बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्यो रुढिवादी अरब देश जसले ‘फिमेल भियग्रा’ को अनुमती दियो

शनिबार, ०५ माघ २०७५, ०९ : ०६
शनिबार, ०५ माघ २०७५

बीबीसी

इजिप्ट पहिलो अरब देश बनेको छ जसले महिलामा कामोत्तेजना बढाउने औषधीको उत्पादन र बिक्रिका लागि अनुमती दिएको छ ।

 बीबीसी संवाददाता सैली नाबिलले सामाजिक रुपमा निकै रुढिवादी मानिने यो देशमा यसका लागि कस्तो व्यापार छ भन्ने बारे जानकारी लिने कोसिस गरिन् ।

‘यो औषधी खाएपछि मलाई थाकेको महसुस हुन थाल्योे, निन्द्रा लाग्न थाल्यो र मेरो मुटुको धड्कन निकै तीब्र भयो ।’

यो लैला (परिवर्तित नाम) को भनाई हो जसले कथित रुपमा ‘फिमेल भियग्रा’ भनिने औषधी पहिलो पटक सेवन गरिन् । यो औषधीलाई फ्लिबानसेरिन भनिन्छ ।

आजभन्दा तीन वर्षअघि अमेरिकामा यसको प्रयोगको अनुमती दिइएको थियो र अब इजिप्टमा एक स्थानीय कम्पनीले यो औषधीको उत्पादन गरिरहेको छ ।

लैला करिब ३० वर्षकी भइन् र उनी एक रुढिवादी परिवारकी बुहारी हुन् । उनी आफ्नो पहिचान बताउन चाहन्नन् किनभने इजिप्टका अन्य महिलाजस्तै उनी पनि मान्छिन् कि यौन समस्या र यौन आवश्यकतामाथि कुरा गर्न यहाँ प्रतिबन्ध छ ।

उनको विवाह भएको १० वर्ष भइसकेको छ । उनका अनुसार उनले जिज्ञासापूर्वक यो औषधी सेवन गर्ने निर्णय गरिन् ।

लैलालाई कुनै स्वास्थ्य समस्या छैन र उनले यो औषधीे डाक्टरको सल्लाह बिना नै खाएकी हुन् । इजिप्टमा यस्तो गर्नु निकै सामान्य हो किनभने यहाँका धेरै मानिसहरु डाक्टरको सल्लाहबिना नै औषधी खरिद गरेर सेवन गर्ने गर्छन् ।

उनी भन्छिन्, ‘औषधी पसलेले यो औषधी केही हप्तासम्म प्रत्येक रात एउटा चक्की खानुपर्छ भन्ने सल्लाह दिएका थिए । उनले यसको कुनै साइड इफेक्ट नहुने बताएका थिए ।

‘म र मेरा श्रीमान् यो औषधीले कस्तो असर गर्दो रहेछ भनेर हेर्न चाहन्थ्यौं । मैले एकपटक कोसिस गरेँ तर अब म अर्को पटक यो औषधी खादिनँ,’ उनले भनिन् ।

इजिप्टमा सम्बन्धविच्छेदको दर क्रमशः बढ्दै छ । केही स्थानीय मिडिया रिपोर्टका अनुसार दम्पत्तीबीच यौन समस्या यसको मुख्य कारण हो ।

फ्लिबानसेरिनका स्थानीय निर्माताका अनुसार देशमा हरेक १० मध्ये तीन महिलामा कामोत्तेजना कम हुने समस्या छ । तर यो आँकडा अन्दाजमा भनिएको हो किनभने यो देशमा यससम्बन्धि कुनै आधिकारिक आँकडा छैन ।

जब सेफ अलीले भने – संजय दत्तले भियग्राको विज्ञापन गर्नुपर्छ

कम्पनीका प्रतिनिधी अरशफ अल मरागी भन्छन्, ‘यो औषधीको यहाँ अत्यन्तै आवश्यकता छ ।’

मरागीका अनुसार यो औषधी निकै सुरक्षित एवं असरदार छ । यसको सेवनपछि थकाई लाग्छ वा निन्द्रा लाग्छ भने पनि यो लक्षण चाँडै नै हटेर जान्छ ।

तर एक फार्मासिस्ट जोसँग मैले कुरा गरेँ, उनका अनुसार यो औषधीका कारण कुनै व्यक्तिको रक्तचाप कम भएर ‘चिन्ताजनक स्तर’ मा पुग्न सक्छ,  मुटु र फोक्सोको समस्यासँग जुझिरहेका मानिसले यो औषधीको सेवन गर्न हुँदैन ।

उत्तरी काहिरामा फार्मेसी चलाउने मुराद सादिकका अनुसार उनी यसको साइड इफेक्टबारे आफ्ना ग्राहकलाई सधैं जानकारी दिन्छन् तर उनी ग्राहकलाई औषधी खरिद गर्नका लागि राजी गराउँछन् पनि । 

‘दैनिक करिब १० जना औषधी खरिद गर्न आउँछन् । यीमध्ये धेरैजसो पुरुष हुन्छन् । महिला लाजका कारण यो खरिद गर्न हिच्किचाउँछन् ।’

यो सोचको मामला होः

मुराख सादिकको फार्मेसीमा मैले एउटा विज्ञापन देखेँ जसमा फ्लिबानसेरिनलाई ‘गुलाबी चक्की’ भनिएको छ । यसलाई ‘निलो चक्की’ को महिला संस्करण बताइएको छ । इजिप्टमा पुरुषका लागि भियग्रालाई ‘निलो चक्की’ भनिन्छ ।

तर औषधी उत्पादकका अनुसार यसलाई ‘फिमेल भियग्रा’ बताइनु गलत हो । मरागी भन्छन्, ‘यो शब्दलाई त मिडियाले प्रतिपादन गरेको हो ।’

पुरुषमा भियग्राले यौनाङ्गमा रक्तप्रवाह बढाएर उत्तेजना निम्त्याउँछ । यस्तै फ्लिबानसेरिनले दिमागमा रसायनलाई सन्तुलन गरेर यौन इच्छा बढाउने काम गर्छ ।

सेक्स थेरापिस्ट हिबा कौतुबले आफ्नोमा आउने बिरामीलाई यो औषधी सुझाव दिा अस्विकार गरेकी छिन् । उनी भन्छिन्, ‘यसलाई फिमेल भियग्रा भनिनु गलत हो ।’

उनी भन्छिन्, ‘शारिरिक र मानसिक समस्यासँग जुझ्ने महिलाका लागि यो औषधीले पनि काम गर्दैन ।’

‘महिलाका लागि सेक्स एक भावनात्मक प्रक्रिया हो । यो उनीहरुको सोचसँग सम्बन्धित छ । यदि कसैका श्रीमानले उनीमाथि दुर्व्यवहार गर्छन् भने ती महिला कहिले पनि ती श्रीमानसँग स्वस्थ शारिरिक सम्बनध राख्न सक्दिनन् । यस्तो अवस्थामा कुनै औषधीले पनि काम गर्दैन ।’

हिबा कौतुब भन्छिन्, ‘फ्लिबानसेरिनका लाभ निकै कम छन् र यो खतर मोल्न लायक छैन । ’ उनले चेतावनी दिँदै भनेकी छिन्, ‘रक्तचाप कम हुँदा पनि यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।’

आफ्नो यौन समस्याबारे खुलेर कुरा गर्न इजिप्टका महिलालाई निकै लामो समय लाग्छ ।

लैला भन्छिन्, ‘म यस्ता महिलालाई चिन्दछु जसले विवाहमा तनावपछि यौन सम्बन्धमा निम्तिएको समस्याका कारण सम्बन्धविच्छेदको निवेदन दिए ।’

‘यदि यौन सम्बन्धको मामलामा तपाईंका श्रीमान् कमजोर छन् भने तपाईं उनको सहयोग गर्न सक्नुहुन्छ र उनको उपचार गराउन सक्नुहुन्छ । तर यो त्यतिबेला मात्र सम्भव छ जब उनले तपाईंलाई प्रेम गर्छन् । तर यदि तपाईंका श्रीमान्ले तपाईंलाई प्रताडित गरिरहेका छन् भने तपाईंलाई उनीप्रति रुची पैदा हुँदैन । यस्तोमा यदि उनी बेडमा राम्रै छन् भने पनि यसले कुनै फरक पार्दैन । तर पुरुषले यो नाजुक अवस्थालाई बुझ्दैनन् ।’

यद्यपी, फ्लिबानसेरिनको बिक्रि सुरु भएको धेरै समय भएको छैन तर मुराद सादिकले यसको माग बढ्ने कुरामा आश्वस्त व्यक्त गरे ।

तर कौतुबले विवाहमाथि यसको सम्भावित प्रभावका लागि चिन्ता व्यक्त गर्छिन् ।

उनी भन्छिन्, ‘यदि कोही पुरुषले औषधीको सेवनपश्चात् पनि महिलामा कामोत्तजना बढिरहेको छैन भन्ने थाहा पाउँछन् तब उनीहरु यसको दोष महिलालाई नै दिन्छन् । उनीहरुको तनावका कारण यस्तो भइरहेको छ भन्ने कुरा बुझ्दैनन् । त्यसकारण उनीहरु आफ्ना श्रीमतीलाई छोड्न पनि पछि हट्दैनन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप