मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको परिवार बिचल्लीमा
सिरहा– २०६३ को पहिलो मधेश आन्दालेनले धेरै मधेसी नेता जन्मायो । सोही आन्दोलनले कतिलाई सत्ताको माथिल्लो तहसम्म पुर्यायो । तर मधेस आन्दोलनका प्रथम सहिद रमेश कुमार महतोका परिवारले झेल्दै आएको दुःख १२ बर्षदेखि जस्ताको जस्तै छ ।
पहिलो मधेस आन्दोलन र मधेसको पहिलो सहिद रमेश महतो पर्यायबाची जस्तै भएपनि उनको परिवारले छोराले पालेको सपनाको अनुभूति गर्न सकेका छैन ।
वर्षेनी माघ ५ गते जस्तै यो बर्षपनि पनि सिरहाको लहानस्थित सहिद चोकको शालिक तामझामका साथ सिङ्गारपेटार भएको छ । तर, लाहानदेखि करिव १५ किलोमिटर दक्षिण रहेको उनको गाउँ नवराजपुर–३, मझौरामा सहिद रमेशका बुबा ७३ वर्षीय रवी महतोलाई कुनै जानकारी छैन ।
शुक्रबार अपरान्ह सहिद महतोको घर पुग्दा उनका बुवा रवि महतो घर नजिकैको खेतबारीमा घुमिरहेका भेटिए ।
पहिलो वर्षहरुमा नेताहरुले कार्यक्रमबारे खवर पठाउने, लिनलाई गाडी पठाउने गरेपनि दुईतीन वर्षदेखि कार्यक्रमबारे आफूलाई कुनै जानकारी नै गराउन छाडेको सहिद पिता रविले गुनासो गरे ।
‘हामीलाई नेताहरुले खोजेनन् भन्ने कुनै गुनासो छैन, हामी उनलाई (सहिद महतो) प्रत्येक पल सम्झिरहन्छौँ, उनले गरेको बलिदानीप्रति आजपनि मलाई उत्तिकै गर्व छ’ बुवा महतोले रातोपाटीसँग भने ।
‘मधेसमा संघको सीमाङ्कनको मुद्दामा पाँच महिनाभन्दा लामो आन्दालेन भयो । आन्दोलनको मर्मअनुसार नै देश अहिले संघियतामा छ । संघीयताको स्वाद निश्चित नेताहरुले मात्र लिइरहेका छन्’ सहिद पिता रविले दुःखेसो पोखे । उनले भने, ‘सहिदले संघीयता देशको लागि खोजेका थिए तर आज संघीयता निश्चित नेताहरुले उपभोग गरिरहेका छन् । हामीजस्ता निमुखा जनता अझैपनि मर्कामै छौं ।’ उनले मधेसावादी सदले उठाएका मुद्दा सहि भएपनि उनीहरुले सहिद परिवार, घाइतेका परिवार र जनतालाई विश्वासमा लिन नसकेको गुनासो पनि गरे ।
सहिद दिवसमा आधिकारीक सूचना नआएसम्म नजाने उनले सुनाए । ‘म घरमै रमेशको फोटोमा फूलमाला चढाउँछु । पार्टीले आधिकारीक सूचना नपठाएसम्म जान्नँ ।’
संघीयता, लोकतन्त्र र जनअधिकारका लागि सहिदले बलिदान गरेका भएपनि यतिका वर्ष बित्दा पनि मधेसमा स्थिरता नदेखिएकोप्रति सहिद परिवार चिन्तित छ ।
मधेशी दलका नेताहरुले आन्दोलनमा सहिद हुनेहरुका परिवारलाई ५० लाख नगद, जागिर र शिक्षाको प्रवन्ध गर्ने भनाई सुनेकी सहिदकी आमा भगवतीले भनिन्, ‘तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले घरमै आएर दिएको बचन त पूरा भएन् । अब के होला ? सहिदका बुवा रविले भने, ‘मधेसी जनताको अधिकार स्थापित गर्न एउटा छोराले सहादत प्राप्त गरेपनि हामीजस्ता धेरै छोराले तपाईंँलाई सहारा दिन्छौं भनेका थिए, त्यसपछि कोही आएका छैनन् ।’
हरेक वर्ष माघ ५ गते आयोजना हुने बलिदानी दिवसमा लहान पुगेर छोरा (रमेश) को प्रतिमामा माल्यार्पण गरी आँसुको भारी बिसाएर मन हल्का पार्ने गरेको रविले सुनाए । मधेस आन्दोलनपछि उदाएका दल पदका लागि विभाजित भएको सुनाउँदै उनले भने, ‘मधेसी नेताहरू आफैं लडाइँ गरेर फुटेको देख्दा मन दुख्छ ।’
फुट र विभाजनले कसैको हित नगर्ने जनाउँदै रविले सबै मिलेमात्र देश बलियो हुने बताए ।
‘सबै मिले देश बलियो हुन्छ, मधेसी जनता अधिकार सम्पन्न हुन्छन्’, उनले भने, ‘भिनभिनाउज (अलग भएर) देश चल्दैन ।’
मधेस आन्दोलन र छोरा रमेशका विषयमा कुरा गर्दै गर्दा आमा रानो छोरो सम्झेर भकानिँदै भनिन् ‘अब हामी नेताहरुको पछि लागेर कतै जाँदैनौं, छोराले देशको निम्ति साहदत प्राप्त गरे, हामी उनलाई घरमै रहेको प्रतिमामा माल्यार्पणगरी सम्झन्छौं, र उनको मनोकामना पुराहोस् भन्ने कामना गछौं ।’
‘नेताहरुले दिनभरी घुमाएर माला र दोसल्ला ओढाएर पठाउँछन्, सहिदकी आमा रानोले भनिन्, ‘नेताहरुले हामीलाई दिएको भनेकै दोसल्लामा र माला हो, त्यसवाहेक केही पाएकै छैनौं ।’
उनलाई छोराको प्रतिमा सधैं सुरक्षित रहोस् भन्ने चाहाना छ । ‘यहाँ परिवर्तनसँगै प्रतिमा भत्काउने चलन छ, त्यस्तो नहोस् । हामीलाई छोरो सम्झने र जीवन जिउने माध्यम त्यही हो ।’
खोलो तर्यो लौरो विस्र्यो, यो लोकोक्ती हो । तर यो गाउं खाने कथा भएको भए यसको सटिक उत्तर हुन्थ्यो ‘सहिद’ ।
एकातिर न्याय र समानता खोज्ने मधेशीहरुको उच्च आकांक्षामा राजनेताहरुले गरेको राजनैतिक वेइमानी तथा कुठाराघात । अर्कोतिर सहिद र आन्दोलनमा घाइते भएकाहरुको दुर्दशा र परिवारहरुको विच्चली ।
अधिकारकर्मी दुर्गा महतो भन्छन् ‘ज्वरो मापन गर्ने थर्मामिटर जस्तो जनतामा छाएको वितृष्णा र निराशा मापन गर्ने कुनै सरल यन्त्र छैन नत्र सोझासाझाहरुले पनि भन्थे व्यर्थै नागरिकहरु वलिदानी भावनाले ओतप्रोत हुँदा रहेछन् । ’
उनीहरुले सहिद परिवारले स्वास्थ्य उपचार, शिक्षा जस्ता क्षेत्रमा पनि सुविधा नपाएको गुनासो गरे । उनले भने, ‘हामीले अहिलेसम्म सहिद परिवार हो भन्ने राज्यबाट कुनै प्रमाणसमेत पाउन सकेका छैनौं ।’