शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा नेपालका नेताहरुको दिल्ली दौड बाक्लियो, संयोजक फेर्ने तयारी

शुक्रबार, ०४ माघ २०७५, १३ : ४२
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं– पछिल्लो समय राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरुको दिल्ली दौड बाक्लिएको छ । 

राजपाभित्र पार्टी संयोजक फेर्ने र सरकारलाई समर्थनको विषयमा  बहस बाक्लिदै गएको अवस्थामा नेताहरुको दिल्ली आउजाउ बाक्लिएको हो ।  यद्यपी जो–जो नेताहरु दिल्ली गएका छन् ती सबै उपचारको नाममा गएका छन् । 

हाल राजपा नेपालको अध्यक्षमण्डलका संयोजक रहेका राजेन्द्र महतो माघ १ गते दिल्ली गएर २ गते नै फर्केका छन् । यस्तै महेन्द्र राय यादव पुस ३० गते दिल्ली गएका थिए ।  उनी आज फर्किने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ । 

नेता महेन्द्र राय यादव फर्केपछि राजपा नेपाल अध्यक्षमण्डलका अर्का सदस्य महन्थ ठाकुर माघ ६ गते दिल्ली जाने तयारीमा रहेका छन् । त्यस्तै, पार्टीका महासचिव केशव झा पनि हाल दिल्लीमै छन् । उनी माघ ८ गते नेपाल फर्किने कार्यक्रम रहेको छ । 

त्यस्तै, सो पार्टीका केन्द्रीय सदस्य डा.शरदसिंह यादव पनि दिल्ली गएर विभिन्न नेतासँग भेटघाट गरि हिजै फर्किसकेका छन् । 

नेताहरु उपचारका नाममा दिल्ली गएपनि केही डिप्लोम्याटसँग पनि भेटघाट गरेको बताइएको छ । त्यहाँका राजनीतिक दलका नेताहरुसँग भने उनीहरुको भेटघाट नसकेको पार्टी स्रोत बताउँछ ।

संयोजक महतो आफ्नो आँखा जँचाउनका लागि भिन्दै दल्ली गएको पार्टीका स्रोतले जनाएको छ । मधेश आन्दोलनको क्रममा विराटनगरमा प्रहरीको लाठीचार्जबाट उनको टाउकोमा चोट लागेको थियो ।

टाउकोमा चोट लागेको कारण त्यसको असर आँखामा परेको बताइन्छ ।  उनले त्यतिबेला  आफ्नो उपचार दिल्लीमै गराएका थिए । अहिले आएर आँखामा समस्या देखेपछि उनी उपचारका लागि दिल्ली गएको बताइएको छ । सो क्रममा उनले केही भेटघाट समेत गरेका थिए । 

महेन्द्रराय यादवको छातीमा मेसमेकर लागेको छ । उनी त्यसैको फ्लोअपका लागि दिल्ली गएका हुन् । त्यस्तै, महन्थ ठाकुरको पनि मुटुको समस्या भएको र भारतमा उपचार गराएको कारण नियमित चेकअपका लागि उनी दिल्ली जान लागेको पार्टी स्रोतले जनाएको छ ।

आज दिउँसो १ बजे अध्यक्षमण्डलको बैठक बोलाइएको छ । सो बैठकबाट संयोजक फेर्नेबारे छलफल हुने बताइएको छ । महेन्द्रराय यादव आजै दिल्लीबाट फर्किने कार्यक्रम रहेको र उनी आएपछि मात्र बैठक बस्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले जानकारी दिए ।
राजपा नेपालको विधान अनुसार चक्रिय प्रणालीको आधारमा अध्यक्षमण्डलको संयोजक अब महेन्द्रराय यादव हुनेछन् । 

२०७४ बैशाख ७ गते स्थापना भएको राजपा नेपालको अध्यक्षमण्डलको पहिलो संयोजक महन्थ ठाकुर थिए । दुई दुई महिनामा संयोजक फेरिने नीति पार्टीको विधानमा उल्लेख छ तर ठाकुर २० महिनासम्म संयोजकमा बसे । 

त्यसपछि मंसिर ४ गते बसेको अध्यक्षमण्डलको बैठकले बहुमतको निर्णयबाट उनलाई हटाएर राजेन्द्र महतो संयोजक बनाइएको थियो । 

आज बस्ने बैठकको एजेण्डाको बारेमा छलफल गर्नका लागि हिजो राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवको बीच अनौपचारिक छलफल भएको बताइएको छ । 
  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप