रावणको दरबार, जहाँ पुष्पक विमान ल्याण्ड हुन्थ्यो रे !
(हिमालयका दूत अर्थात लाङटाङ सद्भावनादूत अशोक सिलवाल केही समयअघि श्रीलङ्का गएका थिए । सगरमाथा उभिएको देशबाट महासागरले घेरिएको देश गएका तिनै यात्रुको यात्रा संस्मरणको सातौँ शृङ्खला हो यो ।)
कोलम्बोबाट झन्डै २ सय किलोमिटर परको सिगिरिया जाँदै गर्दा बसको सबभन्दा पछिल्लो सीटमा बसें म । पछिल्लो सीटमा बस्दाको फाइदा के छ भने बाहिरका दृश्य त देखिन्छ नै, बसभित्रका सबै यात्रु र उनीहरुका गतिविधि पनि ‘मार्क’ गर्न पाइन्छ ।
मेरो सीटको ठीक अघिल्लो सीटमा स्थानीय पत्रकार शाक्या थिई । मैले सोचेजस्तो श्रीलंकाको यो यात्रामा गाइडको व्यवस्था गरिएको रहेनछ । तर, शाक्या मेरो लागि ‘गाइड’ भइदिई । उसको अंग्रेजी उम्दा थिएन तर पनि उसले मलाई भरपुर बुझाउने प्रयत्न गरी ।
‘धेरैलाइ लाग्छ, कोलम्बो श्रीलंकाको राजधानी हो । तर, कोलम्बो कमर्सियल राजधानी मात्र हो । प्रशासनिक राजधानी त तिमीलाई सायद उच्चारण गर्न पनि अप्ठ्यारो लाग्ने श्री जयबर्ध्दनेपुरा कोट्टे हो’, उसले भनी ।
याे पनि....
कोलोम्बोमा ‘हट केक’ बन्यो नेपाली टोपी
‘हामी अहिले जहाँ छौं, पहिले यसलाई फोर्ट भनिन्थ्यो, अहिले कोलम्बो इलाभेन’, त्यति भन्दै उसले फोर्ट स्टेसन देखाई र थपी, ‘बिहान घरबाट ट्रेन चढेर म यहाँ आएको । ३० मिनेट लाग्यो ।’
नेशनल रेलवे म्युजियम, टेक्निकल जंक्सन, ट्यांक् टावर, सिमेट्री सेन्टर पार गर्दैगर्दा दायाँतिर उसले औंला तेर्साएर भनी, ‘ऊ त्यो चाहिँ डिफेन्स स्कुल ।’
‘डिफेन्स स्कुल ! ’, मैले आश्चर्य पोखें ।
‘हो, डिफेन्स स्कुल’, उसले बुझाउने प्रयत्न गरी, ‘आर्मी स्कुल के ।’
‘त्यसो भननँ त । किन डिफेन्स स्कुल भनेको ?’, मैले भनें ।
‘होइन, यहाँ हामी आर्मी स्कुललाई डिफेन्स स्कुल नै भन्छौं’, उसले राम्ररी बुझाई ।
‘र, हामी चाहिँ आर्मी स्कुल भन्छौं’, मैले प्रसंगलाई पारिवारिकी बनाएँ, ‘म सिभिलियन भए पनि नेपालमा मेरी छोरी आर्मी स्कलुमा पढ्छे ।’
‘तिमी त अविवाहित भन्ठानेको’, प्रसंगलाई अझ अर्कैतिर लग्दै अविश्वासको आँखाले मलाई हेर्दै शाक्याले भनी ।
तर, ठीक त्यही बेला अविश्वसनीय ढंगले एउटा यस्तो चोक देखियो, जहाँ बडेमानको ढुँगासिमेन्टवाला रिसिभरसहितको टेलिफोन उभिएको थियो । नजिकै दुरसंचार कार्यालय रहेछ ।
अघिल्लो दिनको चियाचमेनाक्रममा शाक्यासँग भेट हुँदा उसकी आमा पनि सँगै थिइन् । बसमा ऊ आमाबारे गफिदै थिई, ‘बर्षौदेखि उहाँ स्कुल शिक्षक हुनुहुन्छ । मैले स्कुले जीवन आमाले पढाउने त्यही स्कुलमा बिताएँ । घरमा पनि आमा । स्कुलमा पनि आमा । तर, हामी एकअर्काका बेस्ट फ्रेन्ड हौं ।’
शाक्याको मोबाइलमा घन्टी बज्यो । आमाले कल गरेकी रहिछिन् । ऊ सिंहालीमा बोल्न थाली । के बोली मैले बुझिन । उता कुरा सकिएपछि भनी, ‘तिमीलाई ममीले सम्झनुभएको छ ।’
‘संयोग पनि कस्तो ! हामी तिम्रै आमाबारे कुरा गर्दै थियौं । उहाँले नै फोन गर्नुभयो’, मैले भनें ।
‘टेलिप्याथी ! यही हो टेलिप्याथी भनेको’, त्यति भन्दै ऊ निकै पर पुगी । ‘हिटलर, दोस्रो विश्वयुध्द र टेलिप्याथी’ विषयक निकै लामो व्याख्यान दिई ।
मैले उसको व्याख्यानको प्रशंसा गर्दै सोधें, ‘कुन किताबमा पढेको ?’
याे पनि....
तिनको बनावटी मुस्कान र मेरो तयारी
‘मैले किताब पढेर यो थाहा पाएको होइन । हाम्रो स्कुलको हिस्ट्री टिचरले क्लासमा भन्नु भएको । उहाँले यस्ता अनेक विषय हामीलाई कथा जसरी सुनाउनु हुन्थ्यो । हि इज माई बेस्ट टिचर’, अनुहारमा असल शिक्षकको सुखद स्मृति फैलाएर उसले भनी ।
कोलम्बो छोडेर हाम्रो बस निकै अगाडि बढिसकेको थियो । ट्वाइलेट ब्रेकको लागि गाडी रोकियो । एउटा पसल छिचोलेर हामी भित्रपट्टि गयौं । त्यहाँ ट्वाइलेटको सट्टा माछाको निकै कडा गन्ध आयो । अघि छिचोलेको पसल ड्राई फिसको पसल पो रहेछ । अघि भर्खरको गन्ध अनेक प्रकारका ड्राइ फिस देखेपछि, बासनामा बदलिइसकेको थियो ।
बाटोमा अनेक प्रजातिका रुख र बोटबिरुवाका हरियालीमा आफैलाई हराउँदै र भेटिदै यात्रारत थियौँ हामी । सडकका दुवै साइडमा बेहिसाब केराका घारी देखिए । मैले केही बर्षअघिको कोटेश्वरको केरावाला साइकल सम्झिएँ । म एक जना स्विडिसलाई घुमाउँदै थिएँ । कारको झ्यालै छेउबाट एउटा केरावाला साइकल क्रस भयो ।
‘तिमीलाई केरा कत्तिको मन पर्छ ?’, स्विडिसलाई सोधेको थिएँ ।
‘आइ हेट बनाना’, उसले अप्रत्याशित उत्तर दिएको थियो ।
‘किन नि ?’, मैले जान्न चाहेको थिएँ ।
याे पनि....
श्रीलंका सिरिजस्: हुलियाले कहिले हँसायो, कहिले रुवायो
‘भयो यसबारे कुरै नगर’, केराबारे ऊ उदासीन भएको थियो ।
मैले त्यसपछि ऊसँग केराको कुरा गरिनँ । तर, केही बेरमा ऊ आफैले फेरि सुरु गरेको थियो, ‘म सानै छँदादेखि नै आमाले मलाई हरेक दिन केरा खुवाउनु हुन्थ्यो । स्कुल जान थालेपछि टिफिन बक्समा कम्तीमा एक कोसा केरा जहिल्यै हालिदिनु हुन्थ्यो । र, स्कुलबाट घर फर्केपछि फेरि पनि मैले केरा खानु पर्थ्यो । केराले वाक्क भइसकेको म स्कुल लगेको केरा साथीलाई दिन्थें वा फालिददिन्थें । त्यो कुरा आमाले थाहा पाउनु भएछ । त्यसपछि टिचरहरुको निगरानीमा नियमित रुपले मैले केरा खानैपर्ने भयो । स्कुल सकिएपछि बल्ल मैले केराबाट मुक्ति पाएँ । अहिले फेरि तिमी केराको कुरा गरेर मेरो नेपाल यात्रा झुर नबनाऊ ।’
बसमै साँझ गाढा भइसेकेको थियो । खानपिन र रमाइलोमा सिगिरिया नजिकैको रिसोर्ट अझ गुल्जार भयो । थुप्रै देशका मानिस त्यही होटलमा हामीजस्तै रात बिताउन आएका थिए । उनीहरुलाई समेत बाधा पुग्ने गरी हाम्रा केही साथी ‘ड्रिंक्स’ले बढी नै ‘इमोसनल’ हुन थाले । चुपचाप म उनीहरु छेउ श्रीलंका इन्जोई गर्दै थिएँ । होटल म्यानेजर मछेऊ आयो ।
‘तिमी पनि यही ग्रुपका हौ ?’, उसले साउती शैलीमा सोध्यो ।
‘हो । तर, ग्रुप एउटै भए पनि म अर्कै देशबाट आएको । नेपालबाट’, मैले भनें ।
‘हेर न । होटलमा पनि यसरी हल्ला गर्ने हो ? तिनीहरु जनावरको व्यवहार गर्दैछन्’, उसले रिसाएर भन्यो ।
‘तर, तिमी श्रीलंकनहरु निकै शान्त र क्षमाशील छौ नि’, मैले उसलाई शान्त पार्ने प्रयास गरें ।
‘यो त अति भयो, श्रीलंकन अब एकदम रिसाहा भइसक्यो’, उसको स्वरमा उसको रिस मलाई कृत्रिम लाग्यो तर त्यहाँको हल्ला उसलाई साँच्चै नै निल्नु न ओकल्नु भएको थियो ।
निकै बेरसम्म साथीहरु ‘इमोशनल’ भइरहे । उही लेभलमा मेनेजर छटपटिरहेको थियो ।
याे पनि.....
श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ
राती अबरेसम्म ‘इमोशनल’ भएका साथीहरुलाई बेडमै छाडेर समुहका आधा भन्दा बढी हामी पत्रकारहरु बिहानै विश्वको आठौं आश्चर्य समेत भनिने श्रीलंकाको उत्तरी भुभागमा पर्ने मातले जिल्लाको दम्बुला शहर नजिक रहेको सिगिरिया (लाइन रक) चढ्न गयौं ।
१ हजार २ सय सिढी पार गरेपछि टुप्पोमा पुगिने मानवनिर्मित त्यो प्राचीन विशाल चट्टानी स्मारक राजा कश्यप (४७७ देखि ४९५ ईशा पूर्व) ले बनाएको स्थानीय श्रीलंकन पत्रकारहरुले बताए । समथर हरियो भुभागमा उभिएको समुद्री सतहबाट केवल २०० मिटर अग्लो यो स्मारकलाई प्राचीन शहरी भौतिक योजनाको उदाहरणीय नमुना मान्न सकिने आर्किटेक्टहरुको मत रहेको पनि उनीहरुले सुनाए ।
श्रीलंकाका पर्यटकहरुको पहिलो रोजाई रहेको यो ‘आकाश महल’लाई सन् १९८२ मा युनेस्कोले विश्व सम्पदा घोषणा गरेको रहेछ । कुनै बेला बुद्धिस्ट गुम्बाको रुपमा पनि प्रयोग गरिएको यो स्मारक रामायणसँग पनि जोडिएको किंवदन्ती एकजना सहयात्रीले सुनाए ।
अर्कोले थप्यो, ‘टुप्पाको समथर भागमा रावणको एयरपोर्ट थियो ।’
‘होइन, त्यहाँ रावणको दरबार थियो र दरबारको छतमा उसको पुष्पक बिमान ल्याण्ड हुन्थ्यो’, अर्कोले भन्यो ।
फेदबाट थोरै उक्लिएपछि भित्ता देखाउँदै स्थानीय साथीले भन्यो, ‘यो मिरर वाल हो । यसलाई घोट्दा घोट्दा ऐनाजस्तै बनेको हो रे ।’
समग्रमा अनुमान गर्न सकिन्थ्यो, कुनै बेला सिगिरिया बीचमा आकाश महलजस्तो लाग्ने चट्टानी दरबार भएको एउटा हरियो शहर थियो, जहाँ वरपरबाट हरियालीले घेरिएका पोखरीहरु थिए । अनेक पोखरीहरुले गर्दा त्यो जलबगैचाजस्तो थियो ।
याे पनि.....
मान्छेपिच्छेको रोजाई, मान्छेपिच्छेका कथा
हामी त्यहाँ पुग्दा अनेक देशका मानिसका आगमनले सिगिरिया मानव बगैचाजस्तो पनि भएको थियो । बाटामा बीचबाटै फर्किएकाहरु पनि भेटिए । कतिका लागि त्यो त ‘एभरेस्ट’ चढ्नुजस्तै कठिन भयो रे । मलाई मनैदेखि हाँसो उठ्यो ।
‘अभी हम जहाँ हे, ये दुनियाँका ऐसी खुबसुरत जगाह हे, जहाँ आपको लगते हे ...’, एक जना सहयात्रीले फेसबुक लाइभ गर्न थाल्यो । अघिल्लो दिन बिहान कोलम्बो छोड्नुअघि पनि उसले गलफेसबाट चीनले कोलम्बो छेउको हिन्द महासागरमा बनाइरहेको बन्दरगाहतिर मोबाइलको क्यामेरा फर्काउदै फेसबुक लाइभ गरेको थियो, ‘ये बहुत खुबसुरत जगाह हे । सागरके लहरे आरहे हे । लेकिन आप देख सकते हे, यहाँ चीन बन्दरगाह बनारहा हे । प्रकृतिको एैसी ... ।’
म भने महासागर किनारमा छिनछिनमा उठ्दै गरेका बलिया छालहरु हेर्दै पहाडमाथिका हिमालसँगै साथी हिमाल घिमिरेलाई सम्झँदै थिएँ, जो यो यात्राको सेतु थियो ।
यो पनि....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव