शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

कार्बोहाइड्रेट धेरै भएको खाना खाँदा बढी बाँचिन्छ ? यसो भन्छन् वैज्ञानिक

आइतबार, १३ माघ २०७५, १० : ४२
आइतबार, १३ माघ २०७५

डेभिड रबसन /बीबीसी

मानिसहरु सदियौंदेखि सधैंभरी जवान भइराख्ने उपायको खोजी गरिरहेका छन् । हरेक देश र हरेक सभ्यताका मानिसहरु युवा हुने खुराकबारे अनुसन्धान गरिरहेका छन् । अहिले यो खोजी जापानको ओकिनावा प्रान्तमा केन्द्रीत भएको छ ।

पूर्वी चीन सागरमा फैलिएको जापानको ओकिनावा प्रान्त थुप्रै द्वीप मिलेर बनेको छन् । यहाँको जनसंख्यामा ज्येष्ठ नागरिक (जसको उमेर सयवर्ष बढी छ) को अनुपात संसारका अन्य देशभन्दा धेरै छ ।

रमाइलो कुरा के छ भने ओकिनावाका वृद्ध–वृद्धा निकै सक्रिय हुन्छन् । उनीहरुको स्वास्थ्य पनि निकै राम्रो हुन्छ । उनीहरु निकै बुढाबुढी हुँदासमेत अरुमा निर्भर हुँदैनन् ।

ओकिनावामा हरेक एक लाख जनसंख्यामा ६८ व्यक्तिको उमेर सय वर्ष बढी हुन्छ । अमेरिकाको तुलनामा यो अनुपात तीन गुणा बढी हो ।

जापानमा यसै पनि औसत आयु धेरै छ । तर पनि ओकिनावाका मानिसहरुको औसत आयु अन्य जापानीभन्दा ४० प्रतिशत बढी छ  ।

के हो राज ?

संसारभरीका वैज्ञानिक थुप्रै दशकदेखि ओकिनावाका मानिसहरुको लामो उमेरको राज खोजिरहेका छन् । कहिले उनीहरुको ‘जीन’ परीक्षण गरिन्छ भने कहिले खानपिनको शैली । पछिल्ला कही वर्षमा भएको अनुसन्धानमा वैज्ञानिकले ओकिनावाका मानिसहरुको खान–पिनमा ध्यान केन्द्रीत गरेका छन् ।

ओकिनावाका मानिसहरुको खानामा प्रोटिनको साटो कार्बोहाइड्रेटको मात्रा अत्यधिक हुन्छ । त्यसमा पनि उनीहरु धेरै नै शख्खरखण्ड खान्छन् । ओकिनावाका मानिसहरुले धेरैजसो क्यालोरी शख्खरखण्डबाटै पाउँछन् ।

सिड्नी युनिभर्सिटीकी सामन्था सोलोन–बिएट पोषण र उमेर बढ्दाको असरमाथि अनुसन्धान गर्छिन् । उनी भन्छिन्, ‘हामीलाई स्वस्थ जीवनयापनका लागि धेरै प्रोटिन र थोरै कार्बोहाइड्रेट खान सुझाइन्छ तर ओकिनावाका मानिसहरुको खान–पिन यसको ठिक विपरित छ ।’

जापानी भवनहरूले यसरी ठूला भूकम्प पनि थेग्छन्

 

हुन त एटकिंस र प्यालियो डाइट संसारभरी चर्चित भइरहेको छ । तर पनि धेरै प्रोटिन भएका खानेकुराहरु लामो समयसम्म खाइराख्दा यसले कस्तो फाइदा पुर्याउँछ भन्ने कुराको पक्का प्रमाण जुटाउन सकिएको छैन ।

त्यसो भए, ओकिनावाका मानिसहरुको कार्बोहाइड्रेट र प्रोटिनको १०ः१ को अनुपात नै लामो उमेरको राज हो ?

यद्यपी, लामो उमेर बाँच्न चाहनेले प्रोटिन छोडेर कार्बोहाइड्रेट खान सुरु गर्नुपर्छ भनेर  ठोकुवा गर्ने बेला आएको छैन । तर अहिलेसम्म भएका अनुसन्धानले यसबारे राम्रोसँग सोच्नुपर्छ भनेर सचेत चाही गराउँछ ।

कार्बले कस्ता फाइदा पुर्याउँछन्ः

धेरै कार्बोहाइड्रेट भएको खाना खाँदा हाम्रो शरिरमा यस्ता विभिन्न प्रतिक्रिया हुन्छन् जसले उमेर बढ्ने गतीलाई कम गर्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । साथै, धेरै कार्बोहाइड्रेट भएका खानेकुराले उमेर बढेसँगै निम्तिने रोग जस्तै, क्यान्सर, अल्जाइमर र मुटुरोगबाट पनि बचाउन सक्छ ।

यो अनुसन्धानको ठूलो हिस्सा ओकिनावा सेन्टेनेरियन स्टडीबाट आएको हो । यहाँ सन् १९७५ देखि ओकिनावाका मानिसहरुको उमेर र उनीहरुको खानपिनलगायत विभिन्न पाटामाथि अनुसन्धान भइरहेको छ । ओकिनावाका एक सय ५० द्वीपमा बस्ने सय वर्ष माथिका व्यक्तिलाई यो अनुसन्धानमा संलग्न गराइयो । अहिलेसम्म हजार बढीको जीवनशैलीबारे अनुसन्धान गरिसकिएको छ ।

ओकिनावाका ज्येष्ठ नागरिक औसतमा ९७ वर्षसम्म आफ्नो सबै काम आफैं गर्छन् । बढ्दो उमेरसँगै निम्तिने रोगले यहाँका ज्येष्ठ नागरिकलाई केही असर गर्दैन । यहाँका निकै कम मनिसहरुलाई क्यान्सर, डायबिटिज, डिमेन्शिया र मुटु रोग लाग्छ ।

जेनेटिक ज्याकपटः

यो अनुसन्धानबाट स्पष्ट हुन्छ कि ओकिनावाको जनसंख्या विशेष छ । तर प्रश्न यहाँ पनि दोहोरिन्छ, आखिर यहाँका मानिसहरुको लामो उमेरको राज के हो ?

केही वैज्ञानिक यसका लागि ओकिनावाका मानिसहरुको जीनलाई जिम्मेवार बताउँछन् । ओकिनावाका मानिसहरु लामो समयसम्म संसारबाट अलग्गिएर बस्दै आएका छन् त्यसकारण उनीहरुको जेनेटिक प्रोफाइल भिन्न छ । ओकिनावाका मानिसहरुले एपीओईफोर नामको एक जीन निकै कम पाइएको छ ।

यो जीन मुटुरोगका लागि जिम्मेवार हुन्छन् । यसले अल्जाइमर पनि हुन्छ ।

यहाँका मानिसहरुमा एफओएक्सओथ्री नामको एक जीन धेरै पाइन्छ जसले हाम्रो पाचन क्षमतलाई उत्कृष्ट तरिकाले क्रियाशील बनाउँछ । यसले शरिरमा कोशिकाको विकासमा पनि नियन्त्रण राख्छ । यही जीनका कारण नै बढ्दो उमेरको असर कम हुने र क्यान्सरलगायतका दीर्घ रोग नलाग्ने मान्यता राखिएको छ ।

यद्यपी, ओकिनावाका मानिसहरुको लामो उमेरको राज जीनमा मात्र लुकेको छ भन्ने तर्क गलत हो । यहाँका मानिसहरु कम धुम्रपान गर्छन् । धेरैजसो खेती वा माछा मार्ने काम गर्छन् । यसले उनीहरुको राम्रै व्यायाम भइरहेको हुन्छ ।

ओकिनावाका मानिसहरु एक–अर्कासँग निकै जोडिएका हुन्छन् । उनीहरुको समाज नै यस्तै छ । त्यसकारण जीवनको अन्तिम अवस्थासम्म पनि वृद्ध–वृद्धाहरु एक्लै हुँदैनन् । उनीहरु कम तनावमा रहन्छन् । एक्लोपनको शिकार हुँदैनन् । मानिसहरु एक्लो हुँदा १५ वटा चुरोट पिएकोजस्तो हानी हुन्छ । तर यति हुँदाहुँदै पनि ओकिनावाका मानिसहरु खानपिनका कारण लामो वर्षसम्म बाँचिरहेको बताइन्छ ।

एशियाका अन्य बासिन्दा झैं ओकिनावाका मानिसहरुको मुख्य भोजन भात होइन । उनीहरु धेरैजसो शख्खरखण्ड खान्छन् । १७ औं शताब्दीमा नेदरल्याण्डको समुन्द्री कारोबारमार्फत यहाँ सख्खरखण्ड आइपुगेको हो । यसबाहेक यहाँका मानिसहरु –हरिया–पहेँला र सोया उत्पादन पनि धेरै नै खान्छन् ।

सबैभन्दा लामो आयु बाँच्ने मानिसहरु बस्ने विश्वका ५ स्थानहरु

 

ओकिनावाका मानिसहरु सुँगुरको मासु, माछा र अन्य प्रकारका मासु पनि खान्छन् । तर यसको मात्रा पूरा खानामा निकै कम हुन्छ ।

ओकिनावाको परम्परागत खानामा धेरैजसो हरियो सागसब्जी सम्मिलित हुन्छन् । यसमा शरिरलाई चाहिने सबै भिटामिन र खनिज हुन्छन् । तर यसमा क्यालोरी निकै कम हुन्छ ।

के भन्छ शोध ?

वैज्ञानिकका अनुसार यसै कम क्यालोरी भएको डाइटमा नै ओकिनावाका मानिसहरुको लामो उमेरको राज लुकेको छ । सन् १९३० को दशकदेखि नै धेरैजसो डाक्टर र वैज्ञानिकले कम क्यालोरी खाँदा तौल घट्ने सल्लाह दिँदै आएका थिए । यसले तपाईंको उमेरको असर पनि कम हुन्छ ।

यो तर्कलाई सही साबित गर्न मकाक बाँदरमाथि अनुसन्धान गरियो । उनीहरुलाई औसत बाँदरभन्दा ३० प्रतिशत कम क्यालोरी भएको खाना खान दिइयो । यसो गर्दा उनीहरुको मृत्यु ६३ प्रतिशतले  कम भयो ।

बाँदरमाथि यो अनुसन्धान २० वर्षसम्म गरियो । कम क्यालोरी खाने बाँदरहरु लामो समयसम्म युवा देखिए । चाउरीपना पनि कम थियो र उनीहरुका रौं पनि युवावस्थाजस्तै चम्किलो रह्यो ।

मानिसमा त यस्तो अनुसन्धान व्यवहारिक समस्याका कारण गर्न सकिएन । तर अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एजिंगले हालै दुई वर्षसम्म अनुसन्धान गर्यो ।

कम क्यालोरी भएका खाना खानेहरुको स्वास्थ्यको अनुसन्धानमार्फत् थाहा भयो कि उनीहरुलाई मुटु रोग हुने खतरा कम थियो । उनीहरुको रक्तचाप र कोलेस्ट्रोल पनि कम नै थियो ।

कम क्यालोरी भएका खाना यति फाइदाजनक किन छ, यसको ठोस् कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । एउटा सम्भावना यो हुनसक्छ कि यसले हाम्रो शरिरको कोसिकालाई भिन्न प्रकारको संकेत मिल्छ । हाम्रो शरिर नयाँ कोसिकाको विकासको साटो भइरहेका कोसिकाको संरक्षण र त्यसको मर्मतमा ध्यान दिन्छ ।

यसबाहेक कम क्यालोरी खाने कोसिसमा विषालु तत्व कमै जम्मा हुन्छन् ।

सामन्था सोलोन–बिएटले जनावरमाथि भएको अनुसन्धानमा कम प्रोटिन र धेरै कार्बोहाइड्रेट भएको खाना खाने सबै जीवको दिमाग धेरै दिनसम्म सक्रिय रहेको पाइन् । यी जनावरलाई १०ः१ को कार्बोहाइड्रेट र प्रोटिनको अनुपातमा नै खाना दिइएको थियो । ओकिनावाका मानिसहरुको खानामा पनि यही अनुपात हुन्छ ।

कम प्रोटिनले फाइदा हुन्छः

सामंथाका अनुसार ओकिनावाका मानिसहरुजस्तै लामो समयसम्म बाँच्ने मानिसहरुको खानामा पनि धेरै कार्बोहाइड्रेट पाइन्छ । उनी पपुआ न्यू गिनीका कितावा समुदाय र दक्षिण अमेरिकाको त्सीमाने इलाकाका मानिसहरुको उदाहरण दिन्छिन् । उनीहरु सबै कम प्रोटिन र धेरै कार्बोहाइड्रेट भएका खाना खान्छन् ।

क्यालिफोर्निया युनिभर्सिटीकी पोषण वैज्ञानिक केरेन रेयान भन्छिन्, ‘जब मानिसहरु कम प्रोटिन भएका खाना खान्छन्, तब कोसिकाले कम एमिनो एसिड पाउँछ । यसले उनीहरु पुरानो प्रोटिनलाई नै प्रोसेस गर्न थाल्छन् ।’

केरेन भन्छिन्, ‘यी परिवर्तनको असर उमेर बढ्दा हुन्छ । उमेर बढ्नुको पछाडि कोसिकामा प्रोटिन जम्मा हुनु हो । खराब प्रोटिन जम्मा हुँदा विभिन्न रोग निम्तिन्छन् । तर जब हामी कम प्रोटिन खान्छौं तब यो जमेको प्रोटिनको सफाई हुन्छ । यसले उमेर बढ्ने असर कम हुन्छ ।’

त्यसो भए के हामी सबैले ओकिनावा डाइट लिन सुरु गर्नुपर्छ ?

वैज्ञानिक अहिले नै यसको सल्लाह दिँदैनन् । केरेन भन्छिन्, ‘प्रोटिन कम खाँदा शरिरको क्षती कम हुन्छ । तर ६५ वर्ष पुगेपछि हामीले धेरै प्रोटिन खानुपर्छ ।’

साथै, यदि हामी बोटबिरुवाबाट पाउने प्रोटिन खान्छौं भने त्यसले हाम्रो खानालाई थप पोषक बनाउँछ ।

ओकिनावाका मानिसहरु सायद यसकारण धेरै बाँच्छन् किनभने उनीहरु फल र सागसब्जी धेरै खान्छन् । यसमा उनीहरुको जैविक बनावटका साथै खानपिनको पनि योगदान हुन्छ ।

अहिले यसमा थप अनुसन्धान गरिनुपर्छ ताकि हामी सधैंभरी जवान रहने वास्तविक तरिका हासिल गर्न सकियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप