आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

नोबेलले चिरफार नगरी मुटुको भल्ब खोलेपछि मियाले भने, ‘मुटुमा गाडिएको किलो उखेले जस्तो भयो’

शुक्रबार, ०४ माघ २०७५, २० : २१
शुक्रबार, ०४ माघ २०७५

विराटनगर । मुटु रोगबाट पीडित सुनसरीको सोनापुरका एमडी करिमुदिन मिया राम्रो उपचारको खोजिमा १५ बर्षसम्म भौतारिए । नेपालमा मात्र नभई छिमेकी देश भारतका विभिन्न ठाउँमासमेत उपचारका लागि पुगेका उनलाई अहिले विराटनगरको नोबेल शिक्षण अस्पतालले निको बनाएको छ ।  

मुटुको भल्ब सागुरिएर बर्षौंदेखि समस्यामा रहेका ४५ बर्षीय मियालाई नोबेलले पिटिएमसी पद्धतिबाट उपचार गरेर निको बनाएको हो । ‘१५ बर्ष अघि देखि मुटुको समस्याले सास फेर्न र हिड्नसमेत गाह्रो भएर उपचार खोज्दै धेरै तिर भौतारिए,’ उनी भन्छन्, ‘उपचारका लागि देश विदेश सवै तिर पुगे । तर, अन्तिममा नोबेलमा आएर निको भयो ।’ 

उपचारका लागि उनी भारतको अररिया र पुर्निया पनि पुगे । काठमाडौं पनि धेरै पटक धाए । धेरै अस्पतालमा बताए अनुसार बर्षौदेखि औषधिको भरमा परे । औषधिले केहि समय मत्थर भएपनि उनको समस्या निको भने भएन । यहि क्रममा काठमाडौंको एक अस्पतालले ‘ओपन हार्ड सर्जरी’ गर्नुपर्छ भनेपछि उनी डराएर घर फर्किए । 

अन्तिममा नोबेल अस्पताल पुगेका उनलाई नोबेलका चिकित्सकले चिरफार नै नगरी पिटिएमसी पद्धतिबाट निको बनाएपछि उनी अहिले हर्षित छन् । ‘छाती चिर्नुपर्छ भनेर धेरै डर लागेको थियो । तर, चिरफार नै नगरी १५ बर्षदेखिको पीडाबाट मुक्ती पाएँ । मुटुमा गाडिएको किलो उखेलेर फालेजस्तो हलुका भएको छ,’ उनले भने । 

मुटुको भल्ब सागुरिएका मियाको खुट्टाको नसाबाट बेलुन छिराएर मुटुको भल्ब खोलिएको नोबेल अस्पतालका मुटुरोग बिशेषज्ञ डा.राजेश नेपालले बताए । ‘बिना अप्रेशन बेहोस नपारी भल्ब खोल्न मिल्ने हुँनाले बिरामीलाई धेरै सहज हुन्छ ।’ अस्पताल निर्देशकसमेत रहेका डा.नेपाल भन्छन्, ‘यो उपचार थालिएपछि पूर्वी भेगका बिरामीबाट धेरै सजिलो भएको प्रतिक्रिया आईरहेको छ ।’

न्यूरो र कार्डियो सेवालाई प्राथमिकतामा राखेर अघि बढेको नोबेलले स्तरीय उपचारका क्षेत्रमा फड्को मार्दै गएको छ । अत्याधुनिक उपकरण र बिशेषज्ञ डाक्टरको व्यवस्थापनका कारण जस्तोसुकै जटिल र दुर्लभ उपचारमा पनि नोबेलले सफलता हासिल गर्दै आएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप