‘डु यु वान्ट नाइस गर्ल ?’
हिमालयका दूत अर्थात लाङ्टाङ सद्भावनादूत अशोक सिलवाल केही समयअघि श्रीलङ्का गएका थिए । सगरमाथा उभिएको देशबाट महासागरले घेरिएको देश गएका तिनै यात्रुको यात्रा संस्मरणको पाँचौँ शृङ्खला हो यो ।
संयोग हो कि सधैँ त्यस्तै, कोलम्बो र आसपास ट्राफिक निकै व्यवस्थित नभए पनि अस्तव्यस्त चाहिँ थिएन । एयरपोर्टबाट कोलम्बोको मुख्य केन्द्र पुग्दा श्रीलङ्काको अर्काे अवतार देखेँ । एक छिन त श्रीलङ्का नभएर अन्तै कतै आइपुगेको भ्रम भयो ।
सिनित्त सफा सडक । जेब्रा क्रसिङ । चलायमान हावा र हरिया रूखहरू । ठुल्ठुला होटल, टावर विल्डिङ, विदेशीहरूको चहलपहल । यी सबै देख्दा युरोपको सभ्रान्त सहर पुगेझैँ भएँ । होटलमा चेक इन भएपछि म रुफ टप रेस्टुरेन्टबाट श्रीलङ्काको ‘युरोप’ नियाल्न थालेँ । केही फोटा खिचेँ । समय बितेको पत्तै भएन ।
साँझ पर्दानपर्दै वरिपरिको वातावरण बत्तिले धपक्कै बल्यो । ठुल्ठुला बिल्डिङहरू ज्योतिपुञ्जमा बदलिए । सडक उस्तै उज्यालो । टहलिन बाहिर निस्केँ । काठमाडौँको जाडो थिएन त्यहाँ । एकसरो पातलो कपडामा पनि कोलम्बो निकै न्यानो थियो । सडक वरपर प्रशस्त खुला ठाउँ थिए । सडकछेउका मेचहरूमा स्थानीयहरू घर आँगनमै झैँ ढुक्कले बसिबियाँलो गर्दै थिए । डच हस्पिटल लेखेको बार नभएको एउटा ठूलो गेट देखेँ । अस्पताल रहेछ भन्ठानेर यसो हेरौँ न त भनेर भित्र छिरेँ । तर त्यो कुनै अस्पताल रहेनछ । त्यहाँ त खास्साका रेस्टुरेन्ट र पसलहरू मात्र रहेछन् । कुनै बेला डच उपनिवेश रहेको श्रीलङ्कामा त्यस्ताका त्यहाँ अस्पताल नै थियो होला । डच उपनिवेश हटेपछि डच हस्पिटलले पनि आफ्नो अस्तित्व गुमायो होला । हस्पिटलको ठाउँमा रेस्टुरेन्ट र पसलहरू खुले होलान् ।
याे पनि....
तिनको बनावटी मुस्कान र मेरो तयारी
उपनिवेश नबेहोरेको गौरवपूर्ण इतिहास भएको नेपाल तर श्रीलङ्का कुनै बेला डच मात्र होइन, पोर्चुगिज र पछि अङ्ग्रेजको पनि उपनिवेश भयो । त्यसैको प्रभावले होला, दिउँसो कोलम्बोतिर फाट्फुट्ट चर्चहरू पनि देखिभ्याएको थिएँ ।
मनतातो बतास खाँदै होटल फर्कें । डिनरमा चिकेन बिर्यानी खाएँ । उसिनेको अन्डाका केही टुक्रा, कुखुराको एउटा फ्राइड सपेटो, मसलादार तरकारी । वाह ! बिर्यानी । निकै स्वादिलो लाग्यो । अरू टेबलमा अरूले खाइरहेका खाना पनि स्वादिलै देखेँ । विभिन्न देशका मानिस आआफ्ना रुचि अनुसारका परिकार खाँदै थिएँ ।
अर्काे देशमा गएर आफ्नै देशको खाना खानुको मजा त छँदैछ, अर्काेको देशमा गएर त्यही देशको खाना खानुको पनि मजा छ । त्यसअघि काठमाडौँमा पटकपटक बिर्यानी खाएकाले मलाई खानाको हिसाबले श्रीलङ्कामा छु जस्तो लागेन । त्यो एक नर्मल खुवाइ थियो । ठुला होटलमा अन्तर्राष्ट्रिय स्वादका अनेक परिकार पाइन्छ तर स्थानीय खानपानका लागि स्थानीय होटलहरू नै चहार्नु पर्छ । श्रीलङ्का वा नेपाल मात्र होइन, जहाँतहीँ त्यही हो ।
खानापछि म रुम झरेँ । एसी अन गरेर कोठालाई हल्का चिस्याएँ र मोबाइलमा वाइफाई अन गरेर नेपालको खबर बुझ्न थालेँ । एकाध नेपाली समाचार पोर्टल हेरिसकेपछि फेसबुक हेर्न सुरु गरेँ । तपाईंलाई थाहा छँदैछ, फेसबुक हेर्न थालेपछि समय कसरी कति चाँडै चिप्लिन्छ ।
रातको ११ बजिसकेछ । कोठामा फोनको घन्टी बज्यो । त्यो तल होटलको लबीबाट मेरो श्रीलङ्का यात्राको चाँजोपाँजो मिलाउने आयोजक श्रीलङ्का प्रेस एसोसिएसनको साथी कुरुलुको फोन रहेछ ।
याे पनि....
श्रीलंका सिरिजस्: हुलियाले कहिले हँसायो, कहिले रुवायो
‘हेलो अशोक ! यति राति फोन गरेर मैले तिमीलाई डिस्टर्ब त गरिनँ’, श्रीलङ्काको राष्ट्रिय अङ्ग्रेजी दैनिक डेली मिररको उम्दा पत्रकार हो कुरुलु, उसले सुरुमै भनिभ्यायो ।
‘म निदाएको थिइनँ । त्यसैले डिस्टर्ब हुने त कुरै भएन । तर यति बेला किन आइरहनु पथ्र्याे र ?’, मैले भनेँ ।
‘तिम्रो स्वागत गर्न बिहान एयरपोर्ट पनि आउन सकिनँ । यही कार्यक्रमको मेनेजमेन्टमा लाग्दालाग्दै दिउँसो पनि व्यस्तै भएँ । त्यसपछि न्युजपेपरको काम भर्खर सकाएर हतारहतार तिमीलाई भेट्न आएको । के तिमी एक पटक तल आउँछौ ?’, उसले भन्यो ।
‘एकै मिनेट है त’, त्यति भनेर म झरिहालेँ ।
लबीमा हामीले हात मिलायौँ । गला लगायौँ । त्यो उसको र मेरो पहिलो भौतिक भेट थियो । तर त्यहीँबाट श्रीलङ्का र श्रीलङ्कनप्रति ममा अझ गहिरो आत्मीयता सुरु भइसकेको थियो ।
‘श्रीलङ्काको पहिलो दिन र यहाँको बसोबासमा केही समस्या त परेन नि ?’, उसले सोध्यो ।
‘सबै राम्रो भयो र राम्रै भइरहेको छ’, मैले भनेँ ।
‘तिमी समुद्र किनार गयौ नि ?’, सायद ‘म पक्कै गएको थिएँ’ भन्ठानेर उसले सोध्यो ।
‘अँ हँ’, मैले भनेँ ।
याे पनि.....
श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ
‘नजिकै थियो त । यहाँबाट ४–५ मिनेट मात्र लाग्छ’, नगएकोमा आश्चर्य मान्दै उसले मलाई जान प्रेरित गर्याे, ‘यो टुरिस्टक एरिया हो । यहाँ रात पर्दैन । अहिले जाँदा पनि हुन्छ । ढुक्क भएर जाऊ । समुद्रको मीठो हावा खाऊ । रमाइलो हुन्छ र त्यसले तिमीलाई फ्रेस पनि बनाउँछ ।’
ऊ पनि मजस्तै चुरोटे रहेछ । छुट्निुअघि होटलको आँगनमा एक–एक खिली चुरोट सल्कायौँ । ‘कुनै पनि समस्या पर्याे भने कुनै पनि समय सम्पर्क गर है’ भनेर उसले कार्ड दियो । मलाई बाटो बताउँदै ऊ आफ्नो बाटो लाग्यो ।
अघि भर्खरसम्म कोलम्बो अझ खासगरी म बसेको होटल समुद्री किनारमा छ भन्ने थाहा नभएको म, त्यतैतिर लागेँ । तर रातको त्यो समय मलाई ५ मिनेट पनि निकै लामो लाग्यो । म समुन्द्र नपुगी बीचबाटै फर्कें । बाटो छेउछाउ ठुल्ठुला उज्याला होटलहरू मात्र थिएनन्, होटलअगाडि होटलको तुलनामा निकै फुच्चे लाग्ने ट्याक्सीहरू पनि थिए । म ती ट्याक्सीहरूलाई पार गर्दै आफ्नो होटलतिर नजिकिँदै थिएँ । ड्राइभरहरू
पालैपालो म नजिक आइरहे ।
एउटाले सोध्यो, ‘डु यु वान्ट गर्ल ?’
म झस्किएँ । त्यो निकै अचम्मको प्रश्न थियो । सयमा एक मनले पनि सोचेको थिइनँ ।
‘नो’, सामान्य हिसाबले मैले भनेँ ।
लगत्तै अर्काे ड्राइभर मेरो सामुन्ने आइपुग्यो र सोध्यो, ‘डु यु वान्ट नाइस गर्ल ?’
उसलाई पनि उही जवाफ दिएँ, ‘नो ।’
याे पनि.....
मान्छेपिच्छेको रोजाई, मान्छेपिच्छेका कथा
फेरि अर्काे आइपुग्यो । उसले पनि उही आशयको आग्रह गर्याे, ‘पहिले हेर अनि मन पर्याे भने... ।’
‘आइ डोन्ट वान्ट’, मैले भनेँ ।
मलाई राम्रो के लाग्यो भने उनीहरू प्रत्येकले एक पटक राम्ररी सोधे र ‘नो’ भनेपछि फरक्क फर्किए । झर्काे लाग्ने गरी सोधिरहने वा लिसो झैं टाँस्सिने प्रयत्न गरेनन् ।
होटल आइपुग्दा मेरा लागि विलाशी कोठा थियो । मुलायम ओछ्यान थियो । तातोचीसोको व्यवस्था थियो । तर त्यही कोलम्बोका ठुल्ठुला होटलअगाडि सडकपेटीमा उमेर वा कुपोषणले जीर्ण शरीर लिएर वृद्धवृद्धा पातला पछ्यौराहरू तानतुन गर्दै कुक्रुक्क सुतिरहेका थिए । त्यो दारुण दृश्य देखेर फोटो खिच्न मोबाइलको क्यामरा अन गरेँ । तर, मन तत्काल बदलियो । फोटो नखिच्ने निर्णय गर्दै मोबाइल खल्तीमा हालेँ ।
मध्यरातमा ती अभागी मानिसका सम्झनाले मलाई विलाशी ओछ्यानमा समेत निद्रा आएन । मेरो काठाकै फ्ल्याटको कमन हलमा आएँ । एउटा चाइनिज चुरोट तानेर बसिरहेको रहेछ । ऊ छेउ गएँ । उसले जस्तै
मैले पनि एउटै एस्ट्रेमा धुवाँ टक्टक्याउन थालेँ ।
‘हेलो’, बात उसैले सुरु गर्याे ।
‘हाइ’, सट्टामा मैले भनेँ ।
ऊ सिभिल इन्जिनियर रहेछ । चाइनिज लगानीमा त्यतैकतै बन्दै गरेको पुल सुपरीवेक्षण गर्न केही दिनको लागि मात्र कोलम्बो आएको रहेछ । उसले आफ्नो चाइनिज नाम भन्यो, थ्ह्वाङ ।
‘तर सजिलोका लागि तिमी मलाई इरिक भनेर सम्झ । यो मेरो अङ्ग्रेजी नाम हो’, उसले भन्यो ।
ग्वाङदोङ प्रान्त निवासी इरिकसँग अङ्ग्रेजी नाम त थियो तर नाम अनुसारको अङ्ग्रेजी भाषा भने थिएन । ऊ एउटा अङ्ग्रेजी शब्द खोज्न र भन्न निकै सेकेन्ड लगाउँथ्यो । मैले उसलाई निकै ध्यान दिएर सुनेँ र उसको भाव हेरेर उसले भन्न खोजेको बुझेर थुप्रै अङ्ग्रेजी शब्दहरू भनेँ ।
त्यसपछि यस, यस भन्दै ऊ मैले भनेकै अङ्ग्रेजी शब्दहरू दाहोर्याउँथ्यो ।
उसले उसको कुरा मात्र भनेन, मेरोबारे पनि सोध्यो ।
मैले पनि मेरो प्रोफेसन र प्यासनहरूबारे भनेँ । उसले त्यसपछि मसँग विच्याटमा जोडिन र सेल्फीसमेत खिचिपाउन अनुरोध गर्याे । उसले मध्यरातमा मसँगको सेल्फी खिच्यो ।
उसले चाइनिज सिगरेट अफर गर्याे, मैले नेपाली ।
गुडनाइट भन्दै हामी आ–आफ्नो कोठा छिर्याैं । कोठामा नपुग्दै केही समयअघि तिब्बतबाट फर्केलगत्तै काठमाडौँमा खोलेको विच्याटमा उसले अघिको फोटो पठायो । मेरा केही फोटा पठाउन भन्यो ।
मैले हिमालयतिरका केही फोटा पठाइदिएँ । त्यसपछि उसले आफ्नी श्रीमतीसहितको निकै कलरफुल फोटो पठायो । र भन्यो, ‘सिसाको पुलमा खिचेको ।’
‘सिसाको पुल !’, मैले आश्चर्य जताएँ । मेरो लागि त्यो निकै नौलो थियो ।
‘यो सामान्य हो । चाइनामा सिसाका अनगिन्ती पुलहरू छन्, तिमीहरूकहाँ सिसाको पुल छैन ?’, मेरो आश्चर्यलाई शान्त पार्दै तर आफू जिज्ञासु बन्यो ऊ । उसले थप्यो, ‘मेरो मौखिक अङ्ग्रेजी राम्रो नभएकोमा क्षमा चाहन्छु । कुनै दिन नेपाल आए म तिमीलाई सम्पर्क गर्छु । अहिलेसम्म नेपाल आउने कुनै योजना नभए पनि एक दिन म अवश्य नेपाल आउनेछु र तिमीलाई भेट्नेछु ।’
के त्यो चाइनिज इन्जिनियर नेपाल आउला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव