शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनको अर्थतन्त्रमाथि धक्का, २८ वर्ष यताकै न्यून गति

सोमबार, ०७ माघ २०७५, १४ : ४२
सोमबार, ०७ माघ २०७५

बेइजिङ– चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो । 

राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६.६ प्रतिशत भएको जनाएको छ । 

एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रुपमा कमी आएको छ । अर्थविज्ञहरुले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् । 

‘वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छ,’ एनबीएसका आयुक्त निङ जिझेले बताए ।

चिनियाँ प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनियाँ अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिइने दृढता व्यक्त गरे । 

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र  अमेरिकाबीचको व्यापारिक तनाब तीन महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच सहमति भएको थियो । 

दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता शुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनीया उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदैछ । 

चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ । अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३.८ प्रतिशतले मात्र वृद्धि भएको छ । 

चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गतवर्ष डिसेम्बरमा कमी आएको छ । 

प्रधानमन्त्री लीले गतसाता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताए, तर तथ्याङ्कहरु भिन्न रुपमा देखिएका छन् । गतवर्ष हरेक महिना समग्र ऋण प्रवाहको वृद्धि खुम्चिएको थियो । 

‘ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको छ,’ क्यापिटल इकनमिक्सका अर्थशास्त्री मार्क विलियम्सले बताए । 

ऋण प्रवाहमा भएका कडाईले गतवर्ष कारको बिक्रीमा कमी आएको थियो । यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १०.२ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ । डिसेम्बरमा बिक्रीमा ८.२ प्रतिशतको झिनो वृद्धि भएको थियो । 

कारखानाको उत्पादनमा समेत सन् २०१७ को ६।६ प्रतिशतबाट घटी भई गतवर्ष ६.२ प्रतिशत कायम भएको छ । 

विज्ञहरुले चिनियाँ सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् । चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनियाँ सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् । 

अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४.१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ । तर, चीनको आधिकारिक निकायले सन् २०१७ को आर्थिक वृद्धिदरलाई ६.९ प्रतिशतबाट घटाई ६.८ प्रतिशत कायम गरेको छ । –एएफपी
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप