यतै छ काम : मन लाएर गरे मासिक एक लाखसम्म कमाइन्छ दाम
बुधबार, ०९ माघ २०७५, १० : ०३
भक्तपुर । दैनिक सयौँ युवा कामको खोजीमा विदेश पलायन हुन्छन् । अन्य मुलुकमा गएर जस्तोसुकै जोखिमपूर्ण श्रम गर्ने युवा नेपालमा सामान्य काम गर्न पनि लाज मान्छन् ।
जसले श्रम गर्छ, उसको सम्मान गर्ने मानसिकता अझै नेपालमा बनिसकेको छैन । समाजमा यस्ता कैयौँ मानिस छन, जो दिनरातको मिहिनेतले ठूला भनौदाहरू मालिक बनेका छन् । तर पनि कामको वर्ग विभाजन गर्नेले परिवर्तन भनेर जति भने पनि व्यवहार लागू गर्न सकिरहेका छैनन् ।
माघको चिसो मौसम बिहान २ बजे फाँटका गराहरूमा सङ्गीतको धुनसँगै श्रमको मीठो आवज पनि सुनिन्छ । भक्तपुरमा रहेका ६४ इँटा भट्टामा अहिले स्वदेशका मात्र होइन, छिमेकी देश भारतबाट समेत श्रमिकहरू काम गर्न आएका छन् ।
इँटा बनाउने, चाङ लगाउने, गाडीमा लोड अनलोड गर्ने र भट्टामा पोल्ने काम आजभोलि भक्तपुर यत्रतत्र देखिन्छ । भट्टा नजिकै धुलो र धुवाँ उडिरहेको हुन्छ । मुखमा रुमाल बाँधेर त कोही त्यतिकै आफ्नो काममा सक्रिय छन् ।
पूर्व नेपालको उदपुर जिल्लाबाट भक्तपुर आएका धनराज राई इँटा बनाउँदा प्रयोग हुने पाँगो माटो चालेर मसिनो बनाउँदै थिए । सामान्य साक्षर उनलाई अन्य सीप नभएपछि इँटा उद्योगमा काम गर्नु उचित लाग्यो । कात्तिकको अन्तिम हप्तादेखि वैशाखसम्म चल्ने काँचो इँटा बनाउने काममा न्यूनतम मासिक ३० हजार रुपैयाँसम्म कमाइ हुने राईले बताए ।
६ महिना अरू नै काम गर्ने र ६ महिना इँटा उद्योगलाई आवश्यक काँचो इँटा बनाउने काम गर्ने धेरै छन् । ‘कडा मिहिनेत गर्नेले महिनामा १ लाख रुपैयाँसम्म लिन्छन्, सुनसरी चतराका भीम लिम्बुले रातोपाटीसँग भने ।
अरू कामभन्दा यो ठिकै छ । तर धुलो र माटोसँग खेल्नुपर्छ, खानपिन गरेर राम्रै पैसा बच्ने उनको भनाइ छ ।
अघिल्लो वर्ष १ हजार काँचो इँटा बराबर ११ सय रुपैयाँ दिएका उद्योगीहरूले यो वर्ष कति दिन्छन्, त्यो श्रमिकहरूलाई थाहा छैन । उनीहरूमा यति विश्वास छ । गतसालभन्दा केही पैसा थप आउँछ ।
दाङ घर बताउने चार जना युवा चाङबाट इँटाको भारी बनाएर गाडीमा लोड गर्दै थिए । नाम भन्नुस् न भन्दा लाज मान्ने उनीहरूले १ हजार इँटा बोकेको ३ सय २५ रुपैयाँ पाइने बताए । एक युवाले भने, ‘दैनिक ३ हजारसम्म बोकिन्छ होला’ । उनले भनेअनुसार करिब ९ सय ७५ रुपैयाँ उनीहरूको दैनिक कमाइ छ । महिनामा २५ दिन मात्र काम गर्दा करिब २३ हजार रुपैयाँ उनीहरूको मासिक आम्दानी हुन्छ ।
काभ्रेको तेमाल गाउँपालिकाबाट आएर भक्तपुरको सुडालमा इँटा बनाउँदै आएका श्याम लामाको परिवारले दैनिक ४ हजारसम्म काँचो इँटा बनाउने गरेको उनले बताए । मासिक १ लाख २० हजारसम्म कमाइ हुने उनको भनाइ छ ।
उनका दुई छोरा, दुई बुहारी, दुई छोरी र श्रीमान श्रीमती बिहान २ बजेदेखि उठेर इँटा बनाउँदै आएको बताए ।
काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, सल्यान, रोल्पा, रुकुम, दाङ, प्युठान, सुनसरी, मोरङ, उदयपुरलगायतका जिल्लाबाट मानिसहरू भक्तपुर आएर इँटा उद्योगमा इँटा बनाउने र बोक्ने काम गर्छन् । भारतबाट आएका भारतीय श्रमिकहरू भने मुख्यतः इँटा पोल्ने भट्टामा काम गर्छन् ।
खानेपानी र स्तरीय शौचालयकै अभाव :
भक्तपुरका अधिकांश इँटा उद्योगहरूले काम गर्ने मजदुरलाई खानेपानी र उचित शौचालयको व्यवस्था गर्नेतर्फ पहल गरेको देखिँदैन । बोरिङ गरेर निकालिएको पानी खानलायक छ छैन, मजदुरलाई नै थाहा छैन ।
भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ हेम्बाले वातावरण सुधार, मजदुरको स्वास्थ्य र सामाजिक सुरक्षाका विषयमा उद्योगी गम्भीर रहेको बताए । पानी र शौचालयको व्यवस्थापन प्रत्येक भट्टमा गरिएको र केही स्थानमा भने पानी खानयोग्य भए नभएको जाँच भएको समेत उनको भनाइ रहेको छ । ‘इँटा बनाउने मजदुरहरूको समय समयमा स्वास्थ्य चेकजाँच हुन्छ,’ हेम्बाले भने ।
उद्योगलाई व्यवस्थित बनाउनुपर्ने
भक्तपुर जिल्लामा ६२ वटा इँटा भट्टा छन् । त्यसमध्ये करिब ५२ वटा जति त चाँगुनारायण नगरपालिकामा मात्र छ । पुनर्निर्माणको यो चरणमा महत्त्वपूर्ण निर्माण सामग्री इँटा उद्योगलाई स्थानीय तह र सरकारले व्यवस्थित बनाउन पहल गर्नुपर्ने देखिन्छ ।
माटो र कोइलाबाट चल्ने यो उद्योग उचित मापदण्ड बनाउन सरकारले व्यवसायीलाई सहज वातावरण बनाउनुपर्छ । स्थानीय क्षेत्र वरपरको वातावरण र स्वयम् उक्त उद्योगमा श्रम गर्ने श्रमिकको स्वास्थ्यमा समेत सम्बन्धित निकायले चासो दिनुपर्ने देखिन्छ ।