बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक महिने साँखु–सालीनदी मेलाको यस्तो छ तयारी : बढी पैसा असुल्ने गाडी र पसलेमाथि कारवाही गरिने

शनिबार, ०५ माघ २०७५, १७ : ३९
शनिबार, ०५ माघ २०७५

श्री स्वास्थानी ब्रतकथामा आधारित रहेर पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म काठमाडौँको साँखुमा लाग्ने सालीनदी मेलाको तयारी पूरा भएको छ । 

यसवर्ष माघ ७ गतेदेखि १ महिनासम्म चल्ने सालीनदी मेलाका लागि सुरक्षा, स्वास्थ्य, यातायात लगायतका बिषयमा सम्पूर्ण तयारी पूरा भएको श्री माधव नारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ । 

शनिवार शंखरापुर नगरपालिका साँखुमा गरिएको पत्रकार सम्मेलनमा मेलाको सम्पूर्ण तयारी पूरा भएको पूर्व व्यवस्थापन समितिका अध्यक्ष राजुभाई मानन्धरले जानकारी दिए । उनले मेलामा आउने दर्शनार्थीहरुका लागि टोल टोलमा एक एक संयोजक रहने २६  सदस्यीय कमिटी बनाईएको जानकारी दिए । 

मानन्धरले अघिल्लो पटक मेलामा सञ्चालित खाजा पसलहरुले जथाभावी रुपमा पैसा लिने गरेकोमा यसवर्ष नियमित अनुगमन गरेर कडाई गरिने बताए । उनले भने, ‘बजार व्यवस्थापनका लागी अनुगमन गर्न छुट्टै टिम बनाएका छौँ । बढी पैसा असुल्ने पसलेमाथि कारवाही गर्छौँ । 

यस्तै शान्ती सुरक्षाका लागि महानगरीय प्रहरी प्रभाग साँखुसँग समन्वयनमा गरिएको जानकारी दिँदै काठमाडौँबाट साँखुसम्म चल्ने सार्वजनिक सवारीको व्यवस्थापन अघिल्लो वर्षको तुलनामा व्यवस्थित गरिने उल्लेख गरे । यस्तै मेलामा आउने दर्शनार्थीहरुको आकस्मिक स्वास्थ्य उपचारका लागि स्वास्थ्य टोली परिचालन गरिने भएको छ । 

यस्तै पत्रकार पवनलाल श्रेष्ठले परम्परा र सस्कृतिको संरक्षणको लागी शालीनदीमा हरेक बर्ष १ महिना चल्ने मेला महत्वपूर्ण रहेको बताउँदै यसको व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरे ।  

साँखु बस ब्यवसायी समितिका अध्यक्ष गोविन्द श्रेष्ठले यो बर्ष दुईओटा बस ब्यवासायी संघको बस चल्ने र प्रत्येक गाडीमा भाडादर टासिने जानकारी दिए । उनले विदाको दिन पनि राती दश बजेसम्म गाडी चल्ने जानकारी दिए ।  

उनले मेलामा आउने यात्रुसँग बढी भाडा लिने  सावारीसाधानहरुलाई तत्काल कारवाही गर्ने बताउँदै बैकल्पिक बाटोहरुको व्यवस्था गरिएकोले यो वर्ष सवारी आवागमन सहज हुने जानकारी दिए । 

यस्तै महानगरीय प्रहरी प्रभाग साँखुकी प्रमुख इन्सपेक्टर लक्ष्मी पाण्डे खनालले मेलाको लागि ९० जनाको प्रहरी टोली परिचाालन गरिने जानकारी दिइन । उनले सुरक्षाका लागि प्रहरी हेल्पडेक्सको स्थापना गरिने र ट्राफिकको उचित व्यवस्थापना गरिने पनि जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै खनालले सुरक्षा निकायले  भीडको संवेदनसिलता अनुसार प्रहरी परिचालन गर्ने जानकारी दिइन् । 

समितिले देशभित्र र बाहिरबाट अघिल्लो वर्ष ३० लाख दर्शनार्थी आएकोमा यो वर्ष त्यो भन्दा बढी दर्शनार्थी आउने अनुमान गरेको छ । मेलामा बिक्रीका लागि राखिएका खाद्यबस्तुको गुणस्तर जाँच गर्ने, फोहोरको उचित ब्यवस्थापनका लागि छुट्टै टोली बनाइएको पनि जानकारी दिइएको छ । 

श्रीस्वस्थानी मन्दिरको हातामा रंगरोगन तथा सरसफाई गरेर चिटिक्क पारिएको छ भने सालीनदीमा ब्रतालु तथा दर्शनार्थीहरुलाई नुहाउनका लागि व्यवस्थित स्थल निर्माण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप