बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘जसले सहिदको घर बनाउँछु भने उनैले डोजर लगाएर भत्काए’

शनिबार, ०५ माघ २०७५, १२ : २०
शनिबार, ०५ माघ २०७५

–रञ्जनकुमार मेहता

अहिले आएर मेरो भाइले मधेशका लागि बेकारमा ज्यान दिएछ जस्तो लाग्छ । त्यो दिन र आजको दिन सम्झिदा आफ्नो टाउको आफैं बजारौं जस्तो लाग्छ । जसका लागि मेरो भाइ सन्जन मेहताले ज्यान दिए, आज उनीहरुले नै हामीलाई घरबार विहिन बनाएका छन् । घर भत्काएर सडकमा ल्याइदिएका छन् । 

२६ वर्षको उमेरमा भाइ सन्जन मेहताले मधेशको अधिकारका लागि ज्यान दिएका थिए । मधेशको पहिचानका लागि ज्यान दिएका थिए । मधेशी मुक्तिका लागि ज्यान दिएका थिए । कसैलाई राजा बनाउनका लागि ज्यान दिएका थिएनन् ।

मेरा भाइ जस्ता सयौंले ज्यान दिएपछि आज नेताहरु मन्त्री बन्न पाएका छन् । सांसद बन्न पाएका छन् । मुख्यमन्त्री बन्न पाएका छन् । मेयर, उपमेयर, अध्यक्ष बन्न पाएका छन् । र, आज तिनै नेताहरुले सहिदको घर डोजरले लगाएर भत्काइ रहनु भएको छ । यो जति बिडम्बना अरु के हुनसक्छ, सहिदका लागि । मेरो घरको छेउबाट सडक गएको छ । त्यो सडक बनाउँदा वडा अध्यक्ष शम्भु यादवले जो राजपा नेपालबाट जित्नु भएको छ । उहाँले मेरो घर भत्काएर सडक बनाउनुभयो । मैले भत्काउन नदिएपछि उहाँले डोजर मगाएर भत्काउनुभयो ।

मेरो रजिष्टरी जमिन थियो । सडकमा नै जाने खालको अवस्था थिएन तर मलाई थाह छैन, वडा अध्यक्ष शम्भु यादवको मसँग के दुश्मनी थियो, जो मैले जति विलौना गर्दा पनि उहाँले मान्नुभएन र घर भत्काइ दिनुभयो । 

मेरो घरका अन्य सदस्यहरुले पनि धेरै बिलौना गरे । खुट्टा समाउँदा पनि वडा अध्यक्ष शम्भु यादवलाई अलिकति पनि दया जागेन ।

मैले उहाँलाई भनेका थिएँ, 'मलाई एक हप्ताको समय दिनुस् । आफ्नो बासको व्यवस्था गरेपछि मेरो घर भत्काउनु होला ।' तर उहाँले मान्नुभएन । पुरै तानाशाही शैलीमा डोजर लगाएर भत्काई दिनुभयो । 

घर भत्काएपछि हाम्रो पुरै परिवार घरविहीन भयो । 

तत्कालका लागि छिमेकी कमलेश साहको घरमा शरण लियौं । छिमेकी कुन बेला काम लाग्छ भने कुरा मैले त्यही दिन महसुस गरेँ । 

असल छिमेकीको दायित्व उहाँले पुरा गर्नुभयो । हाम्रो आठजनाको परिवार छ । हामी सबैजना उहाँको घरमा शरण लियौं ।

मैले वडा अध्यक्ष शम्भु यादवलाई भेटेर नै घर बनाउनका लागि सहयोग माग गरेको थिएँ । मलाई २५ हजार सहयोग गर्नुहोस् म घर बनाउँछु भन्दा उहाँले सहयोग त के मेरो कुरा पनि राम्रोसँग सुन्न मान्नु भएन ।

उहाँ पहिले पनि एमालेमा हुनुहुन्थ्यो । चुनावको केही दिन पहिले मात्र राजपा नेपालमा प्रवेश गरेर वडा अध्यक्षको टिकट लिएर जित्नु भएको हो ।

उहाँ मधेशवादी दलमा आएपनि अझै उहाँमा एमालेको 'ब्लड' बाँकी नै छ जस्ता लाग्छ मलाई । 

मैले वडा अध्यक्षलाई मात्र होइन, त्यहाँ भए भरका सबै नेता गुहारेँ । कतिलाई फोन गरे । कतिसँग प्रत्यक्ष भेटेर नै सहयोगका लागि अनुनय गरेँ तर कोही पनि सहयोग गर्न तयार भएनन् ।

मैले हाम्रै क्षेत्रबाट जित्नु भएका प्रदेश सांसद मनिष सुमनलाई पनि फोन गरेर घर बनाउन सहयोग मागेको थिएँ तर उहाँले पनि 'हुन्छ-हुन्छ' भन्नुभयो तर अहिलेसम्म एक रुपियाँ पनि सहयोग गर्नुभएको छैन । 

चुनावको समयमा उपेन्द्र यादव भोट माग्नका लागि मेरो घरमा आउनु भएको थियो । 

सहिद परिवारको घर हो भन्ने थाहा पाएपछि एकछिन त्यहाँ बस्नु पनि भयो । र, मेरो घरको अवस्था देखेर उहाँले नयाँ घर बनाई दिने आश्वासन पनि दिनुभएको थियो ।

तर उहाँकै सरकारले मेरो घर भत्काई दियो ।  मेरो घर भत्काएको कुरा पक्कै पनि उहाँलाई थाह भएको होला किनभने उहाँ यही क्षेत्रबाट चुनाव लड्नुभएको थियो । 

उहाँले घर बनाई दिने आश्वासन दिनु भएको थियो तर घर बनाउनु कहाँ हो कहाँ अहिलेसम्म उहाँ फर्केर भेट्नका लागि पनि आउनुभएको छैन ।

मेरो घर भत्काएपछि उहाँका पार्टीका नेताहरुलाई पनि मैले सम्पर्क गरेको थिएँ तर उहाँहरुले पनि कुनै वास्ता गर्नुभएन । मैले उपेन्द्र यादवलाई पनि सम्पर्क गर्ने प्रयास गरेको थिए तर जति गर्दा पनि सम्पर्क भएन । 

कतैबाट सहयोग नपाएपछि दुई कठ्ठा जमिन जनज्योती सहकारीमा राखेर दुई लाख १० हजार रुपियाँ ऋण लिएँ । त्यही ऋणबाट मैले आफ्नो घर बनाई रहेको छु । घर अझै तयार भएको छैन ।

घरका केही सदस्यहरु अझै पनि अर्काको घरमा शरण लिएर बसिरहेका छन् ।

खेतीयोग्य चारकठ्ठा जमिन मात्र छ । त्यसबाट तीन चार महिनाका लागि पनि खान पुग्दैन ।

एउटा पान पसल छ, त्यसले नै घरपरिवार चलेको छ । म र बुवा पसलमा हुन्छु ।

हामीले सारा कमाई सन्जनको पढाईमा लगाएका थियौं । भाइ रन्जनलाई डिग्रीसम्म पढायौं । ऊ जनकपुरको एउटा स्कुलमा पढाउँथ्यो ।

हाम्रो घरपरिवारका लागि आशाका केन्द्र सन्जननै थियो । तर मधेशका लागि आफ्नो ज्यान दिएर हामीलाई बेघर बनाएर गयो । तर, उसको नामबाट राजनीति गरेका, सांसद र मन्त्री भएकाहरुले एकपटक पनि खोजविन नगर्दा नियास्रो लाग्छ ।

मेरो भाइले किन यो मधेशका लागि सहादत दियो, त्यो सोचेर अहिले पिडा हुन्छ । उनले जेका लागि सहादत दियो, त्यो अझै प्राप्त भएको छैन । 

नेताहरु आ-आफ्ना नाता गोतालाई काखी च्यापेर हिँड्नु भएको छ । प्रदेश सरकार गठन हुने वित्तिकै प्रत्येक सहिद परिवारबाट एकएक जनालाई रोजगार दिने निर्णय गरेको थियो तर सरकार गठन भएको पनि यतिका महिना भन्दा बढी भइसक्यो, त्यो निर्णय कता हरायो थाहा छैन । हामी सहिद परिवारका सदस्यहरु आशा लिएर बसेका थियौं यो प्रदेश सरकारले हामीलाई बोलाएर जागिर दिन्छ । तर अब आशा मर्न थालेको छ । 

मेरो भाइको निधन भएपछि केही दिनसम्म नेताहरु दिनदिनै घरमा आउनुहुन्थ्यो । सोधखोज गर्नुहुन्थ्यो । विभिन्न आश्वासन दिनुहुन्थ्यो । तर अहिले मेरो घरको बाटो समेत हिड्न छाडिसक्नु भएको छ । त्यतिबेला आएर दिएको आश्वासन बारे सम्झदा ती नेताहरु माथि दाया जागेर आउँछ । 

कसरी मधेशी जनताको लाशसँग खेलबाड गरिरहनुभएको छ बल्ल थाहा पाएँ । मधेशी जनतालाई आन्दोलन गर्न उक्साएर, मान्छे मार्न लगाएर मधेशी नेताहरु राजनीति गरिरहेका छन् । यदि मधेश आन्दोलन नभएको भए, सहिद नभएको भए यी नेताहरु मध्ये कोही जित्ने थिएनन् । 

मधेश आन्दोलनमा सहिद भएकाहरुको लाश देखाएर नेताहरु भोट माग्नुभएको थियो । गोली लागेर रगतबाट लतपत भएकाहरुको भिडियो गाउँगाउँ गएर जनतालाई देखाएर भोट मागेर जित्नु भएको हो तर आज ती रगतबाट लतपतिएका परिवारको हालत के छ, त्यसको बारेमा सोधखोज गर्ने फुर्सद कसैलाई छैन ।

आज एक दिन ती नेताहरुले मधेशका सहिदहरुलाई सम्झिने नाटक गर्नुहुन्छ र फेरि बर्सिनुहुन्छ । 

मधेशको बलिदानी दिवसको दिन पनि कुनै सहिदको घरमा गएर वा कुनै घाइते अशक्तको घरमा गएर उसको बारेमा सोधखोज गर्छन् जस्तो मलाई लाग्दैन । कुनै ठाउँमा भेला भएर ठूला-ठूला भाषण गर्न मै सीमित हुने हो । 

(सप्तरीको मलेठ घटनामा ०७३ भदौ २३ गते सहिद बनेका सन्जन मेहताका दाजु रन्जनसँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप