शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनसनरत डा. केसीको अपीलप्रति योगेश भट्टराईद्वारा स्वागत (केसीको भिडियो अपीलसहित)

मङ्गलबार, ०८ माघ २०७५, १३ : १२
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं– चिकित्सा शिक्षा विधेयकबारे डा. गोविन्द केसी र सत्तारुढ दलप्रति विवाद भइरहेका बेला डा गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन ल्याउन गरेको अपीललाई सत्तारुढ दलका नेता योगेश भट्टराइले स्वागत गरेका छन् । 

डा. केसीको अपिललगत्तै नेकपाका नेता भट्टराइले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्– ‘चिकित्सा शिक्षा बिधेयकलाई बिद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नु भएको अपिललाई हार्दिक स्वागत र सम्मान गर्दछु । चिकित्सा शिक्षाको सुधारका लागि यसअघि बनेका विभिन्न आयोग, समिति तथा कार्यदलका सुझाब, विभिन्न राजनीतिक दल तथा संघ र संगठनका सुझाव र माननीय सदस्यहरुका संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलन समेतका आधारमा चिकित्सा शिक्षा विधेयक राष्ट्र, जनता र बिद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विस्वास दिलाउन चाहन्छु ।’

नेता भट्टराइले आफ्नो स्टाटसमा भनेका छन् ‘कुनै कमिकमजोरी रहेमा यहाँ र यहाँजस्तै ब्यक्तित्वको सुझाबमा सुधार गर्दै जाने कुरामा ढुक्क रहन समेत अनुरोध गर्दछु । चिकित्सक शिक्षा बिधेयक संसदबाट पारित भैरहदा तपाईंको समेत ऐतिहासिक जितका रुपमा उत्सब मनाउन तपाईंलाई मेरो निबेदन छ ।’

यसअघि आजै आमरण डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरुलाई एक भिडियो सन्देश मार्फत अपील गरेका थिए । 

संसदको बैठकको पूर्वसन्ध्यामा शिक्षण अस्पतालको शैयाबाट भिडियो सन्देशमार्फत डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गरेका हुन् । 

उनले आफूसँग सरकारले गरेको सहमति अनुसार र जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन पारित गर्न सांसदहरुलाई अपील गरेका थिए । 

डा. केसीको अपिल
माननीय सांसदज्यूहरु,
मेरो जानकारीमा आए अनुसार आज संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुँदैछ । त्यसमा जनता र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिबाट पारित गरिएको छ । हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन ल्याउन माननीयज्यूहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र अनुरोध पनि गर्न चाहन्छु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप