शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संस्मरणः सम्झना मामाघरको

शनिबार, ०५ माघ २०७५, १३ : ३९
शनिबार, ०५ माघ २०७५

पूर्ण ओली

 मैले सामाजिक सञ्जालका भित्तामा टाँसेका विगतहरुलाई कोट्याएर हेर्नुभयो भने त्यहाँ एउटा पर्खाइको पट्यारको चिन्ह स्वरुप मीठो कमेन्ट भेट्टाउनुहुनेछः "अझै आएन रोनालरेगनको कथा ?"

देखिहाल्नुभयो होला, त्यसरी कमेन्ट गर्ने मेरो मावलीभाइ मुकुन्द शर्मा हुन् । रोचक संस्मरणबाट उछिट्टिएर विस्मरणको थुप्रोभित्र पुगेको त्यो रोनालरेगनको कथा तिनै मुकुन्द, म र मेरो मावलीदाइ ओपेन्द्र शर्मासँग सम्बन्धित छ । 

 ०००

मामाघर भन्ने बित्तिकै चार दशक अगाडिको रमाइलो दृश्य घुम्छ आँखाभरि ।

आमा हरेक सक्रान्तिमा मामाघर जानुहुन्थ्यो । कुलपुजाइ, तीजव्रत र दशैँतिहार जस्ता ठूला चाड चाडपर्वहरु त झन् आमालाई मामाघर पुर्‍याउने अनिवार्य निहुँ बन्थे । उहाँ सानातिना पर्वमा एक दिनमै फर्कनुहुन्थ्यो भने ठूला चाडवाडमा कम्तीमा तीनचार दिनसम्म मामाघर बस्नुहुन्थ्यो । 'आमा मामाघरतिर कहिले लाग्नुहोला' भनी दिन गनेर बस्थेँ म । सक्रान्ति कहिले आइपुग्छ भन्ने करिब करिब कण्ठै थियो, एकदुई दिन फरक पर्नु अर्कै कुरा हो ।

सानातिना चाडको लागि आमासँग सानै कोसेली हुन्थ्यो । ठूला चाडमा त कोसेलीको डोको नै बोक्नुहुन्थ्यो । डोकोको सबैभन्दा मुनि पिँडालु, गन्जी (सखरखण्ड) हुन्थ्यो त्यसमाथि केरा र मौसमजन्य फलफुल, त्यसभन्दा माथि सालको दुईतीनवटा टपरीभित्र चिल्लेरोटी र ताततातो खिर हुन्थ्यो । 

डोकोको सबैभन्दा माथि मलाई बसाउनुहुन्थ्यो । त्यस दिन कखरा चिन्न स्कूल जानुपर्ने ड्युटिबाट मलाई छुट्टी मिलिहाल्थ्यो । मामानै मैले पढ्ने स्कूलको मास्टर हुनुहुन्थ्यो । अतः स्कूल छोडेर मामाघर पुगेको भान्जाको अनुपस्थितिमा प्रश्न उठाउने कसको ताकत ?

 
चाडपर्व आयो कि आमालाई रोइकराइ भए पनि मामाघर लैजान मैले नै बाध्य पार्थेँ । कोसेलीपातको थुप्रोमा भान्जालाई घरिघरि देख्न पाएपछि कसका मामालाई भान्जोप्रति माया नबढ्दो हो ? त्यति मात्र हो र ? आमाले घरमा सेलाइसकेको जाँगर मामाघर पुग्दा भकभकी उम्लेसरि हुन्थ्यो र मामाघरको काममा जोडतोडका साथ सघाइ दिनुहुन्थ्यो त्यसको जसको भागिदार पनि म नै थिएँ । तसर्थ आमाछोरा नै मामाघरका आँखाका तारा बनेका थियौँ । मामाहरुले पनि दिदी माइतीतिरै आइरहे हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो । तर मामाघरको आँखामा सधैँ तारा भई बस्नु कसको वशमा हुँदोरहेछ र !
 

आमा कहिलेकाँही कोसेलीपातबिना मामाघर जानुभयो भने उहाँको महत्त्व कम भएको मैले गन्ध पाइहाल्थेँ । तसर्थ आफ्नो र मामाहरुको भलाईको लागि कोसेली तयार गर्न पनि दबाब दिन्थेँ आमालाई । 
आमा मामाघरबाट फर्किँदा ल्याउने पावर (छोरीबैनीले माइतीमा कोसेली लिँदा प्रयोग हुने डोको, रुमाल, टपरीमा माइतीबाट प्राप्त हुने कोसेली) पनि मामाघरमा लगिदिएको कोसेलीकै समानुपातिक हुन्थ्यो । मेरो कोसेलीमा पनि र पावरमा पनि दुवैमा अग्राधिकार रहन्थ्यो ।

 
उमेर बढ्दै गएपछि भने आमाको र मेरो मामाघरप्रतिको सोख घट्दै गयो । फलतः कोसेलीपातको परिमाण पनि घट्दै गयो । कोसेलीपात घट्नेबित्तिकै पिउँसो भान्जोको के गन्तिपत्ति लगाउँदा हुन् मामा खलकले ?

कर्मचारी भैटोपलेपछि त आमा, मामा र भान्जोबिचको त्रिकोणात्मक सम्बन्ध अझै टड्कारो भएको महशुस हुनगयो । त्यो सम्बन्धमा कसरी चिसोपन आयो भन्ने अख्यान नै पाउन सकिएन । कहिलेकाँही झोँक चल्थ्यो र मामासँग सोधिहाल्थेँ: "मामा पावरमा त कमी भयो नि ?"

"मलाई किन सोध्छौ ? सोध न त्यही मामालाई, जसलाई तिमीले कोसेली बुझाएको थियौ !"

मेरा मामा तीनजना हुनुहुन्थ्यो । ठूलामामाले माइलामामातिर इङ्गित गरेपछि माइला मामासँगै गुनासो पोख्न जान्थेँ म,

"सोध न त्यही मामालाई, जोसँग तिमी बढी लाडिन्छौ !" उहाँले कान्छा मामातिर इङ्गित गर्नुहुन्थ्यो र म कान्छामामाकहाँ पुग्थेँ

"सोध न ती मामालाई, जसलाई पावर बाँड्ने अधिकार छ ।" कान्छा मामाले ठूलो मामातिर नै इङ्गित गर्नुहुन्थ्यो ।

आखिरमा पावर बढी पाउने मेरो लालसा कसैगरी पूरा हुँदैनथ्यो ।

आमालाई पावर घटाइदिँदा मामाको कोसेली घट्ने । मामाको कोसेली घटे आमाको पावर घट्ने । हुँदाहुँदा आमा र मामाबीचको कोसेली र पावरको परिमाण शून्यमा पुगिहाल्यो ।

 
मेरो ठूलोमामा खड्कबहादुर खड्का म जान्ने भएदेखि नै इन्डियामा नै बस्नुभयो त्यहाँसम्म पावरको लागि पुग्नै सकिएन । मामा गोपालजीजङ् शाह काठमाण्डौतिरै बस्नुभयो, त्यहाँसम्मको पहुँच मेरो लागि सहज भएन । मामा स्कन्द शर्माका उत्तराधिकारी दाइ जनार्दन शर्मा जनयुद्धतिर टाढिनु भएकोले आफू पनि टेढिएरै बस्नुपर्ने बाध्यता आइपर्‍यो । युद्धबाट फर्किएपछि उहाँले थुप्रै भान्जाहरु लर्को लाएर ल्याउनुभयो, त्यसपछि भान्जोको नाताले त्यतातिर छिर्न मरिगए सकिएन । 

भएभरको बलबुता खर्चेर चुनाव जिताएका मामा खड्कबहादुर बुढा कता हराउनुभो कता, भान्जाको कुनै खोजखबर गर्नै छाडिदिनुभयो । मामाकै छोरा विमल पुन पनि पावरअभिलाषी भान्जोसँग भागीभागी हिड्ने, त्यता पनि नजिक पर्नै सकिएन । 

साइनो खुट्याउँदै जाँदा रुकुमका चर्चित नेताहरु सबै मेरा मावलीखलक पर्न आउँदा रहेछन् र ती मावलीहरुबाट टाढै छु म । टाढिनुपर्ने यो बाध्यतामा कोसेलीपातको भूमिका हो होइन ? खुट्याइसकेको छैन ।

अब अनुमान गर्नुभयो होला मामासँग टेढिने एउटा पिउँसो भान्जोको हविगत के हुन्छ होला ? कहिलेकाँही नजिक पर्न खोजे पनि रित्तो हात कम्मरमा बाँधेर मामाघर पुग्ने भान्जाको हैसियत कस्तो होला ?

०००

चैते दशैँ नजिकनजिक आइरहेकोले मामाघरको सम्झना आलो हुँदै गैरहेको थियो । रोनालरेगनका कथाका पात्रहरु हामी तीन भाइले मामाघरका आ-आफ्ना प्रसङ्गहरु झिक्यौँ ।

ओपेन्द्र दाइले मुकुन्दलाई जिस्क्याउँदै थिएः "तिम्रा त दुईदुई मामाघर छन् क्यारे । जता गए पनि भयो । मीठोमसिनो जति खाए पनि भयो ।"


भाइ मुकुन्द, दाइ ओपेन्द्र र म उच्च शिक्षाको धोको बोकी एकै पटक काठमाण्डौ छिरेका थियौँ । ओपेन्द्र दाइसँग त एउटै ओछ्यानमा दुईदुई वर्ष सुतियो पनि । मुकुन्द बेग्लै क्याम्पस पढ्थे र डेरा पनि एक्लै थियो । 

उनी मङ्गलबजारमा बस्थे र मीनभवन क्याम्पसमा आइकम पढ्थे । हामीहरु सातदोबाटो बस्थ्यौँ र नमूना मच्छिन्द्र क्याम्पसमा बीकम् पढ्थ्यौँ । क्याम्पस अलगअलग पढे पनि बिदाको समयमा हामी तीनजना एउटै गोलामा रहन्थ्यौँ । हामीहरुको क्याम्पस बिहानी थियो । यसैले पनि दिनभरि त बिदा भइहाल्थ्यो ।

सँगै सुत्दा ओपेन्द्र दाइलाई कहिलेकाँही लात्ती लाग्यो भने म भागेर मुकुन्द-मामाघर पुग्थेँ । ओपेन्द्र दाइ मलाई फकाउन मामाघरमा आइहाल्थे । त्यसपछि दिनभर मुकुन्दकहाँ नै हाम्रो डेरा जम्थ्यो र बेलुका मुकुन्दको स्टोभमा हाम्रो लागि चामल नराखिएको अड्कल गरेपछि मात्र अबेरतिर सातदोबाटोस्थित डेरामा फर्कन्थ्यौँ ।

त्यतिखेर मुकुन्दले नै मेरो सिङ्गो मामाघरको काम चलाएका थिए । त्यसो त मुकुन्दको बाबा मेरै मामा हुनुहुन्छ । हाम्रो घर पनि एउटै गाउँमा थियो । यसर्थ सहोदर भाइजस्तै मात्रै होइन मामाजस्ता पनि लाग्थे उनी ।

त्योभन्दा पहिले शुरुशुरुमा कृष्णप्रसाद शर्माकहाँ जान्थ्यौँ हामी । उनलाई ओपेन्द्र दाइले मामा भन्थे । कृष्णप्रसादलाई ओपेन्द्रले मामा भनेको मलाई ईर्ष्या जाग्थ्यो । नाताले मुकुन्दका आफ्नै साइँलाबाका साँख्खै साला थिए कृष्ण । अतः कृष्ण बरु मुकुन्दका नजिकका मामा पर्थे । मुकुन्द ओपेन्द्रको भन्दा मेरो नजिक पर्ने भाइ थिए । अतः कृष्ण नजिककै भाइको मामा भएपछि मेरो नजिकको मामा नपर्ने कुरै भएन । मेरो नजिकको मामा परेकोले नै कृष्ण ओपेन्द्र दाइका टाढाका मामा परे होलान् जस्तो लाग्थ्यो । अतः यो ज्यामितीय सम्बन्धमा कृष्णमामाको नजिक म नै छु जस्तो लाग्थ्यो ।

काठमाण्डौ आएपछि मुकुन्दसँग भेट हुनुपूर्व कृष्णले हाम्रो मामाघरको काम चलाएका थिए । डेराको लागि नुनदेखि तिहुनसम्म र भान्छाका भाँडावर्तन र कपडालत्त किन्न कृष्णमामाकै पछि लागियो । कृष्ण मामा हामीभन्दा पहिल्यै काठमाण्डौ आइसकेकोले काठमाण्डौको व्यापारिक ठगीबाट बच्न उनी हाम्रा सहारा बनेका थिए । उनी त्यसप्रकारका ठगीहरुबाट बच्न मङ्गलबजारमा मात्रै किन्नुपर्छ भन्ने मान्यताका मान्छे थिए । उनी असाध्यै इमान्दार र भद्र पनि थिए ।

किनमेल गर्दा अलिकति महङ्गो लागेर हामीले कान कन्याउन थाल्यौँ भने उनले चोर औँला आफ्नो बन्द ओठमा पुर्‍याउँदै "चुप ! चुप !!" भनिहाल्थे ।

कृष्णमामाको साथबिना नै एकदिन ओपेन्द्र दाइ र म मङ्गलबजारमा पुगेर मेरो लागि एउटा पाइन्ट किन्ने जोखिम उठायौँ । कुन पसलमा सस्तो हुन्छ बताइदिएकै थिए कृष्णमामाले । हामीले मोल सोध्ने बित्तिकै पसलेले तीनसय रुपैँया भने मोल सुनायो । मोल त्यतिविधि सस्तो सुन्नेबित्तिकै ओपेन्द्र दाइले पनि एकदुई लुगा किन्न हतारिए । यो बजारमा मोलमोलाइ गर्नुहुन्न भन्ने आदर्श कृष्णमामाबाट सिकेकै थियौँ । उतिबेलाको तीनसय रुपैँया अहिलेको छहजारभन्दा कम मूल्यको थिएन । पैंसा खुरुक्क तिर्‍यौँ र झोलामा राखेको नयाँ लुगाले छातिभरि उक्साइदिएको नयाँ सुगन्ध सुँघ्दै कोठामा फर्कियौँ । त्यो पाइन्ट लगाउँदा त नेपालकै एकजना हिरोमध्ये आफू पनि पर्छु कि जस्तो गरी छाति फुलेको थियो । जब दुईहप्तापछि धुनुपर्ने भयो त्यो पाइन्ट त खुम्चिएर लगाउनै नमिल्ने भैहाल्यो । पछि थाहा भयो त्यो पाइन्टको मोल त एकसय रुपैँया पनि पर्दोरहेनछ । ओपेन्द्रदाइका हतारमा किनेका लुगा पनि त्यस्तै हालतमा पुगेका थिए । बुझ्न त बुझ्यौँ यो हामी आफैले बार्गेनिङ नगर्दाको परिणाम थियो भनेर । तर दुवै भाइ चुप्पै रह्यौँ । मुख खोल्नुको अर्थ हुन्थ्यो मामाघरप्रति नै अविश्वास सिर्जना हुनु ।

हामीसँग उति पैँसा हुँदैनथ्यो । पैँसा भए पो खर्च गर्नू । उनको रहनसहन र भलाद्मीपनबाट लाग्थ्यो कृष्णमामासँग खर्चको कुनै कमी नै छैन ।  उनी मङ्गलबजारमा मन फुकाएर आफूलाई चाहिने कुराहरु एकपैंसा पनि बार्गेनिङ नगरी किनेको टुलुटुलु हेर्दथ्यौँ हामी । उनी बिहानबेलुका मङ्गलबजारमा सौन्दर्य प्रसाधन र शरीरपोषहरु किनिरहेका भेटिन्थे । उनको इमान्दारितालाई मङ्गलबजारले कति ठग्यो होला ? उनलाई सोधौँ सोधौँ त लाग्थ्यो, तर, हामीले मामाघरको सम्मानमा ठेस पुग्नेगरी केही भन्दैछौँ भन्ने अड्कल काटिहाल्थे र भन्थे "चुप ! चुप !!" र हामीसँग उनको अगाडि चुप्प रहनुको अर्को विकल्प बाँकी रहँदैनथ्यो ।

त्यसबेलादेखि कृष्णमामासँग म अलि बढी नै जल्किएको थिएँ । अब भने ओपेन्द्रले मात्र कृष्णलाई निर्धक्क मामा भनून् जस्तो लाग्न थालिसकेको थियो ।

त्यो मामाघरभित्र उब्जिएको एक झिल्को अविश्वासको कारणले पनि यता मुकुन्द मावलीभाइसँग म बढी लहसिएको हुन्थेँ । उनी मेरै पर्याय थिए । म उनकै पर्याय थिएँ । बानीबेहोरा सबै कुरा मिल्थ्यो हामी दुई भाइको । मन पनि दुवैको चल्लाको मुटु बराबर नै थियो ।

उनी मङ्गलबजारको आठतले घरको सातौँ तलामा बस्दथे । हामी लगनखेल बसपार्कबाट उत्तर लागिसकेपछि एकछिनमै कृष्ण मन्दिर भेटिन्थ्यो । कृष्ण मन्दिरलाई दण्डवत् प्रणाम र आधा प्रदक्षिणा गरिसकेपछि मङ्गलबजारको बजार हुँदै पश्चिमतिर लाग्थ्यौँ । पन्ध्रबीस बिल्डिङ परतिर पुगेपछि दक्षिणतर्फको लहरमा हल्का गेरु कलरको सबैभन्दा अग्लो बिल्डिङ हेर्नुपर्थ्यो मुकुन्द भाइको डेरा भेटिइहाल्थ्यो । भित्र पस्ने सानो ढोका थियो । भित्र पस्नेबित्तिकै अँध्यारोले छोप्थ्यो र दशपन्ध्र पाइला अगाडि बढेर बायाँतर्फ रहेको भर्‍याङको बार छाम्दै भेट्टाउनु पर्थ्यो । भर्याङ भेटाएपछि फनफनी घुम्दै तला गन्दै उक्लिँदा सात भन्ने बित्तिकै दक्षिणपूर्वपट्टि फर्केको उनको डेरा पग्याइहालिन्थ्यो ।

मुकुन्दसँग अटुट साथ जुट्नुको अझै गुह्य कुरा अर्को थियो । त्यो के थियो भने हामीजस्तै मुकुन्द पनि खिरपाउरोटीका पारखी थिए । त्यो चिज लगनखेल बसपार्कको छेउमै एउटा पुरानो एकतले होटेलमा मात्र पाइन्छ भन्ने हाम्रो बुझाइ थियो । त्यहाँ समोसा तरकारी तथा विभिन्न मिठाइका परिकारहरु पनि बन्थे । तर हाम्रो बजेट र रुचिको सीमितताले त्यतातिर ध्यान मरिगए खिँचिदैनथ्यो । त्यस होटेलमा पाँच रुपैयाँमा एक प्लेट आउने खिर पनि पाइन्थ्यो । खिर तातोतातो र गिलोगिलो हुन्थ्यो । दुई वन पाउरोटीलाई दुई रुपैयाँ पर्दथ्यो । त्यति भएपछि अरु चिज हामी छुँदैनथ्यौँ ।

लक्ष्मी स्विट पसल थियो क्यारे होटेलको नाम । रुकुमबाट कुनै पाहुनाहरु हामीलाई भेट्न आएमा त्यही ठाउँ देखाइदिन्थ्यौँ । किनकि यो ठाउँ भेट्टाउन एकदमै सजिलो थियो । दिइएको समयमा आइपुग्ने पाहुनाहरुले हामीहरुलाई त्यही होटेलमा खिरमा पाउरोटी चोबेर सोप्र्याक-सोप्र्याक् खाँदै गरेको भेट्टाउन सक्थ्यो । प्लेटमा खिर पाँचछ चम्चाभन्दा बढी नभए पनि हामी भने एकाध घण्टासम्म प्लेट चाटिरहेका हुन्थ्यौँ । खिर हाम्रो ओठको दायाँबायाँसम्म लतपतिएको हुन्थ्यो भने पाउरोटीको धुलो नाकदेखि लिएर जिउभरि छरिएको हुन्थ्यो । हुन पनि यो जत्तिको स्वादिष्ट भोजन संसारमै केही नहोला जस्तो लाग्थ्यो त्यतिखेर ।

त्यो होटेलको पर्याय नै भैसकेका थियौँ हामी तीनजना । हुँदाहुँदा हामीले त्यो ठाउँ अरुलाई देखाइरहने झन्झट पनि हट्दै गएको थियो । अरु कसैले नै काठमाण्डौ आएका नयाँ पाहुनालाई, 'ती तीनजना दुईदेखि तीनबजेको बीचमा त्यही होटेलमा भेटिन्छन्, जाऊ !' भनी सिकाइपठाउँथे र जुनसुकै दिन किन नहोस्, हामीहरु ठ्याक्कै ठाउँको ठाउँ भेटिइहाल्थ्यौँ ।

मामाघरको खिर खुब याद आउँथ्यो त्यसबेला । मामाले नै पावर बेरिदिएको जस्तो त्यो खिर-पाउरोटी खान म र ओपेन्द्र सातदोबाटोबाट आधा घण्टा हिँडेर मङ्गलबजार आइपुग्थ्यौँ र मुकुन्दलाई लिएर दशपन्ध्र मिनेटमा त्यस होटेलमा पुग्थ्यौँ । खिर खानकै लागि आउँदाजाँदा हाम्रो दैनिक तीनघण्टा नोक्सानी बेहोरिरहनु परेको थियो, तापनि त्यो पछुतो खिरको स्वादले सर्लक्कै मेटाइदिन्थ्यो । घरतिरबाट भर्खरै पैँसा आएको बेला त एक प्लेट खिर र अरु दुईवटा पाउरोटी थपेर समेत खान्थ्यौँ र यति गरेपछि बेलुका खाना बनाउने र भाँडा मोल्ने टण्टा नै साफ भैहाल्थ्यो ।

अब भन्नै परेन कि हामी तीनैजनाको मामाघरको काम त्यही होटेलले चलाएको थियो ।

हाम्रो तीन सदस्यीय अर्को महत्त्वपूर्ण योजना बुनेर पारित गरेको थियो । त्यो के थियो भने नजिकै आइरहेको चैते दशैँको दुईदुई दिनसम्म साविकको एकप्लेट र दुईवटा पाउरोटी मात्र होइन तीनतीन प्लेट खिर र तीनतीन वटा पाउरोटी खाएर मनाउने । त्यसको लागि अलिअलि पैँसा जोगाउँदै पनि थियौँ ।

०००

४५ सालको अन्त्यतिर पञ्चायती राजको विरोधका अलिअलि झिल्काहरु उठ्न थालेका थिए । चैत्रको अन्तिम हप्तामा नेपाल बन्द घोषणा गरिएको थियो । त्यसबेला के मान्यता थियो भने पहिलो असर मङ्गलबजारमा नै पर्थ्यो । अतः सधैँ व्यस्तरहने लगनखेल र मङ्गलबजार पनि पूर्णतः बन्द नै थियो । त्योभन्दा अघि बन्द भन्ने कुन चराको नाम थियो थाहै थिएन हामीहरुलाई । अतः ओपेन्द्र दाइ र म त्यो दिनको बन्द महोत्सव मनाउन बिहानै खाइवरी मुकुन्दको डेरामा आइपुगेका थियौँ । दिनभरि मुकुन्द भाइकै डेराको छतबाट बजार बन्दको दृश्यपान गरिरह्यौँ । बिहानदेखि बेलुकासम्म मान्छेको कुम्भमेला लाग्ने मङ्गलबजार त्यस दिन पूरै ठप्प रहँदा हामीलाई आठौँ आश्चर्य भैरहेको थियो ।

खाना बिहानै खानुको अर्को उद्देश्य के थियो भने खिर भोक लाग्दा अझै मीठो हुन्छ भन्ने अर्थशास्त्रीय सिद्धान्तका जानकार थियौँ हामी तीनैजना । अतः एकदुई बजे नै भोक जगाउनको लागि बिहानै ज्युनार गरिसक्थ्यौँ । बिहानै पेटमा परेको अन्न दुई नबज्दै रित्तिसक्थ्यो र आन्द्राभुँडी कोक्याउन थालिहाल्थे । भोकले भन्दा सायद खिर-पाउरोटीको खाने लोभले ।

त्यस दिन पनि नेपाल बन्दको परवाह नगरी पेटले समयमै खिर-पाउरोटीको घण्टी बजाइरहेको थियो । हाम्रा बाहिरी आँखा रित्ता सडकमा पुगे पनि भित्री आँखा त प्लेटभरिको तात्तातो खिरमा नै पुगेका हुन्थे । सडकभरि हातहतियार र लाठाहरुले सुसज्जित प्रहरीहरु छ्याप्छ्याप्ति थिए । उनीहरु सडकमै हुँदा बाहिर निस्कनु जोखिम हो भन्ने अड्कल गरेकै थियौँ । अतः पेटलाई मिचेर भए पनि चारबजेसम्म धैर्यतापूर्वक मुकुन्द भाइकै डेरामा गुपचुप बसिराख्यौँ ।

चारबज्ने बित्तिकै बन्द रहेका एकदुई पसलहरु खुल्न थाले । सडकमा प्रहरीको उपस्थिति पनि पातलो हुँदै गयो । सायद चारबजेसम्मको लागि बन्द आह्वान गरिएको थियो कि ?

पसलहरु खुल्न थालेकोले हामीहरुलाई बाहिर निस्कन आँट आयो । भोकले रन्थनाइरहेको थियो । अतः तीनभाइ मुकुन्दको डेराबाट झर्‍यौँ र भोकलाई थामथुम पार्न खिर खाने लोभले लगनखेलतिर सोझियौँ । हामीहरु बन्द भैरहेका पसलहरुलाई औँल्याउँदै जान्थ्यौँ र भन्थ्यौँ:

"यो कहिल्यै खालि नहुने पुस्तक पसल, यो पनि बन्द रहेछ !"

"त्यो चाँहि हामीले कपडा किनेको पसल हो नि, त्यो पनि बन्द रहेछ ।" ओपेन्द्रले भने !

"मैले चामल किन्ने गरेको पसल ऊ त्यो हो । त्यो पनि बन्दै रहेछ ।" मुकुन्दले थपे ।

यस्तै कुरा गर्दै दुईचार पसल अगाडि के बढेका थियौँ एकडफ्फा प्रहरीको हुल बुट बजार्दै हाम्रो नजिक आइपुग्यो । उनीहरुले हामीलाई धरपकड गर्दै समातेर उनीहरुको भ्यानमा कोच्न थालिहाले ।

अकस्मात उत्पन्न परिस्थितिप्रति कसरी प्रस्तुत हुने कसैको हाउदाउ केही आएन ।

"हामीले के गरेका छौँ र ?" ओपेन्द्रले सोधे,

"हामीले त समात्नैपर्ने केही पनि गरेका छैनौँ, किन समात्नुभयो ?" मुकुन्दले सफाइ पेश गरे,

मैले उनीहरुको जिज्ञासा र अनुरोधमा थपथाप पारेँ ।

हामीले जतिसुकै अनुनय विनय गरे पनि हाम्रो कुरै नसुनी हामीलाई भ्यानमा हालेर पुलचोक प्रहरी पोष्टमा पुर्याइयो । एकछिन त्यतै थुनियौँ । अन्यत्रबाट पनि हामीजस्ता तीनजनालाई ल्याइएपछि हाम्रो पीडा अलिकति मत्थर भयो ।

त्यहाँ दुईतीन घण्टा राखेर पनि हाम्रो अपराध अलि गम्भीर नै हुँदो हो हाम्रो मुद्दा त्यहाँ नहेरिने भयो ।

तीनघण्टापछि हामीलाई पुनः मुकुन्दकै डेरातिर ल्याइयो । कोठामै ल्याएर छोडिदिने भए भनी तीनैजना खुशी भयौँ र मुखामुख गर्न थाल्यौँ ।

तर गाडी मुकुन्दको डेरा छोडेर अगाडि बढेपछि भने तीनभाइ नै निलाकाला भैहाल्यौँ । मुकुन्दले भनेः अब सिधै मामाघर ।

केही पर पुगेपछि गाडी कृष्ण मन्दिरको अगाडि पुगेर रोकियो । मन्दिरमा किन ल्याइयो भनी फेरि हामी चितखान नपाउँदै हामीलाई मन्दिरको मूल ढोकाबाट कोच्दै भित्र धकेलियो ।

हामीले चारपाँच महिनासम्म त्यही बाटो हिँड्दा जता फर्केर साक्षात् कृष्ण भगवान स्मरण गर्दै दण्डवत प्रणाम गर्थ्यौँ त्यो त कृष्णको आफ्नै घर नभई कृष्णको मामाघर पो रहेछ । कृष्ण मामाघरका मावली(सुरक्षाकर्मी) हरुको खुब चहलपहल थियो त्यहाँ । भित्र पसेपछि उत्तरपश्चिमपट्टि रहेको एउटा कोठासम्म पुर्‍याइयो । त्यहाँको सुरक्षाकर्मीले हाम्रो गोजीहरु छामछुम पारे । मुकुन्दको गोजीमा कापी र कलम मात्र फेला पर्‍यो र त्यो समेत निकालिदिएपछि चेनगेट खोल्दै हामीलाई बलिष्ठ एकएक मुक्काले भित्र पुग्ने गरी हुत्त्यायो । चेनगेटमा बाहिरपट्टिबाट भोटे ताल्चा मारियो । कानुनी भाषामा अब हामी हिरासतमा नजरबन्द भैसकेका थियौँ ।

भित्र पस्ने बित्तिकै कसैले कुनातिरबाट हाम्रो स्वागत गर्‍योः "आए अरु पाकेटमारहरु । हिहिहिहिहि । यस मुलुकको राष्ट्रिय व्यवसाय नै पाकेटमार घोषणा गर्नुपर्ने भयो अब ।"

हामी छामछामछुमछुम गर्दै थियौँ । भित्र निष्पट्ट अँध्यारो थियो । कोठामा बत्ति थिएन । मान्छेहरुको कल्याङमल्याङ मात्र सुनिन्थ्यो अनुहार कसैको देखिँदैनथ्यो । ढल फुटेको जस्तो कडा दुर्गन्धले नाक नथुनी एकछिन बस्न सक्ने अवस्था थिएन । हाम्रा निर्जिव जुत्ताले नै भुइँ चिप्लो छ अनुभूति गरिसकेका थिए । कतैबाट हावा नै नपस्ने उकुसमुकुसको वातावरण थियो । हाम्रो शरीरभरि पसिना उम्रेको थियो । त्यहाँको वातावरण हेर्दा लाग्योः काठमाण्डौको गल्लीगल्लीबाट निस्कन खोजिरहेको चैतमहिनाको चीसो त यहाँ आएर पो थुप्रिँदो रहेछ । असिनपसिन भएर पनि हामी लुगलुग काँप्दै एकातिर भित्तामा अडेस लाग्यौँ ।

 
बिस्तारै बाहिरको उज्यालो भित्र परपर फैलँदै जानथाल्यो र परपरका मान्छेका अनुहारहरु मधुरो मधुरो देखिन थाले ।

त्यहाँ दशपन्ध्रजना अरु मान्छेहरु पनि थिए । कोही टुक्रुक्क घुँडा खुम्च्याएर बसेका थिए । कोही भित्तामा अडेस लागेर बसेका थिए । भुइँमा च्यातिएको गुन्द्रीका टुक्राहरु पनि थिए तर ती भिजेका जस्ता देखिन्थे । रुमाल हुनेहरुले रुमालले र बाँकीले हातले वा अन्य शरीरपोषले नाकमुख छोपेका थिए ।

कोही विद्यार्थीजस्ता थिए । कोही माग्नेजस्ता देखिन्थे । कोही बिरामीजस्ता देखिन्थे । सद्दे मान्छे कोही देखिँदैनथ्यो ।

विद्यार्थीजस्ता देखिनेको नजिक नजिक पुग्यौँ हामी । तर उनीहरु हामीदेखि परपर सरे । दुर्गन्धले मुख खोल्ने अवस्था नै थिएन । परिचय पनि गर्नु कसरी ? त्यो वातावरणले गर्दा भोक त कता गयो कता ! बरु आन्द्राभुँडी नै बाहिर निस्केलान् जस्तो भैरहेको थियो ।

तिनीहरुमध्ये एकजना भने अलि फरक खालको देखियो । त्यस्तो दुर्गन्धमा पनि उसले नाकमुख छोपेको थिएन । उसको कपाल लामोलामो थियो र छरपष्ट थियो । च्यातिएको कमिज र फ्याङ्लो पाइन्ट भिरेको थियो । ऊ भुइँमै ढलिमलि गर्दै केही अस्पष्ट शब्द फलाक्दै थियो । मेरो ध्यान त्यतातिर के खिचिएको थियो ऊ जुरुक्क उठेर आएर मेरो पिठ्यूँमा एक लात हिर्काइहाल्योः म उछिट्टिँदै पर पुगेँ । ऊ भन्दै थियोः "म रोनालरेगन हुँ । कसले सक्छ मलाई हेर्न ?"

यसरी नै जसले उसलाई हेर्थ्यो उसैको उपर जाइलाग्थ्यो ऊ । ऊ आफू पूरै पागल थियो र अरुलाई औँल्याउँदै परिचय गराउँदै पनि हिँड्थ्योः "यिनीहरुचाँहि पाकेटमारा, यिनीहरु चोर, दिउँसै लगनखेलको किराना पसल उडाइदिएछन् !  यो स्साला झगडिया आफ्नै श्रीमतीलाई भक्कुमार कुटेछ, यो कालाबजारी दश रुप्याको सामान पचास रुप्यामा बेच्दै हिँड्दोरछ ।

"अनि तिमीहरु ? अनि तिमीहरु ?" ऊ हाम्रो अघिअघि सर्दै आयो । म डराउँदै ओपेन्द्र दाइको पछाडि लुकेँ ।

हामी केही नबोलेपछि आफैले भन्योः "तिमीहरु पाकेटमारजस्ता त देखिँदैनौ ? तर यो जमानामा के भन्न सकिन्छ र ? मलाई ? मलाई ? यी पागलहरुले मलाई नै पागल देख्छन् । ज्यानमाराहरुले मलाई ज्यानमारा देख्छन् । लुटेराले मलाई लुटेरा नै देख्छन् ।"

ऊ हात र खुट्टा नचाउँदै परतिर लागेपछि मैले रोकिराखेको सास फेर्थेँ । मैले मात्र होइन अरु थुनुवाहरु पनि गलललल हाँस्थे । त्यो सुनेर एउटा सिपाही चेनगेट नजिक आयो र हप्कायोः

"ए माssss तिमेरुssss हल्ला नगर् त ! लाठ्ठो खालास् फेरि !"

मैले पुनः आफ्नो मामाघर सम्झिन पुगेँ । कहाँको उनीहरुको मायालु व्यवहार ! कहाँको यिनीहरुको घृणास्पद व्यवहार ! यताका मावलीहरुको त हाउभाउ र बोली पनि अत्यन्तै टर्रो र छुद्र । यति मापाका मावली मैले कहिल्यै देखेको थिइन । समूहलाई पनि शुरुमा बहुवचन प्रयोग गर्दै क्रियापदमा पुग्दा निचार्थी एकवचनमा टुङ्ग्याउँथे । 'म, मा, मि, मी, देखि मं, मः,' सम्मका सबै गालीजन्य शब्दहरु एकेक गरी हामीलाई छाडा रुपमा प्रयोग गर्थे । हामीलाई मात्र होइन रहेछ । साथीसाथीमा समेत त्यस्तै लवज आउँथ्यो । सायद घरतिर पनि त्यसरी नै प्रस्तुत हुँदाहुन् । यिनीहरु हरेकलाई अपराधी देख्थे र जथाभावी 'चोरडाँका' शब्दले सम्बोधन गर्थे । त्यहाँ को के थियो, कसैको परिचयपत्र गलामा थिएन । थुनुवाहरुले पनि आफूलाई मात्र सद्दे र अरुलाई अपराधी नै देख्दाहुन् । त्यहाँ रहेका थुनुवाहरुको प्रत्येकको आआफ्नो बेग्लै पीडादायी कहानी थियो होला । तर मुख खोल्न सक्ने कसले ?

 त्यस पागलको दुईचार लात खाइसकेपछि के कुरा सिकियो भने उसलाई सिधा नजर लगाउन हुँदोरहेनछ । ऊ अग्लो, मोटो मान्छेतिर उति जाँदैनथ्यो । दुब्लोपात्लो र होचापुड्का जो जो छन् उनीहरु नै उसका गोदाइको तारो बन्थे । सायद मुकुन्दले र ओपेन्द्रले पनि उसको एकएक लात खाइसकेका थिए कि ? त्यसको लेखाजोखा गर्नु बेकार थियो ।

लात खाँदाखाँदै पनि उसको बोली भाषा र कृयाकलापहरु मनोरन्जनपूर्ण लाग्थे । केही बेर अघिसम्म हाम्रो भित्रैबाट आएका रुवाइका हिक्काहरुको पनि राम्रै धुलाइ गरेको थियो उसले । अब ती वेदना र पश्चात्तापका रुवाइको एक दाग समेत बाँकी थिएन हामीभित्र ।

ओपेन्द्र दाइ पनि नाकमुख बुजीबुजी हामीलाई नै ल्वाप्पा ख्वाउँथेः "ईsss खायौ खिर !" अनि हिहिहिहिहि गर्दै हाँस्थे । मुकुन्द र मैले पनि ओपेन्द्र दाइसँग हाँसो मिसाउन थालिसकेका थियौँ ।

यसरी त्यस राति भित्तामा अडेस लागेर र उभिई उभिई पूरै रात काट्यौँ हामीहरुले । भित्ता पनि त चिप्लो न चिप्लो थियो । लामखुट्टेको विगविगी उत्तिकै थियो ।

"ए हजुर, हाम्रो केसको सुनुवाइ कहिले होला ?" मुकुन्द व्यग्र हुँदै गेटनेर आएका मावलीलाई सोध्थे ।

"तिमी डाँकाहरुको के को सुनुवाइ ?" मावलीले हाम्रो अनुहार जाँचेर भन्थ्यो, "ए ए नरो, नरो, ब्यानै हुन्छ । ब्यानै हुन्छ अब ।" राति हाम्रो केसको सुनुवाइ हुने कुरै थिएन । चेनगेटमा आइपुग्ने व्यक्तिबाहेक अरु कसैसँग पनि गुनासो राख्ने अवस्था थिएन ।

रात धकेल्ने कष्टसाध्य प्रयत्न गरेपछि बिहान पनि छाड्यो । एकछिन दिशापिसाब गर्न र हातमुख धुनको लागि बाथरुमसम्म जाने अनुमति दिइयो । त्यसैबेला बाहिर निस्किएकाहरुको लागि घरपरिवारबाट भेट्ने मान्छेहरु पनि आए । सुखदुःख साटासाट गरे । घरबाट ल्याइदिएको खाजा खाना पनि बाहिरै बसेर खाए उनीहरुले । हामीहरु भने उनीहरुलाई हेरेर बसिराख्यौँ । त्यहाँ न हाम्रो दुःख सुनिदिने मान्छे थियो न त कोही खाजा नै ल्याइदिने ।

जसको मान्छे कोही आएन, उनीहरुको लागि दशबजेतिर खाजाको लागि पैँसा उठाउन आए गेटमा सुरक्षाकर्मी । धन्न हामीसँग खिर खानलाई सुरक्षित राखिएको पैँसा थियो, त्यही दियौँ । खाजा भन्नाले सुख्खा दालमोठ, चिउरा र चाउचाउ मात्र । मामाघरमा त्यो बाहेक अरु तात्तातो खाना खान पाइने नियम हुँदोरहेनछ ।

एकछिन बाहिर हातखुट्टा धुने र तान्ने सुविधा प्राप्त गरेपछि हामी पुनः साविककै हिरासतकोठाको भित्रपट्टि पुग्यौँ । दुर्गन्धित वातावरण उस्तै थियो । उज्यालो हुँदै जाँदा कोठाको कुनाकुनाको भाग पनि अलिअलि देखियो । आकस्मिक दिशा पिसाब गर्ने ठाउँ त्यहीँ बनाएका रहेछन् थुनुवाहरुले । त्यहीँबाट आइरहेको रहेछ ढलजस्तो कडा दुर्गन्ध । बाहिर जाने अनुमति नभएपछि मान्छेले कतिसम्म रोकिराख्नसक्थ्यो र दिशापिसाब ?

अरु त्यस ठाउँबाट तर्किएरै बस्दारहेछन्, तर त्यो रोनालरेगन भने त्यही ठाउँलाई अखडा बनाउँदो रहेछ । त्यता उसले कुल्चेको दिशापिसाब ऊ घरिघरि रिङ्दा कोठाभरि पुग्दोरहेछ । भित्तामा समेत लाग्दोरहेछ त्यो । कता जोगिने ? कसरी जोगिने ?

 हाम्रो चिउरा आइपुग्यो । जति बिन्ति गर्दा पनि चिउरा खानको लागि बाहिर जान अनुमति पाएनौँ । मर्नुभन्दा बौलाउनु निको भनेझैँ त्यही दुर्गन्धित तथा फोहोर वातावरणमा पनि नखाइ भएन । ल्याएको चिउराका दुईचार कणहरु अलिअलि मुखमा छिरायौँ । पानी प्यासले भक्रक्कै घाँटी सुके पनि माग्नेबित्तिकै पानी पाउन गाह्रो थियो । अतः निल्न नसकेका बाँकी चिउरा त्यही रोनालरेगनलाई नै दिन्थ्यौँ । र उसले मीठो मानीमानी खाएको हेर्‍थ्यौँ ।

विष्टा विसर्जन गर्ने ठाउँतिर सानो आँखीझ्याल पनि रहेछ । रोनालरेगनले बाहिर मङ्गलबजारतिर देखिएको दृश्यको प्रत्यक्ष प्रसारण गर्थ्यो घरिघरि । त्यही झ्यालबाट छिरेको हावाले नै कुनातिरको दुर्गन्ध कोठाभरि फैलाउँदो रहेछ । सास फेर्ने विकल्प भए पनि के कामको भयो र त्यो ?

दिउँसो भने दिसा पिसाबले च्याप्यो भनेपछि एकदुई घण्टाको अन्तरमा मावलीहरुले गेट खोलिदिएर अलिकति पर रहेको चर्पिसम्म पुर्‍याइदिन्थे । नत्र चारपाँच घण्टा नकुरी बाहिर जाने अनुमति हुँदैनथ्यो ।

 हाम्रो सुनुवाइ त्यस दिउँसो पनि भएन र त्यस बेलुका पनि भएन ।

दोस्रो रात पनि उसरी नै उभिएर र अडेस लागेर नै काट्नुपर्ने भयो । जीउ दुखिरहेको थियो । निद्रा नपुगेकोले आँखा दुखिरहेका थिए । चौबीसै घण्टा 'हाइss हाइss' आइराख्थ्यो । जीउमा लगाएका कपडाहरु भित्ताको फोहोर र रोनालरेगनका लात्तीका छापले हेरिनसक्नुभएका थिए । जुँगादारी नकाटेर लामालामा हुँदै थिए ।

तेस्रो दिन बिहान पनि उसरी नै दिन बिते साँझ बिते र रात पनि बिते । त्यो हिरासतमा घण्टाघण्टामा नयाँ नयाँ अनुहार र नयाँ नयाँ आरोपित मान्छहरु थपिइरहे । कोही छुटिरहे । कोही जेल चलान हुँदै गए । त्यसको हिसाबकिताब त्यही रोनालरेगनले राख्दथ्यो । अरुलाई मतलब थिएन । न त थपिएकोमा मतलब थियो, न त थुनुवाहरु घटेकोमा ।

चौथो दिनको दिउँसो भने हाम्रो सुनुवाइ हुने भयो । हाम्रो बयान लिइयो । हाम्रो अपराध कहीँ केही पनि थिएन । तर पनि मावलीको नजरले देखेको पन्चखत माफ हुने भयो अर्थात् हामीलाई छोडिने भयो । हाम्रो खुशीको सीमा नै रहेन । ढिलै भएपनि न्याय पाएका थियौँ । नत्र त यो मुलुकमा मामाघरबाट कहिल्यै न्याय नपाएर जिन्दगी गुजार्नेहरु त कति छन् कति ! धन्न त्यस्तो केही भएन ।

 हामीसँगै आएका विद्यार्थी जस्ता देखिने नेपाल बन्द गराएको अभियोगमा थुनाउ परेका प्युठानी साथीहरु रहेछन् । उनीहरु पाटन बहुमुखी क्याम्पसमा पढ्दा रहेछन् । उनीहरुका चिनेका साथी आएकोले उनीहरु वारेश बसिदिए र थुनाउमुक्त हुन पाउने भए । उनीहरु छुट्न थाल्दा मात्र उनीहरुसँग परिचय भयो । परिचय के हुनु आफैले दिएर गए परिचय । हामीहरुले उनीहरुलाई विदाइ गर्‍यौँ । हामीहरु पनि त्यही अभियोगमा थुनाउ परेका रहेछौँ भन्ने कुरा बयान दिँदा बल्ल मात्र थाहा भयो । नत्र त पाकेटमारकै अभियोगमा पो ल्याएका थिए कि भन्ने शंका नउब्जेको कहाँ थियो र ?

हामी छुट्ने भयौँ भनेर खबर सुनाएपछि सबैभन्दा दुःखी त्यही रोनालरेगन नै भयो । ऊ घरि 'जाऊ ! जाऊ !!' भन्दै बिदाइ गर्न हात मिलाउन आइपुग्थ्यो । घरि 'नजाऊ ! तिमीहरु नै गए म एक्लो बस्न सक्दिन !' भन्दै हात जोडेर बिन्ति गर्दथ्यो ।

छुट्ने त भइयो तर हामीलाई छुटाउनको लागि हाम्रो चिनजानको मान्छे कोही रोहवरमा बसिदिनुपर्ने भयो । त्यहाँ हामीलाई चिन्ने को पो थियो र ? चिन्नेहरु कोही भए पनि त्यसबेला न त मोबाइलको जमाना थियो । न त चिनेकालाई खोजेरै ल्याइदिने टण्टा नै बेसाउनुथियो । भान्जो चिन्ने तर भिनाजु नचिन्ने खालको मामाघर थियो यो ।

डेराबाट हराए भनेर थाहा पाउने डेराका घरबेटी त अवश्य थिए । तर उनीहरुलाई चिन्ताको साटो बत्ती र पानी लाग्ने खर्च घट्यो भन्दै रमाएका थिए होलान् । दयावान घरवेटी परे पनि रुकुम नै पो पुगे कि भन्ने पनि लाग्यो होला ।

 दिनभर कुर्दा पनि हामीलाई छुटाउन रोहवरमा बसिदिने मान्छे नपाएपछि हामी पुनः निराश हुनपुग्यौँ । छुट्ने भयौँ भनेर लागेको खुशी पुनः चिन्तामा परिणत भइहाल्यो ।

बाँकी थुनुवाहरुले थाहा पाइसकेका थिए कि हामी छुट्ने भयौँ भनेर । तर हामीलाई छुटाउन कोही पनि नआइदिएपछि उनीहरुलाई समेत यो घटना अनौठो भैदिएको थियो ।

अपराध माफी हुँदाहुँदै पनि हामीहरु त्यस रात पनि उस्तै तरिकाले त्यही खोरमा बस्नुपर्ने भयो । यस्तो लाग्दैथ्यो कि अब हामीलाई छुटाउन कोही आउनेछैन र सदाको लागि हामी यही खोरमा जाकिनुपर्ने भयो ।

 रोनालरेगन भन्दै थियोः "म बसिदिन्छु तिमीहरुको जमानी, जाऊ तिमीहरु गैहाल ।" अनि आँखीझ्याल देखाउँदै भन्थ्योः "तिनीहरुले चेनगेटबाट जान नदिने भए, यताबाट जाऊ । म झ्याल फोरेर बाहिर निकालिदिन्छु तिमीहरुलाई ।"

त्यस दिनको रात झनै कष्टपूर्ण हुनगयो । लामखुट्टेहरु पनि बेशी नै लागे, दुर्गन्ध बेसी नै आयो र चीसो पनि बेशी नै लाग्यो । हामीलाई त्यो रात बिताउन जुगौँ बिताउनुसरि भयो ।

०००

त्यसरी नै पाँचौँ दिनको बिहानी पनि आइपुग्यो । राम्रोसँग मुखमा दाना नपरेको र निद्रा नपरेको आज पाँचौँ दिन भैसकेको थियो ।

त्यस दिनको दशबजेतिर हामीलाई भेट्न कोही आइपुगेको छ भन्ने खबर आयो । नभन्दै चेनगेटमा हेरेर कोही विजयभावसाथ मुस्काइरहेको थियो ।

ती थिए पहल पुन । उनी हामीलाई छुटाउन आइपुगेका रहेछन् ।

हामीहरु उनको रोहवरमा बाहिर निस्कँदा मामाघरको पाउनो रोनालरेगन छाति पिटीपिटी रोइरहेको थियो । फर्केर हेर्न सकेनौँ उसलाई हामीहरुले ।

मामाघरको त्यो मूलढोकाबाट बाहिरिएपछि हाम्रो भोकप्यास र निद्रा चमत्कारिक ढङ्गले हराउन पुग्यो । पहल अघिअघि लागे । पहलको पछाडि ओपेन्द्र लागे । ओपेन्द्रको पछाडि मुकुन्द र म लाग्यौँ । पहलले फर्कँदै गर्दा बाटोमै हामीलाई बधाइ दिँदै भनेः "अब तिमीहरुको एकतहको राजनीतिक योग्यता थपिएको छ । आगामी स्ववियु चुनावमा तिमीहरुले उम्मेदवारी दिनुपर्दछ ।"

हामी नौलो मामाघरमा रित्तो हात पुगेका थियौँ र स्मृतिको डोकोभरि नौलो पावर बोकेर फर्केका थियौँ । त्यही पावर नै ओपेन्द्र दाइको लागि राजनीतिक, मुकुन्द भाइको लागि धार्मिक र मेरो लागि शाब्दिक महत्त्वको बन्न पुग्यो ।

त्यो घटनापछि त्यहाँभित्रका केही मावलीहरुले काठमाण्डौमा सादा पोशाकमा हाम्रो पिछा गरिरहेका भेटिन्थे । अकस्मात नजर जुधेपछि भने हाम्रो मुण्टो भाँचाभाँच हुन्थ्यो । कहिलेकाँही कृष्णमन्दिर छेउमा पुग्दा केही भक्तहरुले त्यही मामाघरतिर फर्केर प्रणाम गरेको देख्दा हाँसोको फोहरा छुट्थ्यो हाम्रो, किनकि एक अज्ञान भक्तले कृष्णलाई अर्पेको श्रद्धा भने कृष्णका मामाहरुले थापिरहेको दृश्य सम्झनपुग्थ्यौँ । र  त्यस घटनापछि लगनखेलको खिरपाउरोटीको हाम्रो तलतल पनि एकाएक हराउनपुग्यो ।

मेरो वास्तविक मामाघरमा हाल कान्छामामा मात्र जिवित हुनुहुन्छ र बच्चाकालमा जति भान्जाप्रति लाडप्यार थियो, त्यो मात्रामा एकरत्ति घटाउनुभएको छैन । माइलामामाप्रतिको भान्जाहरुको श्रद्धा पनि उहाँ बाँचुन्जेल कायमै रह्यो । ठूलामामा भान्जाहरुको आदर्श व्यक्तित्व नै हुनुहुन्थ्यो, त्यो आदर्शलाई कायमै राख्न लगाएर बित्नुभयो ।
बाँकी मावलीभाइहरु पनि अहिले हामीप्रति उत्तिकै आदरभाव राख्छन् । तसर्थ मेरो वास्तविक मामाघर त्यो आकस्मिक मामाघरभन्दा त ठीक विपरीत ध्रुवमा नै खडा छ, तर हिजोआजका कुनैकुनै भावनात्मक मामाघरहरु भने कृष्ण मन्दिरभित्रको त्यो मानसिक तनावलाई बिर्साइदिने खालका महशुस हुन्छन् कहिलेकाँही ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप