सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जनगायक नारायणभक्तको जीवन : रायन मै हुँ भनेर पत्ता लगाउनै सक्दैनथे

आइतबार, ०६ माघ २०७५, ११ : १५
आइतबार, ०६ माघ २०७५

जनगायक रायन अर्थात नारायणभक्त श्रेष्ठ । नारायणभक्त वास्तविक नाम भए पनि उनी रायनको नामबाट परिचित छन् । 

पञ्चायत कालदेखि नै जनजागरणका गीत गाउँदै जनतामाझ रमाउँदै आएका उनले सङ्गीत गरेको ‘बलिदान’ फिल्मको ‘गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ...’ बोलको गीत अहिले पनि चर्चित र लोकप्रिय छ ।
४ वर्ष रेडियो नेपालमा जागिरे जीवन बिताएका उनी विकृति विसङ्गतिलाई विद्रोहको गीत बनाएर रेडियोबाट प्रस्तुत गर्थे । सोही कारणले उनी रेडियो नेपालको सेवाबाट बाहिरिनु पर्यो ।

२०१९ मा अखिल नेपाल राष्ट्रिय लोक गायनबाट यात्रा थालेका उनी साहित्यकार पारिजातको नेतृत्वमा बनेको राल्फा अभिनयनका एक अभिन्न अङ्ग भए । यो अभियानमा होमिएपछि उनको नाम नारायणभक्तबाट रायन बनेको थियो ।

नेपाल सरकारले गायक रायनलाई हालै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा समेत नियुक्त गरेको छ । यिनै रायनसँग रातोपाटीको मेरो जीवनका लागि कुवेर गिरीले गरेको कुराकानी । 
 

मेरो खाना
मलाई साधारण खाना अर्थात दाल, भात र तरकारी मनपर्छ । मन नपर्ने खानेकुरा अहिलेसम्म केही छैन । पकाउन पनि रुचि रहँदै आएको छ ।

मासु, दालभात, तरकारीलगायतका परिकार मीठो पकाउँछु । रेस्टुरेस्टमा गएर खाने बानी छैन । स्वच्छ खानाको अभाव हुने भएकाले पनि रेस्टुरेन्ट जान मन लाग्दैन ।
  
मेरो पोसाक
पोसाकमा सौखिन छुइनँ भन्दा हुन्छ । अहिले कोट, पाइन्ट र सर्ट सधैँ लगाउने गरेको छु । ठिटो अवस्थामा पनि त्यस्तो धेरै पहिरनमा रुचि थिएन । सो समय कमिज र पाइजामा बढी प्रयोगमा आउँथ्यो । त्यतिबेला रोजेर पहिरन लगाउन कहाँ पाइन्थ्यो र ?

पहिरनमा धेरै खर्च पहिले पनि थिएन र अहिले पनि छैन । वर्षमा सामान्य एक दुई जोर पहिरन किन्छु । निलो कलरको पहिरन मलाई बढी मनपर्छ । 

मेरो फिटनेस
यो उमेरसम्म पनि फुर्तिलो हुनुको रहस्य भनेको श्रम नै हो । म जनतासँग जोडिएको व्यक्ति हुँ । जनताको बीचमा गएर विभिन्न कार्यक्रम गरिरहने भएकाले एक्सरसाइज कामबाटै हुने गदथ्र्याे ।


त्यसैले म भन्छु, कामले नै मलाई फिट राखेको छ । अर्काे कुरो भगवानको बरदान भनौँ । खानपिनले पनि मद्दत पुगेको छ । 

मेरो अध्ययन
अध्ययन गर्न रुचि लाग्छ । विभिन्न किताब पढिरहेको हुन्छु । अहिले अमर गुरुङको ‘संस्मरण’ र महजोडीको ‘मह’ लगायतको पुस्तक पढ्दै छु ।

यी पुस्तक अध्ययन गर्न भ्याएको थिइनँ । फरक फरक पुस्तक पढ्ने मेरो रुचिको विषय हो ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । जनतासँग जोडिएको व्यक्ति भएकाले कामले नै घुमाउने गरेको छ । देशको प्रायः जिल्ला घुमेको छु । देशको उत्तरी भेगका केही स्थानमा मात्र पुगेको छु । अन्य भेगका सबै ठाउँ घुमेको छु । 

अझै पश्चिमको दार्चुला, बैतडीलगायत केही जिल्ला पुग्न सकेको छैन । २० को दशकमा राल्फा अभिनयानको सिलसिलामा धेरै ठाउँ घुमेको थिएँ ।

भारतको आसामदेखि नेपाली बस्ती भएका प्रायः स्थान, अमेरिका, चीन, उत्तर कोरिया, थाइल्यान्ड पुगेको छु । युरोप पुग्न पाएको छैन ।
 
मेरो फुर्सद
फुर्सद कम हुने व्यक्ति हुँ म । पत्रिका पढ्नु पर्यो भने राती ११, १२ बजेतिर पढ्नुपर्छ । कहिलेकाहीँ दिनमा १, २ घण्टा फुर्सद हुन्छ । यो समय घरको काम गर्छु । 

म जनतासँग जोडिएको व्यक्ति भएकाले अरूलाई काम लगाएर आफू फुर्सदमा बस्ने बानी छैन । म मात्र होइन मेरी श्रीमती पनि घरको कामका लागि जुट्छिन् । 

मेरो खेलकुद
खेलकुदतिर धेरै इन्ट्रेस्ट छ । युवा अवस्थामा फुटबल बढी मन पथ्र्यो । ब्याडमिन्टन, चेस, भलिबल धेरै खेल्थेँ ।

पहिला त म अखिल नेपाल फुटबलसँगबाट राष्ट्रिय स्तरमै खेल खेल्थे । यो २०१९, २० तिरको कुरो हो । अहिले त्यो कुरो इतिहास भयो ।

सो समय म रायन भनेर चिनिएको थिइनँ । भूमिगत अवस्था थियो । कलेजमा म नारायणभक्त श्रेष्ठ भनेर चिनिन्थे । जागिर खाँदा पनि यो नामले चिनिन्थे ।

म जहाँ काम गर्थे रायन भन्ने यो अफिसमा पसेको छ भनेर खोज्न आउँथे । तर म हुँ भनेर पत्ता लगाउन सक्दैन थिएँ । अहिले पनि विभिन्न समयमा आयोजना भएको महत्त्वपूर्ण फुटबल गेम हेर्ने गरेको छु ।   

मेरो मोबाइल
केहीअगाडिसम्म सोनी ब्रान्डको मोबाइल चलाउँथे । अहिले भने सामसुङ लिएको छु । केही समय मात्र भयो यो लिएको । 

यो राम्रो ब्रान्डको मोबाइल भन्छन् । मेरा लागि मोबाइल, फोन गर्ने र आएको उठाउने मात्र हो । मोबाइलबाट विभिन्नथरीका काम गर्न सकिन्छ । तर म त्यो जान्दिनँ । चलाएको मोबाइल नबिग्रिएसम्म अर्काे फेर्ने बानी छैन । 

मेरो टीभी
टेलिभिजन कम हेर्छु । टेलिभिजनमा प्रायः समाचार सुन्छु । त्यसपछि बचेको समय सांस्कृतिक कार्यक्रम हेर्छु । 

कहिलेकाहीँ परिवारले टीभी हेरिरहेको समय अन्य कार्यक्रम पनि हेर्छु । घरमा सोनी ब्रान्डको पुरानो टीभी छ ।

मेरो चलचित्र
अक्सर चलचित्र हेर्ने गरेको छैन । पहिले पहिले विद्यार्थी कालमा हेरिथ्यो । सो समय बढी भारतीय फिल्म हेर्थें । नेपाली फिल्म बन्नेक्रम भर्खर सुरु भएको थियो । नेपाली भनेर गर्व लाग्थ्यो, हेरिन्थ्यो । 

२०२१ मा बनेको फिल्म ‘आमा’ पछि नेपाली फिल्म हेरेको छैन । ‘बलिदान’ पनि हेरेको थिएँ । त्यस्तो कुनै उत्कृष्ट चलचित्र बन्यो भने हेर्छु । नत्र चलचित्र हेर्नु समयको बर्बादी जस्तो लाग्छ । 

कलाकार धेरै चिन्छु । म पनि कलाकार भएकाले विभिन्न कार्यक्रममा जाँदा भेटघाट हुने गरेको छ । सोही कारण पनि धेरैसँग चिनजान छ ।

मेरो रोग

भगवानको कृपाले ठूलो रोग केही छैन, सुगर छ । २०४६ को आन्दोलनपछि मलाई यसले छोयो । त्यतिबेला म कहिले अन्डरग्राउन्ड कहिले ओभर ग्राउन्ड हुने अवस्था थियो । खानपिन नियमित र राम्रो मिल्दैन थियो ।  

त्यसैले पनि म केही समय बिमारी परे । एक महिनाभन्दा लामो समय थलिए । उपचारका लागि अस्पताल भर्ना भएको थिए । भर्ना हुँदा मलाई सुगर थिएन ।

डिस्चार्ज भएर घर जाने दिनमा जचाउँदा सुगर देखियो । मलाई अस्पताल नै सुगर लाग्यो । त्योबाहेक अन्य केही रोग छैन । 

मेरो भाषाशैली
म गीतकार, नाटक पनि लेख्न भएकाले नेपालीमै बोल्न मनपर्छ । आदर गरेर बोल्न र बोलेको मनपर्छ । 

मेरो मापसे
म कहिलै मापसे गर्दिनँ । पहिले पनि गर्दिनथँे । तर यसको स्वाद थाहा नभएको भने होइन । म नेवार भएको हुनाले कहिलेकाहीँ चाड पर्वमा, अरूको घरमा जाँदा सगुनको रूपमा लिनुपर्छ । त्यो पनि म छर्कने मात्र हो । 

मेरो सङ्गीत
जनजागरणको गीत–सङ्गीत नै मनपर्छ । पहिलेदेखि अहिलेसम्म यस्तै गीत सङ्गीत सुन्न मनपर्छ । 

नेपाली कलासंस्कृतिले भरिएका, त्यस्तो विषय समेटिएका गीत सङ्गीत सुन्ने गरेको छ । आफूले सुनेको गीतसङ्गीत राम्रोभन्दा धेरै राम्रो कसरी बनाउने भन्नेतिर मेरो ध्यान सधैँ रहन्छ ।  

मेरो भूल
भूल त युवा अवस्थामा कति गरियो गरियो होला । भूल नगरिकन सिक्दा पनि सिकिँदैन भन्ने मेरो मान्यता हो । स्कुलको समयमा कहिलेकाहीँ भूल नगरी पनि सजाय पाएँ होला । अहिलेसम्म त्यस्तो ठूलो भूल गरेको छैन । 

मेरो सौन्दर्य
सौदर्यतिर ध्यान जाँदैन र कहिल्यै पनि गइनँ । उमेरमा पनि केही ध्यान दिए जस्तो लाग्दैन ।  त्यतिबेला हेयरस्टाइल बनाउने गरियो होला । तर विशेष ध्यान कहिल्यै भएन ।


म जनताको माझमा जानुपर्ने मानिस भएकाले पनि जनताकै शैलीमा जान्थे । जनताको माझमा टिपटप बनेर जाँदा उनीहरूसँग घुलमिल हुन गाह्रो हुन्थ्यो । उनीहरू मन खोलेर नबोल्ने भएकाले पनि  सौन्दर्यले विशेष प्रथामिकता कहिलै पाएन । 

मेरो प्रेम
प्रेम धेरै किसिमको हुन्छ । मेरो प्रेम विवाह भएको हो । जतिबेला म प्रेममा थिएँ सो समय समाजले फलानाका छोरा, फलानोकी छोरी एकअर्काेसँग सल्किए भन्ने गथ्र्यो ।
मैले जोसँग प्रेम गरेँ त्यहीसँग मागी विवाह गरेको हो । अहिलेसम्म पनि त्यो प्रेम चलिरहेको छ । 

मेरो सपना 
म जनताका बीचमा रमाउने कलाकार भएकाले जनताको माझमै रमाउन चाहन्छु । हाम्रो देश कलासंस्कृतिले विश्वमै धनी छ । हाम्रो यो कलासंस्कृति अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, प्रथामिकतामा पार्ने  सपना छ ।
 
मेरो राजनीति 
राजनीतितिर रुचि छ । यसमा रुचि छ भन्दैमा झण्डै बोकेर कहिल्यै हिँडिनँ, हिँड्ने पनि होइन । म एउटा प्रगतिशील कलाकार भएकाले मेरो राजनीति भनेको जनताको बीचमा पुगेर सचेत पार्ने, अन्याय अत्याचारविरुद्धमा आवाज उठाउन प्रेरित गर्ने, मानव अधिकार, न्याय निसाफका विषय सिकाउने हो । 

मेरो राशि
राशि तुला हो । ग्रहदशामा सबै विश्वास गर्छन् । मैले कहिल्यै विश्वास गरिनँ, लाग्दैन पनि । मन्दिर जाने, ज्योतिषीलाई देखाउने विषयले मेरो जीवनमा कहिल्यै प्रथामिकता पाएन ।

मेरो मृत्यु
मृत्यु अपरिहार्य छ । यो टारेर पनि टार्न नसकिने विषय हो । जन्मिएपछि मृत्यु अनिवार्य छ । दर्दनाक मृत्यु नहोस् । सुखान्त मृत्यु होस्  । 

मृत्यु हुँदा पनि पहाडको ओझिलो जस्तो मृत्यु रहोस् । आफूले गरेको योगदान दुनियाँले सम्झने खालको मृत्युहोस् । यही इच्छा छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप