ने गरेका छन् । ती १८ जिल्लाहरूले नेपालभरि प्रतिवर्ष सरदर फेला पर्ने ३२०० जति नयाँ कुष्ठरोगीहरूको सङ्ख्याको तीन चौथाइ नै भाग ओगट्छ ।
यस हिसाबले नेपालमा कुष्ठरोग निवारणको घोषणापछि पनि कुष्ठरोगीको सङ्ख्या बढेको देखिएको छ । निवारणको घोषणाभन्दा पहिला र अहिलेमा खासै परिवर्तन भएको पाइँदैन ।
डा. रवीन्द्र बाँस्कोटाका अनुसार, सन् २०१७ मा ३ हजार २ सय १५ जना नयाँ कुष्ठरोगी थपिएका छन् । निवारण घोषणा वर्षमा त्यो सङ्ख्या ०.७७ प्रतिशत थियो भने अहिले बढेर ०.९२ पुगेको देखिन्छ । अर्थात् ०.१५ प्रतिशत बढेको देखिन्छ । यो हिसाबले निवारणको ८ वर्ष पछि पनि ७३ जना नयाँ बिरामी बढी देखिएको छ ।
तर सरकार भने नयाँ कुष्ठरोगी बढेको स्वीकार्ने पक्षमा छैन । ‘कुष्ठरोगी बढ्दै गएको होइन, कुष्ठरोगीलाई पत्ता लगाउने हाम्रो कार्यक्रमले गर्दा रोग र रोगीको पहिचान बढेको रस्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढेको हो’ डा. बाँस्कोटाले बताए ।
लुकेर बस्नेको सङ्ख्या झन् धेरै
यी त स्वास्थ्य संस्थाको सम्पर्कमा आउने कुष्ठरोगीहरूको सङ्ख्या भयो । तर अझै सरकारले खोजी नगरेको र समुदायको डरले उपचार गर्न स्वास्थ्य संस्था नजाने रोगीको सङ्ख्या झन धेरै हुने सरकारको अनुमान छ । तर त्यसका लागि सरकारले अहिलेसम्म ठोस कदम चाल्न सकेको छैन । समुदायमा लुकेर बस्ने कुष्ठरोगी सरकारको लागि चुनौती बनेको छ । यस्ता व्यक्तिहरूले अन्य व्यक्तिलाई पनि सजिलै रोग सार्न सक्छन् ।
सरकारले लुकेर बस्ने कुष्ठरोगी पत्ता लगाउनका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी खटाएको जनाएको छ । स्वास्थ्यकर्मीलाई तालिम दिएर टोल, समुदाय र घरघरमा गएर शरीरमा कुष्ठरोगसम्बन्धी कुनै लक्षण भएका दाग छन् कि भनेर सोध्ने, जाँच्ने र भएको खण्डमा स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको शाखाले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा ५ जिल्लामा यस्तो खोजी गर्ने कार्यक्रम सरकारले सञ्चालन गरेको थियो । जहाँ कुष्ठरोग बढी भएको जिल्ला बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, कैलाली र बारा कुष्ठरोगीको खोजी गर्ने कार्यक्रम सञ्चाल गरियो । सो कार्यक्रम सञ्चाल गर्दा ६ देखि ७ सय बिरामी थपिएको शाखाले जनाएको छ ।
डा. बाँस्कोटाले रातोपाटीसँग कुरा गर्दै भने, ‘यसरी ५ वटा जिल्ला ५ दिनसम्म मात्रै खोजी गर्ने कार्यक्रम सञ्चालन गर्दा प्रत्येक जिल्लामा सयको दरले नयाँ बिरामी भेटिएको थियो । यसरी नयाँ बिरामी खोजी गर्ने कार्यक्रम सबै जिल्लामा हुने हो भने लुकेर बसेको देशभरको कुष्ठरोगी पत्ता लाग्ने थियो ।’ तर बजेट अभावले हामी सबै ठाउँमा पुग्न सकेका छैनौँ ।’
रोगी पत्ता लगाउँने कार्यक्रम सञ्चालनका लागि बजेट र कार्यक्रम नभएको हुँदा सीमित जिल्लामा मात्रै कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
कुष्ठरोगीमा पुरुषको सङ्ख्या धेरै
कुष्ठरोग लाग्ने बिरामीको सङ्ख्या हेर्ने हो भने पुरुषको सङ्ख्या धेरै देखिन्छ । सरकारको तथ्याङ्कमा ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । आजभन्दा १० वर्ष पहिला पुरुष कुष्ठरोगी ६८ प्रतिशत र महिला ३२ प्रतिशत थिए ।
अहिले महिलाको सङ्ख्या बढ्दो देखिन्छ कारण समुदायमा कुष्ठरोग लाग्ने बिरामीहरूलाई खोज्दा महिला स्वयम्सेविका प्रयोग गरिएको र महिलाले महिला रोगीलाई पत्ता लगाउन सजिलो भएको हुँदा महिलाको सङ्ख्या बढेको नियन्त्रण शाखाले जनाएको छ । उमेरको कुरा गर्ने हो भने २ सय २० जना १५ वर्षमुनिका बालबालिकाहरू रहेका छन् । यस्तै प्रदेशगत रूपमा हेर्नुपर्दा प्रदेश नम्बर २ मा कुष्ठरोगी हुनेमा पहिलो नम्बरमा रहेको छ, जहाँ एक तिहाइभन्दा बढी कुष्ठरोगीहरू रहेका छन् । दोस्रो नम्बरमा ५ नम्बर प्रदेश तेस्रोमा प्रदेश नं. १ रहेको छ ।
‘निवारण’पछि पनि रोगी बढे, बजेट घट्यो
कुष्ठरोग निवारण घोषणा भएपछि पनि रोगीको सङ्ख्या बढ्दो अवस्थामा छ । तर स्वास्थ्य क्षेत्रकै वरिष्ठ व्यक्तिहरूले कुष्ठरोग निवारण भइसक्यो, किन बजेट चाहियो ? यो क्षेत्रको बजेट स्वास्थ्यका कार्यक्रममा लगाउनुपर्छ जस्ता कुरा आइरहेको कर्मचारीहरू बताउछन् । बिरामीको सङ्ख्या बढ्दै गइरहेको यो समयमा स्वास्थ्य क्षेत्रको व्यक्तिले नै कुरा नबुझ्दा आइरहेको बजेट कटौती हुने हो कि भन्ने चिन्तामा यो शाखा रहेको छ ।
दशक पहिलाभन्दा अहिले कुष्ठरोगीको सङ्ख्या बढ्दै गइरहेको हुँदा कुष्ठरोगको कार्यक्रमलाई मन्त्रालयले प्राथमिकताको साथ राख्नुपर्ने शाखाको भनाइ छ ।
यस्तै सरकारी मात्रै होइन गैरसरकारी तथा अन्तर्राष्ट्रिय दातृनिकायले पनि निवारणपछि नेपालमा कुष्ठरोगीको सङ्ख्या नभएको भन्दै कार्यक्रमहरू घटाएको डा. बाँस्ताकोटीले बताए ।
गत आर्थिक वर्ष १५ देखि १६ करोड कुष्ठरोग तथा अपाङ्गता शाखाको नाममा बजेट विनियोजन गरिएको थियो । सङ्घीयतापछि नीति निर्माण बनाउने, सहजीकरण गर्ने, समन्वयन गर्ने भएको हुँदा केन्द्रमा १५ प्रतिशत, प्रदेशमा २५ प्रतिशत र स्थानीय तहमा ६० प्रतिशत बजेट विनियोजन गरिएको छ । स्थानीय तहबाट नै अबको कार्यक्रमहरू अगाडि बढ्ने छन् ।
अनुसन्धानको पाटो फितलो
नेपालमा धेरै कुरा अनुमानको भरमा चल्ने गरेको छ । यस्तै कुष्ठरोगको पक्षमा पनि धेरै कुरा अनुमानमा नै चलेको देखिन्छ । अहिलेसम्म पुरानै शैलीमा उपचार पद्धति, औषधि सेवनको प्रक्रिया चल्दै आइरहेको छ ।
६ महिना र १२ महिना लामो समयसम्म औषधि सेवन गर्नुपर्दा बिरामीका लागि पनि निकै झन्झटिलो भएको हुँदा धेरै बिरामीले औषधिको मात्रा पुर्याउने गरेको पाइँदैन । यस्तै निवारणपछि बर्सेनि बिरामी सङ्ख्या बढ्दा पनि सरकारले प्राथमिकताको साथ हेर्न सकेको छैन । कुष्ठरोगको कार्यक्रम अनुसन्धान गरेर कार्यक्रम सञ्चालन गर्न सके झनै प्रभावकारी हुने डा. बाँस्कोटा बताउँछन् ।
साइडइफेक्ट कम हुने विधि, थोरै समयको औषधि खाँदा पनि रोग निको हुने जस्ता कुष्ठरोगको सवालमा नयाँ अनुसन्धान हुनुपर्ने देखिन्छ ।
कुष्ठरोगको अन्तर्राष्ट्रिय अवस्था
कुष्ठरोग विश्वमा देखिने रोग हो । अहिलेसम्म विश्वका एक दुई राष्ट्रबाहेक सबै राष्ट्रले कुष्ठरोग निवारण घोषणा गरिसकेका छन् । त्यसरी निवारण घोषणा गर्ने राष्ट्रहरूको सूचीमा नेपाल पनि पर्छ । ६ वटा राष्ट्रले नेपालको कुष्ठरोगको क्षेत्रमा काम गर्दे आइरहेको छ । निवारणपछि पनि भारत, बाङ्लादेशलगायत केही देशमा पनि रोगीको सङ्ख्या बढ्दै गएको तथ्याङ्क देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनार्दन शर्मा भन्छन्– कम्युनिस्ट सरकार नै भ्रष्टाचारबाट माथि नउठ्दा जनताले प्रश्न उठाए
-
‘म सिंगल छु’ भन्ने पूर्वप्रेमी अर्जुनलाई मलाइकाले फर्काइन् जवाफ
-
५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
-
एनपीएलमा विजेता र उपविजेता शेख दाजुभाइलाई सम्मान
-
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार
-
नेटफ्लिक्समा आयो स्कुइड गेम्सको दोस्रो सिजन