शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाको व्यापार बन्द हुन्छ : मन्त्री बाँस्कोटा

मङ्गलबार, ०८ माघ २०७५, १९ : ५१
मङ्गलबार, ०८ माघ २०७५

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताएका छन् ।  

मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।’ 

उनले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराए ।

मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन हुने गरी विशुद्ध शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न थालेको बताए । 

उनले शिक्षकले विद्यालयमा राजनीति गर्न नपाउने गरी कानून निकट भविष्यमा ल्याइन लागेको जानकारी गराए । मन्त्री बाँस्कोटाले विश्वविद्यालयका अधिकांश प्राध्यापक निजी विद्यालयमा गएर पढाउने गरेको पाइएकाले सो विषयमा सरकारले कडा निगरानी गरिरहेको बताए । सो अवसरमा उनले विद्यालयको नवनर्मित भवनको शिलान्यास गर्नुका साथै उत्कृष्ट शिक्षक तथा अविभावकलाई सम्मान गरे । 

कार्यक्रममा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईं र लक्ष्मण लम्सालले सरकारको अभियानमा साथ दिन आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले नपा क्षेत्रभित्रका विद्यालयमा शैक्षिक गुणस्तर बढाउन साना कक्षामा अङ्गे्रजी माध्यमबाट अध्यापन गराउने अभियान थालिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप