शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आनन्द तेलतुमडेको सम्भावित गिरफ्तारीको विपक्षमा

सोमबार, ०७ माघ २०७५, ०९ : ४१
सोमबार, ०७ माघ २०७५

हामी एउटा विरामी समय भोगिरहेका छौं । जवाहारलाल नेहरु विश्वविद्यालयका तीन जना विद्यार्थी नेताहरू–कन्हैया कुमार, उमार खालिद र अनिरव भट्टाचार्यलाई देशद्रोहको अभियोगमा मुद्दा दायर गरिएको समाचारसँगै महाराष्ट्र प्रहरीले चर्चित बुद्धिजीवी एवं स्तम्भकार आनन्द तेलतुमडेलाई पक्राउ गर्ने खोजिरहेको खबर पनि आयो । उनीविरुद्ध गैरकानुनी गतिविधि नियन्त्रण ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । त्यसको अर्थ उनलाई बिना कुनै प्रमाण वा अपुग प्रमाण तारिखमा रिहाई हुन नसकिने गरी कैद गर्न सक्नेछन् । अरु सयौं सङ्ख्याका शिक्षक, वकिल, अभियन्ता र साधारण मानिसलाई जुन मिथ्या आरोपमा गिरफ्तार गरिएको थियो, उनलाई पनि सोही अपराधको अभियोग थोपरिएको छ । 

उनीहरू सबैलाई माथिल्लो अदालतले समयक्रममा रिहा गर्नेमा कुनै सन्देह छैन । अदालतले उनीहरूलाई रिहा गरेपश्चात यो देशको न्यायालयप्रतिको हाम्रो विश्वास अझ उँचो हुनेछ । तर जहाँसम्म कैदीहरूको प्रश्न छ, उनीहरूलाई वर्षौ वर्षसम्म कैदमा राख्न सक्छन् । उनीहरूलाई जेलमा नसडेसम्म छोडिनेछैन । उनीहरूको वृत्तिविकास सबै भताभुङ हुनेछ । उनीहरूका आफन्तजन सबै यताउता भौंतारिरहेरै थाक्नेछन् । उनीहरूलाई मनौवैज्ञानिक र आर्थिक रुपमा ध्वस्त बनाउन खोजिनेछ । हामीलाई थाहा छ, भारतमा सरकारी प्रक्रिया नै सबभन्दा ठूलो सजाय हुने गर्दछ । 

आनन्द तेलतुमडे हाम्रो समयका सबभन्दा महत्वपूर्ण जनपक्षीय बुद्धिजीवीमध्ये एक जना हुन् । ‘अम्बेडकरको महाड सत्याग्रह’, ‘खैरान्जी हत्याकाण्ड’ र सबभन्दा पछिल्लो कृति ‘रिपब्लिक अफ कास्ट’ पुस्तक निकै महत्वपूर्ण र अत्यावश्यक पुस्तकहरू हुन् ।  आनन्दलाई पक्राउ गर्नुको अर्थ खोटरहित बौद्धिक इतिहास बोकेको एकजना शक्तिशाली र विशेष दलित आवाजलाई दबाउने र निमोठ्ने प्रयास हो । उनको गिरफ्तारी अरु केही होइन, राजनीतिक दमन नै हुनेछ । यो गिरफ्तारी भए  हाम्रो इतिहासकै सबभन्दा लज्जास्पद र आश्चर्यचकित पार्ने घटना हुनेछ । 

स्क्रोल.आईएन १६ जनवरी, २०१९
नेपाली अनुवादः नीरज लवजू
                                                           
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुन्धती रोय
अरुन्धती रोय
लेखकबाट थप