केन्द्रीय संस्करण
बहस

स्वस्थानी : अमर प्रेमको दस्तावेज कि विभेदकारी सांस्कृतिक हतियार ?

जारी छ हिन्दू समाजमा जरो गाडेको स्वस्थानी ब्रत

person explore access_timeमाघ ११, २०७५ chat_bubble_outline0

हिन्दू धार्मिक आस्था बोक्नेहरुका माझ अति लोकप्रिय र आस्थाको अटुट श्रोत हो, स्वास्थानी ब्रत कथा । हरेक वर्षको जाडो याममा (यसवर्ष माघ ७ गतेदेखि फागुन ७ गतेसम्म) चल्ने, हिन्दू देवादिदेव शिवका चतुर पुत्र स्कन्दकुमार र अगस्त्य मुनिबीचको सम्वादको सँगोलोको रुपमा रहेको स्वस्थानी ब्रतकथा रातको समयमा वाचन गर्ने, सुन्ने र लामो समयसम्म अटुट ब्रत बस्ने ‘गज्जब’को हिन्दू धार्मिक प्रचलनको नाम हो– स्वस्थानी ब्रत । नेपाली समाजमा शताब्दियौँदेखि अत्याधिक श्रद्धापूर्वक स्वस्थानी ब्रत कथाको पुजापाठ गरिदै आइएको छ । 

समाज विकाससँगै आख्यानको महत्व र व्याख्या पनि विभिन्न तरिकाले गरिदै आइएको छ ।  पछिल्लो समय नारीवादी कोणबाट स्वस्थानी ब्रत कथाको व्यापक विरोध हुने गरेका छन् । कसैले भन्छन्, स्वस्थानीले हाम्रो समाजका नारीहरुलाई निरिह बनाइरहेको छ । समाजको जातीय र वर्गीय भेद लाई आश्रय र पृष्ठपोषण दिएको छ । अन्धविश्वास र पुरुषत्ता शासित समाजको प्रतिछाँयाको रुपमा स्वस्थानीलाई लिन सकिन्छ । तर कतिपय मानिसहरुले भने स्वस्थानी हाम्रो सँस्कृति हो, यसलाई छाड्नु हुँदैन, बरु परिमाजर्न गरिनुपर्छ भन्ने अभिमत पनि राख्छन् । 

उपरोक्त पृष्ठभूमिमा, लामो समयदेखि नेपाली हिन्दू समाजमा गहिरोसँग जरो गाडेको स्वस्थानी ब्रतलाई अहिलेको बदलिएको नेपाली समाजमा कसरी हेर्नु र लिनुपर्छ भन्नेबारे हामीले नेपाली समाजका विविध फाँटलाई प्रतिनिधित्व गर्नुहुने व्यक्तित्वहरुसँग अभिमत संकलन गरेका थियौं । प्रस्तुत छः सोही अभिमतको उतार । 

त्यतिखेरको समाजको प्रतिबिम्बन

मोदनाथ प्रश्रित
लेखक 

स्वस्थानीमा ‘स्व’ भनेको आफ्नो र ‘थान’ भनेको आफ्नो ठाउँको देवी हो । स्वस्थानी भित्र नेपालभित्रको कथा रहेको छ । धेरै पहिलेदेखिको कथा यसमा छ । मौलिक रुपमा यहाँको कथालाई परिकल्पना गरेर स्वस्थानीको कथा लेखिएको छ ।

हामीले कुनै कुरा प्राप्त गर्ने इच्छा राख्छौं भने मन निर्मल र निष्पक्ष हुनुपर्दछ भन्ने सन्देश स्वस्थानीले दिन्छ । नेपालको आफ्नो मौलिकता रहेको छ । पहिले स्वस्थानी देशव्यापि रुपमा प्रचलनमा रहेको थियो । अहिले त्यो मौलिकता कम हुँदै गएको छ । 

यसमा पचासौँ वर्ष अगाडिको कथा रहेको छ । त्यतिखेरको समाजको प्रतिबिम्बनको रुपमा स्वस्थानी रहेको छ । 

त्यतिवेलाको कुरालाई लिएर अहिले केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन । 

त्यो समयका मानिस शिक्षित थिएनन् । हैकमवादी समाज थियो । नारीले अक्षर चिन्दैनथे । अहिले परिस्थिती फेरियो । महिला र पुरुष दुवैका सम्मान गर्ने कुरा अहिले आयो । अहिले यहि अनुरुपमा नै स्वस्थानीलाई लिनुपर्छ ।

स्वस्थानीमा अवैज्ञानिक थोत्रो चिन्तन रहेको छ

निनु चापागाई
लेखक


स्वस्थानी भनेको पारम्पारिक संस्कार हो । यसले पितृसत्तात्मक संस्कार र सस्कृतिलाई प्रवद्र्धन गर्दछ । त्यसैले अहिलेको जमानामा स्वस्थानीले जे जस्तो कुरा अगाडि सार्छ, त्यसलाई लिएर हिँड्नु भनेको महिलालाई अपमान गर्नु हो । स्वस्थानी जस्तो संस्कारलाई सकेसम्म परिवर्तन गर्नुपर्छ । स्वस्थानीले धेरै केही गर्छ जस्तो मलाई लाग्दैन । अहिले स्वस्थानी सुन्ने परम्परा धेरै कम हुन थालेको छ ।

मानिसहरुमा परम्परावादी संस्कृति र पितृसत्तात्मक सामन्तावादी सोच रहेको छ । यही सोचलाई अगाडि बढाउनको लागि स्वस्थानीले भूमिका खेलेको छ । 

समाज हिजोको भन्दा परिवर्तन हुनुपर्छ, महिलामा पितृसत्तात्मक भेदभाव अन्त्य गर्नुपर्छ, महिलाहरु पुरुषसरह हुनुपर्दछ भन्ने मत राख्नेहरुका लागि स्वस्थानीको महत्व छैन । 

महिलालाई निरीह ठान्नेका लागि, वालविवाह, पितृसत्तात्मक सोच राख्नेका लागि स्वस्थानीको महत्व देखेका होलान् । तर, मलाई स्वस्थानीले केही राम्रो सन्देश दिन्छ जस्तो लाग्दैन । यसले उल्टै हानी पुर्याउँछ, उपलब्धि छैन । यसमा अवैज्ञानिक थोत्रो चिन्तन रहेको छ । यसले पार्ने प्रभाव भनेको कुप्रभाव हो । यसले फाइदा गर्दैन । 

कथा शिल्पको हिसाबले बेजोड तर धार्मिक अन्धतामा आधारित भाग्यवाद हो स्वस्थानी कथा

आहुति
कवि/राजनीतिकर्मी


धार्मिक परम्पराको विभिन्न मिथक, कथा र आदर्श पात्रहरु इत्यादि हुने नै गर्छ । स्वस्थानी कथा हिन्दु धर्म परम्पराअन्र्तगत कुनै एउटा मिथक कथा हो । यसको प्रामणिकता केही पनि छैन । त्यसलाई एउटा परम्परागत कथाको रुपमा लिन सकिन्छ । 

त्यसका पात्रहरु, कथाभित्रका उपकथाहरु कल्पनाशिलताका दृष्टिले हेर्ने हो भने ती बेजोड प्रकृतिका छन् । सयौँ वर्षअगाडिका कथा शिल्पलाई हेर्दा काल्पनिकता नै भए पनि कथाको बनावटको हिसाबले, पात्रको बनावटको हिसाबले हेर्दा ती बेजोड नै छन् । तर मुख्य पक्ष त्यो होइन । मुख्य पक्ष त्यो कथाले अहिले बाँचिरहेका मानिसलाई कतातिर जान प्रेरित गर्छ त भन्ने नै हो । 

त्यो दन्त्यकथा जस्तो सुन्ने सुनाउने विषय मात्र भएको भए त्यसलाई कथाकै रुपमा मुल्याङ्कन गरे हुन्थ्यो । स्वस्थानी ब्रत कथामा सुन्ने र सुनाउने कुरा मात्र छैन । त्यहाँ जीवनलाई कता लैजानुपर्छ भन्ने छ ।

हिन्दु समाजमा त्यसलाई एउटा आचारसंहिताको रुपमा अनिवार्य संस्कार जस्तो गरेर हामीले प्रयोग गरिरहेको छौँ । त्यसले अहिलेको जीवनलाई प्रत्यक्ष प्रभावित गरिरहेको छ, निर्देशित गरिरहेको छ ।

यसको त्यो पक्ष हामीले छलफल गर्नुपर्ने, त्यसको बारेमा निष्कर्ष निकाल्नुपर्ने र आलोचनात्मक चेतको विकास गर्नुपर्ने पक्ष हो । त्यसरी हेर्दा त्यसले मुलत महादेब वा शिबलाई एउटा पागलप्रेमीको स्थानमा प्रस्तुत गर्दछ ।

महिलाहरुलाई बिद्रोही चरित्रको रुपमा, आफ्नो हक अधिकारको निम्ति बोल्ने पात्रको रुपमा, समाजलाई नेतृत्व गर्ने, समाजका आम महिलाहरुको पक्षमा लाग्ने पात्रहरु त्यहाँ निर्माण गरिँदैन । बरु आत्मदाहाको बाटो लिने वा पलायनको बाटो लिने पात्र त्यो कथामा छन् ।

आफूमाथि अत्याचार भयो, आफ्नो स्वतन्त्रतामाथि हनन भयो भने, आफ्नो इच्छा माथि समाजले बन्देज सिर्जना गर्यो भने पलायनको बाटो लिने पात्र त्यहाँ छन् । पागलपे्रमीको रुपमा शिवजी छन् । अहिलेको समाजले त्यो पनि अनुशरण गर्न लायक छैन । प्रेम भनेको मानिसको जीवन र सिर्जनामा उर्जा थप्ने विषय हो । पलायन र पागलपन तिर जाने विषय होइन । प्रेम जीवनको लक्ष्य हुदैन । जीवनभित्र प्रेम हुन्छ तर जीवनको लक्ष्य प्रेम होइन । पागलपनतिर जाने भनेको जीवनको लक्ष्य नै प्रेम बनाउनु हो । जीवनको लक्ष्य प्रेम बनाइसकेपछि प्रेम टुट्यो भने जीवन छैन भन्ने हुन्छ । कि मर्ने कि पागल हुने भन्ने हुन्छ । 
शिबजीलाई त्यहाँ जसरी प्रस्तुत गरियो, पागलपनको स्तरलाई हेर्दा कथा एकदमै बेजोड छ । लाश बोकेर हिँड्दा कहाँ–कहाँ के के खस्यो भनेर पनि पत्तो नै नहुने गरी लिएर हिँडेका छन् । कल्पनाशिलताको हिसाबले कथा बेजोड त छ । तर, शिवजी अनुकरणीय प्रेमी हाम्रो जीवनको निम्ति बन्दैनन् । त्यसबाट शिक्षा लिने र शिबजी जस्तै बन्ने भन्ने त हुदैन । 

पार्वतीको तर्फबाट हेर्दा पनि त्यस्तै छ । पार्वतीलाई पलायन हुने पात्रका रुपमा उभ्याइएको छ । त्यो पनि आजका महिलाका निम्ति आदर्श चिज बन्दैन । स्वस्थानी कथाको विश्लेषणलाई आजको जीवनसँग गाँसेर हेर्ने हो भने त्यो हाम्रो जीवनलाई निर्देशित गर्ने र प्रेरित गर्ने कथा होइन । त्यस भन्दा महत्वपूर्ण पाटो स्वस्थानी ब्रत लिएपछि, त्यो कथा अरुलाई सुनाएपछि महिलाहरुले आफूले चाहे जस्तो वर पाउँछन् भनेर ब्रतसँग र महादेबको पुजासँग लगेर गाँसिन्छ । त्यो त झन महिलालाई ठग्ने नै विषय भयो ।

त्यो झन घातक छ । किनकि ब्रत वा उपवासमा कहिलेकाँही अन्न पेटमा नहाली बस्ने भनेको प्राकृतिक चिकित्सा विधिमा त्यो फाइदाजन्य कुरा हो । कमसेकम हप्तामा एकपटक अन्न नखानु भनेको त्यसले फाइदा गर्दछ । तर त्यो अर्कै कुरा हो । त्यो उपचारको वैज्ञानिक विधि हो । तर स्वस्थानीमा ब्रत बस्ने भनेको आफूलाई कष्ट दिएर देवता पुकारा गर्ने भनेको हो । देवतासँग वर माग्न आफूलाई कष्ट दिने भन्ने हो । त्यो बाटोबाट सफलता पाउँछ भन्नु अवैज्ञानिक कुरा हो । 

अर्काे कुरा आज हामी स्वतन्त्रताको युगमा छौँ । स्वतन्त्रताको युगले हामीलाई प्रेम गर्ने र रोज्ने स्वतन्त्रता दिएको छ । रोज्नेसँगै छाड्ने पनि सँगसँगै आउँछ । त्यसकारणले यो प्रेमको युग हो । प्रेमको युगमा कुनै प्रेमी वा प्रेमीकालाई मन परेको मान्छे पाउनको लागि देवतासँग सम्वाद गर्ने भन्ने त हुँदैन ।

त्यही मान्छेसँग सम्वाद गर्नुपर्याे । त्यो मान्छेसँग आफ्नो जोडी बनाउने, आकर्षित गर्ने, उसलाई कन्भिन्स गर्ने प्रत्येक मान्छेमा शक्ति हुन्छ । कसैले मिलाइदिनुपर्ने कुरा होइन । आधुनिक जीवनमा प्रेमको निम्ति, वर वा बधु प्राप्त गर्नको निम्ति त्यो विधि प्रयोग गरिन्छ भने निकै हास्यास्पद हुन्छ । जीवनको उपयोगिताको कोणबाट पनि त्यो रुढीवादमा आधारित छ । त्यो धार्मिक अन्धतामा आधारित छ । त्यो परनिर्भरतामा आधारित छ । मोटामोटी रुपमा त्यो भाग्यवाद हो ।

स्वस्थानी ब्रत कथा साहित्यका कोणबाट हेर्ने हो भने त्यसका पात्रहरुको बनावट कथात्मकताको बनावट हेर्दा त्यो मलाई बेजोड नै लाग्छ । जसरी महाभारत बेजोड नै कथा हो । तर, त्यसको वैज्ञानिकताको हिसाबले महिला र पुरुषलाई दिने पात्रको दृष्टिले हेर्दा त्यो महिला मैत्री छैन र त्यो पुरुष मैत्री पनि त्यो बन्न सक्दैन । किनकि महिलामैत्री छैन भने त्यो पुरुषमैत्री कसरी बन्न सक्छ ?

स्वस्थानी ब्रत कथा साहित्यका कोणबाट हेर्ने हो भने त्यसका पात्रहरुको बनावट कथात्मकताको बनावट हेर्दा त्यो मलाई बेजोड नै लाग्छ । जसरी महाभारत बेजोड नै कथा हो । तर, त्यसको वैज्ञानिकताको हिसाबले महिला र पुरुषलाई दिने पात्रको दृष्टिले हेर्दा त्यो महिला मैत्री छैन र त्यो पुरुष मैत्री पनि त्यो बन्न सक्दैन । किनकि महिलामैत्री छैन भने त्यो पुरुषमैत्री कसरी बन्न सक्छ ? पुरुषलाई अतिसय हिरो बनाउने भनेको त पुरुषमैत्री होइन । त्यो काल्पनिकता हो । पुरुषलाई बढी अधिकार दिने भन्ने हो । जीवनसँग सम्वन्धको हिसाबले त्यसले युवागुवतीहरुलाई रुढीवाद, परनिर्भरता र भाग्यवादतिर लैजान्छ । ब्रत बसेर कसले जाँच पास गर्छ ? त्यो त हुँदैन । स्वस्थानी कथा पढेर कोही प्रविधिमा अगाडि बढ्छ त ? नहुने कुरा गर्नलाई प्रेरित गर्ने र त्यसलाई धार्मिक अनुष्ठान र सास्कृतिक अनुष्ठानको रुपमा अभ्यास गर्ने प्रचलन छ, त्यो ठीक छैन् । 

नेपालमा धेरै जसो विषयहरु धर्मसँग जोडेर सांस्कृतिक विषयहरु अगाडि आएका छन् । त्यसो त धर्मसँग नजोडिएका पनि छन् । जस्तै माघे संक्रान्ति । त्यो विशुद्ध ऋतु परिवर्तनसँग सम्बन्धित छ । त्यो वैज्ञानिक पनि छ । विशुद्ध सास्कृतिक पर्वहरु जनजीवनको आवश्यकतासँग सम्बन्धित छन् । कुनै प्रथापरम्परासँग सम्बन्धित छन् । 

धर्मसँग जोडेर आउने साँस्कृतिक पर्वहरुले संस्कृतिलाई भन्दा धर्मलाई जोड दिन्छन् । त्यसकारण ती ठीक छैनन् । स्वस्थानी ब्रत मनाइराख्दा त महŒव छ भन्ने लाग्ने भयो । तर त्यसले हाम्रो जीवनलाई उन्नयनतिर लैजाने गर्दैन । जस्तै तीजले हामीलाई अगाडि लैजादैन ।

धार्मीक परम्परालाई पूरै कटाएर तीजमा नाचगान गर्ने चेलिबेटी जम्मा हुने, खानपिन मात्र गर्ने हो भने त्यो एउटा परम्परा मात्र हुन्थ्यो । त्यसले त्यति घाटा गर्दैन । तर, स्वस्थानी ब्रत कथा त्यसरी मिल्दैन । स्वस्थानी ब्रत कथा मान्छेले भन्नै पर्छ, मान्छेले सुन्नैपर्छ । एक्लै भनेर पनि भएन । नहुने नहुने कुरा सुनाउने काम हुन्छ । यो सस्कृतिको रुपमा राखिराख्नुपर्ने चिज होइन । यो नहुँदा नै हाम्रो जीवन व्यवस्थित विज्ञानतिर अगाडि बढ्छ ।

स्वस्थानीः विभेदकारी सांस्कृतिक हतियार

वन्दना ढकाल
लेखक

स्वस्थानी व्रतकथा नामक पुराआख्यान अलिअलि पुराणमा आधारित र अलिबढी मनगढन्ते उडन्ते कथा हो । हिन्दु नेपाली समाजको ठूलो हिस्सामा यो कथा सबैभन्दा लोकप्रियको पंक्तिमा पर्छ । अज्ञात कथाकारले काठमाडौं उपत्यका सेरोफेरो र नेपालको पहाडी इलाकालाई भूक्षेत्र मानेर यो कथा बुनेको देखिन्छ ।

धर्म र ईश्वरमा विश्वास गर्ने पंक्तिलाई आश्वस्त पार्न यस कथामा पूर्वजन्म, पुनर्जन्म, पाप, पुण्यका उपकथा जोडिएको छ र कर्मकाण्डी पूजाका विधिविधानको पनि व्यवस्था गरिएको छ । यो कथा धार्मिक अन्धविश्वासी, स्त्रीद्वेषी, पितृसत्तात्मक, बालविवाह र अनमेल विवाहका पक्षपातीको सबैभन्दा ठूलो सांस्कृतिक हतियार हो ।

नेपालको संविधानले महिलामाथि कुनै पनि प्रकारको विभेदको कल्पना गर्दैन । तर, स्वस्थानी कथाले महिलालाई नै सबैभन्दा बढी हीन, कमजोर, दोस्रो दर्जाको र तुच्छ कोटीमा राख्छ । राज्यसँग महिलाअधिकारका पक्षमा लेखिएका थुप्रै कानुन छन् । तर, चरम महिलाद्वेषी र विभेद–प्रवद्र्धनको कथावाचन प्रचलन अन्त्य गर्ने कुनै कार्यक्रम छैन । नेपालको संविधानले नै बालविवाह, छलविवाह र अनमेल विवाह गलत भन्छ, तर त्यसैको पक्षपोषण गर्ने सामाजिक अनुष्ठान बदल्ने व्यवहारिक कोशिस केही छैन ।

हिन्दु परम्परा मान्ने घरघरमा माघ महिनाभरि वाचन गरिने र त्यसैका आधारमा विकास हुने चिन्तन प्रणालीले हाम्रो समाजलाई धेरै अर्थमा दिशानिर्देश गरिरहेको छ, जसले मुलुकको वर्तमानलाई चार सय वर्ष पुरानो रुढ धार्मिक अन्धविश्वासमा रोकेर राख्छ ।

स्वस्थानी कथाले अंश र वंशको उत्तराधिकारीमा बारम्बार पुरुषलाई स्थापित गराउँछ । घरघरमा त्यही पढिन्छ । पितृसत्तात्मक पुरुषको शक्ति कायमै राख्नु अनि महिलालाई धर्मभीरु बनाउनु यस कथाको उद्देश्य देखिन्छ । राजनीतिक अधिकार खोज्दै लड्ने महिलाहरू सम्पत्तिको अधिकारका निम्ति लडिरहे, लडिरहेका छन् । त्यसलाई चिन्तनकै तहबाट निस्तेज पार्न र महिलालाई बाबुको सम्पत्तिमाथि अधिकार दाबी गर्नु पाप हो भन्ने विचार मनोवैज्ञानिक रुपमा घुसाउन स्वस्थानी कथा प्रभावकारी माध्यम बनेको देखिन्छ । 

स्वस्थानीकथालाई नेपाली समाजको एक समयको चिन्तनप्रणालीमा प्रभावकारी रहेको र अध्येताले पढ्न सक्ने सन्दर्भ पुस्तकका रुपमा मात्रै सुरक्षित गर्न सकिन्छ । अन्यथा घरघरमा छोरीमान्छेलाई धर्मभीरु र पितृसत्तात्मक चेतनाको प्रशिक्षण दिने यस्तो सामाग्री त्याज्य छ ।

सतीदेवीले छलपूर्वक विवाह भएका सन्यासी पति पाउनुलाई ‘मेरो कर्ममा यस्तै लेखेको रहेछ’ भनेर चित्त बुझाएको प्रसंग । ‘कस्तै भए पनि बाबा महतारीले दिएका पति यिनै हुन् भनेर ईश्वर रुप मानिन्’ भनिएका सन्दर्भ । ‘स्त्रीजातिले घर कसरी बनाउँला सकूँला ?’ भनिएका जस्ता अनेक प्रसंग ठाउँठाउँमा पढ्न सकिन्छ । महिलालाई सहनशील, अप्रतिरोधी, आज्ञाकारी, लाचार र कर्मकाण्डमा संस्कारी बनाउने सांस्कृतिक प्रशिक्षणको पाठ्यपुस्तक बनेको छ यो कथा । 

शास्त्रीय ज्ञान वा वेदवेदान्त शिक्षामा विश्वास गर्नेहरू पनि स्वस्थानीकथालाई वेदमूलक स्मृतिशास्त्रले कतै समर्थन नगरेको र स्मृतिशास्त्रका प्रवर्तकहरूले यस्तो कथा कतै उल्लेख नगरेको बताउँछन् । प्राध्यापक डा. रामचन्द्र गौतमले ‘संस्कार’ नामक पुस्तकमा लेखेका छन्, ‘स्वस्थानी व्रतकथाको बारेमा पनि स्मृतिशास्त्रका प्रवर्तक कसैले पनि कहीँ कतै पनि उल्लेख गरेका छैनन्’ (पृ.१३९) । यो कथा छापाखानाको प्रविधि आइसकेपछि पितृसत्तालाई बलियो बनाउन तयार गरिएको वा कल्पिएको भन्न सकिन्छ । नत्र समाज विकासको प्रारम्भिक चरणबारेको वैज्ञानिक अध्ययनले सुरुमा मातृसत्ता भएको पुष्टि गरेको छ । 
यसर्थ स्वस्थानीकथालाई नेपाली समाजको एक समयको चिन्तनप्रणालीमा प्रभावकारी रहेको र अध्येताले पढ्न सक्ने सन्दर्भ पुस्तकका रुपमा मात्रै सुरक्षित गर्न सकिन्छ । अन्यथा घरघरमा छोरीमान्छेलाई धर्मभीरु र पितृसत्तात्मक चेतनाको प्रशिक्षण दिने यस्तो सामाग्री त्याज्य छ । २१औं शताब्दीको वैज्ञानिक चेतनायुक्त दुनियाँमा घरघरमा स्वस्थानीगाथा चल्नु दुर्भाग्यपूर्ण छ । सचेत राजनीतिकर्मी र बौद्धिकहरूले यस्तो प्रथाविरुद्ध बोल्नु–लेख्नु आवश्यक छ । 

अगतिलो चिन्तनले समाजलाई उँभो लगाउँदैन

सरिता तिवारी 
लेखक


सामान्यता धर्मिक कुरालाई संस्कृति भन्ने चलन छ । संस्कृति के हो भन्ने बारेमा हामीले टुङ्गो लगाउनुपर्ने हुन्छ । यसबारेमा कामहरु त भएका छन् तर हामीले पढेका छैनौँ । तर्कको दृष्टिले स्वस्थानी संस्कृति होइन । म सानी हुँदा आमाले स्वस्थानीको कथा सुनाएको याद आउँछ । हामी सबै नोस्टाल्जियामा छौँ । स्वस्थानीको कथा नेपाली समाजको जरासम्म पुगेको छ । यसले हामीलाई नराम्रोसँग असर पारेको छ । स्वस्थानीको बारेमा राम्रो र नराम्रो कुरा बुझ्नु जरुरी छ । 

मलाई अचम्म यो कुरामा लाग्छ रेडियोले समेत विहानमा स्वस्थानी वाचन गराउँछ । रेडियोले जनचेतनाको विस्तार गर्ने ठाउँमा रेडियोले नकारात्मक संस्कृतिलाई बढवा दिइरहेको छ । रेडियोले गर्वका साथ स्वस्थानी कथा सुनाइरहेको छ ।

यसमा विभिन्न कथा र उपकथा जोडिएका छन् । सस्कृतिका नाममा आजका युवाहरुले यसलाई पछ्याइरहेका छन् । यस्ता कथाहरुमा किशमेरीहरुलाई पनि आमाहरुले बस्न लगाउँछन् । समाजशास्त्र, विज्ञानको मुल्य बुझेकाहरुलाई त थाहा हुनुपर्ने हो, मोटामोटी कुरा थाहा हनुपर्ने हो । त्यही पनि आफू र आफुना छोरी चेलीलाई स्वस्थानी सुन्न लगाउँछन् । विभेद हिजो पनि थियो र आज पनि भएर फरक पर्दैन भन्ने सोच्छन् । छोरीलाई विभेद सहनुपर्छ भनेर प्रत्यक्ष रुपमा त भन्दैनन् तर स्वस्थानी भने सुनाइरहेका छन् । 

अझ मलाई अचम्म यो कुरामा लाग्छ रेडियोले समेत विहानमा स्वस्थानी वाचन गराउँछ । रेडियोले जनचेतनाको विस्तार गर्ने ठाउँमा रेडियोले नकारात्मक संस्कृतिलाई बढवा दिइरहेको छ । रेडियोले गर्वका साथ स्वस्थानी कथा सुनाइरहेको छ ।

चुरोट खाएर क्यान्सर लाग्छ भन्ने थाहा छ तर पनि मानिस चुरोट तानिरहेका छन् । त्यस्तै अगतिलो चिन्तनले समाजलाई उँभो लगाउँदैन भन्ने थाहा भएर पनि यस्तो चिन्तन विकसित गराइरहेका छन् । म स्वस्थानीको महत्व केही पनि देख्दिनँ । जति सक्दो छिटोे यसलाई त्याग्नुपर्छ । आफ्नै चेतनाले त्याग्ने कुरा हो । सरकार वा अरु मानिसले भनेर त्याग्ने कुरा होइन । 

स्वस्थानी अमर प्रेमको दस्तावेज 

नरेन्द्रराज प्रसाई
लेखक

स्वस्थानी हाम्रो समाजमा पेवा जस्तो भएको छ । पेवासँगसँगै हिन्दु जागरणको अभिन्न अङ्ग हो । प्रत्येक घरमा एउटा किताब रहन्छ भने त्यो स्वस्थानीको किताब हो । स्वस्थानी भनेको शिब भगवानको अर्चना गर्ने विधि हो । स्वस्थानीको माध्यमबाट संसारमा प्रेमको ज्वलन्त उदाहरण देखाइएको छ । शिवले लास बोकेका छन् । कुनै पनि मानव चेतनामा यो घटेको छैन । कुनै पनि ग्रन्थमा यस्तो कुरा राखिएको छैन । स्वस्थानी अमर प्रेमको दस्तावेज हो । 

स्वस्थानीको माध्यमबाट नारीलाई अपमान गरिएको छ पनि भनिन्छ । स्वस्थानी संस्कृतबाट नेवारीमा आउँदा अलिकति जोड घटाउ गरिएको छ । नेवारीबाट नेपालीमा आउँदा फेरी अलिकति जोड घटाउ गरिएको छ । अहिलेको स्वस्थानी मूल स्वस्थानी होइन । 

गोमा ब्राह्मणीलाई साठी वर्षको बुढोले बिहे गर्यो । त्यहाँ शिवले परीक्षण गरेका छन् । त्यो काल्पनिक कथा हो । केटीहरुले कति धैर्य गर्छन्, आचरणको कति पालना गर्न सक्छन् भन्ने कुरा यसमा देखाइएको छ । स्वास्थानीको माध्यमबाट स्वालम्बीको पाठ सिकाइएको छ ।

यसलाई अपमानको पाठबाट नहेरी शिक्षाको पाठबाट हेरौँ । ईश्वरीय र मानव प्रेमको दृष्टिबाट हेरौँ । पहिले पहिले श्रीमानको मृत्यु भइसकेपछि श्रीमती सती जाने प्रथा थियो । त्यसकारण उमेर पुगेका महिला विहे गर्नको लागि कठिन थियो । ७० वर्षको मानिसले ७ वर्षकी गोमा ब्राह्मणीलाई विवाह गर्ने कारण यही थियो । स्वस्थानीमा नारीलाई अपमानको दृष्टिबाट नहेरौँ ।

धार्मिक ग्रन्थलाई त्यही समयको आँखाले हेर्नुपर्छ

साधना प्रतिक्षा
लेखक 


स्वस्थानी व्रत कथा भनेको धार्मिकभन्दा पनि प्राथमिककालीन आख्यान साहित्य हो । यसले कुनै पनि संस्कृतिलाई बिम्बन गर्छ । यसले सनातन परम्परालाई बिम्बन गर्छ । धार्मिक ग्रन्थलाई हेर्दा हामीले जुन समयको कृति हो, त्यही आँखाले हेर्नुपर्छ । त्यतिबेलाको कृतिलाई अहिलेको आँखाले हेर्यो भने विभिन्न नराम्रा पक्ष त देखिन्छन् नै । अहिले क्रिश्चियनहरुले स्वस्थानीलाई प्रचार गरे भन्छन् । हामीले महत्त्व दिएनौं भने त अरुले चोरिहाल्छन नि हाम्रा संस्कृति । कुनै ग्रन्थले नकारात्मक प्रभाव पार्छ भने त्यसलाई परिमार्जन गर्ने हो कि नराम्रा पक्ष केलाउँदै हिँड्ने हो ? 

स्वस्थानी भनेको एउटा आस्था हो हिन्दु सनातन धर्मको । यस्तो जाडोमा पनि महिलाहरु साली नदीमा गएर नुहाएका छन् । यो हिन्दु सनातन आस्था हो । खराब कमजोरीलाई परिमार्जन गरेर मौलिक परम्परा कायम गर्नुपर्छ । 

मलाई पुरुषभन्दा महिला अग्र हुन भन्ने लाग्छ । घरपरिवार सबैको कल्याणका लागि ब्रत बस्छन् । महिला ब्रत बस्दैमा पुरुष पनि बस्नुपर्छ भन्ने अतिवादलाई म मान्दिनँ । स्वस्थानी कथाले हाम्रो समाजका छोरीहरुलाई निरीह बनाइएको छ भन्छन् तर हामी नराम्रा कुरालाई फलाक्दै हिँड्ने की नराम्रा कुरालाई परिमार्जन पनि गर्ने ?

सतीप्रथामा पत्नि जिउँदै आगोमा जल्नुपथ्र्याे । पतिको दीर्घायुको, जीवन रक्षाको लागि ब्रत बस्यो भने पतिको साथसाथै आफ्नो पनि जीवन अलि लामो हुन्छ भन्ने सोचाइले महिलाहरु ब्रत बस्दथे ।

स्वस्थानीले भक्तिको, इश्वरको कुरा गर्दछ । यसमा गोमा ब्राह्मणीको कुरा, चन्द्रावतीको कुरा छ । यस्तो कथालाई हामी परिमार्जन गर्न सक्छौँ । त्यो कथा भनेको प्राथमिककालीन आख्यान हो । आख्यानमा भएका नराम्रा कुरालाई हामी परिमार्जन गर्नुपर्छ । राम्रा कुरालाई पनि नराम्रा कुराले दाग लगाइदिने भएकोले राम्रा कुरा छोपिएको छ । 

वर्षैपिच्छे चर्चा गरिरहन पर्ने गरी महत्वपूर्ण लाग्दैन

सावित्री गौतम
लेखक


आजभन्दा बीस वर्षअघि होला, मेरी आमाले भनेको कुरा मलाई टड्कारो याद छ “म कति बुद्धू थिएँ है, स्वस्थानी जस्तो फन्टुस कथा व्रत बसिबसिकन पढ्थें ।” कट्टर सनातन धर्म पालन गर्ने, भारतको बद्रीकेदार र द्वारका गरी वर्षको दुईपटक तीर्थ जाने मेरी आमालाई त फन्टुस लागेको यो किताब, कथा, वा ग्रन्थ जे भन्नुस्, बारे मलाई राय दिइबस्नु जरुरी छ जस्तो लाग्दैन ।

पच्चीसौं वर्ष पहिले सुनेको पढेको भरमा जे जे याद थियो, त्यसको आधारमा नै मैले पाँच वर्ष अघि यो कथामा कस्ता कस्ता महिला र बालबालिका शोषणको प्रसंग छन् भनेर लेख पनि लेखेको थिएँ । तर, मलाई यो किताब वर्षैपिच्छे चर्चा गरिरहन पर्ने गरी महŒवपूर्ण लाग्दैन । त्यो समयमा अरु धेरै रचनात्मक काम गर्न सकिन्छ, कम्तीमा म गर्छु ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ