शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घट्यो दक्षिण कोरियाको आर्थिक वृद्धिदर

मङ्गलबार, ०८ माघ २०७५, १३ : १९
मङ्गलबार, ०८ माघ २०७५

सियोल– दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २.७ प्रतिशत रहेको बैंक अफ कोरियाले जनाएको छ ।  यो वृद्धि विगत ६ वर्ष यताकै सबैभन्दा कम हो । एसियाकै चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको सन् २०१७ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत थियो । सन् २०१२ यता यो सबैभन्दा कम वृद्धि हो । सन् २०१२ मा आर्थिक वृद्धिदर २.३ प्रतिशत थियो । 

केन्द्रीय बैंकले जारी गरेको मुलुकको पछिल्लो वित्तीय विवरणमा गत वर्ष प्रतिव्यक्ति आयमा अघिल्लो वर्षको तुलनामा सुधार भई ३१ हजार अमेरिकी डलर पुगेको उल्लेख छ । सन् २०१७ मा प्रतिव्यक्ति आय २९ हजार ७४५ डलर थियो । 

सन् २०१८ मा निजी उपभोग, सरकारी खर्च र निर्यातमा वृद्धि भएको छ, जबकी निर्माण र लगानीमा शिथिलता आएको छ । उपभोगमा सात वर्षयता सबैभन्दा बढी अर्थात् २।८ प्रतिशतले वृद्धि भएको छ । सरकारी खर्चमा पनि ५।६ प्रतिशत वृद्धि भएको छ । सन् २००७ यता सरकारी खर्चमा लगातार वृद्धि भइरहेको छ । 

दक्षिण कोरियाको अर्थतन्त्रको मुख्य आधारका रुपमा चिनिएको निर्यातमा गत वर्ष ४ प्रतिशतले वृद्धि भएको छ । तर, कर्पोरेट लगानीमा कमी आएको छ ।  गत वर्ष निर्माणका क्षेत्रमा हुने लगानी ४ प्रतिशतले घटेको छ । सन् २००८ को एसियाली वित्तीय सङ्कट यताको यो सबैभन्दा ठूलो गिरावट हो । 

कूल आन्तरिक आयमा गत वर्ष १.१ प्रतिशतले वृद्धि भएको छ । इन्धनको मूल्यमा वृद्धि भएका कारण सन् २००८ यताकै यो सबैभन्दा कमजोर वृद्धि हो । 

केन्द्रीय बैंकका महानिर्देशक पार्क याङ–सूले गत वर्षको अन्तिम चौमासिक अवधिमा निर्यातमा भएको नकारात्मक वृद्धिमा सुधार ल्याउन सरकारले प्रयत्न गरेको बताए । ‘यसबाहेक, कृषि र निर्माण उद्योगको उत्पादनमा पनि मौसम अनुकूल भएका कारण अक्टोबरमा निकै प्रगति भएको छ ।’ -योनहाप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप