शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हातमा साढे २ लाख परेपछि बच्चा छाडेर अपहरणकारी फरार, काउन्टरमा कुरेको प्रहरी चकित !

शुक्रबार, ११ माघ २०७५, १९ : ३७
शुक्रबार, ११ माघ २०७५

काठमाडौं– काठमाडौंको कोटेश्वरस्थित खरिबोटबाट २ वर्षीया बालिका अपहरणमा संलग्न मनिषकुमार गुप्ताले आफ्नी श्रीमतीको हातमा साढे दुई लाख परेपछि मात्रै बालिकालाई अपहरण मुक्त गरेको खुल्न आएको छ । 

‘बालिकालाई अपहरणमुक्त गर्नका लागि हामीले नै गुप्ताको श्रीमतीको नाममा साढे दुई लाख रुपैयाँ आईएमई गरिदिएका थियौं’ बालिकाको उद्धारमा संलग्न काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटी भन्छन्, ‘जनकपुरमा गुप्ताको श्रीमतीले पैसा बुझेपछि उनले तिलगंगामा बालिका छाडेका हुन् ।’ 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अपहरणमा संलग्न गुप्ता पत्नी अर्चना गुप्तालाई पक्राउ गरेको छ । अर्चनाले जानकी माता मनि ट्रान्सफरबाट पैसा रिसिभ गरेर घरमा पुगेपछि उनलाई नियन्त्रणमा लिइएको प्रदेश–२ प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरि बहादुर पालले रातोपाटीलाई जानकारी दिएका छन् । 

जनकपुर स्थायी घर भएकी डा.वविता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञालाई अपहरण मुक्त गर्न प्रहरीले आठघण्टा मेहनत गरेको थियो । तर, अन्तमा बच्चा सकुशल उद्धार गरेपनि अपहरणकारी पक्राउ गर्न प्रहरी असफल भएको छ । अपहरणकारीको पिछा गर्दै तिलगंगास्थित बस काउण्टर घेरेर बसेको प्रहरीलाई मनिषकुमार गुप्ताले चक्मा दिएका छन् । 

गुप्ताले आफ्नो श्रीमतीले पैसा बुझेपछि तिलगंगास्थित बस काउन्टरमा बच्चा बुझाइदिने बताए । उक्त सुचना फलो गर्दै सादा पोशाकका प्रहरीले तिलगंगाको काउन्टर घेरिसकेका थिए । तर, गुप्ताले काउन्टर पछाडिको होटल गणेशमा बच्चा छाडेर भाग्न सफल भए । 

‘अपहरणकारीको खोजी भइरहेको छ’ काठमाडौं प्रहरी प्रवक्ता बोगटी भन्छन्, ‘हामी आइडेन्टीफाई गर्दैछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप