शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुई अनशनकारीलाई एउटै अस्पतालमा राख्नु द्वन्द्व निम्त्याउनु हो’

शुक्रबार, ०४ माघ २०७५, १६ : ४५
शुक्रबार, ०४ माघ २०७५

काठमाडौँ । पुस २५ गतेदेखि १६ औँ अनशन थालेका डाक्टर केसी र विगत ८ दिनदेखि केसीको विपक्षमा अनशन थालेका विजय थापाको स्वास्थ्यमा समस्या देखिएपछि अहिले दुवै जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

१५ औँ अनशनपछि गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै डाक्टर गोविन्द केसीले इलाममा एक सर्वसाधरणको घरबाट अनशन थालेका थिए । तर, अनशन बसेको ३ दिन देखिनै डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको थियो । 

इलाम अस्पताल सारिएको केसीको स्वास्थ्यमा सुधार नआएपछि आज बिहान ३ बजे टिचिङ अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ । 

डाक्टर केसीलाई पूर्वस्वास्थ्य मन्त्री गगन थापा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी, शुभचिन्तक तथा समर्थकहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

कुरा गर्न सक्ने अवस्थामा डाक्टर केसी नभए पनि भेट्न जानेहरुले छातीमा धेरै पिडा भएको डाक्टरको भनाई रहेको जनाएका छन् । यस्तै केसीलाई निमोनिया पनि भएको छ । 

यस्तै डा.केसीले अनशन थालेको दुई दिन पछि आफूलाई सामाजिक अभियान्त भन्दै आइरहेका विजय थापाले पनि केसी विरुद्धमा दोस्रो अनशन सुरु गरे ।

‘हाम्रो पार्टी नेपाल’ नामक पार्टीको भातृ संगठन मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक समेत रहेका २७ वर्षीय थापा ओखलढुङ्गाका बासिन्दा हुन् । इलामको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक ठाउँमा अनशन सुरु गरेका थापाको पनि स्वास्थ्यमा समस्या देखिएपछि अहिले काठमाडौँको टिचिङ अस्पतालको आकस्मीक कक्षमा

उपचार भइरहेको छ । थापालाई आज बिहान साढे १२ बजे झापाबाट काठामाडौँ ल्याइएको थियो । अहिले उनको टिचिङको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । 

अनशनरत थापालाई टिचिङमा ल्याएपछि सुरक्षा कडा गरिएको छ । विजय थापाको डा. केसीबिरुद्ध यो दोस्रो अनशन हो । अहिले थापाले ९ बुँदे माग राख्दै दोस्रो अनशन बसेका छन् । 

डा. केसीबिरुद्ध थापाको यो दोस्रो अनसन हो । चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत माग  राख्दै विजय थापा विगत ८ दिनदेखि इलाममा आमरण अनशनमा बसेका थिए ।

केसी विरुद्धको यो उनको दोस्रो अनशन हो । पहिलो अनशन ०७५ बैशाख १३ मा काठमाडौँको खुल्लामञ्चमा बसेका थिए ।

‘दुई अनशनकारीलाई एउटै अस्पतालमा राख्नुहुन्न’     

अस्पताल प्रशासनले भने दुबै अनशनरत व्यक्तिलाई एउटै अस्पतालमा राख्न नहुने बताएको छ । निर्देशक डाक्टर प्रेम कृष्ण खड्काले रातोपाटीसँग कुरा गर्दै भने, ‘थापालाई पनि आइसीयूमानै राख्नुपर्ने अवस्था छ, अहिले ११ वटा आइसीयूमा ११ वटानै प्याक रहेको छ । थापालाई कहाँ राख्ने समस्या भएको छ ।’  

‘डाक्टर केसी यही अस्पतालको हुनुहुन्छ । उहाँलाई भेट्न धेरै मान्छे जान्छन् । भेट्न मात्रै जादा पनि थापा पक्षले डा. केसीलाई धेरै ख्याल गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘यसले गर्दा अर्को पक्षले द्वन्द्व गर्ने निहुँ पाउन सक्छन् । त्यसैले मेरो भनाई दुवै अनशनकारीलाई एउटै अस्पतालमा राख्नुहुँदैन यो कुरामा सरकारले ख्याल गर्नुपर्छ ।’ 

यस्तै उपचारत चिकित्सकहरुले पनि दुवै जनालाई एउटै अस्पतालमा राख्ने हो भने काम गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

सेवामा समस्या हुन दिन्नौँ 

यसरी अनशनरत पक्ष र विपक्ष दुवैलाई उपचारको लागि एउटै अस्पतालमा ल्याउँदा अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवामा प्रत्यक्ष असर हुने देखिएको छ । तर पनि अस्पताल प्रशासनले भने आन्दोलननै भएको खण्डमा भोलिका दिनमा नियमित सेवा प्रदान गर्ने जनाएको छ । 

विगतका दिनहरुमा डाक्टर केसी अनशन बस्दा  र आन्दोलन हुँदा जसरी सेवा प्रदान गरेका थियौँ त्यसरीनै सेवा गर्ने अस्पताल स्रोतले बतायो । टिचिङ अस्पतालमा दैनिक २ हजार देखि २३ सयको हाराहारीमा स्वास्थ्य सेवा लिँदै आइरहेका छन् ।

भोलिका दिनमा आन्दोलन भएको खण्डमा पनि स्वास्थ्य सेवा ठप्प नहुने र नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्काले बताए । 

केसीको १५ औँ अनशनका आन्दोलनमा टिचिङले प्रदान गर्दै आएको स्वास्थ्य सेवामा असर भए पनि संख्या कम गरेर भए पनि सेवा प्रदान गरेको थियो ।

टिचिङका आवसिय चिकित्सकहरु केसीको पक्षमा आन्दोलनमा नजाने हो भने स्वास्थ्य सेवामा कुनै समस्या नहुने अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप