चर्चभित्रको यौन शोषण र धर्म परिवर्तन
आर्थिक प्रलोभन र प्रभावका कारण नेपालमा क्रिस्चियनिटीको प्रभाव बढिरहेको छ । गाउँगाउँमा यसका मिसिनरीहरू पुगिरहेका छन् । गत महिना सम्पन्न युनिफिकेसन चर्चको सम्मेलन पनि यसको ज्वलन्त उदाहरण हो ।
नेपालमा मेरी क्रिसमसको शुभकामना आदान प्रदानले पनि यसको प्रभावको आँकलन गर्न सकिन्छ । अर्कोतिर अमेरिकाका चर्चभित्र बालबालिकामाथि भइरहेका यौन शोषणको कथाव्यथाले विश्वभर चर्चा पाइरहेको छ ।
क्रिस्चियनहरूको पवित्र मन्दिर अथवा आस्थाको धरोहर चर्चभित्र हुने बालबालिकामाथिको यौन शोषण भयावह दृश्यका रूपमा हाम्रासामु उभिएको छ । चर्चभित्र बालबालिकाहरूमाथि हुने गरेका यौन शोषणका बारेमा गठित छानविन समितिले डिसेम्बरको अन्त्यतिर १३ जना प्राइस्टको नाम सार्वजनिक गरेको छ, जसले सन् १९५० देखि लगातार बालबालिकामाथि यौन शोषण गरेका थिए । समितिले दोषी करार गरेका १३ मध्ये पाँचजना मरिसकेका, तीनजना आरोप लाग्नासाथ सो पदबाट मुक्त भएका र पाँचजनामाथि कारवाहीको प्रक्रिया अगाडि बढिरहेको छ ।
अझ आउँदा दिनमा अरू थुप्रै पादरीमाथि यस किसिमको कारवाही हुने निश्चित नै छ । हिजै मात्र फ्रान्सका एक उच्च तहका क्याथोलिक धर्म गुरुमध्येका एकजना फिलिप्पी वारवरिनलाई त्यहाँको अदालतले त्यस्ता अवैध सम्बन्ध ढाकछोप गर्न मद्दत गरेको आरोपमा मुद्दा चलाइएको छ र सोको पुष्टि भए उनी तीन वर्षका लागि जेल पुग्ने पक्का छ ।
बालबालिकामाथिको यौन शोषण चर्चका लागि लज्जास्पद घटना हा– पोप फ्रान्सिस ।
बालबालिकामाथि यौन शोषणको समाचार बाहिर आएपछि केही महिनाअघि आयरल्यान्डको भ्रमणमा रहनुभएका इसाई धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले एक सभालाई सम्बोधन गर्ने क्रममा भगवानसँग यस किसिमको माफी माग्नुभएको हो । उहाँले क्याथोलिक चर्चमा हुने गरेका यौन शोषण र हिंसा आगामी दिनमा नहोस् भनेर आफूले सक्दो कदम चाल्ने पनि बताउनुभएको थियो । चर्चलाई लागेको यो घाउ फ्रान्सिसले निको पार्नुपर्ने दबाब पनि बढिरहेको छ ।
करिब चार महिनाअघि अमेरिकामा चर्चभित्रको यौन शोाषणको कहालीलाग्दो समाचार बाहिर आएको थियो । अमेरिकामा प्रकाशित एउटा समाचारले अमेरिका मात्र होइन, विश्वभर तहल्का मच्चायो । भगवानका रूपमा आसीन कार्डिनल, विसप, पादरी र धर्मगुरुहरूले क्याथोलिक चर्चभित्र कसरी बालबालिकाहरूमाथि यौन शोषण गर्दारहेछन् भन्ने कुराको आधिकारिक प्रतिवेदन अमेरिकी राज्य पेल्सिल्भेनियाबाट सार्वजनिक भएपछि चर्च र पादरी धर्मगुरुविरुद्ध विश्वभर एउटा नकारात्मक तरङ्ग सिर्जना भयो र यसले परम्परित रूपमा रहँदै आएको चर्चभित्रको आस्थालाई पनि खल्बल्यायो ।
त्यसबखत पेन्सिल्भेनियामा ग्रान्ड जुरी (बृहत् अनुसन्धान समिति) ले पेन्सिल्भेनिया राज्यभित्रका विभिन्न छवटा इलाकामा गरेको अध्ययन र गहन सर्वेक्षणपछि जारी गरेको एउटा प्रतिवेदनले तीन सयभन्दा बढी पादरी वा धर्मगुरुहरूले चर्चभित्र विगत ७० वर्ष अर्थात् तीन पुस्ताका एक हजार भन्दा बढी बालबालिकाहरूमाथि बलात्कार तथा यौन शोषण गरेको कुरा पत्रकार सम्मेलनमार्फत सार्वजनिक भएपछि अमेरिका मात्र होइन, अमेरिका बाहिर चिली र अस्ट्रलिया लगायत अरू मुलुकमा पनि त्यस किसिमका काला कर्तुतहरू भयावह रूपमा ढाकछोप गरेर राखिएको रहेछ भन्ने स्पष्ट देखिन्छ । यौन शोषण गर्ने पादरीहरू र शोषित बालबालिकाहरू दुवै पक्षले प्रहरी तथा अदालतमा यसलाई अपराधको श्रेणीमा राखेर उजुरी नगरेको कारण यतिका वर्षसम्म यसले यति ठूलो रूप लिएको हो । अमेरिकाको इतिहासमा चर्चभित्र हुने गरेका यौन शोषणका बारेमा यति ठूलो रूपले अनुसन्धान गरी सार्वजनिक गरिएको यो पहिलो घटना हो ।
हुन त १६ वर्षअघि अर्थात् सन् २००२ मा बोस्टनको दैनिक पत्रिका बोस्टन ग्लोबले चर्चभित्रका विकृति र यौन शोषणका बारेमा धारावाहिक लेखेर पर्दाफास गरेको थियो र यसैको जगमा उभिएर यो अनुसन्धान गरिएको महान्यायाधिवक्ता जोस सापिरोले जानकारी दिएपछि समाचारपत्रको दायित्व र कर्तव्य के हो भन्ने पनि छर्लङ्ग भएको छ । चर्चको नेतृत्व तहमा रहनेहरूले कसरी यौन शोषणको कुरा लुकाउँदारहेछन् भन्ने कुरा यसले उजागर गरेको छ ।
झण्डै दुई वर्ष लगाएर तयार पारिएको करिब नौ सय पृष्ठ लामो यो प्रतिवेदनमा खासगरी ११ वर्षदेखि १३ वर्षका बालकहरू मुख्य रूपमा र त्यसकै हाराहारीमा बालिकाहरू यौन शोषणको शिकार भएको उल्लेख गरिएको छ । पीडित तथा प्रत्यक्षदर्शी दर्जनौँ व्यक्तिहरूसँग सोधपुछ गरी निकालिएको यो प्रतिवेदनमा बालबालिकामाथि हुने गरेका यौन शोषणका कारण मृत्युवरण गर्न पुगेको घटना पनि समावेश गरिएको छ । यसमा चर्चप्रतिको असीम आस्थाका कारण भगवानरूपी पादरीले कतिसम्म भने एउटा ७ वर्षको बालकलाई वर्षौंदेखि यौन शोषण गरेको र उनै पादरीले ती बच्चालाई ‘यो घृणित कार्य गरेर तिमीले पाप गर्यौ, अब प्रायश्चित गर्नुपर्छ भनेर बालकलाई प्रायश्चित गर्नसमेत लगाइएको’, घटना आफैमा हास्यास्पद र क्रूरता मिश्रित छ ।
त्यस्तै, गत हप्ता जेम्स ग्रेनले न्युयोर्कको अदालतमा भ्याटिकनका पूर्वकार्डिनल थियोडोर म्याकक्यारिकले ११ वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएका छन् । आफूलाई व्याप्टाइज गर्ने म्याकक्यारिकले आफ्नो लिङ्ग चलाएको आरोपसमेत ग्रेनले लगाएका छन् । धर्मको नाममा गरिएको यो अधर्म हो । रवर्ट हसी नाम गरेका पादरीले यसबाट पर्न गएको क्षतिप्रति अत्यन्त दुखित हुँदै क्षमा पनि मागेका छन् । यसले चर्चभित्र शोषण मात्र होइन, पाप र पुण्यको डर र त्रास देखाएर पीडितलाई थप पीडा दिने र पीडकलाई उन्मुक्ति दिइँदै आएको र यी यावत् कुराहरू ढाकछोप गरेर आफूमै सीमित राख्ने गरेको देखिन्छ ।
यी घटनाले के देखाउँछ भने पादरीहरू चर्चभित्र उन्मुक्त छन् र उनीहरूमाथि कसैले औँला ठड्याउन सक्दैन । यस किसिमका दर्दनाक कहानीहरू प्रतिवेदनमा यत्रतत्र छरिएका छन् । प्रतिवेदनले ज्यादै पुरानो घटना भएको र अधिकांश पादरीहरूको मृत्यु भइसकेको कारण दोषी धर्माधिकारीमाथि कारवाही चलाउन नसकिने जनाइएको छ । त्यसो त अमेरिकामा बाल यौन शोषण तथा दुराचार एक गम्भीर घटनाका रूपमा लिने गरिन्छ । कतिपय राज्यमा उसले गरेको अपराध बमोजिम आजीवन कारावास वा न्यूनतम पाँच वर्षसम्मको कैद सजाय तोकिएको छ ।
चर्च के हो ?
क्याथोलिक चर्चलाई सामान्यतया चर्च मात्रै भनिन्छ । यो क्रिस्चियनहरूको सर्वाधिक ठूलो आस्थाको केन्द्र हो । विश्वभर करिब एक अर्ब ३० करोड क्याथोलिक धर्म मान्नेहरू रहेको विश्वास गरिन्छ । यो विश्वकै पुरानो धार्मिक संस्थामध्येको एक मानिन्छ । पोप यसका प्रमुख हुन् भने जिसस क्राइस्टले यो धर्मको प्रतिपादन गरेका हुन् । यसले क्रिस्चियन विश्वास र आस्थालाई जीवन्त राख्न महत्वपूर्ण योगदान दिँदै आएको छ । यसका आस्तिकहरू विशेषतः आइतबार चर्चमा गएर जिसससँग सद्बुद्धि र प्रेरणा प्राप्त होस् भनेर प्रवचन सुन्ने र प्रार्थना आदि गर्ने गर्छन् । अमेरिकामा मात्र करिब ५० हजार प्राइस्ट छन् ।
धर्म भनेको आचरण पनि हो ।
व्यवहार पनि हो । शुद्धता पनि हो । यो वा ऊ धर्म भन्नुभन्दा पनि सबै धर्ममा यस किसिमका विकृतिहरू यदाकदा देख्ने गरिन्छ । नेपालकै तपस्वी भनेर चिनिएका रामबहादुर बमजनमाथि लागेको आरोप पनि यौन शोषणकै एक अङ्ग हो । अझ धर्मका ठेकेदारहरूले मन्दिर, मस्जिद, गिर्जाघर वा चैत्यमा यदाकदा गर्ने गरेको यौन शोषणको कथा यो वा त्यो धर्ममा मात्रै सीमित छैन, सबैतिर व्याप्त छ । कुनै पनि धर्मले व्यक्तिको आचरण र आनिबानीमा सुधार ल्याएर मानिसलाई सज्जन र चरित्रवान् बनाउने नै हो तर उल्लेखित घटनाले भने मानिसलाई उन्मुक्ति दिलाएको छ । धर्माधिकारीहरूले गरेको करतुत तत तत् धर्मका आस्तिकहरूका लागि एक भयङ्कर अभिशापका रूपमा रहने गर्छ ।
धर्म परिवर्तन गर्नु पर्दैन
धर्म मान्ने वा नमान्ने व्यक्तिको स्व–इच्छाको कुरा हो, स्व–इच्छाको निर्णय हो । अमेरिकामा अहिले करिब २३ प्रतिशत मानिसहरू कुनै पनि धर्ममा आबद्ध छैनन् । यसले के देखाउँछ भने अहिलेको पुस्ता निश्चित धर्मभन्दा पनि व्यक्तिको अधिकारको बारेमा सचेत छ । धर्मले नै धारणा गर्छ । धारणा गर्ने भएकाले नै धर्म भनिएको हो ।
गीतामा भनिएको छ स्वधर्मै निधनं श्रेय परधर्मो भयावह ः बरु नखाएरै मरौँ । अरू धर्मको मार्ग समात्नुभन्दा बरु मर्न निको हुने कुरा हाम्रो धर्मशास्त्रले उल्लेख गरेको छ । जे छ, यसैमा सन्तोष गरौँ । आफ्नो धर्म र संस्कृतिप्रति गौरव गरौँ यो नै श्रेयस्कार बाटो हो । हाम्रो सनातन धर्म वेदबाट निश्रित हो । सारा सृष्टि धर्ममा नै अडेको छ । वेदोअखिलो धर्ममूलम् वेद नै सबै धर्मको मूल हो भनेर मानिसकेपछि अरू धर्ममा लाग्नुपर्ने कारणै छैन । सबैले आआफ्नो धर्म नछाड्ने हो भने कसैले पनि धर्म परिवर्तन गर्नै पर्दैन ।
त्यसैले महाभारतमा भनिएको छ, धर्म एव हतो हन्ति धर्माे रक्षति रक्षितः धर्मको नाश भयो भने सबैको नाश हुन्छ, धर्मको रक्षा भयो भने सबैको रक्षा हुन्छ ।
माथिका उदाहरणहरूले के देखाउँछ भने धर्म परिवर्तन गरेर जिससको वा अरूको स्तुति गाउनुभन्दा गीता गाउँ । वेद र उपनिषद्को अध्ययन गरौँ, सबै कुरा छर्लङ्ग हुन्छ । म यहाँ अग्रज पत्रकार रमेश शर्माले लेख्नुभएको अमेरिका अराइज एन्ड अवेक र अमेरिका तत्वमसी नामक दुईवटा कृतिमा अमेरिकी राज्य व्यवस्था वेदको शाखा उपनिषदका मूलभूत मान्यतालाई आत्मसात गरेको कारण वास्तवमा अमेरिका हिन्दू राष्ट्र हो भन्नुभएको कुरालाई पनि धर्म परिवर्तनकारीहरूले हेक्का राख्नुपर्ने कुरा हो । अस्तु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज
-
भूपिका सिर्जना अँध्यारो हटाउने ‘दीपशिखा’
-
अजरबैजान एयरलाइन्स दुर्घटनापछि सुरु भएको अफवाहबारे रुसले दियो यस्तो चेतावनी
-
मेरिटोक्रेसी नाममा मात्र सीमित, भागबन्डाबाटै नियुक्ति
-
अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो ब्याट्सम्यान बने बाबर आजम
-
लिम्बू भाषामा चलचित्र ‘सेक्मुरी’ बन्ने